एपी । ब्राजिलका स्टार नेइमारले अर्को वर्ष कतारमा हुने विश्वकप आफ्नो करियरको अन्तिम हुन सक्ने बताएका छन् ।
‘नेइमार एन्ड द लाइन अफ किंग्स’ डकुमेन्ट्री निर्माणको क्रममा २९ वर्षीय फरवार्डले यस्तो प्रतिक्रिया दिएका हुन् । उक्त डकुमेन्ट्रीको केही अंश आइतबार डीएजेडएन च्यानलको ट्विटर फिडमा सार्वजनिक गरिएको थियो ।
‘‘मेरो लागि त्यो अन्तिम विश्वकप पनि हुनसक्छ,’’ नेइमारले भनेका छन्, ‘‘मेरो देशलाई उपाधि जिताउन म मेरो तर्फबाट गर्न सक्ने सबै गर्नेछु । जुन मेरो बाल्यकालदेखिको सपना पनि हो । मलाई विश्वास छ, म त्यो हासिल गर्न सक्छु ।’’
नेइमारको ब्राजिलले आज बिहान सम्पन्न विश्वकप छनोट प्रतियोगितामा कोलम्बियासँग गोलरहित बराबरी खेलेको थियो । दक्षिण अमेरिकी छनोट प्रतियोगितामा ब्राजिलले यसअघि शतप्रतिशत विजयी नतिजा निकालेको थियो । १० टोली सम्मिलित ‘राउन्ड रोबिन’ प्रणालीमा खेलाइएको प्रतियोगितामा ब्राजिल २८ अंकका साथ शीर्ष स्थानमा छ ।
निलम्बनका कारण नेइमारले भेनेजुएलाविरुद्धको खेल गुमाएका थिए । उक्त खेलमा ब्राजिल ३–१ ले विजयी भएको थियो ।
नेइमारले विश्वकप छनोटमा १२ गोल गर्दै रोमारियोको कीर्तिमान तोडिसकेका छन् । नेइमारले ब्राजिलबाट सबैभन्दा धेरै गोल गर्ने महान् खेलाडी पेलेको कीर्तिमान तोड्ने सम्भावना छ । पेलेले ७७ गोल गरेका छन् । पीएसजीका फरवार्ड नेइमारले ६९ गोल गरिसकेका छन् ।
नेइमारले दुईवटा विश्वकप खेलिसकेका छन् । ब्राजिलमै सम्मन्न २०१४ को विश्वकपमा नेइमार क्वार्टरफाइनलमा कोलम्बियाविरुद्धको खेलमा घाइते भएका थिए । उनको ढाडमा चोट लागेको थियो । सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोरेको थियो ।
२०१८ मा रुसमा सम्पन्न विश्वकपमा पनि नेइमार भर्खरै खुट्टाको चोटबाट मुक्त भएर फर्किएका थिए । ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग २–१ ले हारेर घर फर्किएको थियो । रुसमा नेइमारले फाउलको लागि धेरै बहाना गरेको भनेर चर्को आलोचना पनि खेप्नुपरेको थियो ।
नेइमारले २०१३ मा ब्राजिलमै सम्पन्न कन्फेडेरेसन कपको उपाधि जितेका छन् । उनले रियो ओलम्पिकमा पनि स्वर्णपदक जितेका छन् । २०१९ को कोपा अमेरिका ब्राजिलले जित्दा नेइमार घाइते थिए ।