site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
कोरोनाले शरीर र दिमाग दुवै शिथिल बनाउने रहेछ (भिडियोसहित)
तस्बिर/भिडियो : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । सधैँ हँस्सीमजाक गरेर जहाँ गयो, त्यहाँको माहोललाई हँसिलो र रमाइलो बनाउने खुबी वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठसँग छ । कोरोनालाई हराएर बल्लबल्ल तंग्रिन खोजिरहे पनि मंगलबार हामीसँग भेट्दा उनको ठट्यौली गर्ने जोस भने उही पुरानै थियो । उनी आफ्नै अन्दाजमा नम्र स्वारमा बेलाबेला ठट्यौली शैलीमा प्रस्तुत भइरहेका थिए ।

केही बेरको कसरतपछि आफूले लगाएको हल्का हरियो टिसर्टमा टपक्क मिल्ने गरी पिन माइक राख्नेबित्तिकै उनले भने, “बल्ल पर्‍यो राधिका कृष्णजीको फेला !”

करिब तीन महिना घर र अस्पतालको शय्यामा बिताएका उनी पछिल्लो एक सातादेखि भने काममा फर्किएका छन् । सुरुमै लामो समयदेखि पेन्डिङमै रहेको महसञ्चारको ब्यानरमा बनेको जनचेतनामूलक भिडियोको काम सकेका छन् । यसका साथै उनको पेन्डिङ लिस्टमा अरु पनि थुप्रै कामहरु छन् । ती अब विस्तारै सुरु गर्ने तरखरमा लागिसकेका छन् ।

Dabur Nepal
NIC Asia

कोरोनाले थला परिरहँदा कहिले निको भएर फेरि काममा फर्कने भन्ने आतुरता उनमा थियो । “कोरोनाअघि चारवटा गीतको तयारी हुँदै थियो । दुईवटाको रेकर्डिङको काम फत्ते भइसकेका थिए भने दुईवटा हुन पाएन । त्यही पेन्डिङमा रहेको काम कहिले फत्ते गर्ने होला भनेर आतुर थिएँ,” उनले सुनाए ।

पोस्ट कोभिड अनुभव
अहिले पोस्ट कोभिडको चरणमा रहेका उनी आफूलाई ९९ प्रतिशत ठिक भइसकेको बताउँछन् । हुन त उनलाई १०० प्रतिशत नै ठिक छु है भन्न मन नभएको होइन, तर श्वासप्रश्वासमा अझै केही जटिलता छ । बेला–बेला स्वाँ–स्वाँ हुने गर्छ । तर, यो पनि क्रमिक रुपमा कम हुँदै गएको उनले महसुस गरिरहेका छन् ।

पार्किन्सन, कब्जियत, प्रोस्टेट, रक्तचाप, मुटुरोगसँग लडिरहेका उनले कोरोनालाई पनि जित्न सफल भए । आफूले कोरोनालाई जित्न सक्नुका पछाडि उनी केही कारणहरु बताउँछन् ।

“भ्याक्सिन एकचोटि लिइसकेको भएर त्यसले पनि केही बल पुग्यो । अर्को भनेको, घरसँगैको छिमेकी डाक्टर नीरज वैद्यको सल्लाहमा एन्टि निमोनियाको भ्याक्सिन पनि लिएको थिएँ,” उनी अगाडि थप्छन्, “तर पनि छातीको इन्फेक्सन थियो । तर, निमोनियाबाट बचेँ । अनि, अर्को भनेको आत्मबल र लाखौँ स्रोता–दर्शकले दिनुभएको आर्शीवाद, प्रार्थना, शुभेच्छा र औषधि नै हो ।”

उनी दर्शक तथा शुभेच्छुकहरुको मायाप्रेम र सम्मानलाई आफ्नो एउटा बलियो ऊर्जा मान्छन् । “त्यो नै मेरो ठूलो ऊर्जा हो । मेरो कमाइ त्यही हो । पैसाभन्दा पनि ठूलो कमाइ त्यही हो मेरो,” उनी गर्वका साथ सुनाउँछन् ।

एक्लोपनको त्यो क्षण
पहिलोपटक गत चैत ३१ गते छोरा यमन श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट छोरी सरानालाई पनि ज्वरो आएपछि परिवारकै परीक्षण गराउँदा परिवारका पाँचैजनाको रिपोर्ट पोजिटिभ आयो ।

पहिलोपटक आफ्नो रिपोर्ट पोजिटिभ आएको भन्ने थाहा पाउँदा उनले केही सोच्नै सकेनन् ।  उनको मुखबाट निस्केको पहिलो शब्द थियो, “ला.. भन्नेजस्तो लाग्यो, त्योबाहेक मैले अरु केही सोच्नै सकिनँ ।”

उनले भने, “पछि सम्पूर्ण परिवारलाई नै लागेको भन्ने थाहा पाएपछि भने अब के गर्ने होला भनेर केही चिन्तित भएँ ।”

अरु बेला सन्चो नहुँदा परिवारका सदस्यहरु साथमा हुन्छन्, हेरचाह गर्नको लागि । अझ अस्पतालमै भर्ना हुँदा त भेट्न आफन्त, साथीभाइदेखि छरछिमेकीहरु आउँछन् । तर, कोरोना संक्रमण हुँदा आफ्नै परिवारसँग पनि बस्न पाइँदैन । मदनकृष्णको परिवारका सबैजना संक्रमित भएका कारण उनीहरु एकार्कासँग डराउनु परेन । तर, एकार्कासँग नजिक भए पनि एकार्कालाई हेरविचार गर्न भने सक्ने अवस्था थिएन ।

“कसैमा ताकत नै थिएन । एक कप तातो पानी तताउन पनि उसले उसको मुख हेर्ने, उसले उसको मुख ट्वाल्ल परेर हेर्नुपर्ने थियो । को जाने त्यो भान्छामा, कसले ग्यास बाल्ने भन्ने थियो । कारण, सबैलाई कोरोनाले शिथिल बनाएको थियो । तर, सकिनसकी अनेक किसिमले टर्‍यो,” उनले पीडा र खुसी दुवै एकैचोटि व्यक्त गरे ।

अस्पतालको कोठामा एक्लै बसिरहँदा उनले परिवार, आफन्त साथीभाइ सबैलाई सम्झिए । सबैसँग प्रत्यक्ष भेट्ने सम्भावना थिएन । फोन र भिडियो कलबाटै कुराकानी गरिरहे । एकजना संक्रमित आफन्त गुमाएको पनि उनले पत्तो पाएनन् । पछि थाहा पाउँदा उनी दुःखित बने ।

“बितिसकेका रहेछन् म भने अस्पतालमा सिकाएको श्वासप्रश्वासको आसन सिकाइरहेका थिएँ । उनीहरुले मलाई पीडा हुन्छन भनेर लुकाएका रहेछन् । मेरो अगाडि मात्रै सबै ठिक भएको जस्तो हाँसेर देखाउने रहेछन्,” उनले मलिन आवाजमा सुनाए ।

कसैको चित्त नदुखाउने उनी करिब एक महिना अस्पताल बस्दा सुरुका केही हप्ता भने जनरल वार्डमा बसेका थिए । कोरोनाले ज्यानलाई सुस्त बनाए पनि उनी आफूजस्तै अरु संक्रमितको अनुहारमा हाँसो ल्याउन खोजिरहन्थे । देशले सम्मान गर्ने दिग्गज कलाकार भएर पनि उनी सकिनसकी आफ्नो शय्याबाट ओर्लेर हरेकको शय्याअगाडि गएर अभिवादन (नमस्ते) गर्थे । उनको नमस्तेले हरेकको अनुहारमा न्यानो हाँसो आइहाल्थ्यो ।

जनरल वार्डमा हुँदा राजनीतिक कुरा चल्दा मानिस त्यसप्रति नकारात्मक धारणा राख्थे । राजनीतिप्रति यति धेरै नकारात्मकता किन होला भन्ने प्रश्नसँगै उनी जवाफ पनि आफैँले दिन्थे । नागरिक मिलेर बस्न चाहन्छन्, तर राजनीतिक अस्थिरताले गिजोलिरहेको उनको बुझाइ छ ।

आफू सुविधासम्पन्न क्याबिनमा बसिरहेको तर अरु संक्रमितहरु शय्या नपाएर भुइँमै बसेर उपचार गरिरहेका समाचारहरु देखेर उनी अनि चिन्तित बन्थे ।

शरीर र दिमाग दुवै शिथिल
कोरोनाले जकडेको शरीरलाई केही तागत दिन उनी अस्पतालमै हुँदा पनि हिँड्डुल गर्नेलगायत सामान्य शारीरिक अभ्यास गरिरहन्थे । यसले उनको शारीरिक शिथिलतालाई हराउन केही मद्दत पक्कै पुग्यो । तर, मानसिक शिथिलतालाई भने हराउन नसक्ने अनुभव श्रेष्ठले गरे ।

कोरोना संक्रमणले मानसिक रुपमा सिर्जनशील हुन नसक्ने अनुभव उनले गरे ।  “यो बेला केही भावुक हुनेरहेछ । जति नै सकारात्मक अनि सिर्जनात्मक कुरा सोच्छु भन्दा पनि नसक्ने । दिमाग स्तब्ध अनि शिथिल भएको महसुस मैले गरेँ,” उनले भने ।

कोरोना संक्रमण भएर एक्लै शय्यामा बसिरहँदा उनले जिन्दगीको परिभाषा वा बुझाइ अरु बेलाभन्दा फरक महसुस गरे । उनी भन्छन्, “जिन्दगी भनेको केही रहनेछ । पैसा भनेको केही रहनेछ । आफन्त, नातागोता साथीभाइ चाहिने रहेछ । तर, धेरै पैसा नचाहिने रहेछ । धेरै पैसा भएर के काम ?

जिन्दगी भनेको आफन्त र माया नै हो भन्ने महसुस गर्दै उनी आफैँले लेखेको गीतको एक हरफ गुनगुनाउन थाल्छन्, “नभएको भए यहाँ माया भन्ने कुरा, पृथ्वी रगतमा डुबिसकथ्यो पूरा...।”

खोप नै औषधि 
उनी ‘भ्याक्सिन’लाई कोरोनाको एक मात्र ‘औषधि’ भन्छन् । जतिसक्दो चाँडो सबैलाई कोरोनाविरुद्धको खोप लगाउन उनको आग्रह छ । साथै, यसबाट बच्न सतर्कता अपनाउन जरुरी भएको भन्दै उनी सबैले अनिवार्य रूपमा मास्क लगाउन, साबुनपानीले हात धुनेदेखि स्यानिटाइजर लगाउन आग्रह गर्छन् । लापरबाही नगर्न पनि मदनकृष्णको आग्रह छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro