राजनीति
सुदिप पुरी
सुर्खेत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पूर्वाधार निर्माण र सम्पदाको संरक्षणबाट पर्यटन विकास गर्न सकिने बताएका छन् । हुम्ला जाने क्रममा सोमबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शाहीले सुर्खेतमा पर्यटन कार्यालय स्थापना गरिने प्रतिबद्धता जनाए । ६ नम्बर प्रदेशमा पर्यटन कार्यालय छैन । “यहाँ पर्यटन क्षेत्रको अथाह स्रोत र सम्भावना छन्”, उनले भने, “सुर्खेतमा प्रदेशस्तरीय कार्यालय छिटै्टै स्थापना गर्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ । यसका लागि अर्थ मन्त्रालयसँग समन्वय भैरहेको उनले बताए । केही दिन अघि आफूले निरीक्षण गरेको कालिकोटको कोटवाडा विमानस्थल तीन महिनाभित्र सम्पन्न भैसक्ने दाबी गरे । नेपालमा जहाजको संख्या कमी रहेको भन्दै उनले कम्तीमा १६/१७ वटा जहाज आवश्यक पर्ने बताए । यसका लागि दुईवटा बोइङ जहाज किन्ने तयारी भैरहेको छ । प्रत्येक प्रदेशमा सरकारी स्वामित्वको वायु सेवा निगमका जहाजले पब्लिकलाई सहुलियतमा सेवा दिने व्यवस्था मिलाउनुपर्छ ।
प्रधानमन्त्रीसँग असन्तुष्ट
कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा प्रति परिवार २० केजी अनुदानमा चामल वितरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणालाई मन्त्री शाहीले असन्तुष्टि जनाए । मन्त्री शाहीले आफू कर्णाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएपनि प्रधानमन्त्रीले कुनै परामर्श नलिएको असन्तुष्टि पोखेका हुन् । “प्रधानमन्त्रीले यस विषयमा मलाई सोधेको भए अझ राम्रो सल्लाह दिन्थे,” उनले भने, “तर त्यसो गर्नुभएन । सम्बोधन लगत्तै मैंले भेटेर असन्तुष्टि जनाए । प्रधानमन्त्रीको यस सम्बोधनले मात्र कर्णालीको खाद्य संकट समाधान हुन सक्दैन ।” यद्यपि यसै विषयलाई लिएर भैरहेको विरोध पनि नाजायज भएको उनको तर्क छ । “विरोधका लागि विरोध भएको छ । कर्णालीको नाममा काठमाडौं बस्नेहरुले एकतर्फी विरोध गरेका छन् । यो सकारात्मक निर्णय पनि हो”, मन्त्री शाहीले भने । प्रधानमन्त्रीले गत विहीबार व्यवस्थापिका संसदमा राष्ट्रका नाउमा सम्बोधन गर्दै उक्त घोषणा गरेका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७३ १६:४२
प्रतिक्रिया दिनुहोस्