काठमाडौं । भर्खरै यमनबाट नेपाल आइपुगेका डा. गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । डा. केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका पदाधिकारीले बर्बादीतिर धकेलिरहेको भन्दै प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, रेक्टर र निर्देशक गरी चारजना शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका हुन् ।
“बीपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरुले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेका छन् । त्यसैले उनीहरुले तत्काल पद खाली गर्नुपर्छ र पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार दलीय वफादारिता नभई वरिष्ठता, इमान्दारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्छ,” डा. केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
बीपी प्रतिष्ठान बचाउन उचित कदम नचालेमा तथा असंवैधानिक संसद विघटन नसच्याइएमा सत्याग्रहसहित आन्दोलनका कडा कार्यक्रमहरु ल्याउने विज्ञप्तीमा उल्लेख छ । बीपी प्रतिष्ठान शुद्धिकरणको माग राख्दै प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थी १८ दिनदेखि आन्दोलनमा छन् ।