काठमाडौं । जर्मन क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा वायर्नले आरबी शाल्जवर्गविरुद्ध ३–१ गोलको जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन रोवेर्टाे लेवान्डोस्की, कंगिसो कोम्यान र लेरोइ सानेले एक–एक गोल गरे । उता, शाल्जवर्गका लागि मेल्गिम बेरिसले एक गोल फर्काए ।
खेलको ४२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको वायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो ।
५२ मिनेटमा कोम्यानले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे । वायर्न ६६ औं मिनेटमा १० खेलाडीमा सिमित भयो । वायर्नका मार्क रोक रातो कार्ड खाँदै मैदान बाहिरिए ।
६८ औं मिनेटमा लिरो सानेले गोल गर्दै टिमलाई जिततर्फ अगाडि बढाए । ७३ औं मिनेटमा वारिसले पाहुना टोलीका लागि एक गोल फर्काए । जितसँगै वायर्न लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
लिगमा चार खेल खेलेको वायर्न १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित शाल्जवर्ग १ अंकसहित तालिकाको अन्तिममा छ । शाल्जवर्ग लिग चरणबाट बाहिरिएको छ ।