‘हाकिमले खाने भोजन खाइयो,’ ७६ वर्षीय पूर्ण लामाको अनुहार उज्यालो देखियो । उनको मुस्कानले निधारमा लाइन लगाएर कोरेका जस्ता देखिने मुजाहरू तन्नेरी देखिए । ‘आफू त गुन्द्रुकसँग ढिँडो खाने मान्छे । अलि कमाएका दिनको खाना भनेकै दाल र भात,’ उनले आफ्नो यथार्थ घामजस्तै छर्लङ्ग पारेर सुनाए, ‘अहिले त साग बेच्न नपाएर केही उपाय थिएन तर प्र्राणदाता पनि यो संसारमा रहेछन् । भगवान्को स्वरूप मान्छेमै भेटिँदोरहेछ ।’ यो भनाइले एकातिर भगवान्को स्वरूप भेटिएको छ भने अर्कोतिर गणतान्त्रिक भनिएको सङ्घीय नेपालको वर्तमान तस्बिर प्रतिबिम्बित भएको छ, सतहमा उत्रिएको छ । यतिबेला सडकमा सामूहिक भोजनको दालभातका लागि हात तेस्र्याउने बालबालिकाको कारुणिक दृष्य उत्तिकै दयनीय छ ।
लकडाउन भएयता भक्तपुरस्थित नयाँठिमीमा बस्दै आएका वृद्ध पूर्ण लामालाई सयौंलाई पकाएको खाना ‘अमृत’ लागेको छ । नेपाल मात्र होइन, विश्वमै यतिबेला सङ्कट चुलिएको छ । ठूल्ठूला अस्त्रलाई चुनौती दिएर नदेखिने कोरोनाले ‘मै हुँ’ भन्नेलाई समेतलाई सोच्न बाध्य बनाएको छ । एकातिर कोरोना सङ्क्रमणको जोखिमले ‘महामारी’ को ठूलो पीडा छ भने अर्कोतिर ‘भोकमरी’ । दिनभरि कमाएर दुई छाक गर्जो टार्नेलाई त्यो विकल्प पनि भत्किएपछि पूर्णजस्तै नागरिकका लागि अरूले दिएको खाना पनि ‘हाकिमको भोजन’ भएको छ अहिले । घरभरि टन्न खानेकुरा हुनेलाई भोकै नलाग्ला तर केही नहुनेलाई भोकले कति सताउँदो हो ? लकडाउन भएपछि सडकमा भोजन नबाँड्दासम्म पूर्णहरूले सपनामा पनि खान नपाएर भौंतारिएको दृष्य नै देखे होला । तर त्यो दृष्य देख्ने को ? नेपालभर मजदुरी गरेर खाने ‘पूर्ण’ हरू यतिबेला हरपल ‘अपूर्ण’ छन् ।
किस्ताबन्दीमा थपिने लकडाउनले दिनप्रतिदिन समय प्रतिकूल बनाइरहेको छ । हुनेखाने घुम्ने ‘स्वतन्त्रता’ नपाएर छटपटिमा छन्, हुँदाखाने हातमुख जोर्न नपाएर दुई गाँसका लागि छटपटिएका छन् । मानवको सेवामा लागि पर्नेहरूले साँझ–बिहान दिने दुई छाक ‘प्याकेटको भात’ पनि मजदुरका लागि सरकारले थप्ने लकडाउनजस्तै किस्ताबन्दी झैं भएको छ । यतिबेला सयौंलाई हुलमुलमा पकाइएको खाना नै उनीहरूका लागि ‘स्वतन्त्रता’ को अर्को नाम बनेको छ । कोरोना सङ्क्रमणको ग्राफ दिनप्रतिदिन उकालिँदो छ । जर्मनीका अर्थमन्त्रीले कोरोना कहरका कारण भविष्य सम्हाल्न नसक्ने देखेर आत्महत्या गरेको खबर सार्वजनिक भएकै हो । कतिपय नेपाली मजदुर यस्तो विषम परिस्थितिमा पनि निराश वा कुण्ठामा देखिँदैनन्, न उनीहरू सरकारप्रति आक्रान्त छन् । ‘बस् ! प्राणदाता भगवान्ले पु¥याउँछन्,’ यही भाग्यभरोसामा दिन कटाइरहेछन् । अधिकांश भने सरकारसँग आक्रोशित छन् । पछिल्लो समय व्यवस्थापनमा जुटेको सरकार मजदुरको खानपानको मामिलामा चुकेकै हो ।
