काठमाडौं । नेकपाका नेता दीनानाथ शर्माले वामदेव गौतमलाई पार्टी विभाजनबाट जोगाउन आग्रह गरेका छन् ।
राष्ट्रियसभामा पहिलोपटक बैठकमा सहभागी गौतमलाई उनले पार्टी विभाजन रोक्ने रसायन छ भने सफलता मिलोस् भन्दै शुभकामना पनि दिए । गौतम राष्ट्रियसभाको बैठकमा आज पहिलोपटक उपस्थित भएका छन् । उनले पार्टी विभाजनलाई नरुचाएको भन्दै शर्माले पार्टीलाई विभाजनबाट जोगाउनका लागि आग्रह पनि गरे ।
भावुक सम्बोधन गरेका शर्माले पार्टी विभाजनको संघारमा पुग्दा आफ्नो मुटु चिरिएको बताए । “पार्टी विभाजनको घोषणा नभए पनि विभाजनको संघारमा छ । प्रतिनिधिसभा छैन, विघटन भएको छ,” उनले भने, “पार्टी एकताबाट जनता खुसी थिए । त्यसको अभिव्यक्ति जनताले निर्वाचनमा गरेका थिए । पार्टी विभाजनको संघारमा पुग्दा मुटु चिरिएको अनुभूति गरेको छु ।” उनले कसैले पनि यतिबेला नेकपाको एकता टुटोस् भनेर नचाहेको पनि बताए ।
पार्टी विभाजन यसअघि हुँदा आफूलाई अहिलेजस्तो दु:ख नलागेको पनि उनले सुनाए । “विगतको फुटमा यतिको दु:ख अनुभूति गरेको थिइनँ । यसले मलाई पीडा भएको छ,” उनले भने । पार्टी विभाजन सिद्धान्त, दर्शनका आधारमा नभएको पनि उनले बताए ।