site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
आख्यानकारहरूलाई परिस्थितिले अथाह विषय दिएको छ 
Sarbottam CementSarbottam Cement

पछिल्लो समयका चर्चित आख्यानकार हुन्, अमर न्यौपाने । एउटा आख्यानकारले आफ्नो कृतिका लागि स-साना घटना परिघटनाहरूबाट कथा-उपकथा खोजिरहेको हुन्छ । पछिल्लो समय वैश्‍विक रूप धारण गरेको महामारी ‘कोभिड- १९’ ले विश्‍वभरिका मानिसलाई आक्रान्त तुल्याएको छ । तर यही विषम् परिस्थितिले एउटा आख्यानकारलाई कथा, उपकथा, सहायक कथा पनि दिएको अमरको भनाइ छ । कोभिड कहरमा केन्द्रित रहेर आख्यानकार न्यौपानेसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सार :

विश्‍वभर कोभिडको कहर छ । सर्वत्र त्रासै त्रास छ । यो विषम् परिस्थितिमा एउटा आख्यानकारले के सोचिरहेको छ ?
मानव जीवनको निरन्तरतामा कोभिड एउटा दुर्घटना भएर आएको छ । यो भयावह पनि छ । यसले विषम् परिस्थिति सिर्जना गरेको छ । यस परिस्थितिलाई आख्यानको नजरबाट हेर्दा एउटा ‘क्लाइमेक्स’जस्तो लाग्दो रहेछ ।

सबैतिर कोभिडको महामारी छ । कतै कोभिडले कसैको ज्यान लिइरहेको छ । कतै कोभिडले दिनुसम्मको दुःख दिइरहेको छ । म पनि यही कोभिडसँगसँगै जुधेर बाँची रहेको छु । यस स्थितिमा त्रास उत्पन्‍न हुनु अस्वाभाविक होइन । तर यसलाई निरपेक्ष भएर हेर्दा यो एउटा ‘क्लाइमेक्स’ जस्तो रहेको मेरो अनुभव छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जस्तै, दोस्रो विश्‍वयुद्ध एउटा ‘क्लाइमेक्स’ थियो । हाम्रा लागि भैँचालो एउटा ‘क्लाइमेक्स’ थियो । यतिबेला कोभिड पनि एउटा ‘क्लाइमेक्स’ हो । संसारमा आइपर्ने यस्ता विभिन्‍न भयावह परिस्थितिहरू एउटा ‘क्लाइमेक्स’ जस्तो लाग्दो रहेछ ! योसँग अनेक कथा जोडिएका छन् । भोलिका दिनमा वर्षौंसम्म कोभिडका कथा हाम्रा आख्यानहरूमा जोडिएर आउँछ होलान् ।

आजको समय हामी कोभिडको त्रास भोगिरहेका छौँ अथवा कोभिडबाटै संक्रमित भएर त्योसँग जुधिरहेका छौँ । अबका दिनमा आख्यान लेखिँदा आख्यानका पात्रहरू सबै कोभिडको डरबाट, कोभिडको संक्रमणबाट, कोभिडको पीडाबाट पीडित देखिन्छन् नै । त्यहाँ कोभिड जित्‍ने पात्र पनि उत्तिकै हुन सक्छन् ।

Global Ime bank

विगतमा हामीकहाँ १० वर्षे सशस्त्र द्वन्द्व भयो । अहिले पनि हाम्रा आख्यानहरूमा त्यो समय भोगेर आएका पात्रहरू देखिँदै आएका छन् । त्यो त हाम्रो देशभित्रको मात्रै घटना भयो । त्यसैले अबका दिनमा सिर्जना हुने पात्र कोभिडसँग कुनै न कुनै रूपमा जोडिएको पात्र हुन्छ होला । किनभने त्यो पात्रले कोभिडको एउटा खोँच वा ओडार पार गरेर गएको हुन्छ नै । त्यो पात्र आख्यानमा आउँदा त्यसले अहिलेको त्रास, अहिलेको दुःख, अहिलेको वस्तुस्थितिलाई प्रस्तुत गरेकै हुन्छ ।

यो ‘क्लाइमेक्स’को सेरोफेरोमा चिन्तनको स्थान छ कि छैन ?
जीवनको चिन्तन त हरेकको आ-आफ्नो ठाउँमा छँदै छ । कोभिड त हठात् आएको हो मानिसको जीवनमा, दुर्घटनाजस्तै । वास्तवमा कोभिडका कारण जीवनलाई हेर्ने दृष्टिकोण बद्लिन सक्छ । जस्तै भनौं, पहिले हामी जुन देशलाई शक्ति सम्पन्‍न देश भन्थ्यौँ त्यही देशहरूमा बढी मानिस संक्रमित भए । जस्तो चीन, अमेरिका, बेलायत, इटली, फ्रान्स, क्यानाडाजस्ता अतिविकसित मुलुकहरूलाई कोभिडले आक्रान्त पार्‍यो । त्यहाँका नेतृत्वमा बस्‍ने शक्तिशाली शासकहरूलाई पनि कोभिडले सतायो । यस्ता शक्तिशाली शासक, जो आफ्नो सुरक्षाका लागि अत्यन्तै सचेत र सक्षम थिए । तिनका गाडी त्यत्तिकै सुरक्षित र स्यानिटाइज्ड थियो होला । तिनले दूरी पनि मेन्टेन गरेकै थिए होलान् । तथापि तिनीहरू कोभिड संक्रमणबाट बँच्‍न सकेनन् ।

यो एउटा कोभिडले के देखाउँछ भने, संसारका शक्तिशाली देश जोसँग हातहतियार धेरै छ, सेना धेरै छ, जो आर्थिक रूपमा धनी छ, त्यसलाई हामी शक्तिशाली मानिरहेका थियौँ । तर सैन्य शक्ति, अत्यधिक विकास र धनले सम्पन्‍न शक्तिराष्ट्र पनि कोभिडका अगाडि झुक्नुपर्‍यो !

अमेरिकाजस्तो देशका अस्पतालमा आईसीयू पाउन गाह्रो भयो । इटलीजस्तो स्वास्थ्य सेवाका दृष्टिले सम्पन्‍न मुलुकमा पनि कोभिडका बिरामीलाई बचाउँन धौधौ भयो ! धेरै शक्ति-सम्पन्‍न मुलुकलाई कोभिडले गाह्रो बनायो । जीवन के रहेछ भन्‍ने ती देशहरूमा देखिए । मानिसको जीवनको महत्त्व र जीवनको मूल्य के हो भन्‍ने पाठ यतिबेला कोभिडले सिकाएको छ हामीलाई । सारा विश्‍वलाई । 

यतिबेला संसारभर नै एउटा देशले अर्को देशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको छ । मानिसले मानिसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको छ ।

प्रायः आख्यानमा स्वैरकल्पनाको प्रयोग हुँदैआएको छ । कोभिड पनि यतिबेला स्वैरकल्पनाजस्तै आइपुगेको छ । जसले गर्दा मानिसले सोच्दै नसोचेको सयौँ दिन लामो लकडाउनमा बस्‍नु पर्‍यो । यस्तो त सोच्दै सोचिएको थिइएन !

एउटा मानिसले हजार कुरा सोच्छ । मानिसले यो होला अथवा त्यो होला भनेर अनुमान गर्छ । यसरी उसले हजारौँ कुरा सोचिरहेको हुन्छ । अनेक कल्पना गर्छ । तर हठात् उसले सोचेभन्दा बेग्लै भइदिन्छ । परिस्थिति यस्तो भइदिन्छ, मानिसले सोचेको हजार होइन कि एक हजार एकौँ अवस्था सिर्जना भइदिन्छ । जसबारे मानिसले सोचेकै हुँदैन !

स्वैरकल्पना पनि मानिसले यत्तिक्कै गरेको होइनन् । आख्यानमा जुन स्वैरकल्पनाको प्रयोग गरिन्छ, त्यो कल्पना गर्ने आधार भनेको यथार्थ नै हो । आज मोबाइल फोन वा स्मार्ट फोनका कुरा हुन्छन् । स्मार्ट फोन आउनुभन्दा पहिले कसैले यसबारे आख्यान लेखेको भए, एउटा स्मार्ट फोनमा संसार अटाएको हुन्छ भन्‍ने कुरा तिनले ‘इम्याजिन’ गरेको भए त्यो स्वैरकाल्पनिक आख्यान हुन्थ्यो । त्यसबेला मानिसले के भन्थे होलान् ?

पचास वर्षअघि मात्रै पनि कसैबाट स्मार्ट फोनको परिकल्पना गरेर आख्यान लेखिएको हुन्थ्यो भने ! संसारभरि लाखौं आख्यानकार छन् । कवि लेखक छन् । कसैले ‘फेन्ट्यासी’ नै सही, यस विषयमा लेखेको भए हुन्थ्यो नि । त्यो हुन्थ्यो भने त्यो अति-स्वैरकल्पना हुन्थ्यो । तर अहिले त्यो अतियथार्थ भएको छ । त्यसकारण मानिसले जति सोच्छ त्योभन्दा भयानक कुराहरू समयले बिस्तारै आफैं गराउँदो रहेछ भन्‍ने देखिन्छ । आजको कोभिड त्रासले त्यही देखाएको छ र कोभिडले नै मानिसको जीवन शैली परिवर्तन गरिदिएको छ !

अहिले विश्‍वमा विद्यमान ‘हग’ गर्ने शैली परिवर्तन भएर ‘नमस्कार’ गर्नेमा पुगिसकेको छ । हामी कहाँ पनि आफन्त परिचितकोमा जाने, भेट्ने, कुशल-मंगलबारे सोध्‍ने चलन थियो । त्यसमा परिवर्तन भइसकेको छ ! अहिले मानिस कतै जान्‍नन् । भ्याएसम्म परिवारभित्रै सीमित रहन्छन् । 

यसपटक म दसैंमा घर जाँदा अन्त कतै पनि टीका लगाउन गइनँ । काठमाडौंबाट घर पुगेको केही दिन बाआमासँग नजिक नै भइनँ । दसैं पनि परिवारभित्रै मनाइयो । दसैंमा वल्लोघर पल्लोघर आउने जाने क्रम कम भयो । जमघट भएन ।

काठमाडौंमै पनि ठूलाठूला कार्यक्रमहरू हुन छाडे । हरेक दिन साहित्यिक कार्यक्रम हुन्थे । मानिसहरूको जमघट हुन्थ्यो । अहिले सबै हराए । यी सबै हाम्रा कल्पनाबाहिरका कुरा थिए ।

उता हामीले कल्पना नै नगरेको जुममा विद्यार्थीहरूको कक्षा चलिरहेको छ । ठूलठूला स्कुल, कलेजले अनलाइन क्लासको थालनी गरिसकेका छन् । तल हाफ पाइन्ट, माथि स्कुलको कमिज र टाई लगाएर क्लास लिएका देखिन्छन्, विद्यार्थीले ! साहित्यकारहरू अनलाइनका माध्यमबाट कवि गोष्ठी गर्दै छन् । हेर्नुस त, समय कसरी परिवर्तन भएर गएको छ । कसरी मानिसको जीवनशैली नै बदलिँदै गएको छ !

बितेको सात-आठ महिनाको अवधिले आख्यानलाई केही दिएको छ ?
आजको समय र परिस्थितिले अथाह विषय दिएको छ । कोभिडले निम्त्याएको यो विषय कति लामो होलाजस्तो लाग्छ मलाई ! मार्खेजले चौधौँ शताब्दीमा भएको हैजाका विषयमा लेखेको एउटा आख्यान छ, ‘लभ इन द टाइम अफ कोलेरा’ । त्यसले सयौँ वर्ष पछिसम्मका लागि अनेकन कथाहरू छोडिदिएजस्तो लाग्छ । त्यस्तै हामी कहाँ भएको दशवर्षे द्वन्द्वले पनि हाम्रा लेखकहरूका लागि, आख्यानकारहरूका लागि अनगिन्ती विषय छोडिदिएको छ । यो द्वन्द्वको विषय हाम्रो देशका लेखकहरूको पहुँचमा मात्रै थियो । तर कोभिडले संसारभरिका लेखक साहित्यकारहरूका लागि अथाह विषय दिएको छ । संसारभरिका लेखक साहित्यकारले यसमाथि कथा भन्‍न सक्नेछन् । हेर्ने हो भने कोभिड संसारभरिकै साझा कथा भएको छ । 

आज हेर्नुस्, कोभिडको समाचार र फिचर नलेखिएको पत्रपत्रिका, अनलाइन पोर्टल नै छैन । हरेक दिन कोरोना कहरकै समाचार छ । तर साहित्यका विभिन्‍न विधामा यो प्रसंगलाई केही समय पर्खेर, त्यसमा चिन्तन मनन् गरेर प्रस्तुत गर्दा त्यसले युगयुगान्तरसम्म प्रतिनिधित्व गर्छ । जसरी मदिरा बनाउँदा त्यसको उत्कृष्टताका लागि ‘ओक ब्यारेल’मा वर्षौं भण्डारण गरेर राख्‍ने चलन छ, त्यस्तै साहित्यमा पनि हृदयको ‘ओक’मा केही लामो समय चिन्तन र दर्शनसहित पकाउन सक्यो भने त्यसले राम्रो र शताब्दियौं जीवित रहने साहित्य वा आख्यान उत्पादन हुनसक्छ भन्‍ने मलाई लाग्छ ।

