धनगढी । कैलालीको अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत् दुई प्रहरीको हत्यामा संलग्न ‘मुख्य योजनाकार’ भनिएका एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरपालिका वडा नम्बर–१० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको हो ।
तस्करीको ‘ट्रान्जिट’ क्षेत्र मानिने धनगढी, जुुगेडा क्षेत्रमा तस्करहरूको गिरोह र गस्तीमा रहेका प्रहरीबीच दोहोरो झडप भई घटना घटेको प्रहरीको निष्कर्ष छ ।
घटनामा मुख्य भूमिका रानाकै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले बताए ।
घटनालगत्तै भारत पसेका रानालाई नेपालतर्फ आइरहेको भन्ने विशेष सूचनाका आधारमा पुस १२ गते बेलुकी ७ बजे पक्राउ गरिएको जबराले जानकारी दिए ।
यस्तै, सोही घटनामा यसअघि पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको पनि प्रहरीले जनाएको छ ।
हत्या आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१० का राजेन्द्र राना, पर्कु भनिने रोहित राना, गब्बर भनिने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भनिने दलराम राना, गोपाल भनिने रामगोपाल राना र रोहित रानालाई जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि कारागार चलान गरिएको थियो ।
घटनामा संलग्न धनगढीका व्यापारी राजीव गुप्ता एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
गएको कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट धनगढी, जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरीजवान रामबहादुर साउद बेपत्ता भएका थिए । विकको शव कात्तिक २ गते विभत्स हत्या गरेको अवस्थामा नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा भेटिएको थियो । दुई दिनपछि साउदको शव पनि हत्या गरेकै अवस्थामा मोहना नदीमा फेला परेको थियो ।
तस्बिरः फेसबुकबाट ।