ध.च. गोतामे
मेरो भकुन्डो अब रञ्जनराजको चउरमा हुत्तिएर पुगेको थियो । त्यसैले डोर्याएर मलाई एकदिन बिहानै रञ्जनराज खनालको दहिलामा पुर्यायो । राजाका जुनसुकै सचिवको घर पनि उस्तै घुइँचो हुँदोरहेछ । लिने, पाउने र पाइसकेपछि नअघाउन्जेल अबिच्छिन्न चरिरहने लालसा लिएरै सबै त्यहाँ धुइरिएका थिए । म स्वयम् पनि तिनमध्ये थिएँ । राणाकालदेखिको चाकरी गर्ने प्रवृत्ति प्रकारान्तरले अहिलेसम्म एकनाससित कायम रहिआएको छ । घटेको छैन बरु जनप्रबाहको अविरल आयतन अझ दिनानुदिन बढ्दै गएको छ ।
रञ्जनराजबाट मेरा लागि केही राम्रै हुनेछ भन्ने क्षीण आशा ममा अङ्कुरित हुनगएको थियो, किनकि उनलाई सङ्कट पर्दा मैले पनि सहानुभूतिपूर्ण सघाउ पुर्याएको थिएँ । उनलाई यो सबै तथ्य थाहा थियो ।
रञ्जनराज खनाललाई पहिलो पटक प्र.म. कार्यालयमा देखेको थिएँ । यिनलाई देख्यो कि म हिन्दी सिनेमाका पुराना खलनायक जीवनलाई सम्झन्थे– उस्तै अग्ला र डाम्म–डुम्म नभएको च्याँसे अनुहार, स्वभाव पनि मिल्दो–जुल्दो रहेछ जो कि पछि थाहा पाएँ । उनी मन्त्री परिषद् सचिवालयमा सचिव भएर मुख्यसचिवमुनि काम गर्थे । प्रशासनतन्त्रमा विशिष्ठ श्रेणीका सचिवमध्ये सबभन्दा निकृष्ट पद यही थियो । अरु सचिवहरु आफ्ना सिङ्गो मन्त्रालयका एकलौटी हालीमुहाली हुन्थे भने, मन्त्रपिरिषद्का सचिवले मुख्यसचिवको अहौटे काम तामेल गरेर बस्नुपथ्र्यो । चारैतिर मुख्य सचिव छाइरहेकाले यस सचिवको त कसैकसैले नामसम्म थाहा पाएको हुँदैनथ्यो ।
एकदिन रञ्जनराज बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्न आइपुगे । भेटर उनले बडो अनुनयविनय गरेर भने, ‘ठूलो रुखमुनि उम्रिएको एक सानो बिरुवा जस्तै मेरो हविगत भएको छ । सबैको दुष्टि ठूलो रुखमा पर्छ, पोषक तत्व उसैले सोहरेर लैजान्छ र सबै यशको हकदार पनि त्यही हुन्छ ।’ यिनी कुरा गर्न खप्पिस रहेछन्, एकैछिनमा प्रधानमन्त्रीको मन पगालिहाले । उनलाई छिटै राम्रो ठाउँमा सरुवा गरिदिने भनी प्रधानमन्त्रीले स्वीकृति दिनका साथै म पनि त्यहीँ भएकोले पदको रिक्तताबारे बुझेर प्र. म.लाई सूचित गर्ने जिम्मा मलाई दिइयो । फलस्वरुप भोलिदेखि खनालज्यू मेरै कार्य–कक्षमा आसन जमाउन थाल्नुभयो ।
मैले भनेँ– ‘खाली खोल्साबारे मभन्दा तपाईंलाई धेरै थाहा हुन्छ । तपाईंको जहाँ जाने इच्छा छ मलाई थाहा दिनुस, प्र. म.लाई ताती लाउने काम म गर्छु ।’
उनले धेरै ठाउँ मन दौडाएर अन्त्यमा नेसनल ट्रेडिङको कार्यकारी अध्यक्षमा जान आफ्नो तीब्र रुचि देखाए । प्र.म.ले छिट्टै क्याबिनेट–निर्णय गरेर उनलाई मन्त्रिपरिषद् सचिवालयबाट मुक्त गरिदिनुभयो । जाने वेला ‘यसो फ्रिज–स्रिज सस्तो आयो भने म खबर गरुलाँ नि’ भन्दै मेरो हातमा ललिपप हिल्ला लाएर हिँडे ।
नेसनल ट्रेडिङमा उनी असफल भए । आठ–दस महिनापछि पुनः बालुवाटार आएर भने– ‘हजुर त्यहाँ त चोरै–चोर बसेका रहेछन् । म एक्लो परेँ । मलाई तिनको जमातले पटक्क काम गर्न दिएन । त्यस कारण त्यहाँबाट पनि अन्यत्रै सर्न पाए हुन्थ्यो ।’ यसपालि उनको वाकचातुर्यले प्र. म.लाई पगाल्न सकेन । क्याबिनेटमा तपाईंलाई त्यहाँ चार वर्षको लागि पठाउने निर्णय भएअनुसार राजाबाट समेत हुकुमबक्स गराइसकेको छु । म त यति छिटो फेरि राजाकहाँ बिन्ती चढाउन जान्नँ ।’ रञ्जनराज अँध्यारो अनुहार लाएर फर्के ।
तीनचार महिनापछिको कुरा हो । राजासित भेटेर एक दिन प्र.म. केही अबेला बालुवाटार फर्किनुभयो । म र राधाप्रसाद उहाँहरुलाई कुरिरहेका थियौं । रिजालजी केही चिन्तित अनुहार लाएर हामीसँग चिया खान बस्नुभयो । चियाको एकदुई घुट्को लिइसकेपछि भन्नुभयो– ‘राजाका प्रमुख सचिव कल्याणविक्रम अधिकारी एसियाली विकास बैङ्कको कुनै पदमा नियुक्त भएर मनिला जाँदैछन् । उनको ठाउँमा राख्ने गरी कसैको नाम दिनुपर्ने भएको छ । दुई–तीन दिनभित्रै बिन्ती चढाउनु भनी मलाई हुकुम भएको छ । तपाईंहरु पनि सोच्नुस् कोही छ भने ।’
रञ्जनराजको पुर्पुरो बलियो रहेछ । मलाई तत्काल उनको नाम सुझ्यो र मैले प्र. म.लाई प्रस्तावित गरिदिएँ, ‘अरु–जानुभन्दा उनी त्यहाँ भएमा हाम्रो हितअनुकूल नै काम गर्लान् ।’ दुई दिनपछि प्रधानमन्त्रीले उनको नाम राजालाई दिनुभयो, जो तत्कालै स्वीकृत गरियो । नेटे«लिबाट पीडित भएका रञ्जनराज सदा राजाका पाश्र्ववर्ती भएर बस्ने सर्वाधिक महत्वपूर्ण पदमा पदासीन हुन पुगे ।
मैले उनको नाम सुझाएको कुरा पनि उनलाई थाहा भइसकेको थियो । यही सबै विगतका साना–तिना आधारहरुको पृष्ठभूमिमा म उनको पानीपोखरीनिरको घरमा पुगेँ । बडे–बडे राजनीतिक भीमहरु त्यहाँ आआफ्ना गदा लुत्राएर दयनीय अनुहारमा कुरिरहेका थिए । मलाई दुई घण्टा जति कुराएर बोलाए । मैले पुरानो परिचय उप्काउने हेतुले हाँस्दै नमस्कार गरेँ र भने ‘आराम हुनुहुन्छ ?’ उत्तरमा उनले घडी हेरेर भने– ‘ज्यादै अबेला भएछ । तपाईंको के भन्नु छ भनिहाल्नुस् त ।’ मसित पहिलो पटक भेटे जस्तै व्यवहार गरे । मुखमा मुस्कानको क्षीण धर्सो समेत प्रकट हुन दिएनन् । यो एक वर्षमा पदको दर्पले उनको मथिङ्गललाई आक्रान्त पारेर मानिसलाई मूल्याङ्कन गर्ने दोधारे मानदण्डको विकास उनमा गराइसकेको रहेछ । मसितको अत्यन्त चिसो व्यवहारले मलाई बडो दुःख लाग्यो ।
मलाई अप्ठ्यारो थियो ? राजासित बेदाबाबुले गरेको कुरो कसरी भन्ने उनले निक्कै आत्मीयता देखाएको भए म पनि साहस गरेर भन्ने थिएँ– ‘मेरो सरुवाबारे माथि केही प्रसङ्ग चलेको थियो ?’ त्यस्तो सामान्य वातावरण उनले बन्नै दिएनन् । अतः मैले भनेँ, ‘धेरै दिन भएकोले यसो भेट गर्न आएको हुँ, अरु केही छैन ।’ त्यति भनेर म लुरु–लुरु फर्के ।
यस घट्नाको झण्डै पन्ध्र दिनपछि सामान्य प्रशासन मन्त्रालयबाट पठाएको एउटा पत्र मेरो हातमा पर्यो । पत्रमा म. प.का निर्णयानुसार तपार्इंलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरिएको छ– भनी लेखिएको थियो । पत्र पढेर सारै दिक्क लाग्यो । त्यो ठाउँ भन्दा त अतिरिक्त समूह मेरो लागि राम्रो ठाउँ थियो । मलाई बुझ्न बेर लागेन यो जाली काम उनै प्रमुख सचिवको हो । कुनै विभागीय वा संस्थान प्रमुखको ठाउँमा पठाउनु पर्ला भनेर योजनाको खाडलमा खसालिदिएका थिए जहाँबाट उक्लेर माथि सतहमा आइपुग्न मैले पुनः पहाड पल्टाउनु पथ्र्यो ।
दुई दिनसम्म त मैले पुर्जी बुझ्न आलटाल गरेँ । पियन मेरो चिनेको थियो, ‘भेट भएन’ भनिदियो । तर तेस्रो दिन पुर्जी अतिरिक्त समूहको हाजिर कापीको त्यस पानामा नत्थी गरेर राखेको पाएँ, जहाँ प्रतिदिन मैले हाजिर गर्ने गरेका थिएँ । यसरी पुर्जी नबुझ्दा एक पटक मैले ठूलो हण्डर खाइसकेको कुरा झ्वास्स सम्झेँ ।
०२९ सालको प्रारम्भमा सूचना–विभागको निर्देशकको पदबाट मलाई अतिरिक्त समूहमा फालिदिएका थिए । अतिरिक्त समूहका सचिव मनमोहनलाल सिंह थिए । प्रशासनतन्त्रमा मैले सरसङ्गत गरेका मित्रहरु वा बेहोरेका हाकिमहरु प्रायः सबै असल स्वभावका सहानुभूतिपूर्ण व्यवहार गर्ने पाएको थिएँ । तर केही व्यक्ति अति कठोर अमानवीय र पर–पीडामा रमाउने खालका पनि पाएँ । उनको भित्र शैशव कालदेखि गुजुल्टेर रहेको आदिम विषधरलाई जतिसुकै रिझाएर, फकाएर, बिन बजाएर पनि तिनमा दयाकरुणाको सेचन गर्नै सकिँदैन । यस्तै थिए मनमोहन लालसिंह ‘जिन्स’बाटै प्रवाहित भएर उनमा यो आक्रामक स्वभाव आएको हो भन्ने कुरा पनि पत्यार गर्न सकिँदैन, किनकि उनका सहोदर दाजु रेणुलालसिंहसित सूचना–विभागमा हुँदा मेरो निकटको सरोकार परिसकेको थियो । भाइको विपरीत रेणुलाल दया र क्षमाशीलताका प्रतिमूर्ति थिए । हप्तामा एकदिन बिदा हुँदा पनि परिवारसितको उठ–बस छाडेर साधु–सन्तको समागम खोज्न पशुपतिको श्लेष्मान्तक वनतिर भांैतारिरहन्थे ।
किस्सा मनमोहनलालको । यो प्रसङ्ग कोट्याउँदा हाँसो पनि उठ्छ, उनको र मेरो ग्रह, भेट भएदेखि भनौं पहिलो परिचयदेखि नै मिल्न सकेन । अतिरिक्त समूहमा अनेक परिबन्दले घचेडिएर जाकिने मानिस आफंै हीन भावनाग्रस्त भएर पाइलैपिच्छे अपमानको घुट्को निलिरहेको हुन्छ । मोटर खोसिएर छाता हल्लाउँदै हाही गर्न जाँदा छिमेकमा कसैले प्वाक्क सोधिदिन्छ– ‘के भो डाइरेक्टर साहेब गाडी कहाँ छाड्नुभयो ?’ यस्तोमा आफू रेखदेखमा फालिएको सूचना नदिई धरै छैन, किनकि उसले भोलि पुनः यही प्रश्न गर्छ ‘गाडी कहाँ...?’
रेखदेखमा आफू फालिएको कुरा सुन्नासाथ भित्रबाट ऊ यति प्रसन्न हुन्छ कि त्यहीँ सडकमा काथकली वा मणिपुरी मच्चाइदिउँ जस्तो उसलाई लाग्छ, तर बाहिरबाट मानौं मलाई पक्षाघातले हिर्काए जस्तै अनुहार लाउँदै कृत्रिम सहानुभूति झिकेर भन्छ– ‘के गर्या श्री ५ सरकारले यस्तो ? चोरलाई चौतारो साधुलाई...।’ उसको टुक्का नटुङ्गिदै बसभित्र कोचिइसकेको हुन्छु ।
अति गलित, पतित र स्खलित भएर रेखदेखमा पुग्दा आलो घाउमा नून छरे जस्तै मनमोहनलालको गर्जन्–तर्जन्को झटारो । त्यस बखतसम्म सिंहदरबारमा आगलागी भएको थिएन र रेखदेखको कार्यालय, अर्थात् प्रशासन व्यावस्था विभाग हरिहर भवनमा नभएर सिंहदरबारको तल्लो तलामा थियो । एक दिन असिनापसिना भएर हाजिर गर्न के पुगेको थिएँ, मनमोहनलालले कुन्नि के कुरामा हो, आफ्नो आक्रामक स्वभाव देखाइहाले । अरुलाई लखेटेको देखेरै म भित्रभित्रै मनभरि भइसकेको थिएँ । त्यसदिन मैमाथि पर्दान्त सहनै सकिनँ, म पनि झसङ्ग भइहालेँ । त्यस दिनदेखि उनको र मेरो षड्गाष्टक पर्न थाल्यो ।
एकदिन हाजिर गरिसकेपछि पियनले एउटा पत्र बुझाउन ल्यायो । मेरो कहीँ पोस्टिङ त भएन भनेर खोलेको त मलाई पुनर्वासको कार्यमा कोशी अञ्चलमा काज खटाइएको भनी लेखेको पो रहेछ । यो सब मनमोहनलालद्वारा गरिएको हो भन्ठानेँ, तर पत्र बुझ्न मानिनँ किनकि बुझ्नासाथ गुण्टा कसेर मोरङको वन–जङ्गलमा गएर भौतारिनु पथ्र्यो ।
भोलिपल्ट पुनः पत्र बुझाउन ल्यायो, तर स्वीकार नगरी घरतिर लागेँ । तेस्रो दिन त्यो पत्र हाजिरकापीको मेरो पानामा नत्थी गरेर राखिएको थियो । हाजिर गर्न खोज्दा पियनले रोकिदियो–‘हजुर, पत्र नबुझी हाजिर गर्न नदिनू भनी सचिवले भन्नुभएको छ ।’ अब मेरो केही लागेन किनकि हाजिर नगरी र विदा पनि स्वीकृति नगराई कति दिन धान्न सकिन्थ्यो, अब त पक्कै परियो– काबुलीको पञ्जामा सानाबाजे पुर्जी बुझेर मनमोहहनलाल कहाँ जाँदा ऊ मलाई घोप्टाएकोमा विजयले हुन्हुनाउँदै अट्टहास भिक्ने छ– ‘बडे–बडे लोगका फुर्ती झारके सुर्ती खिलादिया ।’ मैले निरीह जस्तो दयनीय अनुहार लाएर सुनिरहनु पथ्र्यो । उसको तन्काई खुम्चेको बेला उनी मसित अशुद्ध हिन्दी बोल्न मनपराउँथे– ‘जाओ जाओ दो–चार महिना मोरङका दाना पानी खाके आवो, हम फिर्ता बोलाएँगे’ भन्ने थिए ।
केही लागेन भन्ठानेर मैले पुर्जी बुझ्नै आँटेको थिएँ, एकाएक केही सम्झेँ । प्रयास किन नगर्ने मनमनै भन्दै त्या पुर्जी त्यहीँ फ्यात्त फालेर म एक भर्याङ उक्लेर माथि पुगेँ । माथि राज्यमन्त्री रवीन्द्रनाथ शर्माको कोठा थियो र प्रशासन–व्यवस्था विभाग उनैको मन्त्रालय अन्तर्गत पथ्र्यो ।
रवीन्द्रनाथ शर्मासित पुरानो परिचय थियो । काशीमा पढ्दा म यिनैका ससुरालीमा बसेर पढेको थिएँ । त्यस घरमा नीना कोइरालाका तीनै बहिनीहरु थिए लीलु, रानु र मुन्नी– तिनैमध्ये कान्छीसित रवीन्द्रनाथको विवाह भएको थियो । यसरी पुरानो परिवारिक सूत्रले गर्दा उनीसित परिचय मात्र नभएर किञ्चित् नजिक भएको अनुभव गर्न थालेको थिएँ । कार्यालयमा संयोगले रवीन्द्रनाथ एक्लै हुनुहुन्थ्यो । मैल सबै कुरा भनेँ र मनमोहनलालको खेदामा परेको पनि सुनाएँ । उहाँले मलाई अर्को कोठामा पठाएर तत्काल मनमोहनलाललाई डाकेर भन्नुभयो– ‘आजैदेखि रेख–देखका धनुषचन्द्रलाई मेरो कार्यालयमा काज खटाइदिनुस् ।’ मनमोहनलाल एकछिन अकमक्क परे ‘उसलाई काजमा कोशी पठाउँदैछु । कुनै अर्को कर्मचारी खटाइदिन्छु । हुन्न र मन्त्रीज्यू?’ ‘हुन्न मलाई उही चाहिएको छ । मलाई लेख्ने कामको लागि चाहिएको हो । ऊ जति नै लेख्न सक्ने मानिस भए पठाइदिनुस् ।’ –मन्त्रीले भने । मनमोहनलाल निरुत्तर भएर ट्वाल्ल हेरीमात्र रहे ।
दुई घण्टापछि जाँदा टेबिलमाथि अर्कै पुर्जी थियो । यसपटक मलाई झट्ट हाँस गरेर कराउन मन लाग्यो– ‘अब बोलो मनमोहनलाल ! सुर्तीका स्वाद कितना कडुवा है’ ? तर केही नबोली पुर्जी बुझेर हिडेँ ।
अत ः विगतको घटना समझेर यी पुर्जी बुझ्न बेर गरिनँ । भोलिपल्ट पुनः एक पटक रञ्जनराजकहाँ गएँ । मैले भनेँ, ‘म न अर्थशास्त्री हुँ, न योजनाविद् । मलाई यस ठाउँमा किन सरुवा गराइदिनु भो ? सकिन्छ भने पुनः अतिरिक्त समूहमै फर्काइदिनुस्, जहाँ चित्त बुझ्दो पद–स्थापनाको लागि केही दिन अझै कुरेर बस्नेछु ।’ उहाँको उत्तर थियो– ‘पहिले तपार्इं अछुत हुनुहुन्थ्यो, मैले सवर्ण तुल्याएर पानी चलाइदिएँ । अहिले यसैमा सन्तोष गर्नुुस् । म पनि बडो सङ्घर्ष गरेको कर्मचारी हुँ, आज आफ्नो इमानदारी र कार्यक्षमताले गर्दा यस ठाउँमा पुगेँ ।’ यस पटक पनि उनले अत्यन्त चिसोपनको व्यवहार देखाएर कुराकानी हुँदा कतैबाट यो प्रकट हुन दिएनन् कि यसभन्दा अघि पनि उनीसित कुनै प्रकारको परिचय थियो । जुन लिस्नुमा टेकेर उनी माथि पुगेका थिए, त्यहाँ पुगेर त्यसलाई सधैंको लागि लत्याइदिए । त्यसपछि मैले पुनः त्यता मुख फर्काएर हेर्ने चेष्टा गरिनँ ।