नुवाकोट ओखरपौवामा गरिखाने अलिकति खेत र बसी निदाउने सानो झुपडी नभएको होइन पूर्णको । उनकै शब्दमा ‘एउटा छोरा पनि ट्यापे भैदियो, डनको पछि लाग्यो र मलाई पनि निमोठ्यो । घर न घाटको पारिदियो ।’ छोराले बुवाप्रतिको कर्तव्य पूरा गरेको भए सायद पूर्ण यो हजारौंको भीडमा थपिने थिएनन् । वृद्धभत्ता मासिक तीन हजार पाउँछन् उनी तर मुटु, लिभर र प्रोस्टेटको औषधिलाई ३१०० रुपैयाँ तिर्छन् । दमको औषधि र इच्छाआवश्यकता त ‘मनको लड्डु’ मात्र छ उनका लागि । ‘कोही नहुनेको ईश्वर हुन्छन्’ भनेको सुनेका उनलाई ठिमीनिवासी गाउँका एक छिमेकीले बाससम्म दिएका छन् । मानव सेवा आश्रमले एक महिनादेखि भक्तपुरका विभिन्न चोक र अस्पतालमा दुई छाक खुवाउने खानामा पूर्णजस्ता सयौंले छाक टार्न पाएका हुन् । आश्रमले वितरण गरेको ठाउँमा पुगेका वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले भनेका थिए, ‘यही मनभित्र बस्दछ ईश्वर, यही मनभित्र छ राक्षस । मनको राक्षस शान्त गर्नलाई जगाऊ मनको ईश्वर ।’ सबैतिर सबैकुरा ‘लकडाउन’ हुँदा यसरी दिनहुँ सयौंलाई खुवाउनु सहज नहोला, तर यसको परिणाम ‘पूर्ण’ हरूको दैनिकी ‘सहज’ भएको छ । यहाँ लिने ‘पूर्ण’ र दिने ‘आश्रम’ त प्रतिनिधि मात्र हुन्, मुलुकभर लिने हजारौं र दिने सयौंबीचको तादाम्यले ‘खुसी र सुखी’ को ‘प्रतिबिम्ब’ देखिरहन पाइयोस् भन्ने हो ।
‘संरचनाको पिँधमा रहेकाहरूको पक्षमा’ शीर्षकमा गताङ्क सञ्जीव उप्रेतीको फुर्सदको लेखमा थियो, ‘पाठकलाई यो लेख पढन ५–७ मिनेटजति लाग्ला । त्यतिञ्जेलमा ७० देखि १०० मानिस भोकमरीले मर्नेछन् । कोरोना तथा भोकमरी दुवैबाट सबैभन्दा बढी पीडित आर्थिक सामाजिक संरचनाको पिँधमा दैनिक सङ्घर्ष गर्दै बाँचिरहेकाहरू नै हुनेछन् ।’ बाँचेर केही गर्ने भन्दा पनि हजारौंको सङ्ख्यामा रहेको मजदुर वर्ग यतिबेला ‘खानका लागि बाँच्ने प्रयास’ मा छ । सरकारले नभनेको होइन, लकडाउनमा यथोचित राहतको व्यवस्था गरिनेछ, कोही पनि भोकै बस्नु पर्ने छैन । तर ‘भाषण’ र ‘शासन’ फरक भयो । यो समय सरकारको पनि ‘अग्निपरीक्षा’ हो, हुँदाखानेलाई ‘खाना’ मात्रको व्यवस्था गर्दिएको भए चिउरा र चाउचाउको भरमा सात दिनको बाटो गाउँघर पुग्ने ‘सास्ती’ कसैले स्वीकार्दैनथ्यो सायद ।
