site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जग्गा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मुना चौधरी



झोक्र्याएर बसिरहेका मलहुको मनमा धेरै कुरा खेलिरहेको थियो । उनको मन शान्त थिएन । उनको आँखाको पिँध भरिएको थियो । तर, उनी निःशब्द र भावशून्य थिए । चाउरी परेको उनको अनुहार सुक्खा थियो । दयाको भाव भरिएको उनका पहेँला आँखामा लाचारीको ज्वारभाटा उम्लिरहेकोे थियो । उनी यतिसम्म लाचार कहिले भएका थिएनन्, जति लाचार उनी छोराको व्यवहारबाट भएका थिए ।

उनले छोरा पाउनलाई अनेक भाकल गरेका थिए । निर्जल पेट बाबाधाममा साष्टांग दण्डवत् गर्दै शिव मन्दिर वरपर चक्कर लगाएर दर्शन गरेका थिए । घरमा अष्टजाम गरेका थिए । त्यसपछि ३० वर्ष अगडि छैटौँ सन्तानका रूपमा छोरो जन्मियो । छोरो जन्मेपछि उनले आफूलाई संसारकै सबैभन्दा भाग्यमानी बा ठाने । छोरो नजन्मेसम्म उनलाई गाउँलेहरूले अनेक लाञ्छना लगाउँदै कुरा काटेका थिए । वंश चलाउने र दागबत्ती दिने छोरा छैन भनेर उनले अनेक निन्दा खेप्नु परेको थियो । त्यही लाञ्छना र निन्दा सुनेर धेरै विचलित भए । तर, अन्तिममा छोरो पाएर संसारकै खुसी पाएको अनुभव उनलाई भयो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले पाँचै छोरीको बिहेबारी गराइसकेका थिए । एउटा छोरोको भर हुन्न भनेर उनले एउटा छोरा अझै जन्माउने प्रयास गरे । तर, सातौँ सन्तानका रूपमा पनि छोरी जन्मिइन् । उनले पाँचैजना छोरीहरूलाई राम्रै घरमा दिएका थिए । एउटा मात्र छोरो रामसेवक र कान्छी छोरी आशालाई दुःख गरेर पढाए ।

उनी किसान थिए । छोरीहरूको पढाइ र बिहे खर्च उनले ऋण लिएर टारे । तर, कुनै ठाउँको पनि एकै धुर जग्गा बेचेनन् । धान, चामल र नगदेबाली बेचेरै सबै ऋण चुक्ता गरे । कान्छी छोरी आशा १२ मा पढ्दै थिइन् । आशाको बिहे गर्न बाँकी थियो ।

Royal Enfield Island Ad

एक मध्यम वर्गीय किसानमा उनको गणना हुन्छ । उनको दुई बिघा जग्गा थियो । खान, लाउनलाई आफ्नै खेतबारीबाट पुग्थ्यो । उनका छोरा रामसेवक प्राइभेट कम्पनीमा जागिर गर्थे । रामसेवक पटक–पटक आफ्ना बासँग पैसा मागिरहेका हुन्थे, व्यापार–व्यवसाय गर्न । छोरालाई दिने मलहुको एउटा मात्र राय थियो, ‘व्यवसाय गर्नु छ भने आफैँ कमाएर व्यवसाय गर् । स्वावलम्बी बन् ।’

रामसेवक मलहुको विचारको ठ्याक्कै विरुद्धमा थिए । मलहुले स्वास्नीको गहना बेचेर, रुख्खा, सुक्खा खाएर, ऋण लिएर र धेरै दुःख गरेर जग्गा–जमिन जोडेका थिए ।

एक वर्षदेखि बा र छोराबीच जग्गाको विषयलाई लिएर मनमुटाव चलिरहेको थियो । सबै जग्गा मलहुको नाममा थियो । उनी जग्गा बेच्न चाहन्नथे । तर, छोरो जग्गा बेच्न साँझ–बिहान मलहुलाई दबाब दिइरहन्थे । जुन छोरालाई उनी आफ्नो सर्वस्व मान्थे, त्यही छोराले खेत बेच्नका लागि उनको सुख, चैन सबै खोसेको थियो । बाउ–छोरामा राम्ररी बोलचाल नै थिएन ।

साठी वर्षको मलहुमा पहिलाको जस्तो जाँगर थिएन । दुःख गरेर आर्जेको खेत उनी बेच्न चाहन्थेनन् । त्यसमाथि जग्गाको दाम दिनदिनै निकै बढिरहेको थियो । उनी छोराकै लागि सबै खेत राखिदिन चाहन्थे । उनी चाहन्थे, उनको छोरोले सम्पत्तिको मोल बुझोस् । तर, रामसेवक चाहन्थ्यो, उसका बाले उसको मन बुझून् र व्यापार गर्न पैसा दिऊन् ।

सधैँ बिहान–बेलुकी रिसाउँदै रामसेवक बासँग जग्गा बेच्न प्रस्ताव राख्थ्यो । छोरोेको यही व्यवहारले मलहु आजित भइसकेका थिए । बुहारी सरस्वतीले पनि सासू दुर्गीलाई राम्रो व्यवहार गर्दिन थिइन् । कुरा लगाएर सासू र नन्दलाई रामसेवकको मुखबाट गाली मात्रै सुनाउँथिन् । बाउ–छोराबीच राम्ररी बोलचाल त थिएन नै, सरस्वतीको बोलचाल पनि नन्द र सासूसँग थिएन ! बाहिरबाट हेर्दा पाँचजनाको परिवार कति सुन्दर र सुखी देखिन्थ्यो । तर, भित्रभित्रै कलहको विषले भरिएको थियो ।

सरस्वती छिमेकका स्वास्नीमान्छेहरूसँग मिल्थिन् । घरको सबै कुरा छिमेकीहरूलाई सुनाउँथिन् । तर, घरमा उनी अँध्यारो अनुहार लगाएर बस्थिन् ।

परिवारमा आपसी समझदारी थिएन । शान्ति र चयन थिएन । एकार्काको अनुहारतिर कोही हेर्दैनथे । आशा कान्छी छोरी भएकीले मलहु उनलाई बढी पढाउन चाहन्थे । तर, सरस्वती चाहन्थिन् आशाको बिहे गरिदिइयोस् । उनी आशाको पढाइका विरुद्धमा थिइन् । अरूको घर जाने छोरीलाई किन पढाउनुपरयो भन्ने खालको रूढिवादी सोच सरस्वतीमा थियो । छोरा बा–आमासँग रिसाउँथे भने सरस्वती नन्दलाई लिएर सासू–ससुरासँग रिसाउँथिन् । यही कारणले मलहुको परिवारमा शान्ति थिएन । सबैको मनमा एकार्काप्रति रोष र क्लेश भरिएको थियो ।

मलहुले छोरालाई जति सम्झाए पनि छोरा उनको कुरा सुन्न तयार थिएन भने दुर्गी र आशाले केही बोले सरस्वती मुखमुखै जवाफ फर्काउँथिन् । उनीहरू मिल्ने कुनै सम्भावना देखिँदैनथ्यो । सबै उपाय अपनाएर मलहु थाकिसकेका थिए ।

आजित भएर उनी बरु आफ्नै मृत्युको कामना गर्थे । खेत नै त्यस्तो ठाउँ थियो, जहाँ मलहु, दुर्गी र आशा मन खोलेर रुन्थे । खेतमा काम गर्न गएको बेला आशा र दुर्गी आमा–छोरी घरको व्यवहार सम्झेर रुन्थे । मलहु उनीहरूलाई सम्झाउँथे । भन्थे, “सबै ठिक हुन्छ ।” तर, ठिक हुने कहिले ? कलह शान्त हुने कुनै लक्षण नै देखिन्थेन ।

आशाको बिहे गर्ने बेला भएको थिएन । दुःख गरेर आर्जेको खेत बेचेर पैसा छोरोलाई सुम्पिन मलहु तयार थिएनन् । उनले समाधानको बाटो नदेखेपछि स्वास्नीलाई पटक–पटक भन्दै आएका थिए, “यस्तो छोरो पाउनुभन्दा त नपाएको जाती । छोरालाई अलग गरिदिए समाजले के भन्लान् ? एउटै छोरो । यस्तो कलहमा बस्नुभन्दा छोरीलाई लिएर हिँडौँ तीर्थयात्रामा । तीर्थयात्रा गर्दै बसूँला । भिख मागेर खाऔँला । शान्तिले बस्न त मिल्छ ।”

मलहुको निर्णय सुनेर दुर्गीका गह भरिए । उनले फेरि थपे, “महँगी बढेर मान्छेहरूले जग्गा किन्न सकेका छैनन् । मैले दुःख गरेर किनेको खेत उसले बेच्न खोज्दै छ । बेचे भने फेरि त्यही दाममा जग्गा किन्न सकिँदैन । यो कुरा उसले किन बुझ्दैन ?”

बाउ र छोराका बीचमा दिन–प्रतिदिन कलह र मनमुटाव बढ्दै गइरहेको थियो । छोरोले जग्गा बेच्ने प्रस्ताव राख्न छोडेको थिएन भने खेत नबेच्ने हठबाट मलहु पछाडि हटेका थिएनन् । जग्गा नबेच्ने मलहुको हठ देखेर रामसेवकले ‘सबै जग्गा मेरो नाममा सार्नुस्’ भनेर एक दिउँसो रिसाउँदै प्रस्ताव राखे । मलहुले छोरोको कुरा सुनेर रिसाउँदै भने, “मेरो घरबाट निस्की ? जा, आफैँ कमा । आफैँ खा । जग्गामा आँखा नगाड् । म मरेपछि तेरै त हो नि सबै खेत ।”

उनको कुरा सुनेर रामसेवकले रिसाउँदै जवाफ फर्कायो, “मलाई अहिले जग्गा चाहिन्छ । कहिले मर्ने कि नमर्ने ठिगान छैन । त्यति बेलासम्म मैले किन कुर्ने ?”

जुन छोरालाई मलहुले जीवनदान दिएका थिए । छोरो पाउनको लागि हजारौँ भगवान्को दैलो ढक्ढक्याएका थिए, त्यही छोरो मलहुको मृत्युको कामना गर्दै थियो ! मलहुका आँखा आँसुले भरियो । तर, रामसेवकको आँखा, गाला र घाँटी रिसले रातो भयो ।

मलहुले आफूलाई नियन्त्रण गर्दै छोरासँग रिसाउँदै भने, “म बाँचुन्जेल तँलाई मेरो सम्पत्ति एक सुको दिने छैन । जे गर्नु छ गर् ।” मलहुको कुरा सुनेर रामसेवकको अनुहारमा रिसको रगत उम्लिएको देखियो । उनी गुहालीभित्र गए । गुहालीबाट सनको (सनपाटको गुद्दीबाट बनाइएको लामो) रस्सी लिएर आए ।

हट्टाकट्टा रामसेवकले मलहुको दुवै हात समाएर पिठ्युतिर अँठ्यायो । लाचार र वृद्ध मलहुको हात जवान छोराले अँठ्याउँदा उनी हलचल गर्न नसक्ने भए । उनी डराए । हात झट्कार्न खोज्दै भने, “के गर्दै छस् ? छोड् मलाई । यस्तो व्यवहार गर्न कहाँबाट सिकिस् ?”

रामसेवकले उनको दुवै हात पछाडि अँठ्याएर डोरीले कसेर बाँध्यो । कसेर बाँधेकाले उनको हात दुख्न थाल्यो । उनी डराए । डराएर थचक्क जहाँको त्यहीँ बसघरामा बसे । गुहार्दै स्वास्नीलाई डाक्न थाले, “रामसेवककी आमा कहाँ छेस् ? यहाँ आ । मलाई बचा ।”

उनको स्वरमा पीडा गुञ्जयमान थियो । भात खाँदै गरेकी दुर्गीले मलहुको व्यथित, लाचार र करुणाले भरिएको स्वर सुनेर अनुमान लगाइन्, बाउ छोराका बीचमा केही अवश्य परेको छ । दुर्गी आँगनबाट आउनुभन्दा अगाडि दुवै हात बाँधिएको मलहुलाई खलियानको दाइँ गर्ने मियोमा अँठ्याएर बाँधिसकेको थियो । मलहु लाचार भएर जनावर बाँधिएझैँ बाँधिएर बसिरहेका थिए । मलहुका दुवै आँखा आँसुले भरिएका थिए । जब दुर्गी खलियानमा आइन्, उनले मलहुलाई आफ्नै छोराले बाँध्दै गरेको देखिन् । उनले त्यो दृश्य देख्न सकिनन् र रुँदै डराउँदै टोल–छिमकेका मान्छेहरू डाक्दै भनिन्, “गुहार गुहार ! बचाऊ बचाऊ ! आफ्नै बाउलाई यो बेइमान छोरोले मार्न लागेको छ ।”

उनी कराएको सुनेर रामसेवकले मलहुको हातमा बाँधेको डोरी खोल्यो । मान्छेहरू जम्मा हुनुभन्दा अगाडि नै उसले डोरी खोलिसकेको थियो । डोरीले अँठ्याएको हाततिर हेर्दै मलहुले भने, “यही दिन देख्नलाई तँलाई जन्माएको थिएँ ?”

छिमेकीहरूले जम्मा भएर रामसेवकलाई गाली गरे । तर, ऊ त्यति बेलासम्म त्यहाँबाट निस्किसकेको थियो । प्रहरीचौकी पनि नजिक थिएन । प्रहरीचौकीमा उजुरी गर्न जानै एक घण्टा लाग्थ्यो । प्रहरीमा तुरुन्तै उजुरी गर्न कोही जान सकेनन् ।

कहिले लोग्नेको आँखामा आँसु नदेखेकी दुर्गी ६० वर्षको उमेरमा पहिलोपटक लोग्नेको आँखामा आँसु देखेर भावविह्वल भइन् । उनले मलहुलाई सहारा दिँदै उठाएर बसघरा लगिन् । हात बाँधिएको ठाउँमा डाम बसेको थियो । बाँधिएको ठाउँमा मालिस गर्दै उनी हिक्का छोड्दै रुन थालिन् । मलहु थुकसँगै आँसु पनि निलिरहेका थिए ।

मलहुका आँखा राता थिए । मनमा गहिरो घाउ र चाउरी परेको अनुहार वेदनाले भरिएको थियो । उनले आफूलाई सम्हाल्दै स्वास्नीलाई भने, “त्यो साला मेरो छोरो होइन । मेरो शत्रु हो त्यो । अब झन् एक सुको केही दिने छैन ।” दुर्गी आँसु पुछ्दै उनको अनुहारतिर निर्निमेष हेरिरहेकी थिइन् ।

उनी छोराको व्यवहार देखेर डराए । डोरीले हात बाँध्नेले घाँटी थिचेर नमार्लान् भन्ने के ठेगान ? उनको मनमा अनेक शंका पलायो । छोराबाट असुरक्षित अनुभव गरे । मलहुले आफ्नै छोरोको नाममा थुके । त्यस्तो छोराको बाउ भएकामा आफैँलाई सरापे ।

उनी मध्यरातमा स्वास्नी र छोरी आशालाई लिएर घरबाट निस्किए । बिहान हुनुभन्दा अगाडि उनी जेठी छोरी लीलाको घरमा पुगे । सबै वृतान्त लीलालाई बताए । लीलाले सम्मानका साथ बा–आमालाई आफ्नै घरमा राखिन् । आशाको भर्ना उतैको क्याम्पसमा गराए । रामसेवक सबै दिदीहरूको घर बाउ–आमालाई खोज्न गयो । तर, कुनै दिदीहरूले पनि बा–आमा आफूकहाँ आएको बताएनन् । सबै दिदी–बहिनी लीलाको घरमा जम्मा हुन्थे । बा–आमालाई भेटेर रुन्थे । मनभरिका दुःख, सुख बाँड्थे ।

उता, छोरीको घरमा बसेर मलहु खुसी थिएनन् । उनी छोराको व्यवहार सम्झेर चिन्तित थिए । दिन–प्रतिदिन दुब्लाउँदै गएका थिए । लीलाले जति सुखले उनलाई राख्न खोजे पनि उनी उदास रहन्थे ।

सबै दिदी–बहिनीहरू माइती आउन छाडे । भित्रभित्रै मलहुलाई चिन्ताले खाइरहेको थियो । ६ महिनापछि उनी बेलुकीको खाना खाएर सुते । तर, बिहान उठेनन् । उनले सदाका लागि संसार त्यागे । मृत्युपछि बा–आमा र आशा आफूकहाँ रहेको र बाको मृत्यु भइसकेको खबर लीलाले रामसेवकलाई पठाइन् । बाको मृत्युको खबर सुनेर रामसेवक र मलहुका मिल्ने गाउँका साथीहरु मलहुको अन्तिम बिदाइ गर्न लीलाको घर आए । जम्मा भएका मलहुका साथी र लीलाको गाउँका छिमेकीहरूले मलहुलाई दागबत्ती दिन रामसेवकलाई वञ्चित गरे । बाचुन्जेल बाउलाई पीडा र दुःख दिने छोरालाई उनको मृत्युपछि दागबत्ती दिने कुनै अधिकार छैन भन्दै गाउँलेले रामसेवकको विरोध गरे । लीलालाई दागबत्ती दिन लगाए । लीलाले बाउलाई दागबत्ती दिइन् । रामसेवकलाई दागबत्ती दिन वञ्चित गरेकोमा ऊ केही बोलेन । उदास अनुहार लगाएर पश्चातापको आगोमा जलिरह्यो । मलहुको सद्गत काजक्रिया लीलाकै घरबाट सम्पन्न भयो ।

