site stats
बाह्रखरी :: Baahrakhari
विशेष
लकडाउनकाबीच केही देशमा खुले मस्जिद, रमजानका फरक अनुभव !

काठमाडौं । विश्‍वभर आजदेखि 'रमजान' महिनाको सुरु भएको छ । अन्य वर्षको तुलनामा यस वर्षको रमजान विश्‍वभरका एक अर्ब ८० करोड मुस्लिम समुदायका लागि फरक खालको बनेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि हरेक मुलुकमा लकडाउन घोषणा गरिएको छ भने मानिसहरुलाई भीडभाड नगर्न आग्रह गरिएको छ । 

सामाजिक दूरी कायम गर्ने नियमका कारण मानिसहरुलाई एक ठाउँ जम्मा हुन रोक लगाइएको छ । विश्वभरका इस्लामिक मुलुकहरुमा लकडाउन भए पनि केही मुलुकमा भने मस्जिदहरु खुला गरिएका छन् । मानिसहरु एकसाथ नमाज पढिरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केही मुलुकहरुमा व्रत सकिएसँगै कर्फ्यु जारी गरिएको छ । व्रत खोलेपछि मानिसहरु समूहमा बसेर खाना खाने गर्दथे । विभिन्‍न मुलुकमा मानिसहरु भेला हुन नपाउन् भनेर कर्फ्यु जारी गरिएको छ । 

पाकिस्तानमा मस्जिदहरु खुला गरिएका छन् भने इन्डोनेसियामा पनि मस्जिहरु खोलिएका छन् । बिहीबार पाकिस्तानका चिकित्सकहरुले मस्जिद खुला गर्नु दुर्भाग्य भएको बताएका थिए । उनीहरुले मस्जिदहरु खुला गर्दा संक्रमण बढ्नसक्ने खतरा हुने बताएका थिए । 

पाकिस्तानले सुरुमा मस्जिद बन्द गर्ने घोषणा गरेको थियो तर, पछि धार्मिक समुदायको दबाबपछि सरकार मस्जिद खुला गर्न तयार भएको थियो । तर, सामाजिक दूरी कायम गर्ने, बालबालिका, वृद्धवृद्धा र रोगीहरुलाई भने जान नदिइने बताइएको थियो । 

इन्डोनेसियाको अचे प्रान्तमा मुस्लिमहरु बिहीबार राति मस्जिदमा पुगेर सामूहिक नमाज पढेका थिए । इन्डोनेसियामा रमजान सुरु हुनुअघि देखि नै नमाज पढ्न सामूहिकरुपमा जम्मा भएका थिए । उनीहरुले मस्जिदमा उपस्थित हुँदा मास्क लगाएका भए पनि सामाजिक दूरी भने कायम गरिएको थिएन । इन्डोनेसिया सरकारले जारी गरेको निर्देशन पालना गरिएको थिएन । 

बीबीसीसँग कुरा गर्दै इन्डोनेसियाका पुतरी सराह नामका एक मुसलमानले भने, "कोरोना भाइरसको डर भए पनि नमाजका लागि जाँदा भने कोरोनाको डर लाग्दैन । सबभन्दा महत्त्वपूर्ण कुरा आफूलाई सरसफाइ गर्ने । हामीले हात धोएका थियौं । मास्क लगाएका थियौं ।

वाहयुका एक नमाजीले छोराछोरीको दबाबमा मस्जिद गएको बताए । उनले भने, "मलाई एक साथ नमाज पढ्न डर लागिरहेको छ । त्यस कारण लाइनबाट अलग भएर बसेको थिएँ ।" 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १४:२६
प्रतिक्रिया दिनुहोस्