site stats
बाह्रखरी :: Baahrakhari
विशेष
यी हुन् विश्वका सर्वाधिक धनी व्यक्ति, झन्डै ५ सय नयाँ अर्बपति थपिए
तस्बिरः यााहु

काठमाडौं । कोरोना महामारी र लकडाउनकाबीच पनि सन् २०२१ मा अर्बपतिहरूको संख्यामा वृद्धि भएको छ । विश्व चर्चित विजनेस पत्रिका फोब्र्सले सार्वजनिक गरेको ३५औं वार्षीक सूचीअनुसार यो वर्ष ४९३ नयाँ अर्बपतिहरू थपिएका छन् । यो वर्ष ८६ प्रतिशत अर्बपतिहरूको सम्पत्ति अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । शीर्ष १० मा परेकामध्ये ८ अर्बपति अमेरिकी नागरिक हुन् ।

१.जेफ बेजोस
अमेजनका मालिक जेफ बेजोस लगातार चौंथोपटक विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीको पहिलो स्थानमा रहन सफल भएका छन् । अमेरिकी नागरिक बेजोसको कुल सम्पत्ति १७७ बिलियन डलर रहेको फोब्र्सले जनाएको छ । उनको सम्पत्ति गत वर्षभन्दा ६४ बिलियन डलरले वृद्धि भएको छ ।

२. एलन मस्क
सन् २०२० मा ३१ औं स्थानमा रहेका एलन मस्क यो वर्ष सर्बाधिक सम्पत्ति जोड्दै दोस्रो स्थानमा उक्लिएका छन् । २४.६ बिलियन डलरका मालिक अमेरिकी नागरिक मस्कको कुल सम्पत्ति यो वर्ष बढेर १५१ बिलियन डलर पुगेको छ । टेस्लाको सेयर मूल्य ७०५ प्रतिशतले बढेसँगै उनी दोस्रो स्थानमा उक्लिएका हुन्

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

३. बर्नार्ड अर्नाल्ट
गत वर्ष तेस्रो स्थानमा रहेका फ्रान्सका बर्नार्ड अर्नाल्ट यो वर्ष पनि तेस्रो स्थानमा रहेका छन् । सन् २०२० मा ७६ बिलियन डलरका मालिक रहेका उनको सम्पत्ति बढेर १५० बिलियन डलर पुगेको छ । उनी विलासी वस्तुहरूको उत्पादन गर्ने कम्पनी एलभीएमएचका मालिक हुन् ।

४. बिल गेट्स
सन् २०२० मा दोस्रो स्थानमा रहेका माइक्रोसफ्टका मालिक बिल गेट्स यो वर्ष चौथो स्थानमा झरेका छन् । यद्यपि उनको सम्पत्ति ९८ बिलियनबाट बढेर १२४ बिलियन पुगेको छ । यिनी अमेरिकी नागरिक हुन् ।

५. मार्क जुकरबर्ग
सर्वाधिक धनीहरूको पाँचौं स्थानमा यो वर्ष अमेरिकी कम्पनी फेसबुकका मालिक मार्क जुकरबर्ग रहेका छन् । ९७ बिलियन डलरका मालिक जुकरबर्ग अघिल्लो वर्ष सातौं स्थानमा थिए । ४२.२ बिलियन डलर सम्पत्ति बढेसँगै उनी पाचौं स्थानमा उक्लिएका हुन् । 

६. वारेन बफेट
विश्वका सर्वाधिक धनीहरूको सूचीको छैटौं स्थानमा वारेन बफेट परेका छन् । अघिल्लो वर्ष चांैथो स्थानमा रहेका उनी यो वर्ष छैटौं स्थानमा झरेका हुन् । गत वर्षभन्दा २८.५ बिलियन डलर बढी कमाएका उनी ९६ बिलियन डलरका मालिक हुन् । अमेरिकी नागरिक बफेट सन् १९९३ देखि शीर्ष ५ मा नपरेको यो पहिलो वर्ष हो ।

७.ल्यारी एलिसन
प्रविधि सम्बन्धी कम्पनी ओरेकल कर्पोरेसनका मालिक ल्यारी एलिसन विश्वको सातौं धनी बनेका फोब्र्सले जनाएको छ । सन् २०२० मा ५९ बिलियन रहेको उनको सम्पत्ति यो वर्ष बढेर ९३ बिलियन पुगेको छ । गत वर्ष उनी पाँचौं स्थानमा थिए ।

८. ल्यारी पेज
गुगलका सह–संस्थापक ल्यारी पेज धनीहरूको सूचीको शीर्ष ८ मा परेका छन् । गत वर्ष उनी शीर्ष १० मा अटाएका थिएनन् । ९१.५ मिलियन डलरका मालिक उनी अमेरिकी नागरिक हुन् ।

९. सर्जी ब्रिन
गुगलका अर्का सहसंस्थापक सर्जी ब्रिन विश्वका आठौं धनी बनेका फोब्र्सले जनाएको छ । ८९ बिलियन डलरका मालिक ब्रिन पनि अमेरिकी अर्बपति नै हुन् ।

१०. मुकेश अम्बानी
यो सूचीको दशौं स्थानमा भारतका मुकेश अम्बानी पर्न सफल भएका छन् । रिलायन्स इन्डस्ट्रिजका मालिक अम्बानीको कुल सम्पत्ति ८४.५ बिलियन डलर रहेको फोब्र्सले जनाएको छ ।

नेपालका एकमात्र अर्बपति विनोद चौधरीको स्थान भने गत वर्षकाे तुलनामा खस्किएको छ । गत वर्ष १५१३ औं स्थानमा रहेका चौधरी यस वर्ष सूचीको २१४१ अ‍ाैं‌ स्थाानमा मा परेका छन् । फोब्र्सकाअनुसार हाल उनको सम्पत्ति १.४ बिलियन अमेरिकी डलर रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १६:२०
प्रतिक्रिया दिनुहोस्