श्राद्ध सकाएर रामसेवकले बाउको मृत्युदर्ता गरायो । मलहुको निधनपछि दुर्गीको नाममा स्वतः सबै जग्गा आउँथ्यो । तर, उसले आमासँग एकपटक पनि सल्लाह गरेन । मलहुको मृत्युदर्ता बनाएर जब ऊ बाउको नाममा भएको सबै खेत आफ्नो नाममा सार्न मालपोत पुग्यो, बल्ल उसले थाहा पायो मलहुले सबै खेत कान्छी छोरी आशाको नाममा सारिसकेका रहेछन् । रामसेवकलाई केही राखिदिएका रहेनछन् !

आशाको नाममा सबै जग्गा सारेको देखेर ऊ आगो भयो । ऊ रिसाउँदै लीलाको घरमा पुग्यो । आशा र आमालाई धेरै बेरसम्म गाली गरिरह्यो । उसले गाली गर्दैगर्दा आशा र दुर्गी केही बोलेनन् । मौन बसिरहे । गाली गरेर थाकेपछि ऊ घर फर्कियो ।

उसले आफ्नो भागको जग्गा हक–दाबी गर्न आशामाथि मुद्दा हाल्यो । अदालतमा उपस्थित हुन तोकिएको तारिखमा आशासँगै दुर्गी र लीला पनि अदालत पुगे । 

अदालत भरिएको थियो । भरिएको सभामा कठघरामा उभिएर आशाले न्यायाधीश र रामसेवकतिर पालैपालो हेर्दै भनिन्, “बा–आमाको महत्त्व दाइले बुझ्नु भएन । पितृसम्पत्तिको समेत महत्त्व बुझ्नु भएन । बालाई शारीरिक र मानसिक यातना दिनुभएकोले बाले सबै जग्गा मेरो नाममा सार्नुभएको हो । मलाई बाको सम्पत्तिमा कुनै लोभ छैन । दाइले जुन दिन बाले दुःख गरेर आर्जन गरेको सम्पत्तिको मोल, बाको पसिनाको गन्ध र बा–आमाको महत्त्व बुझ्नुहुन्छ, त्यसै दिन सबै जग्गा म दाइलाई फिर्ता गर्नेछु ।”

आशाको कुरा सुनेर रामसेवकले पहिलेका दिनहरू सम्झियो । बा–आमालाई गरेको व्यवहार सम्झियो । बाउलाई पटक–पटक मानसिक यातना दिएको र डोरीले हात बाँधेको सम्झियो । अतीत सम्झेर ऊ पश्चातापमा पर्यो । आफूले परिवारसँग अत्यन्तै नराम्रो व्यवहार गरेको सम्झियो । बा–आमालाई पीडा दिएको सम्झियो ।

कठघराबाट निस्केर बसिरहेकी आमा दुर्गीको खुट्टा ढोग्दै ऊ रून थाल्यो । आमा र बहिनी आशालाई सँगै घर जाऔँ भन्ने प्रस्ताव पनि राख्यो । तर, उनीहरूले घर जान स्वीकारेनन् ।

पश्चातापमा परेको रामसेवकलाई एक महिनाभित्रै सबै जग्गा आशाले फिर्ता गरिन् । आफूसँग केही राखिनन् ।

यति बेला आशा सहरमा बसेर काम गर्दै पढ्दै छिन् । उनले आफूसँगै आमालाई पनि सहरमै ल्याएकी छन् । दुर्गी छोरासँग बस्नुभन्दा छोरीसँग बस्नै मन पराउँछिन् !

रामसेवक आशालाई बेलामौकामा पढाइका लागि पैसा पठाउन खोज्छ । तर, आशा दाइसँग पैसा लिन अस्वीकार गरिरहेकी छन् ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro