site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बचाउन सकिनेहरु पनि अक्सिजनको अभावमा गुमाउँदै छन् ज्यान, सरकार भन्छ– सबै नियन्त्रणमा छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा तीन करोड ३३ लाख जनसंख्या छ । कोरोना महामारीले विश्व आक्रान्त छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो नेपाल सार्क राष्ट्रमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा भारतभन्दा अघि छ ।

मृत्युदर बढ्दो छ । तीन करोड जनसंख्यामा हालसम्म २६ लाख ५२ हजार १३० जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा चार लाख तीन हजार बढीमा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये तीन हजार ८६९ जनाले ज्यान गुमाएका छन् । दुई सातायता मृत्युदर उकालो लागेको छ ।

शव व्यवस्थापनमा चुनौती थपिएको छ । आर्यघाटमा संक्रमितको शव व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । झट्ट हेर्दा भारतमा महामारीका कारण शव जलाएको दृश्य जुन सामाजिक सञ्जालमा भाइरल भएको छ, नेपालका आर्यघाटको दृश्य पनि उस्तै देखिन्छ । पछिल्लो २७ दिनमा ८०१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो दैनिक २९ जना हुन आउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार बढी छन् । संक्रमणको तुलनामा निको हुने दर कम छ । लगातार संक्रमित थपिँदा अस्पतालले धान्न नसक्ने अवस्था छ । अस्पतालले विज्ञप्ति नै निकालेर नयाँ संक्रमितलाई भर्ना गर्न नसकिने बताइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपालको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको बारम्बार स्वीकार गरेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली यो मान्न तयार देखिँदैनन् । उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत नेपालमा कोरोना नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

Global Ime bank

विज्ञहरुले प्रधानमन्त्रीको यो भनाइमा आश्चर्य प्रकट गरेका छन् । सरकारी अस्पतालमा समेत पर्याप्त मात्रामा मेडिकल सामग्रीको अभाव छ । सामग्रीकै अभावका कारण कोरोना संक्रमणको उपचारका लागि महत्वपूर्ण काठमाडौंस्थित टेकु अस्पतालले आइतबारबाट कोरोना परीक्षण (पीसीआर) बन्द गर्नुपरेको छ । स्वास्थ्य सामग्री कहिले पाउने हो, टुंगो छैन ।

भेरी अस्पतालका डा. संकेतकुमार रिसालले सरकारी अस्पताल नाम मात्रको भएको बताए । महामारीको समयमा पनि केन्द्र र प्रदेश सरकारले वास्ता नगरेको उनको गुनासो छ । देशका विभिन्न अस्पतालमा कोभिड–१९ परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्रीको अभाव देखिएको छ ।

कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी स्वास्थ्य सामग्रीको चरम अभाव भएको दाबी गर्छन् । यसबाहेक अक्सिजन, भेन्टिलेटर, आईसीयूको अभाव छ । अक्सिजनकै अभावमा कयौँले अकालमै ज्यान गुमाएका छन् । महाकाली अस्पताल चन्दाको भरमा चल्न थालेको उनी बताउँछन् ।

तर, सरकारले भने प्रर्याप्त मात्रामा अक्सिजन, भेन्टिलेटर भएको दाबी गर्दै आएको छ । कोरोनाकालमै ४०० आईसीयू र भेन्टिलेटर थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो पर्याप्त भने होइन । रकमको अभाव भएपछि व्यापारी, संघ–संस्थाले अस्पताल सञ्चालनका लागि आर्थिक सहयोग गर्न थालेका छन् ।

युवा कोरोनाको उच्च जोखिममा
नेपालमा दोस्रो लहरको संक्रमणमा ज्यान गुमाउनेमा युवा अधिक देखिन्छन् । जसमा अधिकांश ३० देखि ४५ उमेर समूहका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार ‘डबल म्युटेन्ट’ भाइरसका कारण मृत्यु हुनेमा ३० देखि ४५ वर्ष उमेर समूहका व्यक्तिको संख्या बढी ।

विज्ञहरुका अनुसार संक्रमण सहर हुँदै गाउँ, घर–घरमा पुगिसकेको छ । डा पौडेलले भने, “यो निकै जटिल र चुनौतीपूर्ण अवस्था हो । पछिल्लो समय ज्यान गुमाउनेको संख्या हेर्ने हो भने ५० प्रतिशत युवावस्थाका छन् । जुन निकै दुखद हो ।”

