कञ्चनपुर । वेदकोट नगरपालिका–१०, दैजी–बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैध रूपमा मिनिट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ ।
चोरी–पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले चिनीसहितको ट्रक बरामद गरेको हो । सुपप्र०१००१क १९०१ नम्बरको ट्रकमा अवैध रूपमा ल्याइएको ९८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।
उनका अनुसार बरामद चिनीको मूल्य तीन लाख १८ हजार ५०० रुपैयाँ बराबर हुन आउँछ । चिनीसहितको मिनिट्रक र चालक भरत विष्टलाई कानुनबमोजिम आवश्यक कारबाहीका लागि गड्डाचौकी चौकी भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैबीच, प्रहरीले आज भीमदत्त नगरपालिका–१, भासीस्थित बिक्की गुप्ताले भारतबाट भन्सार छलेर ल्याएको ४२ क्विन्टल चिनी समेत बरामद गरेको छ । गुप्ताको गोदाममा छापा मारी प्रहरीले दुई लाख ७३ हजार रुपैयाँ मूल्य बराबरको चिनी बरामद गरेको हो । बरामद चिनीसहित गुप्तालाई नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । रासस