काठमाडौं । प्रायः विदेशी प्रतियोगितामा व्यस्त रहने अल्ट्रा धाविका मीरा राई, यतिबेला झापामा छिन् । खुट्टामा लागेको चोटका कारण उनले पछिल्लो एक वर्षयता कुनै प्रतियोगितामा सहभागिता भने जनाउन पाएकी छैनन् । तर, पनि उनको विदेश आवतजावतको यात्रा भने जारी थियो । खुट्टाको शल्यक्रियापछि खेलमा फर्किने तयारीमा रहेकी मीराले अझै केही समय पर्खिनुगर्ने भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व खेलजगत शून्य अवस्थामा रहेपछि मीरा निराश बनेकी छन् । एक वर्षभन्दा लामो समय प्रतियोगिताबाट बाहिर रहेकी मीरा वर्ष २०२० बाट खेलमा फर्किने सोचमा थिइन् । उनले इटालीको १२० किलोमिटर लामो लभारेडो अल्ट्रा रेसबाट पुनः खेलमा फर्किने योजना बनाएको सुनाइन् । तर, उनको यो पर्खाइ केही समय लम्बिने भएको छ ।
उनले विश्वका विभिन्न देशमा सहभागिता जनाउँदै सन् २०१५ मा फ्रान्समा भएको एकल माउन्ट ब्लान्क अल्ट्रा म्याराथनमा स्वर्ण पदक, २०१५ मा हङकङमा भएको स्काई रनिङ एसियन च्याम्पियनसिपमा स्वर्ण पदक, २०१७ मा बेलायतमा सम्पन्न बेन नेभिस अल्ट्रा दौडमा स्वर्ण, इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथनमा स्वर्णलगायत दर्जनौँ पदक जित्न सफल भइसकेकी छिन् ।
मीरा नेसनल जियोग्राफिकले हरेक वर्ष प्रदान गर्दै आएको ‘एडभेन्चर अफ दी इयर २०१७’ अवार्डबाट सम्मानित भएकी थिइन् । विश्वभरका १० प्रतिस्पर्धालाई पछि पार्दै मीरा विश्वकै साहसिक वर्ष व्यक्ति घोषित भएकी थिइन् । उनले यस्ता थुप्रै अवार्ड जितेकी छन् । पछिल्लो समय चोटमुक्त हुँदै खेलमा फर्किने तयारीमा रहेकी मीरासँग सरकारले घोषणा गरेको लकडाउनका विषयमा गरिएको कुराकानीको सम्पादित अंश ।
अहिले तपाईँ कता हुनुहुन्छ ?
म अहिले झापाको अर्जुनधारामा छु ।
कहिले झापा पुग्नुभयो ?
म यो लकडाउनु हुनुभन्दा पहिले नै पुगेको हुँ । साथी र म आएका हौँ ।
त्योभन्दा पहिले कता हुनुहुन्थो ?
त्यसभन्दा पहिले मेरो विदेश जाने आउने भइरहेको थियो । पछिल्लो समय म क्यानडा थिएँ । क्यानडाबाट गाउँ फर्किएको हुँ । गाँउबाट पुनः फर्केर कठमाडौंमा थिए । त्यसपछि साथी र म झापा फर्किएको लाकडाउनले गर्दा हामी झापातिरै फसेका छौँ ।
लकडाउनमा तपाईँको दिनचर्या कस्तो बित्दै छ ?
मेरो दिनचर्या लकडाउनले गर्दा घरमै बसेर बितिरहेको छ । १३ औँ सागकी स्वर्णपदक विजेता कराँते खेलाडी अनुपमा मगर र म, अर्की सागकी पदक विजेता कराँते खेलाडी एस्टर राई हामी तीन जना एस्टरको घरमा बसिरहेका छौँ ।
साथीको घरमा बस्दैछु भन्दै हुनुहुन्छ । अनि घरतिरको अवस्था के छ । परिवारसँग भेटघाट भएको छ कि छैन ?
मेरो घर यहाँदेखि १० किलोमिटर जति टाढा छ । घर जान भने पाएको छैन । बुबा लकडाउनकै कारण पहाडमा हुनुहुन्छ । फोनमा कुरा भइरहन्छ । परिवारमा पनि सबै आरामै हुनुहुन्छ । अहिलेसम्म त्यस्तो डराउनुपर्ने अवस्था सृजना भएको छैन । हामी सबैले सम्यमता अपनाएका छौँ ।
लकडाउन भएको चारसाता कट्दै छ । तपाईँलाई लकडाउनको अनुभव कस्तो हुँदैछ ?
लकडाउनको अनुभव साह्रै दिक्कलाग्दो छ । अर्कोतिर डर पनि । जनयुद्धमा यति डराएको थिइन म । जति यो समय डराएकी छु । मान्छेसँग मान्छे डराउनुपर्ने अवस्था आएको छ । त्यसैले दिनभर घरमै बस्नु पर्ने । कतै बाहिरन निस्कने अवस्था पनि छैन ।
तपाईँ दौडिनुभन्दा पनि धेरै दौडिनुपर्ने मान्छे । लकडाउनमा कसरी आफुलाई प्रशिक्षण गर्दै हुनुहुन्छ ?
अहिले त्यस्तो खासै केही प्रशिक्षण गरिरहेको छैन । बिहान घर वरिपरि नै वाक गर्दै छु । कोठाभित्रै व्यायामहरु गरिन्छ । कहिलेकाहीँ बारी खन्ने र मकै गोडमेल गर्ने काम भइरहेको छ । अब दिनमा ३–४ घण्टा दौडिनुपर्ने मान्छेलाई ३० मिनेटको वाकले के पुग्छ र ? आशा गरौँ यो महामारीको छिट्टै अन्त्य होस् र हामी प्रशिक्षणमा फर्किन पाउँ ।
तपाईँलाई नदौडेरै घरमा बस्न कत्तिको गाह्रो भइरहेको छ ?
गाह्रो त छ । के गर्नु अब । काठमाडौंभन्दा यता गाउँमा केही स्वतन्त्रता त छ । तर, यस्तो महामारी फैलिएको बेला डर त हुने नै भयो । सबैभन्दा पहिले आफ्नो स्वास्थलाई ध्यान दिनुपर्यो । स्वास्थ्य भए खेलकुद छ । कोरोना लागिहाल्यो भने त लागिहाल्यो नि । बाहिरतिर घर भित्रै पनि प्रशिक्षण गर्ने मेसिनहरु हुन्छन् । उनीहरुको प्रशिक्षणमा कुनै फरकपन आउँदैन । अब हाम्रोतिर त्यस्तो सामग्रीहरु केही पनि छैन ।
यसबीचमा तपाईँको कुनै प्रतियोगिता थियो, जुन कोरोनाका कारण सहभागिता जनाउन पाउनु भएन वा स्थगित भयो ?
मेरो इटालीमा हुने भनिएको १२० किलो मटिरको लभारेडो अल्ट्रा ट्रेल रेस प्रतियोगिता थियो । जुन अबको दुई महिना पछाडि आयोजना हुँदै थियो । तर अब त्यो प्रतियोगिता नै हुँदैन । अर्को वर्ष हुन सक्छ सक्दै त्यो पनि भन्न सकिने अवस्था छैन । किनकि इटालीमा कोरोनाभाइरसका कारण धेरैले ज्यान गुमाएका छन् । यो वर्ष अब प्रतियोगिताविहीन होला जस्तो छ । २०२० मा यसै प्रतियोगिताबाट पुनः खेलमा फर्किने योजना बनाएको थिएँ । दुईवर्ष अघि यस प्रतियोगितामा सहभागिता जनाएको थिएँ ।
इटालीपछि फ्रान्स, चाइनासहित तीन–चार प्रतियोगितामा सहभागिता जनाउने सोच थियो । त्यो असफल भयो ।
सर्जरीपछिको एकवर्ष तपाईँले कसरी बिताउनु भयो ?
मेरो मिरा राई नामक इनिसेटिभ छ । त्यसलाई समय दिन पाएँ । नयाँ भाइबहिनीहरुलाई प्रशिक्षण दिने अवसर मिल्यो । आफ्नो गाँउलगायत थुप्रै ठाउँमा विभिन्न दौड प्रतियोगिताहरु आयोजना गर्ने अवसर पनि यसैबीच पाए । हेलम्बु, सिन्धुपाल्चोक, जुम्लाजस्तो ठाउँमा भएको दौड प्रतियोगिताको संयोजकको रुपमा भएर पनि काम गरियो ।
नेपालको दौडलाई विश्वसम्म चिनाउने काममा सधै लागिरहेँ ।
यो समय खेलाडीको प्रशिक्षणमा धेरै असर परेको छ । सरकारले घोषणा गरेको लकडाउनमा तपाईँको सहमति असहमति के छ ?
अहिले विश्वभर नै असर गरेको छ । सबै ठाउमा खेल शुन्य अवस्थामा छ । यस्तो अवस्थामा हामीलाई ठुलो असर छ भन्ने विषय पनि भएन । भाइरस फैलिन नदिनु हाम्रो पनि जिम्मेवारी हो । जसका लागि हामी पनि घरभित्रै बस्नुपर्छ । नियमको पालना गर्नु पर्छ ।
अब रह्यो सरकारको विषय । यदि सरकारले लकडाउन नगरेको भए, नेपालको अहिले यस्तो अवस्था नै रहँदैन थियो । धेरै जनामा संक्रमण फैलिसकेको हुन्थ्यो होला । सायदै कतिको ज्यानसमेत जान सक्थ्यो । ढिलै भए पनि सरकाले एकदम राम्रो कदम चालेको हो ।
लकडाउनका कारण घरभित्रै बस्नुभएका खेलाडीहरुलाई तपाईँको केही सन्देश छ ?
मेरो पहिलो सन्देश सबै मिली लकडाउनको पालना गरौँ । घरमै बसेर भए पनि नियमित व्यायाम गर्न नबिर्सनुस् । धेरै खेलाडीले घरमै बसेर भए पनि प्रशिक्षण गरेको भिडियो सामाजिक संजालमा देख्दा म खुसी छु । म पनि त्यसरी नै बसिरहकी छु ।
सामान्य अवस्था आए फेरि प्रशिक्षण र प्रतियोगितामा फर्किने नै छौँ । धैर्य गर्नुस्, आज घरमा बस्नुस्, भोलि सँगै दौडौंला ।