site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
लगानी संकटमा परेको समय हो यो 
Sarbottam CementSarbottam Cement

कोरोना भाइरको संक्रमण र त्रासबीच पनि नेपाली सांगीतिक क्षेत्रमा गीत गाउने र सार्वजनिक हुने क्रम रोकिएको छैन । दिनहुँ गीत र म्युजिक भिडियो बजारमा आइरहेका छन् । ‘नेपाली तारा’ सिजन-२ का विजेता सन्तोष लामाको गीत ‘डर छैन’ पनि कही दिन अगाडि सार्वजनिक भएको थियो । ०६४ मा ‘नेपाली तारा’को विजेता भएपछि सांगीतिक क्षेत्रमा सक्रिय उनले त्यसयता दुई सयभन्दा धेरै गीत गाइसकेका छन् । पाश्र्व गायनमा पनि रुचाइएका सन्तोषले तीन दर्जनभन्दा धेरै चलचित्रका गीत गाइसकेका छन् । उनै सन्तोष लामासँग नेपाली सांगीतिक क्षेत्रको पछिल्लो अवस्था, नेपाली गीत-संगीतको आन्तरिक र बाह्‍य बजार प्रवर्द्धनलगायत विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी : 
० ० ०
कलाकारलाई लकडाउन वा निषेधाज्ञाको प्रभाव नपरेको हो, गीत त सार्वजनिक भइरहेका छन् त ? 
मेरो विचारमा नेपालमा तीन/चार खालका गायक-गायिका छन् । पहिलो अथाह पैसा भएका तर बजार व्यवस्थापनको आइडिया र प्रतिभा पनि नभएका । दोस्रो पैसा भएका र बजार व्यवस्थापनको आइडिया पनि भएका जो दुई-चार दिन मुखमा झुन्डिने गीत गाइरहेका छन् । अर्को लोकदोहोरीका गायक-गायिका जो तिजका गीतमा अथाह पैसा खर्च गरिरहनुभएको छ । तिजका गीतमा यति धेरै लगानी किन भइरहेको छ मलाई पनि थाहा छैन । अर्को जो गाएर बाँच्छु भन्ने गायक-गायिका उहाँहरूका गीत कोरोनाको महामारीमा त्यति धेरै आएजस्तो लाग्दैन । यदि आएका छन् भने गीतकार, संगीतकार वा प्रोड्युसरले लगानी गर्नुभएको छ । गायक स्वयंमले लगानी गरिरहनु भएको छैन । अघिल्ला तीन प्रकारका गीत आइरहेका छन् । 

अडियो मात्रै होइन भिडियो पनि बनिरहेका छन् । किन संक्रमणको जोखिम मोलिरहेका छन् कलाकार ?
मेरो हकमा कुरा गर्दा चैतयता मैले गरेको गीत यो मात्रै हो । मैले भिडियो बनाउने समयमा संक्रमण पनि निकै कम थियो र लकडाउन पनि थिएन । भिडियो खिच्दा पनि हामीले निकै धेरै सचेत भएर क्रु मेम्बर पनि निकै कम राखेर खिचेका थियौं । 

कोरस पनि धेरै राखेर बिग बजेटमा भिडियो बनाइरहनु भएको पनि छ । त्यो त रिक्स नै हो । संक्रमण र लगानी दुवैका हिसाबले रिक्स छ । मैले बुझेअनुसार अहिले युट्युबबाट आउने रेभिन्यु पनि राम्रो छैन । लगानी गर्ने लगानीकर्ताहरूको लगानी फिर्ता हुने सम्भावना पनि कम छ । यस्तो अवस्थामा किन लगानी गरिरहनुभएको छ, म पनि अचम्ममा छु । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रशासनको आँखा छलेर वा दूरी कायम गरेर जबरजस्ती आउने गीत कत्तिको गुणस्तरीय होलान् ?
यस्तो त्रासमा सम्झौता त गर्नुपर्छ । यो कुरा बाहिर आएको छ कि छैन मलाई थाहा छैन तर सुटिङकै क्रममा मेरो एउटा साथीलाई कारोना संक्रमण भयो । संक्रमणको ठूलो जोखिम त छँदै छ, कन्टेन्टका हिसाबले पनि सम्झौता गर्नुपर्छ । त्यसैले यसबारे गम्भीर रुपमा सोच्नुपर्छ । आर्थिक रुपमा पनि र संक्रमणका हिसाबले पनि ठूलो संकटमा छौं त्यसैले अहिले गर्ने लगानी कोरोनाको महामारी पछि गर्दा राम्रो हुन्छ । 

कोरोनाका कारण सांगीतिक क्षेत्रमा कत्तिको प्रभाव परिरहेको छ ?
झट्ट हेर्दा गीतहरू आइरहेका छन् । कलाकारहरू सामाजिक सञ्जालमा चहलपहल गरिरहेका देखिन्छन् । हेर्दा राम्रै देखिन्छ तर यर्थाथमा त्यस्तो छैन । ९० प्रतिशतभन्दा धेरै गायक-गायिका, कम्पोजर, रेकर्डिस्टलाई एकदम कठिन छ । अलकति नाम भएका व्यक्तिलाई राहत माग्‍न पनि अफ्ठ्यारो हुँदोरहेछ । यस्तो समूह अहिले ठूलो छ नेपालमा ।

Global Ime bank

अभावमा रहेका सर्जकलाई सहयोग गर्ने जिम्मेवारी कसको हो ?
गीत-संगीतसँग सम्बन्धित धेरै संघ-संस्था छन् । संगीतकार संघ, गीतकार संघ, प्रस्तोता समाज, रोयल्टी संकलन समाज, म्युजिक कम्पनीहरूलगायत थुप्रै संघ-संस्था छन् । यी संघ-संस्थाहरूको पनि सहयोग गर्ने दायित्व हो । सुरुका महिनामा संगीतकार संघले राहत लिने व्यक्तिको नाम र तस्बिर सार्वजनिक नगरी राहत वितरण गरेको थियो । त्यसले कलाकारलाई राहत मिलेको थियो । तर अहिले ६ महिना भइसक्यो । अहिले झन् धेरै समस्या छ तर सहयोग छैन ।

हामी राज्यले सहयोग गरेन भन्छौं सधैं, तर परेका बेला सरकारले पनि सहयोग गर्नुपर्छ । कलाकारलाई हामी गहना भन्छौं । चाहिएका बेला घाँटीमा सजाउने र नचाहिएका बेला निकालेर फालिदिने गर्नुहुँदैन । यो बेला सबैभन्दा धेरै असर श्रमिक, मनोरञ्जन क्षेत्र र पर्यटन उद्योगलाई परेको छ । यसतर्फ सरोकारवाला पक्षको ध्यान खिचिनुपर्छ । 

नेपाली सांगीतको मूल्यांकन कसरी गर्नुहुन्छ ? समयअनुसार हुँदै गएको परिमार्जनले नेपाली संगीतलाई सही दिशा दिँदै छ कि यो बाटो गलत हो ?
मेरो बुझाइमा एकदम राम्रो गीत लेख्ने गीतकार पनि छन्, राम्रो संगीत गर्ने संगीतकार र अन्तर्राष्ट्रिय स्तरमा गाउन सक्ने गायक पनि छन् । यस्ता गीतहरू पनि आएका छन् ।

तर जसको गीतले नेपाली संगीतलाई अधोगतितर्फ लैजान्छ उहाँहरूसँग धेरै पैसा भएका कारण यति धेरै प्रमोसन गर्नुहुन्छ कि सर्वसाधारणलाई गायक-गायिका भनेकै यिनै हुन् र गीत भनेकै यही हो भन्ने भएको छ । यो भ्रमले गर्दा नेपाली संगीतप्रतिको आम बुझाइ नै गलत हुँदै गएको छ ।

राम्रो सर्जकलाई सञ्चारमाध्यमले पनि प्रोत्साहन गर्नुपर्छ र पैसाकै भरमा आउनेहरूलाई मिडियाले पनि कम प्रोत्साहन गरेर समाचार, लेख तथा अन्तर्वार्ता आए भ्रम चिर्न सहज हुनेथियो । 

लोक, पप, रक र आधुनिक पन र शब्द मिसाएर तयार पारिएका गीत नेपालका लागि आवश्यकता हुन् कि कलाकार तथा प्रोड्युसरको फाइदा मात्रै हुन् ?
यसमा दुई पक्ष छन् । एउटा युवा पक्ष नेपाली लोकपनलाई पनि समेटेर अन्तर्राष्ट्रिय क्षेत्रमा जानुपर्छ भन्ने मान्यताले गीत बनाइरहेको छ । अर्को पक्ष लोक भाकालाई टिपेर गीत गायो भने व्यावसायिक रुपमा सफल भइन्छ भन्‍ने छ । व्यावसायिक रुपमा सफलचाहिँ लोकभाका मिसाएर बनाइएका गीत हुन् । तर नेपाली गीत-संगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन अहिले केही युवाले वेस्टर्न बाजागाजा र नेपाली मेलोडी अथवा नेपाली बाजागाजा तर वेस्टर्न मेलोडी फ्युजन गरेर गीत बनाइरहनुभएको । ती दुवै पक्ष ठीकै हुन्जस्तो लाग्छ । 

नेपाली लोक, पप, चलचित्र हुन् वा आधुनिक गीत सबै नेपालभित्रै सीमित रहे । हामीले हिन्दी हुन् वा इङ्लिस चलचित्रका गीत व्यग्रताका साथ सुनिरहेका बेला हाम्रो संगीतचाहिँ किन नेपालमै खुम्चियो ?
राम्रो गीत नेपालमा नबनेका होइनन् । बनिरहेका छन् । तर त्यस्ता गीतका सर्जकहरू प्रोमोसनमा त्यति धेरै लाग्नुहुन्छ । राम्रा गीत स्रोता दर्शकले खोजेर सुनिहाल्नुहुन्छ नि भन्ने मानसिकता छ । बढी प्रोमोसन किन गर्नु भन्ने सन्की मानसिकता पनि हुन्छ कति सर्जकमा । यस्ता कारणले पनि कति राम्रा गीत ओझेलमा परेका छन् । 

हामीले हाम्रो संगीतमा आफ्नोपन दिन सकेनौं कि बेच्‍न जानेनौं ?
हो, अहिले भइरहेको तथ्य कुरा हामीले गीत तयार पारेर पनि बेच्न जानेनौं । युट्युबका कारण रोजाइ अनुसारका गीत सुन्‍न पाइने भयो । चल्तीका गीतहरू नै सुन्‍ने दर्शक धेरै छन् । डिप ट्युनिङ र टेक्निकल रुपमा रिच गीतहरू सुन्ने दर्शक नै कम हुनुहुन्छ । फास्ट बिटका चटपटे गीतहरू धेरै सुन्ने गरेको पाइन्छ । गीत भनेको रमाइलो त हो नि भन्ने बुझाइ र त्यहीअनुसारका गीत धेरै आउँदा राम्रा गीतहरू बनेर पनि बेच्न नजान्दा पछि परे । 

सिङगिङ रियालिटी शोबाट आएका एकाधबाहेक प्रतिभाले गायनमा अपेक्षित कला प्रस्तुत गर्न सकेनन् भन्ने टिप्पणी हुँदै आएको छ । तपाईं पनि सिङगिङ रियालिटी शोबाट आएको प्रतिभा, यो टिप्पणीमा सत्यता छ ?
सिङगिङ रियालिटी शोमा प्रायः नोटिस हुने टप टेन हो । उहाँहरूलाई शो मा महिनौंसम्म देखिएको हुन्छ । पछि कति सोखका हिसाबले फाट्टफुट्ट मात्रै गीत गाउनुहुन्छ कति गाइरहनु भएको हुन्छ । सबैले प्रयास गरिरहनुभएको हुन्छ । तर रियालिटी शो सकिएपछि बल्ल संघर्ष सुरु हुन्छ । आम-संगीतकर्मीले जसरी संघर्ष गर्नुपर्छ त्यसरी नै उसको पनि संघर्ष सुरु हुन्छ । संघर्षमा को अगाडि आउँछ को पछि आउँछ ठेगान हुँदैन । 

अझै पनि गायनमा लागेर एकाधबाहेकले जीविकोपार्जनका लागि वैकल्पिक पेसा अपनाउनु परिरहेको छ । तर किन यो क्षेत्रप्रति आकर्षण पनि बढेकै छ ?
इन्टरटेन्मेन्ट क्षेत्र भनेकै ग्ल्यामरको क्षेत्र हो । वर्षौंसम्म अरबौं कमाएर बसेको मान्छेलाई पनि जनताले चिनेको हुँदैन तर एउटा राम्रो गीत गाएको गायक-गायिकालाई गाउँगाउँको मान्छेले चिन्छ । सबैले चिन्छ, टेलिभिजन, रेडियो, पत्रपत्रिकामा समाचार आउँछ, अन्तर्वार्ता आउँछ भन्‍ने लोभ हुन्छ । यही कारण यो क्षेत्रमा आकर्षण भएको जस्तो लाग्छ । 

गायनका विधा लोक, पप, रक, आधुनिक, चलचित्रमध्ये व्यावसायिक रुपमा सबैभन्दा सहज कुनमा छ ?
नेपालमा १५/२० जनाका हिप-हपको सर्कल छ । त्यो सर्कलले नेपाली संगीतलाई कसरी नेपाली रहेका अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिन्छ भनेर विश्वका धेरै म्युजिक प्लेटर्फममा पुर्‍याउन सकिन्छ भनेर र त्यसबाट आर्थिक रुपमा पनि सक्षम भइन्छ भन्‍ने प्रयासमा रहेको देखिन्छ । हिप-हपको क्षेत्रमा राम्रो गर्नसक्यो भने त्यसमा पनि राम्रो छ । त्यसबाहेक लोकदोहोरी क्षेत्रका कलाकारले सहज जीवन बाँचिरहनु भएको छ । उहाँहरूको संघर्ष आफ्नो ठाउँमा होला तर देशविदेशका कार्यक्रममा उहाँहरूको माग र उपस्थिति हेर्दा सहज होला । त्यसबाहेक अरुलाई त्यति सहज छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC