काठमाडौं । कप्तान नवीन लामा र स्ट्राइकर आशिष लामाले उत्कृष्ट प्रदर्शन गरेपछि सशस्त्र प्रहरी बल (एपीएफ)ले बिहीबार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ–मर्स्याङ्दी क्लबलाई ३–१ ले हराएको छ । जितसँगै एपीएफको रेलिगेसनको सम्भावना टरेको छ ।
एपीएफले ११ खेलबाट १४ अंक जोडेको छ । त्यो रेलिगेसन क्षेत्रमा रहेको ब्रिगेड ब्वाइज क्लबको भन्दा सात अंकले आगडि हो । लिगमा अब दुई खेल मात्र बाँकी छ । एपीएफले बाँकी दुवै खेल हारे पनि रेलिगेसनबाट जोगिन्छ ।
मनाङ भने समान खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा छ । त्यो शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लबभन्दा ९ अंकले पछाडि हो ।
मच्छिन्द्रले बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराउँदै उपाधि पक्का गरेको थियो । मच्छिन्द्रले लगातार दोस्रोपटक उपाधि जितेको हो ।
बिहीबार मनाङले अञ्जन विष्टको गोलबाट ३७औँ मिनेटमा अग्रता लिएको थियो । गोलकिपर विशाल सुनारले दिएको लामो पासमा अञ्जनले विपक्षी गोलकिपर युया कुरियामाले गरेको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । एपीएफका गोलकिपर कुरियामा बल लिन अगाडि बढेका थिए । त्यही अवस्थामा अञ्जनले हेडमार्फत बललाई पोस्टको दिशा दिएका हुन् ।
३९औँ मिनेटमा मनाङले अग्रता दोब्बर बनाउने अवसर खेरफालेको थियो । अञ्जनले दायाँ भागबाट गरेको क्रसमा विमल रानाले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ प्रहार सिधै एपीएफको गोलकिपर कुरियामाको हातमा गएको थियो । लगत्तै एपीएफका गोलकिपर कुरियामाले सनिस श्रेष्ठलाई बल रिलिज गरे । सनिसले कप्तान सुमन लामालाई पास दिए । सुमनले पहिलो टचमै आशिष लामालाई पास दिए । आशिषले विपक्षी रक्षक नरेन्द्र चौधरीले गरेको गल्तीको फाइदा उठाउँदै बराबरी गोल फर्काए ।
८१औँ मिनेटमा वैकल्पिक खेलाडी मणिकुमार लामाको गोलबाट एपीएफले अग्रता लिएको थियो । उनले नवीन लामाको पासमा गोल गरेका हुन् । नवीनले ८७औँ मिनेटमा अर्को गोल थपेपछि एपीएफले तीन अंक पक्का गरेको हो ।
आशिष लामाले झन्डै २२ यार्डबाट हानेको सशक्त प्रहारलाई मनाङका गोलकिपर विशाल सुनारले राम्रोसँग नियन्त्रणमा लिन सकेनन् । रिबाउन्डमा प्राप्त बललाई अनमार्क रहेका नवीनले सहजै पोस्टको दिशा दिएका थिए ।
मनाङविरुद्ध एपीएफको यो लगातार दोस्रो जित हो । यसअघि, एपीएफले पोखरामा सम्पन्न आहा–रारा गोल्डकपको फाइनलमा मनाङलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि जितेको थियो ।