विश्वले स्वीकार्ने विषयहरू नेपालमा थुप्रै छन् । हामी जो जहाँ भए पनि मान्छे नै हौँ । यदि, राम्रोसँग भन्न सकियो भने मान्छेको कुरा जहाँको भए पनि रुचिकर हुनसक्छ । यस्तो चलचित्र हामीले बनाउन नसक्नु भनेको चलचित्रका हरेक विधामा पोख्त जनशक्तिको अभाव छ ।
निर्देशक दिनेश राउतयति बेला नयाँ फिल्म दर्शकमाझ ल्याउने तयारीमा छन् । अभिनेता प्रदीप खड्कालाई लिएर उनले ‘प्रकाश’ छायांकन गरिसकेका छन् । यति बेला यो चलचित्र पोस्ट प्रोडक्सनमा छ ।
नेपाली चलचित्रको इतिहासले आधा शताब्दीभन्दा लामो समय पार गरिसके पनि गुणस्तरमा फड्को मार्न सकेको छैन । जसका कारण बजार विस्तार पनि हुनसकेको छैन । दिनेश आफैँ पनि आफ्ना चलचित्र आफैँलाई परिपक्व नलाग्ने गरेको बताउँछन् । निर्देशक दिनेशसँग उनको चलचित्र प्रकाश, नेपाली चलचित्रको विषय, विधा, जनशक्ति, भारतीय बजार तथा गुणस्तरका विषयमा बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीको सम्पादित अंश :
चलचित्र ‘प्रकाश’ पोस्टमा छ, के काम भइरहेको छ ?
पोस्ट प्रोडक्सनमा छ । साउन्ड डिजाइनको काम भइरहेको छ । ब्याकग्राउन्ड स्कोरको काम भइरहेको छ ।
सके र सम्भव भएसम्म साउन्ड डिजाइनका लागि नेपालबाहिर जान पाए हुन्थ्यो भन्ने लोभ मेकरमा हुन्छ । नेपालमा साउन्डमा राम्रो काम गर्न सक्ने दक्ष जनशक्ति छैन ?
साउन्ड डिजाइनको काम भनेको टेक्निकल काम हो । साउन्ड डिजाइनको इकुप्मेन्ट चलाउन जान्ने मान्छे त नेपालमा धेरै छन्, तर फिल्मको साउन्ड डिजाइनको महत्त्व कति छ भनेर बुझ्ने संख्याचाहिँ सायद कम छ । साउन्डले स्टोरी टेल गर्छ । भिजुअलको काम गर्छ । तर, हाम्रोमा भिजुअल पछाडि साउन्ड राख्ने काम मात्रै हो साउन्ड डिजाइन भन्ने बुझाइ छ । कतिपय मेकरमा समेत यही सोच रहेको पाइन्छ । कथालाई गहिराइमा पुगेर भन्न भिजुअलले नसकेको अवस्थामा साउन्डले भन्नसक्छ भन्ने बुझाइ कमैमा छ । जसले साउन्डको अर्थ र शक्ति बुझेको छ, उसले बाहिर लैजान पाए हुन्थ्यो अथवा त्यो तहका साउन्ड डिजाइनर हायर गरेर काम गराउन पाए हुन्थ्यो भन्ने सोच राख्छ ।
यसको कारण त तपाईंहरू स्वयं पनि होला नि ! सफल फिल्म इन्डस्ट्रिमा सिनेमाको बजेटको २० प्रतिशतसम्म रकम साउन्डमा छुट्ट्याइन्छ । तर, यहाँ दुई प्रतिशतभन्दा माथि पनि छुट्ट्याइँदैन त ?
यो विधालाई कसरी बुझ्ने भन्ने कुराले अर्थ राख्छ । साउन्ड डिजाइन सिनेमाको महत्त्वपूर्ण विधा हो भन्ने बुझ्नेले यसमा खर्च गर्न हिचकिचाउँदैन । स्क्रिप्ट राइटिङको विधा पनि महत्त्वपूर्ण विधा हो । तर, यसमा पनि बुझाइमै भरपर्ने हो । स्क्रिप्टमा सबैभन्दा धेरै खर्च गर्नुपर्ने हो । तर, त्यसमै सबैभन्दा कम लगानी भइरहेको हुन्छ ।
यो बुझाइ को सँग भएन, प्रोडुसरसँग ?
प्रोडुसर कसलाई भन्ने पनि कुरा छ । वास्तमा नेपालमा फाइनान्सरलाई प्रोडुसर भन्ने चलन छ । सबैभन्दा महत्त्वपूर्ण व्यक्ति त चलचित्रमा निर्देशक हो । उसले चलचित्रलाई कसरी अगाडि बढाउँछ भन्ने हो । कसलाई कसरी लिने भन्ने जिम्मेवारी निर्देशकको भएकाले निर्देशक नै यसमा सबैभन्दा ठूलो दोषी हो भन्ने लाग्छ ।
तपाईंले स्क्रिप्ट र साउन्डको महत्त्व बुझाएर त्यहीअनुसार लगानी गराउन सक्नुभएको छ ?
मैले आजसम्म जति पनि व्यक्तिसँग काम गरेँ, मलाई चाहिँ समस्या भएको छैन यसमा । मेरो बुझाइअनुसार मैले काम गर्न खोजेको कुरामा अहिलेसम्म प्रोडुसर बाधक भएको पाएको छैन ।
तपाईंले १० लाख रुपैयाँमा स्क्रिप्ट किनौँ भन्दा तपाईंको प्रोडुसर तयार हुन्छन् ?
यदि, म मैले बनाउन लागेको चलचित्रमा १० लाख रुपैयाँ खर्च गर्न कन्भिन्स छु भने उहाँहरूले नाईँ भन्नु हुन्न ।
त्यसो भए आजसम्म स्क्रिप्टमा १० लाख रुपैयाँ खर्च गर्न तपाईं नै कन्भिन्स हुनुभएको छैन ?
यो स्टोरीलाई १० लाख रुपैयाँ तिर्दा केही फरक पर्दैन भन्ने खालको कथा मसँग आउनुपर्छ । कुनै आइडिया आउँछ, त्यसमा आफैँले काम गर्नुपर्छ । जसको आइडिया हो त्यसमा उसले कति काम गरेको छ भन्ने कुरा महत्त्वपूर्ण हो । जसले जति काम गरेको छ त्यसका आधारमा उसले पैसा पाउने हो । जसले १० लाखको मिहिनेत नै गरेको छैन भने उसलाई १० लाख रुपैयाँ देऊ भनेर म प्रोडुसरलाई भन्न सक्तिनँ ।
कथाको कुरा आयो, ‘प्रकाश’सँग जोडेर कुरा गरौँ, यसको स्टोरीमा कति लगानी भयो ?
लेखकको पारिश्रमिक त आफ्नो ठाउँमा छ, त्यसबाहेक पनि ठूलो रकम खर्च भएको छ । जहाँको स्टोरी हो त्यहाँ पुगेर रिसर्च गर्दाको खर्च पनि यसमै जोडिन्छ । स्टोरी डिस्कसको सिटिङदेखि फाइनल टच दिँदासम्मको खर्च कथाको लगानी नै हो ।
‘प्रकाश’को कथा के हो ?
दुर्गम क्षेत्रको मध्यमवर्गीय परिवारको एक छोराले सरकारी शिक्षक बन्न गरेको संघर्षको कथा हो ।
पछिल्लो समय नेपाली चलचित्र हिन्दीमा डब गरेर भारतमा चलाउने भनेर प्रयास गरिरहेको पाइएको छ । ‘प्रकाश’ पनि हिन्दीमा डब गरेर भारतमा हल रिलिज नै गर्ने भनिएको छ । कत्तिको सम्भव छ ?
असम्भव भन्ने त केही नै छैन संसारमा । सिनेमा साहित्यको एउटा विधा हो । त्यसमा पनि भिजुअल ल्याङ्ग्वेज हो । त्यसैले यसलाई भूगोल वा भाषाले छेक्दैन । नेपाली सिनेमाको अडियन्स संसारको जुनसुकै ठाउँको व्यक्ति हुनसक्छ । तर, जसरी अहिले नेपाली चलचित्र हिन्दीमा डब गरेर बलिउडमा हलमा रिलिज गर्ने भनिएको छ, अरूको त मलाई जानकारी हुने कुरा भएन । ‘प्रकाश’को कुरा गर्दा हामीले भारतको राइट्स बेचेका छौँ । हामीले जसलाई राइट्स बिक्री गर्यौँ, उसले हिन्दीमा डब गरेर थिएटरमा रिलिज गर्ने भनेको छ । त्यसको राइट्स उसले लिएको छ । उसले कसरी वितरण गर्छ, हलमा कसरी रिलिज गर्छ त्यो उसको कुरा हो । उसको क्षमता र पहुँच छ/छैन त्यसमा पनि भर पर्छ ।
बलिउडको अडियन्सले रुचाउने सिनेमा बनेको छ ‘प्रकाश’ ?
यो चलचित्रको कथा नेपालको पनि कुनै एक दुर्गम गाउँको कथा हो । यसअर्थमा यो हाम्रो मौलिक चलचित्र हो । नेपालको कुनै एक क्षेत्रको कथा भारतीय दर्शकलाई रिलेट गर्छ वा गर्दैन भन्ने कुरा हो । तर, भारतमा बस्ने नेपालीका लागि भने यो चलचित्र राम्रो पक्कै हुनेछ । त्यहाँका स्थानीयका लागि यो राम्रो विषय हो अथवा होइन, उनीहरूले मन पराउँछन् वा पराउँदैनन्, यसमा समीक्षा गर्न सकिन्छ ।
विश्वस्त हुने अवस्था छैन ?
छैन । किनभने, यो फिक्सन स्टोरी होइन । फिक्सन क्यारेक्टर होइन । जुन भूगोलको कथा हामीले भनेका छौँ, त्यहीँको क्यारेक्टर लिएका छौँ । त्यो क्यारेक्टरलाई बलिउडको अडियन्सले कसरी लिन्छ भन्ने हो । तर, भिजुअल ल्याङ्ग्वेज भएकाले चलचित्रले भन्न खोजेको कुरा पावरफुल भएको खण्डमा भने मन नपराउने भन्ने पनि हुँदैन ।
तर, इतिहास हेर्दा त तपाईंहरूले आजसम्म विदेशी अडियन्सले खोजेर हेर्ने चलचित्र बनाउन सक्नुभएको छैन । किन ?
हाम्रोमा विषय नभएको होइन । विश्वले स्वीकार्ने विषयहरू नेपालमा थुप्रै छन् । हामी जो जहाँ भए पनि मान्छे नै हौँ । यदि, राम्रोसँग भन्न सकियो भने मान्छेको कुरा जहाँको भए पनि रुचिकर हुनसक्छ । यस्तो चलचित्र हामीले बनाउन नसक्नु भनेको चलचित्रका हरेक विधामा पोख्त जनशक्तिको अभाव छ । जस्तै– लेखन, निर्देशन, अभिनय, बजेट, सिनेमेटोग्राफी, साउन्डलगायत हरेक विधामा परिपक्वता छैन । परिपक्व नभएका कारण हामीले भनेको लेवलमा नेपाली चलचित्र नपुगेको हो भन्ने मेरो बुझाइ छ । धेरै विदेशी फिल्म हेरिन्छ । ती फिल्म हेर्दा म आफैँलाई मैले बनाएका चलचित्र परिपक्व लाग्दैनन् । त्यहाँको स्टोरी, क्यानभास, क्यारेक्टर के हो भनेर नबुझे पनि भिजुअल हेर्दा त्यसले छुन्छ, मन पर्छ । यसको अर्थ ती राम्रा चलचित्र हुन् । त्यसैगरी, हामी पनि हरेक विधामा परिपक्व भए हाम्रा चलचित्र पनि विदेशमा हेरिने थियो ।
करिब ६० वर्षको नेपाली चलचित्रको यात्रामा अझै हामी परिपक्व छैनौँ भनेर निर्धक्क भन्न सक्ने अवस्था किन आयो ?
हामी धेरै मेकरहरू बलिउडबाट इन्स्पायर भएर फिल्म बनाउन थाल्यौँ । उनीहरूले बलिउड फिल्मको विश्वभर बजार बनाइसके । तर, हामी हाम्रो फिल्म यो हो है भनेर आफ्नो फिल्म बनाउन छोडेर बलिउड फिल्मलाई फलो गर्न थाल्यौँ । हामी हाम्रो स्रोत–साधनले बलिउडजस्तो फिल्म पनि बनाउन सक्तैनौँ । बलिउड फिल्म हेर्ने दर्शकले त बलिउड नै हेर्छ नि किन त्यस्तै लाग्ने नेपाली फिल्म हेर्छ ? न हामीले बलिउडजस्तो फिल्म बनाउन सक्यौँ न आफ्नै फिल्म बनाउन सक्यौँ । त्यसैले हामी बीचमा अलमलियौँ । जसका कारण विश्व मानचित्रमा नेपाली फिल्मको स्थान रहेन ।
तर, केही नेपाली फिल्म परिपक्व पनि लाग्छ । जस्तै– ‘सेतो सूर्य’ । ‘सेतो सूर्य’ जत्तिको मेरो फिल्म किन बनेन भन्दा सायद मैले सिनेमाका हरेक विधामा राम्रा मान्छे छनोट गर्न सकिनँ । यदि, हरेक विधामा परिपक्व व्यक्तिहरूको टिम बनाउन सकेको भए साँच्चै राम्रो चलचित्र बन्थ्यो होला ।
परिपक्व जनशक्ति किन तयार भएन ?
एउटै विधामा परिपक्व हुने भन्दा पनि हरेक विधामा हात हाल्ने चलन हाम्रोमा धेरै छ । एउटै व्यक्तिले लेख्ने, निर्देशन गर्ने, खिच्ने सके साउन्डको काम पनि गर्दा कतै पनि परिपक्व नभएको हो कि भन्ने लाग्छ ।