काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय निर्वाचनका दिन मतदान केन्द्रबाटै कोभिड १९ विरुद्धको खोप दिने तयारी गरेको छ । मन्त्रालयले मतदान केन्द्रबाट खोप दिने प्रस्ताव निर्वाचन आयोगमा पठाएको छ ।
यसबारे मन्त्रालय र आयोगबीच सामान्य छलफल भएपनि आयोगले ठोस निर्णय लिइसकेको छैन । आयोगका एक उच्च अधिकारीकाअनुसार स्वास्थ्यको यो प्रस्वातमा आयोग सकारात्मक देखिएको छैन । निर्वाचनकै दिन खोप कार्यक्रम सञ्चालन गर्दा मतदाता प्रभावित पार्ने योजनाजस्तो देखिने तथा सुरक्षाका दृष्टिले समेत मतदानस्थलबाट खोप दिन नसकिने आयोगको बुझाइ छ ।
“हामीले स्वास्थ्य मन्त्रालयलाई वैशाख १० गतेभित्र सबै मतदातालाई कोभिड १९ विरुद्धको खोप दिइसक्न अनुरोध गरेका थियौँ । अहिले आएर समयसीमामा सकिएन भन्न मिल्छ ?,” ती अधिकारीले भने, “मौन अवधि सुरु भएदेखि मतदानको दिनसम्म कुनैपनि अन्य गतिविधि सञ्चालन गर्न पाइँदैन । मतदान केन्द्र भनेको भोट हाल्ने ठाउँ हो, खोप लाउने ठाउँ होइन ।”
स्वास्थ्य मन्त्रालयले भने मतदान केन्द्रबाट नै पहिलो दोस्रो तथा बुस्टर डोज खोप दिने यसअघि नै घोषणा गरिसकेको छ ।
नेपालमा आजसम्म १८ बर्षमाथिका ८४.२ प्रतिशतले दुई डोज , ९५.६ प्रतिशतले पहिलो डोज तथा ३५ लाख ३० हजार ५३३ जनाले बुस्टर डोज लगाएको मन्त्रालयको तथ्यांक छ ।