एक मिनेट आकाशमा...

एक मिनेट आकाशमा...

‘मलाई मान्छेहरुको बस्तीभन्दा केही टाढा, सहरको कोलाहलमुक्त ठाउँ अनि आफू एक्लो भएर रमाउन मिल्ने ठाउँमा जान मन छ,’ कसैले के छ तिम्रो चाहना ? भनेर सोध्दा मेरो मुखबाट निस्किने एउटै वाक्य हो यो । 

चराजस्तै स्वतन्त्र भएर खुला आकाशमा निर्वाध उड्न मन थियो । आकाशमा स्वतन्त्र भएर उड्ने चाहना मात्रै भएर कहाँ हुन्छ र ? त्यो अवसर सबैले कहाँ पाउँछन् र ? तर, अब यो चाहना पूरा गर्न त्यति कठिन छैन । नेपालमा विस्तार हुन थालेको साहसिक खेल (एड्भेन्चरस) ले पूरा गरिदिएको छ । 

तर, मेरो यो इच्छा अंग्रेजी नयाँ वर्षकै दिन जुर्ला भनेर सोचेकै थिइनँ । एक मिनेटका लागि भए पनि मेरो यो इच्छा करिब २ वर्षअघिदेखि मात्रै सञ्चालनमा आएको धुलिखेल जिप लाइनले पूरा गरिदियो । प्याराग्लाइडिङ गरेजस्तै आकाशमा लामो समयसम्म उड्न सकिनँ । तर एक मिनेटका लागि भए पनि एक डाँडाबाट अर्को डाँडामा उडेरै गएँ ।

सुन्दर आकाश, तल डाँडाकाँडा, आफ्नो आँखै सीधा हिमाल अनि मेरो मन र शरीरलाई स्पर्श गर्दै हुत्तिरहेको चिसो हावाले साँच्चै मन यति आनन्दित भयो कि सायद यसैलाई भनिन्छ कि स्वर्गीय आनन्द ! भलै त्यो मीठो अनुभव एक मिनेटको मात्रै थियो । तर, त्यो आनन्द लिनुअघि त्यसले मनमा ल्याएको उथलपुथल, डर र दिमागमा अनेक तर्कनाहरु आए । आउनुस, म सँगै २०२१ जनवरी १ मा मैले पाएको १ मिनेटको रोमाञ्चक स्वर्गीय स्वतन्त्रताको पलको यात्रा गरौं । 
०००
३० डिसेम्बर २०२०, म केही उत्साहितसँगै डराइरहेकी पनि थिएँ । किनभने अर्को दिन अर्थात् अंग्रेजी नयाँ वर्षलाई म आफूमा भएको डरलाई जितेर जमिनभन्दा २४० फिटमाथि बसेर स्वागत गर्दै थिएँ । यो अवसर पाँचौंपटकमा जुरेको थियो ।  मन हुँदा-हुँदै पनि डरले मैले यसअघि जान्छु भन्दै हरेकपटक अन्तिम समयमा केही न केही बाहाना बनाएर योजना रद्द गर्दै आएकी थिएँ ।
  
मअघि नै करिब ८/९ हजारले अनुभव लिइसकेको धुलिखेल जिपलाइनबारे बुझ्न मैले अघिल्लो दिन युट्युबमा केही भिडियो हेरेँ । भिडियो हेर्दा उनीहरुको खुसी र रोमाञ्चकले मैले मनमनै सोचेँ ‘उनीहरुले त आँट्ने भने मैले किन नसक्नु ? आखिर मरिहाल्ने त होइन नि ! भोलि पनि आँट गरिनँ भने यो अवसर कहिले हो कहिले ।”

अनि दृढ निश्चयका साथ मैले भोलिको साहसिक बिहानीलाई स्वागत गर्न अघिल्लो रातको चन्द्रमासँग बिदा मागेँ । 

त्यो पलको यात्रा...
सधैँजसो आठ-साढे आठ बजे खुल्ने मेरा आँखा त्यस दिन बिहान ६:३० मै खुले । ७:४५ मा बानेश्वरको बेकरी क्याफेअगाडि पुग्नुपर्ने मैले सात बजेको अलार्म राखेको थिएँ । तर अलार्म त्यसदिन काम लागेन । कतै जाने भनेपछि म त्यसदिन सधैं चाँडै नै ब्युँझिने गर्छु । जानुअघि कुन लुगा लगाउने भन्ने अलमलले नै १०/१५ मिनेट नबितोस् भनेर मैले अघिल्लो दिन नै ब्यागदेखि लुगासमेत दराजबाट निकालेर ठिक्क पारिसकेको थिएँ ।

नीलो वास गरिएको जिन्स, कालो टी-नेक, कालै लेदरको ज्याकेट र रंगिबिरंगी अलि बाक्लो मफलर र कालै साइड ब्याग अनि कालो घुँडासम्म आउने बुट लगाएर म बानेश्वर लागेँ ।  

सबैजना भेला भएर बानेश्वरबाट गन्तव्यतिर लाग्दा बिहान ८:१७ भइसकेको थियो । गुरुजी (ड्राइभर) पछिको पछाडिको सिटभन्दा पनि पछाडि झ्यालको सिट रोजेँ । कोटेश्वर कटेसँगै मैले बिहानको हल्का रातो र न्यानो घाम देखेँ । जसो गाडी अघि बढ्दै जान्छ, घाम पनि हामीसँगसँगै पो हिँडिरहेको छ । घामको स्पर्शले पुसको बिहानीले चिसिएको जिउ तात्दै थियो । प्रेमीलाई प्रेमिकाले पछ्याएजस्तै घामले मलाई पनि स्पर्श गर्दै गयो । गाडी आफ्नै गतिमा अगाडि बढिरहेको थियो, म भने त्यो बिहानीको किरणसँगै रोमाञ्चित हुँदै दशजोड दुईको किशोरावस्थाको त्यो प्रेम सम्झिँदै नोस्टाल्जिक बन्दै गएँ ।
 
त्यो पल सम्झिँदै मेरो मन आफैं पुलकित हुँदै थियो । तर, उमेर पुगेसँगै गरेको प्रेम कहाँ त्यो बेलाको जस्तो हुन्छ र ? मेरो मानसपलटमा ती दिनहरु एकाएक ताजा बनेर आए । जिन्दगीका कति सम्झनाहरु हुँदा हुन्, जुन हामीले बिर्सेको जस्तो लागे पनि कुनै पल, घटनाले त्यसलाई अनायासै ताजा बनाइदिँदो रहेछ ।
 
अघिसम्म अत्यन्तै प्यारो लागेको त्यही घामले अब भने मलाई चिट्चिटाहट लाग्न थालिसकेको थियो । लाग्यो सम्बन्धहरु पनि यस्तै हुन् कि लामो समय एकजनासँग मात्रै बस्दा त्यस्तै हुने भएर पो हो कि ! प्रेमसम्बन्ध कतिसँग टुटेर कतिसँग जोडिने । खैर, त्यो त भाग्यको खेल होला ।
 
यस्तै कुराहरु सोच्दासोच्दै हामी वर्ल्ड वाइड एड्भेन्चर अर्थात्, पाँचखालको खावामा पुग्यौं (जिप लाइनको इन्डिङ प्वाइन्ट) । धुलिखेल जिपलाइन रिसोर्टमा खाना खानुअघि त्यहाँ फोटो खिच्न फूलले सजाएको हार्टसेप र दुईवटा पिङमा दौडियौं ।
 
जिपलाइन गरेर इन्डिङ प्वाइन्टमा पुगिरहेकाहरु देखेर मेरो मनको डर एकाएक फेरि ब्युँतियो । त्यहाँबाट देखिने पहाड र हिमालको मनमोहक दृश्यमा हामी डुबिरहेका थियौं । 

त्यसैमा एकछिनमै जिपलाइनका लागि हामीलाई उतैको जिपले लिन आइसकेको थियो । इन्डिङ प्वाइन्टबाट करिब ५ मिनेटको यात्रापछि अन्ततः हामी पुग्यौं धुलिखेलेको थाक्लेडाँडामा । जिपबाट ओर्लेर तल जिपलाइन गराउने ठाउँसम्म जाँदा अघि जिपमा बस्दाभन्दा पनि तीव्र गतिमा मुटुको चाल बढ्न थालिसकेको थियो ।  यस्तो लागिरहेको थियो मेरो मुटुको धड्कन अरुले पनि सुनिरहेका छन् ।

अंग्रेजी नयाँ वर्ष भएर होला त्यहाँ युवायुवतीको राम्रै चहलपहल थियो । त्यहाँको माहोल हेर्दा लाग्थ्यो कि कोरोनाले हार मानिसकेको छ । मान्छेहरुले कोरोनालाई जितिसकेका छन् । कोही फोटो खिच्नमा, कोही फर्म भर्नमा त कोही भने हार्नेस लगाउनमा व्यस्त थिए । हामीले पनि फर्म भर्यौं । लाइन लागेर हार्नेस लगायौं ।
 
मेरो मुटुको धड्कन बढ्दै थियो । हार्नेस बेल्ट लगाइरहँदा मनमा अनेक कुराहरु खेलिरहेका थिए । यो चुँडिएर म खसेँ भनेँ ? सधैं दुर्घटनाका समाचार पढ्न लेख्न अभ्यस्त पत्रकार । अब आफैं दुर्घटनामा परे भनेँ त पत्रिका, अनलाइन र टीभीको समाचार बन्नेछु । बीचमा पुगेर बेहोस भएँ भने ! डरले मेरो हातमा भएको गोप्रो खस्यो भने !” धड्कनको गति बढिरहेजस्तै मष्तिस्कमा यावत् प्रश्नहरु एकपछि अर्को उब्जिरहेको थिए ।

वर्षौंदेखिको चाहना पूरा हुँदै थियो । त्यो चाहना पूरा भएपछि फेसबुक अनि इन्स्टाग्राममा फोटो भिडियो नहाल्ने कुरै भएन । आफ्नो सम्झनाका लागि पनि त हो । मेरो डरसँगै भिडियो, फोटो नराम्रो आउँला भन्ने अर्को चिन्ता पनि थपियो । 
 
हार्नेस लगाउने बेला उताको कर्मचारीले सोधे, “कुन जिपलाइन गर्ने हो ?” धेरै डराउने तर पनि एक्लै खेल्ने इच्छा भएकाहरुलाई ‘क्लासिक’, निडर र त्यो थ्रिलको मज्जा लिनेहरुका लागि सुपरम्यान लाग्ने ‘सुपरम्यान’ र आफ्नो जोडीसँगै यो रोमाञ्चकताको मज्जा लिनेहरुका लागि ‘टेन्डम’ गरी ३ प्रकारको जिपलाइनको च्वाइस रहेछ । धुलिखेल जिपलाइन सञ्चालकमध्ये एक भुपेश श्रेष्ठले दाबी गर्दै सुनाए, “सुपरम्यान जिपलाइन नेपालमै पहिलोपटक हाम्रो धुलिखेल जिपलाइनले ल्याएको हो नि !”

म भने पहिलो क्याटेगारीको परेँ अर्थात् क्लासिक । फोटो भिडियो राम्रो चाहनेका लागि क्लासिक राम्रो च्वाइस भएको उनै हार्नेस लगाइदिनेले सुनाए ।
 
हार्नेस लगाएर जिपलाइन गर्न माथि टावर चढ्दै गर्दा मन आत्तिसकेको थियो । त्यसैले मैले म अघि हाम्रै टिमको दिदीलाई पहिला जान आग्रह गरेँ ।  त्यसको केही सेकेन्डमै तपाईं आउनुस् त भनेर मलाई बोलाइयो । ला ! अब के गर्ने/नगर्ने सोच्ने समय नै थिएन । मनभित्रको डरको त के कुरो । 

मैले फेरि आफूभन्दा अघि अर्कै साथीलाई पठाउन अनुरोध गरेँ । तर साथीको सुपरम्यान भएकोले फेरि त्यहाँ मिलाउनुपर्छ भन्दै मलाई नै बोलाइयो । मैले सोधेँ, “म जस्तै अरु पनि डराउनेहरु आएका थिए ? सायद मेरो मनको डर ती दाइ (कर्मचारी) ले बुझिसकेका थिए । उनले मलाई ८ वर्षको बच्चाले त बिनाडर मज्जाले खेलेको भन्दै नडराउन र उनीहरुको सेवामा विश्वास गर्न भन्दै मेरो मनको डर हटाउने प्रयास गरे । उनीहरुको सहहृदयी नेचर र बिनाकुनै झर्कोफर्को एक क्लाइन्टको डर हटाउन भनिएका शब्द र व्यवहारले साँचै मेरो मनमा आँट आयो ।
 
सबै तयार भएपछि त्यहाँबाट इन्डिङमा अब को आउँदै छ भनेर खबर गर्नुपर्ने रहेछ । तपाईंको नाम भन्नुस् भनियो, जसो मैले नाम भने काउन्ट डाउन दिँदै ‘१, २, ३ रेडी...’ भन्दै मेरो रेडी रिप्लाईसँगै मलाई धकेलियो ।
 
माथि टावरबाट तल ओरालो झर्दा मेरो मुटु नै बाहिरै निस्किएको जस्तो अनुभूति भयो । हावामा माथिबाट तल खस्दै छु जस्तै । तर २/३ सेकेन्डको त्यो डरपछि नै डोरीको बीचमा पुगेपछि कसैले जादु गरे जसरी मेरो डरले मलाई छोडेर तल खसिसकेको थियो सायद, त्यसैले त मैले डर होइन अब मजा लिन थालिसकेको थिएँ । म मेरो हातमा भएको गोप्रोको स्टिकलाई अघि आउनुअघि उनीहरुले निर्देशन दिएजसरी नै वरिपरि घुमाउन थालेँ ।
 
म यति खुसी थिएँ कि शब्दमा वर्णन गर्न कहाँ सक्छु र ? अहँ सक्तिनँ । त्यो थ्रिल, जमिनभन्दा माथि खुला आकाशमुनि देखिएका डाँडाकाँडा, घनाजंगल, खेलका फाँटहरु अनि कार्टुनमा देखिने जस्ता स-साना घरहरुको दृश्यले दिने खुसी । यस्तो लाग्यो कि हामी बाँचेको यो धर्तीमा लाखौं खर्च गर्दा यो खुसी पाइँदैन होला ।
  
जमिनभन्दा २४० फिटमाथि, ७० किलोमिटर प्रतिघण्टाको औसत गतिमा ११ सय मिटरको दूरीमा त्यो हुँइकाई । धुलिखेल जिपलाइनको मेरो पहिलो साहसिक अनुभव । मेरो मनमा गडेर बसेको डरलाई हटाएर अब सक्छु भन्ने मनोबल बढाइदिएको त्यो पल । मेरो जीवनकै एक स्मरणीय पल बनेको छ । 

जिपलाइन मात्रै होइन, त्यहाँको एडभेन्चर पार्कको टायर ब्रिज, प्लेइङ ब्रिज, हाई रोपलगायत आठवटा फरक-फरक एड्भेन्चर गेमले अझै आफूमा भएको साहसलाई बढाउने रहेछ । 

साहसिक खेलबाट सुरु भएको मेरो अंग्रेजी नयाँ वर्षले सिकाएको पाठ- आफूभित्रको डरबाट भाग्ने होइन, त्यसको सामना गर्दै अगाडि बढ्ने हो भने अस्वाभाविक ठानिएका कति कुराहरु गर्न नसकिने होइन रहेछ ।

वर्षा महर्जन

प्रतिकृया दिनुहोस
ad