
काठमाडौं । कलाकारहरूले संसद् पुनःस्थापना भएको अवस्थामा अब देश र जनताको हितमा राजनीतिक दल र नेता केन्द्रित हुनुपर्ने बताएका छन् । संसद् पुनःस्थापना भएर एउटा राजनीतिक संकट टरेको अवस्थामा अब देशले जित्ने कार्यमा नेताहरूले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
सर्वोच्च अदालतले संसद् भंग गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको निर्णय बदर गरेर विवेक पुर्याएको टिप्पणी गर्दै कलाकारहरूले अब विवेक पुर्याउने समय राजनीतिक दल र नेताहरूको भएको बताएका छन् । हास्य कलाकार मनोज गजुरेल संसद् किनबेचको खेल सुरु हुनसक्ने भन्दै त्यस्तो फोहोरी खेलमा नहोमिन नेताहरूलाई आग्रह गर्छन् । संसद्मा आफ्नो पक्षमा बहुमत जुटाएर सरकार गठनका लागि सांसद्को किनबेच हुने पुरानै रोग पुनः दोहोरिने खतरा खतरा रहेको उनी आशंका गर्छन् ।
“सत्तामा टिकिरहने, नढाली नछोड्ने र मौकामा चौका हान्ने तत्त्वहरूबीच खरिद-बिक्रीको रेस्लिङ चल्ने खतरा छ । यो पुरानो प्रवृत्तिको पुनरावृत्ति नहोस्,” गजुरेल भन्छन्, “नेता खरिद-बिक्रीको मार्केट गुल्जार हुने सम्भावना छ । तर, हामी कामना गरौं यो दुस्साहस योपटक नेताहरूले नगरुन् ।”
यदि जनभावनाविपरीत योपटक पनि सांसद् किनबेचकै खेल भए राजनीतिक दल र नेताहरूको दूरी झन् बढ्दै जाने उनी बताउँछन् । जनताले पटक-पटक नेताहरूलाई सच्चिने मौका र जनचाहनाअनुरुप काम गर्ने मौका दिएको भन्दै यसपटक यो अवसर नगुमाउन नेताहरूलाई उनको सुझाव छ ।
अभिनेता भुवन केसी प्रतिनिधिसभा विघटन असंवैधानिक भएको फैसला गर्ने सर्वोच्च अदालतको कदम कठिन समयमा लिइएको सही निर्णय भए पनि नेताहरूमाथिको शंका भने हटिनसकेको बताउँछन् ।
संवैधानिक संकट टरे पनि राजनीतिक नेतृत्त्वमाथिको आशंका भने नटरेको भुवनको भनाइ छ । आगामी दिनमा शासन सत्तामा रहनेले संविधान र जनतालाई सामान्य रुपमा नलिन उनले आग्रह गरेका छन् । मेरो नेता भनेर गर्व गर्ने वातावरण बनाउन नेताहरूलाई उनको सुझाव छ ।
कलाकार दीपकराज गिरी सर्वोच्चको फैसलालाई कसको जित र कसको हार भनेर नेताहरूले लिन नहुने बताउँछन् । यदि यसरी सोचिए दल र नेताहरूले जिते पनि देशले हार्ने उनी बताउँछन् ।