क्लासिक किताबहरूलाई नै लिउँ, तिनको जतिजति समय बढ्दै जान्छ त्यतित्यति मूल्य बढ्दै जान्छ । पाठकले पनि त्यसलाई त्यही रूपमा खोज्दै जान्छन् । कोभिड भन्‍ने विषय पनि मेरो विचारमा आख्यान विधाका लागि एउटा लामो समय खेल्ने विषय हुनसक्छ । तर त्यसका लागि परिस्थिति सिर्जित विषयहरूलाई हृदयको ओकमा राखेर साहित्य सिर्जना गर्न सक्नुपर्छ ।

हेर्नुस् त, कोही चिनेजानेका बिरामीलाई भेटन जाने हाम्रो परम्परा रहिआएको हो । तर कोभिड लागेका आफ्नै घरका आफन्तलाई पनि भेट्न सकिन्‍न ! यो रोगबाट कसैको मृत्यु हुँदा मलामी जान सक्ने अवस्था पनि रहँदैन ! टाढैबाट आँसु झारेर फर्किनुपर्छ । कोही कोभिडबाट बौरिएका छन् । तिनमा खुसीको अथाह लहर देख्‍न सक्छौं । सँगै कतिपयको रोग लामो समयसम्म पनि निको भइरहेको हुँदैन, त्यो दुःख र पीडाको बयान साहित्यमा कस्तो होला ! यस्ता यावत् विषयहरू विश्‍वभरिका आख्यानकारहरूले आफ्नो हृदयको ‘ओक ब्यारेल’मा पक्कै राखेका होलान् ।

उसो भए एउटा साहित्यकारले यतिबेला साहित्य सिर्जना गर्न हतारिनु हुँदैन भन्‍न मिल्छ ?
त्यसो त कसैलाई हतारिनुस् वा नहतारिनुस् भन्‍ने त कुरै भएन । लेखकलाई कहाँनिर कुन कुराले छोइरहेको हुन्छ, लेखनमा त्यो पनि महत्त्वपूर्ण हुन्छ । अब धेरै जनाले एउटै विषयमा लेखे भने सायद त्यो विषयको त्यति महत्त्व न होला । एउटै विषयमा धेरैले लेख्दा पनि सोच्‍नुपर्ने हुन्छ, एउटा लेखकले ।

हुन त यो संसारभरि नै लेखिने विषय हो । यसको कथा अंग्रेजी, फ्रेन्च, जापानी, चाइनिज, स्पानिस्, नेपाली, हिन्दीलगायत अनगिन्ती भाषामा आउन सक्छ । किनभने यो त संसारले भोगेको कथा हो । त्यसैले कसैलाई हतारिनुस् वा नहतारिनुस् भन्‍न मिल्दैन । यो कथा कसैले दुई-चार महिनामै लेख्नुहोला । कतिले दुई-चार वर्षपछि लेख्नुहोला । कतिले १०-१५ वर्षपछि लेख्नुहोला । किनभने विषय कहिले पनि पुरानो हुँदैन । विषय त जति ‘ओक ब्यारेल’मा राखेर मनन् गर्‍यो, त्यति नै मूल्यवान् हुँदै जान्छ । यो त लेख्‍नेहरूले सोच्‍ने कुरा हो, यसलाई कति पर्गेल्ने, कति पकाएर लेख्‍ने । 

यसमा मूलकथा हुन्छ । त्यसका उपकथा र सहायक कथाहरू पनि हुन्छ । म एउटा प्रसंग सम्झिरहेको छु । मेरा एक मित्र प्रहरीमा हुनुहुन्छ । उहाँकी पत्‍नी सुत्केरी हुनुहुन्छ । मित्र भन्‍नुहुन्छ, ‘सडकमा ड्युटी गर्ने म सधैँ झ्यालबाट बच्चालाई हेरेर फर्किन्छु । भित्र पनि जान सक्दिनँ । किनभने सडकमा म कोभिडबाट संक्रमित भइरहेको हुनसक्छु । कसरी म सुत्केरी पत्‍नी र बच्चाको अघिल्तिर जान सक्छु ?’ उहाँको यो पीडालाई महसुस् गर्नुस् त ! यस्ता हजारौँ दर्दनाक कथा कोरोना सन्त्रासभित्र भेटिन्छन् । आफन्तको लास उठाउन पाइँदैन । छुन पाइँदैन । कुर्न पाइँदैन । माया गर्ने मानिसको सानिध्यता पाउन सकिरहेको हुँदैन, बिरामीले ! योभन्दा दयनीय अवस्था के होला, भन्‍नुस् त !

यो त स्वैरकल्पनाभन्दा पनि माथिको कुराजस्तो लाग्छ मलाई । 

यसो हेर्दा कोभिड कथा समेटिएको आख्यान हजारौं पृष्ठमा पनि समेट्न सकिन्‍न होला ! भन्‍न सकिन्‍न । कति फरकफरक कथा होलान कोभिड सन्त्रासभित्र ! कति दर्दनाक कथाहरू होलान् पूरा विश्‍वभरि ! हामी त केही कथाहरू मात्रै भोगिरहेका छौँ । देखिरहेका छौँ । त्यहीँ अर्को कथा छ, जो मजदुर, गरिबसँग जोडिएको छ । उनीहरू कोभिडसँग डराएका छैनन् । तिनलाई कोभिड लागे दुःख पाइन्छ भन्‍ने थाहा छ । मरिन्छ भन्‍ने पनि थाहा छ । तर त्योभन्दा शक्तिशाली भोक रहेको छ । त्यसैले ऊ मजदुरी गर्न हिँडेको छ । पुराना सिसी, प्लास्टिक र कागज उठाउन सक्रिय छ । उसका लागि यहाँ भोक सबैथोक भएको छ । कोभिडभन्दा डरलाग्दो भोक भइदिएको छ !

यिनै विषयहरूमा आख्यान लेख्‍ने सोचिरहनुभएको छ कि ?
मैले यस विषयमा अलिकति पनि सोचेको छैन । तर विभिन्‍न घटनाहरू जसले मलाई छोएको छ त्यसलाई मैले टिपेर राखेको छु । कुनै दिन काम लाग्छ भनेर । म आफ्नै तरिकाले यो दुर्घटनालाई हेरिरहेको छु ।

त्यसो भए आफूले देखेका भोगेका कथा ‘ओक ब्यारेल’मा राख्दै हुनुहुनुहुन्छ ?
त्यस्तै भन्‍नुपर्‍यो । तर त्यसको प्रयोग गर्ने कि नगर्ने, पछिको कुरा हो ।

पछिल्लो समय आएका आख्यानहरूलाई कसरी हेरिरहनुभएको छ ?
जहाँ पनि राम्रा कुराहरू थोरै हुन्छन् । हामी कहाँ सयौँ हिमाल छन् तर हामीलाई आठ-दश वटाभन्दा बढी हिमालको नाम आउँदैन । संसारभरिकै नियम हो, राम्रो कुरा एकदमै थोरै हुन्छ । 

पछिल्लो समयमा आख्यानहरू धेरै आइरहेका छन् । तर लामो समय बाँच्‍ने आख्यान भनेको त थोरै नै हुन्छ । कहिलेकाहीँ सोच्छु बीपी कोइरालाको पालामा कति धेरै कथाकार थिए होलान् । अथवा डायमनशमशेरका पालामा कति धेरै उपन्यासकारहरू थिए होलान् । त्यो समयमा पनि थुप्रै किताब निस्केका होलान् । तर अहिले हामीले सम्झिने र पढ्ने भनेको त तिनै केही लेखक र उपन्यासकार र तिनका किताब न हुन्, जसले एउटा ट्रेन्ड सेट गरे । जसले नयाँ शैलीको, नयाँ धाराको आख्यानको विकास गरे । जस्तै, रुद्रराज पाण्डे, रुपनारायण सिंह, बीपी कोइराला, गोविन्दबहादुर मल्ल गोठाले, लैनसिंह बाङ्‌देल, डायमनशमशेरहरूलाई हामी खोज्छौ र पढ्छौँ । ध्रुवचन्द्र गौतमले उपन्यासमा स्वैरकल्पनाको नवीन प्रयोग गरे । आज उनलाई पाठकले खोज्छन् । त्यसैले राम्रो आख्यान लेख्‍नेहरूलाई नै पछिसम्म पाठकले सम्झिने हुन् । खोज्‍ने हुन् ।

हेर्नुस्, कुनै आख्यानको आयु आख्यानकारको आयु जति छ त्यति मात्रै हुन्छ । कुनैको आयु आख्यानकारको आयु जति पनि हुँदैन । तिनले आफ्नो आख्यानको मृत्यु हेर्नुपर्छ । कुनै आख्यान भने आख्यानकार मरे पनि मर्दैन । जुन समाजमा सधैं-सधैं बाचिरहन्छन् । मलाई लाग्छ आख्यानमा यो प्रवृत्ति सधैँ रहन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement