site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गिरिजाप्रसादको ११औँ स्मृतिमा लुम्बिनीमा दीप प्रज्ज्वलन

काठमाडौं । नेपाल कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा लुम्बिनीमा दीप प्रज्ज्वलन गरिएको छ । कोइरालाको नाममा स्थापित जीपी फाउन्डेसनको रुपन्देही शाखाको आयोजनामा लुम्बिनीमा शान्ति दीप प्रज्ज्वलन गरिएको हो ।

कार्यक्रममा सहभागी हुन पुगेकी फान्डेसनकी अध्यक्ष तथा कांग्रेस नेतृ सुजाता कोइरालाले गिरिजाप्रसाद र लुम्बिनी क्षेत्रको विशेष सम्बन्ध रहेको बताइन् । लुम्बिनीको बृहत्तर विकासमा स्व. कोइरालाको विशेष भूमिका रहेको उनको भनाइ थियो ।

Argakhachi Cement Island Ad

“लुम्बिनीलाई विश्वभरका बुद्धमार्गीहरुको आकर्षणको केन्द्रका रुपमा स्थापित गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउन गिरिजाबाबुले महत्वपूर्ण काम अघि बढाउनुभएको थियो,” उनले भनिन्, “दोस्रो विश्वयुद्धपछि विश्व शान्तिको कामना गर्दै जापानी भिक्षु फुजी गुरुजीले सन् १९४७ मा विश्वका विभिन्न ठाउँहरुमा शान्ति स्तुपा निर्माण गर्ने घोषणा गरेपछि पहिलो विश्व शान्ति स्तुपा सन् १९५४ मा जापानको कुमामोतोमा बनाउनुभएको थियो । जापानको हिरोसिमा र नागाशाकीमा एटम बम प्रहारपछि मानव जीवन र भौतिक संरचना समाप्त पारिएपछि विश्व शान्ति प्रमुख मुद्दा बन्नेको थियो । त्यसपछि गिरिजाबाबुकै पहलमा भिक्षु फुजी गुरुजीको विश्व शान्ति स्तुपा निर्माण अभियानअन्तर्गत शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पनि बनाउन आग्रह गरेर भिक्षु फुजी गुरुजी आएका कारण लुम्बिनीको अन्तर्रास्ट्रियस्तरमा चर्चा सुरु भएको थियो ।”

उनले भिक्षु फुजी गुरुजीको शान्ति स्तुपा कोइरालाले नै सन् १९९३ मा उद्घाटन गरेको स्मरण गर्दै त्यसलगत्तै कोइरालाकै इच्छा र सुझावानुसार सन् २००१ मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भएको बताइन् । बृहत् लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्नको लागि पनि गिरिजाप्रसादले पहल गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १२:०६
प्रतिक्रिया दिनुहोस्