काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–११, विष्णुचोक बस्ने ३१ वर्षीय सन्दीप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी घर भई धरान उपमहानगरपालिका–१५, बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय बालक छन् । उनीहरूमध्ये १७ वर्षीयलाई धनकुटाको छिन्ताङबाट र १३ वर्षीय बालकलाई धरानको बगरकोटबाट पक्राउ गरिएको हो ।
धरान–५, सेउतीखोला बगरमा बिहीबार बिहान शरीरका विभिन्न भागमा धारिलो हतियारले घोपेको तथा काटिएको अवस्थामा लम्जेलको शव फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
‘शारीरिक सम्बन्ध राख्ने युवती खोजीदेऊ’ भन्दै लम्जेलले धम्काई गालीगलौज समेत गरेकाले उनीहरूले ‘युवती सम्पर्कमा छ’ भन्दै खोलामा बोलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।