चनौटे (सिन्धुपाल्चोक) । पश्चिमोत्तर सिन्धुपाल्चोकको अवस्था अवर्णनीय छ । बाढी गएको साता दिन बितिसक्दा पनि त्यहाँ नागरिकहरूको आँखा ओभाएका छैनन् । सेमेसिदाङ हिमालको फेदीमुनि भेमाथाङको चौर खसेर थुनिएको हेलम्बु/मेलम्ची नदी एक्कासि खोलिँदा आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको तटीय भू–भागहरू विशालकाय ढुङ्गासहितको बगरमा परिणत भएको छ ।
असार १ गते आएको बाढीले तिम्बु, किउल, चनौटे, ग्याल्थुम क्षेत्रका खेतीयोग्य जमिन बगाएको छ । भीमकाय ढुङ्गासहितको बाढी घरतिर सोझिँदा कयौँ घरहरूका अवशेषसमेत भेटिँदैनन् । कति संरचना खोलाको बीचमा डुबेको हालतमा छन् ।
ठुल्ठूला चट्टानसहितको भेलबाढीले कैयन् भौतिक संरचना भग्न–खण्डहर तुल्याइरहँदा विशालकाय पत्थरकै कारण चनौटेबजारको केही भाग जोगिएको छ ।
बाटो तल, भूकम्पछि उभिएका संरचनाहरू बाढीले क्षतविक्षत तुल्याउँदा पुछारमा रहेको नागढुङ्गाले बजारको माथ्लो भाग जोगाएको स्थानीय नरबहादुर बस्नेत बताउँछन् ।
चनौटेको पुछारमा गुँडुल्किएर बसेको नागआकृतिको पत्थर कहिलेदेखि थियो भनेर स्थानीयबासीको मतैक्य छैन । कसैले आफूले थाहा पाएदेखि यहीँ थियो र यसको कम्तीमा पनि दुई सयवर्ष इतिहास हुनुपर्छ भनेर लख काट्छन् । कसैले बाढीले बगाएर ल्याएको हुनसक्ने पनि बताउँछन् ।
त्यहाँका रैथाने नरबहादुर बस्नेत भने नागढुङ्गालाई मेलम्ची नदीले नै तिम्बुबाटै बगाएर ल्याएको बताउँछन् ।
“यस क्षेत्रमा ९० वर्ष उमेर भएका एकजना पाको मानिस हुनुहुन्थ्यो,” उनी ढुङ्गाको किंवदन्ती उत्खनन् गर्दैै भन्छन्, “उहाँले बताउनुभएअनुसार एक सय वर्षअगाडि मेलम्ची नदीमा विशाल बाढी आयो । त्यही बाढीले बगाएर ढुङ्गो यहाँ ल्याएर राखिदियो ।”
बाढीले ढुङ्गा किनार लगाइदिएपछि स्थानीयबासीहरूले यसलाई नागदेवताको रूपमा पूजाअर्चना गर्थे । ढुङ्गासँग जोडेर कुनै संरचना उभ्याइएको पनि थिएन । कालान्तरमा त्यही ढुङ्गा रक्षाकवच बनेको बस्नेत बताउँछन् ।
“यो ढुङ्गा हुन्थेन भने यहाँका केही संरचना नै रहँदैनथे । बजार तल्लो बजार त बगरमा डुबी नै सकेको छ । बजारको माथ्लो भागको नियति पनि त्यस्तै हुन्थ्यो,” उनी भन्छन् ।
नागढुङ्गाको आडमा अर्को पनि त्यत्रै विशाल शिला (पत्थर) थियो । असार १ गतेको भेलले त्यसलाई पनि बगायो । अहिले बजार क्षेत्र बचाउने जिम्मेवारी एक्लो नागढुङ्गाको भागमा परेको अनुभूत आफूलाई भएको बस्नेत बताउँछन् ।
“यस क्षेत्रबाट चुनाव जितेका माननीय मन्त्री बनेका छन् । अरू नेताहरू पनि यही भेगमा छन्,” बस्नेत आक्रोशित हुँदै भन्छन्, “नागढुङ्गालाई सपोर्ट हुनेगरी तटबन्ध बनाइदिए बँचेखुचेका संरचना त जोगिन्थ्यो । कसैलाई मतलव छैन ।”
वारिपारी बजार । बीचमा अविश्रान्त बगिरहने मेलम्ची नदी । बजार क्षेत्रको दुवैतर्फ इन्द्रेणीतुल्य रङ्गीचङ्गी घरहरू । हेलम्बु नदी तटीय क्षेत्रमा चित्ताकर्षक, मोहक फाँट । चनौटे बजारको परिचय थियो यो ।
असार १ गतेपछि यसको चिनारी फेरिएको छ । बाढीले खण्डहर बजारको उपमा थमाएर गएको छ ।
लाग्दो बर्खा भएकाले चनौटे आसपासका क्षेत्रले क्षति बेहोर्न बाँकी नै रहेको बस्नेत बताउँछन् । सरकारले अझै पनि उदासिनता देखाउने हो भने चनौटे आसपासका सबै क्षेत्र बगरमा परिणत हुने उनको बुझाइ पनि छ ।
“तीनै तहका सरकारसँग नागरिकको जिउधनको रक्षा गर्ने पैसा छैन भने हामी आफैँ संकलन गरेर तटबन्ध गर्थ्यौँ । कम्तीमा यन्त्र, उपकरण त देओ भन्दा पनि कसैले सुन्दैनन् । अहिले पो नागढुङ्गाले छेकबार गर्यो । सधैँ यसले बचाउँछ भन्ने पनि त छैन,” उनी क्रुद्ध हुँदै सुनाउँछन् ।
चनौटे बजार मात्र होइन, हेलम्बु गाउँपालिकाको वडा नम्बर २ र ७ जोड्ने रातो पुललाई पनि ढुङ्गाले नै जोगाएको स्थानीयबासी बताउँछन् । मेलम्ची दोभानबजारदेखि अधिकांश पक्की, झोलुङ्गे र मोटरेवल पुल बाढीले बगाउँदा चनौटेको बेलिब्रिज भने जोगिएको छ । असार १ र ४ गतेको बाढी पुलमाथि नै भएर बगेको थियो ।
दुवैतर्फ विशाल चट्टान भएकाले रातो पुल जोगिएको एमालेका नेता हस्त पण्डित बताउँछन् । अहिले पुलको दुवैतर्फ स्काभेटरको मद्दतले ढुङ्गा खसालेर पुललाई जोगाउने काम भइरहेको र बाढी मत्थर हुनेबित्तिकै तटबन्द र नदी नियन्त्रणको काम सुरु हुने उनी बताउँछन् ।
तस्बिर : अक्षर काका