
काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने नयाँ चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । आफ्नै लेखन तथा निर्देशन रहेको चलचित्र ‘पानीफोटो’ पोष्ट प्रोडक्सनमा रहेकै समय खगेन्द्र नयाँ चलचित्रको स्क्रिप्ट लेख्न थालेका हुन् ।
उनले स्क्रिप्टको फस्र्ट लाइनअप लेखिसकेको जानकारी दिए । “नयाँ स्क्रिप्टको फस्र्ट लानइनअप तयार भइसक्यो,” उनी भन्छन्, “सिन तयार भइसकेपछि थप काम तथा रि–राइट गर्न सहज हुन्छ ।”
उनले लेखिरहेको चलचित्र पनि सोसल ड्रामा हो । “म पहिला देखि नै मौलिक कथा चलचित्रमार्फत भन्नुपर्छ भन्ने मान्यता राख्थेँ । यो यथावत छ,” खगेन्द्र भन्छन्, “आफ्नै गाउँठाउँका दुःख सुखका चलचित्र बनाउन सकियो भने विस्तारै अन्तर्राष्ट्रिय चलचित्रको बाटो पनि तय हुन्छ ।”
उनले कोरोनाको त्रासका कारण घरसमै बसेको समयमा उपन्यासलाई पूर्णता पनि दिएका छन् । कोरोनाका कारण साउनमा उपन्यास प्रकाशन सम्भव नभएपछि उनले उपन्यासको पाण्डुलिपि पुनः रि–राइट गरेका हुन् । साउन ३० गतेका लागि रिलिज डेट लिए पनि उनको चलचित्र ‘पानीफोटो’ लकडाउनका कारण पूर्व निर्धारित मितिमा रिलिज हुन सकेन ।