site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रजातन्त्र भन्नमात्रै सजिलो

प्रजातन्त्र भन्न जति सजिलो छ यसलाई जीवन पद्धति बनाउन त्यत्तिकै गाह्रो । भनिन्छ – प्रजातन्त्र राजनीतिक दर्शन वा शासकीय प्रणालीमात्रैमा सीमित हुँदैन बरु उच्च आदर्श र जीवन पद्धति पनि हो प्रजातन्त्र । प्रजातान्त्रिक सोचको विशद विकास क्रमले मानिससँगको सम्बन्धमा मात्रै सीमित नभएर समग्र जीव र प्रकृतिसँग समेत न्यायपूर्ण व्यवहारको अपेक्षा आत्मसात गरेको हुन्छ ।  

प्रजातन्त्र स्वतन्त्रतासँग अविच्छिन्न मानिन्छ त्यत्तिकै लचिलो राजनीतिक प्रणाली पनि । प्रत्येकको अस्तित्वको सम्मान र बहुल विचारहरुको समावेशी संयोजन हुने कारण प्रजातन्त्र सर्वोत्कृष्ट राजनीतिक दर्शन मानिएको हो । अरुको कुरा सम्मानसाथ सुन्ने, आलोचनाप्रति पनि सहिष्णु र क्षमाशील संस्कारलाई जीवन पद्धति बनाउन सक्नेहरुलाई नै प्रजातन्त्रको अनुशरण गर्ने राजनीतिज्ञ मानिने हो । यो काम चाहिँ बडो गाह्रो रहेछ । 

भन्छौँ प्रजातन्त्र तर जीवन बोधमा यसका मान्यतालाई कति अपनाएका छौँ ? स्वयंसँग पनि गरिनुपर्ने प्रश्न हो । स्वयंलाई उत्तर दिनुपर्ने पनि हो । प्रश्न ज्ञान भनियोस् कि जानकारी दिने यस्तो स्रोत हो जसको अभावमा मानिस र अन्य जीवबीच भेद बाँकी रहँदैन । प्रजातन्त्र प्रश्न सोध्न सक्ने र उत्तर पाउने हैसियतसँग सम्बन्धित छ । व्यक्ति र नागरिक समाजको प्रश्न सुन्ने वा मनासिब उत्तर दिने धैर्य वा क्षमता नहुनेलाई प्रजातन्त्रवादी मान्न सकिँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्ता केही वैशिष्ट्यमा आधारित रहने लोकतान्त्रिक वा प्रजातान्त्रिक मानिएको नेपालको राजनीतिलाई मूल्यांकन गर्दा उल्टो गति,मति फेला पर्छ । प्रणाली प्रजातान्त्रिक, कार्यशैली अप्रजातान्त्रिक । बोलीमा प्रजातन्त्र व्यवहार चाहिँ ठीक प्रतिकूल !  

संगठित स्वतन्त्र राजनीतिक दलहरु प्रजातन्त्रको बहुल मान्यताका आधार मानिन्छन् । अहिले कुनै एक होइन नेपालका सबै दलहरुको कार्यशैली प्रजातन्त्रअनुकूल देखिएको छैन । बुझ्न पनि नसक्ने, बुझाउन पनि नसक्ने, आफ्नै धुनमात्र फलाक्ने तरिका यहाँ छ । कुनै दलको प्रशिक्षित अवधारणा नै स्वयंमा प्रजातन्त्रविपरीत छ जस्तै कम्युनिस्ट । 

Global Ime bank

प्रजातान्त्रिक आदर्शलाई राजनीतिक दर्शन बनाएको नेपाली कांग्रेसको आचरणसमेत प्रजातान्त्रिक विधि अनुकूल छैन । हुकुम र स्वेच्छाचारिताले ग्रस्त पार्न खोजिएको देखिन्छ कांग्रेसलाई । उदाहरणका लागि स्थानीय वा केन्द्रीय निर्वाचनमा अन्य दलका केही उम्मेदवारलाई मत दिन पार्टी कार्यकर्तालाई विगतमा बाध्य पारिँदा पार्टी विधि र पद्धति अपनाइएन । नेतृत्वले एउटा पत्र दिएर यस्तो निर्देशन दियो । कार्यकर्ताको सुनुवाइ भएन । चुनावको मुखमा यस्ता निर्देशनको प्रतिवाद गर्दा आफँैलाई अप्ठ्यारो पर्छ कि भन्ने ठानेर कसैले प्रतिवाद पनि गरेन । पत्रले आफ्ना कार्यकर्ताको टिकट खोसेर मत अरु दलकालाई दिइएको के उपलब्धि भयो ? परिणाम मूल्यांकन पनि गरिएन ।  

लिखित त छोडौँ, पराजयको मौखिक जिम्मा पनि कसैले लिएन । दायित्वको हैसियतले जिम्मा धेरथोर सबैको थियो होला तर नेतृत्व सबैभन्दा बढी जिम्मेवार मानिनुपर्ने हो ।  स्वयंको नेतृत्वमा सम्पन्न चुनावको परिणामप्रति सभापतिले जिम्मा लिनुपर्ने थियो । नेपालको सन्दर्भमा यस्तो जिम्मा सहज स्वीकार्दा पद छोड्नुपर्ने पनि होइन ।  सामान्य प्रजातान्त्रिक चरित्र पनि देखाइएन । दोषजति अरु वा सबैको टाउकोमा थोपरेर नेतृत्व चाहिँ पानीमाथि ओभाने हुने शैलीमा प्रजातान्त्रिक चरित्रको खोजी सिउँडीमा कमल फूलको अपेक्षाजस्तै हुने भयो ।

म्याद गुज्रिएपछि पार्टी विभागहरुको एकतर्फी गठन, लामो समयसम्म भातृ संस्थाहरुमा तदर्थवादी नियुक्ति, घोषित महाधिवेशन अन्योलजस्ता नेतृत्व सिर्जित समस्याले कांग्रेसको प्रभावशाली भविष्यको कल्पनासमेत दुरुह भएको छ । भन्दा जहाँ वा जसलाई लाग्छ त्यहाँ विरोधीको आरोप लगाइदिने सहज उत्तर नेतृत्वसँग छ । मर्मप्रति संवेदना देखिँदैन, असहिष्णु प्रहार आइलाग्छ । यही कारण धेरैले विवेकमा बिर्को लगाउन थालेका छन् । 

प्रजातान्त्रिक भनिने नेपाली कांण्ग्रेसको हबिगत यस्तो निराशाजनक छ भने अरुको के कुरा गर्नु ? सरकारधारी कम्युनिस्टलाई प्रजातान्त्रिक सन्दर्भसँग जोडी हेर्नु दार्शनिकरुपले पनि गलत हुन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार र दलको हबिगत जगजाहेर भइसकेको  छ । दार्शनिकरुपले कम्युनिस्टहरु प्रजातन्त्र विरुद्ध हुन्छन् वा हुन सक्छन् । अनौठो भएन । 

फरक त नेपालको संविधानले निर्धारण गरेको प्रणाली प्रजातान्त्रिक हो । निर्वाचित संविधान सभाबाट बनाइएको संविधानमा जनभावना प्रतिविम्बित मानिन्छ । यही संविधानले निश्चित गरेको प्रणाली अनुसार नै नेपालमा कम्युनिस्ट सरकार बनेको हो । संविधानले बनेको वा जन्मिएको सरकारले त्यही अनुकूल काम गर्नुपर्ने विश्वास हो तर प्रजातन्त्रको दोहन, दमन सुरु गरेको छ ।

प्रजातन्त्र लचिलो राजनीतिक व्यवस्था हो जसमा झुक्याउने र झुक्किने दुवैलाई अवसर मिल्ने रहेछ । नेपालमा यही भयो । नेपालमा मात्रै किन ? अहिले हेर्दा अमेरिका पनि लचिलो प्रणालीको कठोर फसादमा देखिन्छ । विश्वको पुरानो र सबल मानिएको अमेरिकाको प्रजातान्त्रिक प्रणालीको लचिलो धरातलमा फसाद सिर्जना गर्ने डोनाल्ड ट्रम्पको राष्ट्रपतिमा उदय यही पद्धतिबाटै भएको थियो । 

हालै त्यहाँ सम्पन्न निर्वाचनमा राष्ट्रपति ट्रम्प पराजित भए तर उनी पराजय स्वीकार्न तयार छैनन्, जनमत स्वीकार गर्न तयार देखिँदैनन् । यही हो, शक्ति सम्पन्न मुलुकको प्रजातान्त्रिक प्रणालीमा पनि अप्रजातान्त्रिक चरित्र । लचिलो प्रणालीमा डोनाल्ड ट्रम्प हठी नमुना उदाहरण बन्दैछन् । 

राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका प्रतिस्पर्धी उम्मेदवार जो बाइडेनले रिपब्लिकनका ट्रम्पलाई पराजित गरेका हुन् । पपुलर (लोकप्रिय) मत र इलेक्टोरल (प्रतिनिधि) दुवैतर्फको मतमा बाइडेन धेरै अगाडि छन् । निर्वाचन पर्यवेक्षकहरुले धाँधलीको कुनै घटना नदेखिएको बताइरहेका छन् । ट्रम्पले चाहिँ स्पष्ट जनमतलाई धाँधलीको आरोपमा कानुनी चुनौती दिने अड्डी कसेका छन् । 

ट्रम्पले त स्वीकार गरेनन् रे तर लामो प्रजातान्त्रिक अभ्यास गरेको उनी सम्बद्ध पार्टी रिपब्लिकनको लाचारी पनि अमेरिकी प्रजातन्त्रको लज्जा भएको छ । विश्वको निर्वाचन प्रक्रियामा सबैभन्दा जटिल अमेरिकी प्रक्रिया मानिन्छ । यही प्रक्रिया पार गरेर स्पष्ट जनमतले बाइडेनलाई जिताएको रिपब्लिकन पार्टीले सहर्ष स्वीकार गरेको भए विश्वमा अमेरिकी प्रजातन्त्रको लाज पनि जोगिने थियो र ट्रम्पको दम्भ पनि हार्ने थियो । रिपब्लिकनको प्रतिबद्धतामा समेत प्रश्न उठ्ने थिएन । 

स्वाभाविक प्रजातान्त्रिक अभ्यास निर्वाह गर्न पनि त्यहाँको रिपब्लिकन पार्टी चुकेको छ । परिणाम ट्रम्पले विभाजित गरेको अमेरिकी समाजलाई थप असभ्य ध्रुवीकरणमा धकेल्नेछ । प्रजातन्त्र मात्र भन्ने तर यसको मर्मलाई राजनीतिक जीवन पद्धति नबनाएको दुष्परिणाम अहिले अमेरिकामा देखिएको छ । 

ट्रम्पको फसादबाट अमेरिका कहिले कसरी मुक्त हुन्छ प्रतीक्षाकै विषय बन्यो । सामयिक प्रजातान्त्रिक विश्वमा प्रजातन्त्रको दोहनको सबैभन्दा ‘कुरीकुरी’ उदाहरण अमेरिकामा बनेको छ । भनिन्छ, मानिस राजनीतिक प्राणी हो । ट्रम्प राजनीतिक प्राणी हुन्थे भने यस्तो लाजमर्दो अड्डी पक्कै लिने थिएनन् । अड्डी लिन त्यहाँको प्रजातान्त्रिक नियम कानुनले देला तर कुनै राजनीतिक प्राणीले प्रजातन्त्र निःसृत जनमतको ठाडै उपेक्षा गर्ने कल्पनासम्म पनि हुन सक्दैन ।   

यस्ता केही उदाहरण छन् जसले प्रजातन्त्र भन्नमात्रै सजिलो काम प्रतिकूल देखिने । सुन्दा पनि राम्रो लाग्ने तर जीवन दर्शन बनाउन गाह्रो प्रजातन्त्रलाई अप्रजातान्त्रिक चरित्रको सिकार बनाइँदै छ, नेपाल पनि यही बाटोमा छ । सावधान !                               
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC