सर्सर्ती हेर्दा देखिन्छ, पुराना रंगकर्मीहरू शिथिल भएका छन् । वास्तवमा शिथिल भएका नै हुन् । अग्रज रंगकर्मीहरूमा पहिलेपहिले जुन उत्साह र उमंग थियो, त्यो उत्साह, उमंग र जोस सबै हराएको हो कि भन्ने अनुभूति हुँदै आएको छ ।
अग्रज रंगकर्मीहरूमा रहेको ऊर्जालाई पुनर्जागृत गर्नका लागि के गर्न सकिन्छ भन्ने सोचका साथ नै केही महिनाअघि अग्रज नाट्यकर्मीहरूको जमघट भएको थियो ।
रंगकर्मीहरू सुस्ताए भनेर यो कुरा मनमा किन पनि आयो भने, म आफै पनि सुस्ताएर हो ! किनभने, कुनै जमानामा हामी आफै नाट्यकर्ममा सक्रियताका साथ लागेका थियौँ ।
त्यसपछि हामीले दिनरात नभनी खाई–नखाई गर्दै आएको नाट्यकर्मलाई टेलिभिजनले, टेलिभिजनलाई ठूलो पर्दाको फिल्मले टाढा पुर्यायो । यसरी हामी कलाकर्ममा हुँदाहुँदै पनि नाट्यकर्मबाट टाढा भयौँ ।
नाटकको जुन लत हुन्छ, त्यसले बेलाबेलामा नाट्यकर्मीलाई ठुङिरहन्छ । यही ठुङाइमा म पनि परेँ । त्यसैले गर्दा मलाई केही गर्नुपर्छ भन्ने लाग्यो । यो निकै वर्षअघिको कुरा हो ।
त्यसबीचमा यही विषयलाई लिएर मैले धेरैजनासँग कुरा गरेँ । रंगकर्मी अशेष मल्ललाई भनेँ । आरोहणका व्यवस्थापक प्रदीप श्रेष्ठलाई भनेँ । बद्री अधिकारी, किशोर डंगोललगायत अरू पुराना साथीहरूसँग भेट भयो कि नाट्यकर्मको कुरा नै हुन्थ्यो ।
यसरी कुरा गर्दै गयो । तर, पछि कुरो यत्तिकै हराउँदै जाने ! हिँड्दै छ पाइला मेट्दै छ भनेजस्तै । पछि यही विषय किशोर डंगोलले उठाए । किशोर वास्तवमा यो विषयलाई लिएर गम्भीर थिए ।
यसरी पुराना (२०४० सालतिरका) रंगकर्मीहरू किशोर र राजेश तातेपछि फेरि एकपल्ट अग्रज रंगकर्मीहरूलाई कसरी रंगमञ्चसम्म ल्याउन सकिन्छ भन्ने विषया छलफल भयो । र, हामी तीनैजनाको सक्रियतामा अग्रज रंगकर्मीहरूको भेलाको परिकल्पना गरियो ।
सांस्कृतिक संस्थानमा मित्र अशोक प्यासी राई महाप्रबन्धक हुनुभएकोले उहाँसँग पनि यस विषयमा थप कुराकानी भयो । उहाँले पनि यो कामलाई राम्रो भन्दै सहयोग गर्ने वचन दिनुभयो । र, उहाँले नाचघरमै अग्रज रंगकर्मीहरूको भेलाका लागि स्थान उपलब्ध गराउने हुनुभयो ।
यसरी एउटा ठूलो कामको टुंगो लागेको थियो । अशोकजीको सहयोगलाई संयोजन गर्नका लागि किशोर डंगोल उपयुक्त थिए । किनभने, किशोर यस काममा लामो समयदेखि सक्रिय थिए ।
उनी पुराना अग्रज रंगकर्मीहरूको सूची तयार गरेर तिनलाई कसरी भेला गर्न सकिन्छ भन्ने काममा आफ्नो किसिमबाट भिडिरहे । किशोरलाई संयोजनकारी भूमिका दिइयो ।
अन्ततः नाचघरमा एउटा भेला सम्पन्न भयो । भेलाका लागि हामी धेरै अग्रज रंगकर्मी साथीहरूको सम्पर्कमा पुग्यौँ । कुरा भएजति कसैले पनि नराम्रो काम, वाहियात काम भनेनन् । किनभने, सबै चाहन्थे यस किसिमको काम होस् ।
यसबाट हामी सबै हौसियौँ । फलस्वरूप, नाचघरमा भेला सम्पन्न भयो । हुन त सोचेजति रंगकर्मीहरू आउनु भएन । सम्भवतः कतिपयलाई हामीले नै सम्पर्क गर्न सकेनौँ । हामीले फोन नम्बर उपलब्ध भएजति रंगकर्मीलाई बोलाएका थियौँ ।
यसका लागि रंगकर्मीहरू प्रभाकर शर्मा र वीरेन्द्र हमालको पनि उल्लेख्य सहयोग रह्यो । भेलामा जति रंगकर्मी आउनुभयो, सबैले अब फेरि समय निकालेर नाटकमा अभिनय गर्ने कुरा गर्नुभयो । सबैमा उत्साह थियो । सबैले नाटकमा पुनः अभिनयका लागि आफूमा ऊर्जा रहेको दर्साउनुभयो ।
तर पनि एउटा भनाइ छ नि, ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड विचार’ । यो जमघटपछि विभिन्न विचार बाहिर आउन थाले । पुराना रंगकर्मीहरूको संगठनको कुरा पनि उठ्यो । संस्था स्थापनाको कुरा उठ्यो ।
तर, खासमा यो संगठन बनाउने या अरू कसैलाई ल्याउने नल्याउने भन्ने कुरै थिएन । यो त विशुद्ध अग्रज रंगकर्मीहरूलाई नियमित रंगकर्ममा सक्रिय गराउने अभियान मात्रै थियो । त्यस किसिमको वातावरण बनाउनेसम्मको कुरो मात्रै थियो ।
हामीले चाहेका हौँ अग्रज रंगकर्मीहरूको रंगकर्म सक्रियता । कुनै न कुनै रूपमा उहाँहरूले वर्षमा एक÷दुईपटक नाटक खेल्नुहोस् र आफूमा रहेको नाट्यकर्मप्रतिको उत्साहलाई जागृत राख्नुहोस् । खासमा हाम्रो चाहना उहाँहरू नसुस्ताउनुहोस् भन्ने हो ।
अग्रज नाट्यकर्मीहरू धेरै हुनुहुन्छ, जस्तो– हरिहर शर्मा, नीर शाह, टीका पहाडी, शकुन्तला शर्मा, मदनदास श्रेष्ठ, भुवन चन्दसँगै हाम्रो पुस्ताका बद्री अधिकारी, रवीन्द्र खडका, मोहन निरौला, रचना सिंह, सूर्यमाला शर्मा, सरोज खनाल, श्रीओम श्रेष्ठ, किशोर डंगोलहरू । उहाँहरूजस्ता नाट्यकर्मीलाई कुनै न कुनै रूपमा रंगकर्ममा जोडेर राख्ने हाम्रो सोच हो ।
उहाँहरूलगायत अन्य रंगकर्मीहरू फेरि नाट्य क्षेत्रमा सक्रिय भइदिए, वर्षमा एउटै मात्र भए पनि नाटक खेलिदिए नेपाली नाट्य क्षेत्रमा केही योगदान पुग्ने थियो भन्ने सोचले नै अग्रज भेला गरिएको थियो । त्यो भेलाले सबैलाई उत्साहित तुल्यायो ।
तर, यति बेला त्यो उत्साह फेरि सेलाएर गएको छ । मलाई लाग्छ, पहिले जो जति रंगकर्ममा हुनुहुन्थ्यो उहाँहरू यति बेला कुनै न कुनै काममा लागिरहनुभएको छ । सायद त्यही भएर पनि रंगकर्मका लागि समय निकाल्न नसक्नुभएको हो कि ? या उहाँहरूलाई मनै पो छैन कि ? किनभने, उमेर बढदै गएपछि जिम्मेवारीहरु थपिँदै जान्छन् । रंगकर्मतिर ध्यान कसले दिने !
तर पनि मलाई के लाग्छ भने, हामीले रंगकर्मप्रतिको सक्रियतामा थोरै मात्र पनि समय खर्चन सक्यौँ भने अग्रज रंगकर्मीहरूको यो सोचले सार्थकता पाउनेछ ।
पहिले खल्ती खाली भए पनि रहर थियो रंगकर्मप्रति । त्यसैले अरू कुरा हेरिएन । रंगकर्म नै हेरियो । मञ्च नै सर्वेसर्वा थियो हाम्रो लागि । तर, पछि रंगकर्मलाई सायद अनुत्पादक भनेर आफ्नोआफ्नो कामतिर लागियो ।
यसका लागि म आफूलाई पनि दोष दिन्छु । किनभने, जुन रूपमा हामीले अग्रज रंगकर्मीहरूलाई त्यहाँ बोलाएका थियौँ, त्यस रूपमा म पनि सक्रिय हुन सकिनँ । नाचघरमा भएको भेलापछि अग्रज रंगकर्मीहरू सुस्ताउनुको अर्को कारण पटकपटकको निषेधाज्ञा र बन्दाबन्दी पनि हो ।
भेलाको केही दिनपछि नै अवस्था केही खुकुलो भए हामीले एउटा नाटक तत्कालै गर्ने कुरो पनि उठाएका थियौँ । तर फेरि कोरोनाको दोस्रो लहरले सबैलाई आक्रान्त तुल्यायो । र, चाहेर पनि हामीले केही गर्न सक्ने अवस्था रहेन ।
तर पनि यति बेला म के महसुुस गर्छु भने, कुनै एउटा संस्था वा व्यक्तिहरूले चासो लिइदिएर अग्रज नाट्यकर्मीहरूलाई फेरि पनि स्टेजमा ओरालिदिने हो भने नेपालको नाट्य क्षेत्रमा बेग्लै ऊर्जा आउने थियो । यसले नयाँ र अहिले क्रियाशील रंगकर्मीहरूलाई पनि थप उत्साहित र ऊर्जावान् बनाउँथ्यो । यो लोभ र चाहना भने बाँकी नै छ ।
तर, प्रश्न उठछ– बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने ? कसले समय निकालेर यो सबै काम गर्ने ? हुन त यो काम त्यति गलत नभएको कसरी प्रमाणित हुन्छ भने, सबैले यो अग्रज अभियानको प्रशंसा गर्नुभयो । सबैले नाटकमा अभिनय गर्ने वचनबद्धता देखाउनुभयो ।
वास्तवमा यसले हामीलाई खुसी तुल्याएको थियो । नाचघरले पनि केही सहयोग गर्ने भएको थियो । अग्रज नाट्यकर्मीको एउटा समूह पनि तयार भयो । अग्रज नाट्यकर्मीहरूको अभिलेखसहित २०४७ सालसम्म मञ्चन नाटकको अभिलेख राख्ने कुरा पनि भएको थियो ।
पछि बैठकहरूमा भेटिएसम्मका डकुमेन्टहरू खोजी गरेर एउटा दस्तावेज नै तयार गर्ने र कालान्तरमा इतिहासको स्वरूप लिने एउटा बृहत् पुस्तक पनि प्रकाशित गर्ने कुरो भएको हो ।
यो गहन काम हो । हामीले सक्दैनथ्यौँ । हामीले कुरा त उठायौँ, तर यो काम नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठान वा राष्ट्रिय नाचघरले मात्र गर्न सक्छ । वा कुनै निजी प्रकाशन संस्थाले त्यसको व्यवस्था गर्न सक्छ । हामीले त्यस्ता सामग्री संकलनका लागि एउटा कमिटी पनि बनाएका थियौँ । तर, त्यो कुरो कुरोमै सीमित भयो ।
वास्तवमा हामी सबैको चाहना के थियो भने रंगकर्मको इतिहास अपुरो नहोस् । त्यो पूर्ण होस् । किनभने, पहिले आएका केही किताबहरू अपुरो छ । त्यहाँ धेरै कुरा छुटेका छन् । र, अपुरो पुस्तकले इतिहास नै अपुरो बनाउँछ ।
यो कुरा पनि अग्रज नाट्यकर्मी भेलाबाटै आएको हो । किनभने, त्यस्तो दस्तावेज प्रकाशनमा आए धेरै रंगमकर्मीहरूका बारेमा किताबमा लेखिन्थ्यो । त्यो समयमा के–के काम भएको थियो, को–को रंगकर्मीहरू थिए, नाटक गर्न कति कठिन थियो भन्ने सारा कुराको अभिलेख रहन्छ ।
त्यो समयमा स्टेज कम थियो । भौतिक पूर्वाधार कम थियो । सुविधा थिएन । सुविधा नहुँदा पनि कलाकारहरू सक्रिय थिए । मूलतः त्यस बखतका रंगकर्मीहरूले बाटो बनाउने काम गरेका थिए । पिच भएन होला, तर बाटो त निकाले नि !
ती साराका सारा कुराको अभिलेख रहोस् भन्ने हाम्रो चाहना हो । त्यो चाहना अहिले पनि छ । अहिले पनि अग्रज नाट्यकर्मीहरूको सक्रियतामा नाटक मञ्चन होस् । अग्रजहरू रंगमञ्चमा देखिऊन् र तिनलाई मञ्चमा सक्रिय गराउन सकियोस् । हामी तीनैजनाको सोच आज पनि यही छ ।
बस्, हामी मात्रै हैन, तपाईं अग्रज र अहिलेका पुस्ताका रंगकर्मीहरू सबैको साथ र सहयोगको खाँचो हामीले महसुस गरेका छौँ ।
(अग्रज रंगकर्मी राजेन्द्र शलभसँग गरिएको कुराकानीमा आधारित ।)