संसारको भोकभरीको तथ्याङ्क डरलाग्दो छ । हरेक दिन विश्वमा करिब २० हजार मानिसले खान नपाएको यथार्थ वल्ड्रोमिटरले सार्वजनिक गरेको छ । संसारको तथ्याङ्क र पूर्णलाई विश्लेषण गर्ने हो भने जिन्दगी यहाँनेर भोकको पर्याय बनेर उभिएको छ । नेपालले दशकौंदेखि १५ औं आवधिक योजनाको आधारपत्र बनाउञ्जेल वार्षिक बजेट र विदेशी डलर खर्चिएको गरिबीलाई समेत यो ‘भोक’ ले प्रश्न तेस्र्याएको छ । यतिबेला चीनले एक वर्षमै करोडौं मनिसको गरिबी घटाएको सन्दर्भ जोडेर ल्याउन मन लाग्छ । यस्तो विषम परिस्थितिमा नेपालका ‘हुनेखाने’ घरबाहिर निस्केका छैनन्, छन् भने या त मर्निङ वाक वा ब्याटमिन्टनका लागि छन् । ‘टन्न’ उनीहरूले ‘हुँदाखाने’ को अवस्था आकलन समेत गरेका छैनन्, ‘उब्रिएको’ वा ‘उबारेर’ एक छाकसम्म दिनुपर्छ भन्ने सोच नआउने त लाखौं होलान् । यस्तो बेला जसले कोरोना भाइरसलाई ‘बेवास्ता’ गर्दै जीवन ‘जोखिम’ मा पारेर दैनिक सयौं÷हजारौं मजदुरलाई ‘खान’ दिएका छन्, अवश्य पनि ती भगवान्को स्वरूप हुन् । यस्ता प्रतिनिधि हुञ्जेल नेपालको सन्दर्भमा वल्ड्रोमिटरको तथ्याङ्कले ‘ठूलो आकार’ पाउने छैन ।
हुनुपर्ने त यस्तो बेला ‘सिंहदरबार’ को सानो रूप ‘स्थानीय सरकार’ ‘भगवान्’ बन्नुपर्ने हो । तर कतिपय ती सरकारले ‘पेटमा पटुका बाँधेका’ हरूलाई ‘एक छाक भात’ दिन पनि नागरिकता खोजे । के सरकारको छाती यति साँघुरो हुनुपर्ने हो ? रेस्टुरेन्ट गएर साथीभाइसँग हजारौं सिध्याउने वा भ्रष्टाचार गरेर करोडौं कुम्ल्याउने अनि चुनावताका रातारात ‘पैसाको खोलो बगाउने’ उनै नेता सरकारमा पुग्दा मुठी कस्नु पर्ने कारण सायदै ‘जायज’ होला । हुनत यतिबेला ‘अपूर्ण’ बनेका ‘पूर्ण’ हरूलाई ‘पूर्ण’ बनाउने बहानामा त्यही ‘छाक’ लाई तस्बिरमा रूपान्तरण गरेर सामाजिक सञ्जालमा ‘भाइरल’ बनाउँदै दयामायाको व्यापार गर्नेहरू (जो ‘भए दिन्नथेँ, छैन लिएर जा...’ भन्छन्) ‘भूकम्प’ मा जस्तै सेवाको नाममा मेवा पाउन जुर्मुराउन पनि थालेका छन् । तस्बिर त त्यो अघाएकाले दिमागले खिचोस् न उसको सन्तुष्ट पेटको, चाहे त्यो स्वरूप ‘इन्ट्यान्जिबल’ नै किन नहोस् ।
‘सङ्घर्ष हो जीवन, जीवन सङ्घर्ष हो’ रेडियोमा यस्ता गीत घन्कन्थे । जतिपटक बजे पनि सुन्ने मात्र काम हुन्थ्यो । बास्तविकता त भूकम्प, बाढीपहिरो, आगलागी र कोरोना, इबोलाजस्ता महामारीले बुझाइरहेका÷भोगाइरहेका छन् । जीवनलाई ‘सामान्य’ बनाउन सघाउनेहरूले धेरैको ‘सङ्कट’ सामना गर्दै पनि आएका छन् । सडकमा पुगेर खाना खुवाएका सरकारका सहसचिव मानबहादुर विकले भनेका थिए, ‘आजको व्यवस्था हामीले गरेका छौं, भोलिको सेवाका लागि तपाईंले सहकार्य गर्न सक्नु हुनेछ ।’ ‘मन’ भएका ‘मानबहादुर’ हरू एकपछि अर्को सडकमा निस्कने हो भने ‘लकडाउन’ ‘सास्ती’ होइन, गर्जो टार्ने वर्गको भोकको आगो ‘शान्ति’ मा रूपान्तरण हुनेछ । अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि केही दिनअघि सडकमा पुगेर खाना वितरण गरेपछि भनेका छन्, ‘सहयोग गर्ने भनेकै यस्तै बेलामा हो, यस्तै मान्छेलाई हो ।’