अस्तव्यस्त स्वास्थ्य प्रणाली
सार्कमा नेपालको सरकारी स्वास्थ्य प्रणाली निकै कमजोर मानिन्छ । देशभरका सबै अस्पतालमा आईसीयू सेवा छैन । चिकित्कसको अभाव छ । जनशक्तिसँगै साधन–स्रोतको अभाव छ । यस्तोमा महामारीले विकराल रुप लिँदा पनि सरकारले पर्याप्त तयारी नगरेकोमा सरकारी विज्ञ नै चिन्तित देखिन्छन् ।

विज्ञ भन्छन्, “सरकारले विज्ञ टोली नै बनाएन । स्रोत–साधन जुटाउन पहल गरेन । नागरिकको स्वास्थ्यमाथि सरकार गम्भीर बन्न सकेन । जसको परिणाम नेपाल अर्को इटली बन्ने खतरा छ । भारतकै नियति हामी भोगिरहेका छौँ ।”

तीन करोड बढी जनसंख्या भएको नेपालमा सरकारी आईसीयू बेड १४ सय २३ छन् । भेन्टिलेटरको संख्या ५८३ छ । कतिपय त चल्ने अवस्थामै छैनन् । सञ्चालन गर्ने जनशक्तिको अभाव छ । देशभर सोमबारसम्म आईसीयूमा झन्डै एक हजार संक्रमित उपचाररत छन् । २९५ जना भेन्टिलेटरमा छन् । कतिपय अस्पतालमा आईसीयू कम र उच्च जोखिममा रहेका संक्रमित बढी छन् । आईसीयूकै अभावमा ज्यान गुमाउनुपरेको खबर सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेको छ । नागरिक बेड र अक्सिजनकै लागि लागि छटपटाइरहेका छन् ।

यसबाहेक नेपालमा कोरोनाविरुद्धको खोप दिने काम प्रभावकारी बन्न सकेको छैन । व्यापारी र सरकारका व्यक्तिबीच कमिसनको कुरा नमिल्दा खोप नै आयात हुनसकेको छैन । हालसम्म नेपालमा पहिलो डोज २० लाख ९१ हजार ५११ जनाले लिएका छन् भने तीन लाख ६२ हजारले दुई डोज खोप लिएका छन् । १७ लाखले दोस्रो डोज कहिले पाउँछन्, टुंगो छैन ।

सोमबार संसद्को विशेष अधिवेशनमा पूर्वस्वास्थ्यमन्त्री उपेन्द्र यादवले दोस्रो डोज खोप कहिले पाइन्छ भन्दै प्रश्न गरेका थिए ।

पुगेन सरकारको तयारी
नेपालका अस्पतालमा बेडको चरम अभाव देखिएको छ । देशकै ठूलो मानिएको त्रिवि शिक्षण अस्पतालमा बेड अभावमा पेटीमै राखेर उपचार भइरहेको छ । अक्सिजन सिलिन्डरको हाहाकार छ । तर, सरकारले समयमै अपनाउनुपर्ने नीति अख्तियार नगर्दा सरकारी अस्पतालको बेहाल र निजी अस्पताल मालामाल भएको नागरिकको गुनासो छ । वरिष्ठ जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भन्छन्, “सरकारले कमसेकम यो अवधिमा अस्थायी अस्पताल मात्रै बनाएको भए पनि निजीको भरपर्न पर्दैनथ्यो ।”

सरकारले निजी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार गरेबापत सामान्य बिरामीको प्रतिदिन ३५ सय प्रतिव्यक्ति प्रदान गर्दै आएको छ । जटिल प्रकारका बिरामीको प्रकृति हेरेर दैनिक १५ हजार रुपैयाँसम्म प्रदान गर्दै आएको छ । त्यो रकम निजीलाई दिनुको साटो सरकारले साधन–स्रोतमा लगानी गरेको भए नागरिक अक्सिजन, आईसीयूको अभावमा छटपटिनु नपर्ने विज्ञहरुको जिकिर छ ।

सरकारकै कारण फैलियो कोरोना !
कोरोना संक्रमणको पहिलो लहर मत्थर भइरहँदा दोस्रो लहरले यति भयावह रुप लिएर आउने धेरैको आँकलन नै थिएन । तर, त्यही समयमा सरकार र जिम्मेवार राजनीतिक दलबाटै हजारौँको भेला, जुलुस र सभा भए । त्यसमा स्वयम् प्रधानमन्त्री ओली सबैभन्दा अगाडि देखिए । कोरोना नियन्त्रणको योजना बनाउनुभन्दा शक्ति प्रदर्शनमा प्रधानमन्त्रीसहित सत्तारुढ दल सक्रिय भयो ।

प्रधानमन्त्री ओली तीन साताअघिसम्म सयौँको उपस्थितिमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यो कोरोना संक्रमणको दोस्रो लहर आउनुमा जिम्मेवार भएको विज्ञहरुको बुझाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC