site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

राज्यको ढुकुटीको दोहन नै एकमात्र ध्येय भएकाहरूसँग त्यागको अपेक्षा गर्नु सायद ‘मूर्खता’ हुन्छ । यस्तै ’मूर्खतापूर्ण’ सुझाव दिएकाछन् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले । उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदसम्मको तलब २५ प्रतिशत घटाउन सुझाव दिएका छन् । सांसदहरूले तजबिजमा खर्च गर्ने कथित कोषको रकम पनि कोरोनाविरुद्धको संघर्षमा लगाउने सुझाव त अरू धेरै अर्थशास्त्रीहरूले दिइसकेका छन् । तर, सरकार सायद सिपाही, चिकित्साकर्मी, कार्यालय सहयोगी कसैलाई राष्ट्रिय संकटमा योगदान गर्ने अवसरबाट वञ्चित गर्न चाहँदैन । सरकार ‘समाजवादी’ प¥यो नि त ! अहिलेसम्म सरकारले कोरोनाभाइरसबाट अर्थतन्त्र र त्यसका कारण श्रमजीवी जनताको जीविकामा पर्ने असरको सायद आकलन पनि गरेको छैन । गरेकै भए पनि कोरोनाले पहिले नै आतंकित जनमानसलाई राष्ट्रिय अर्थतन्त्रको धमिलो चित्र देखाएर थप अत्याउन सरकारले चाहेको छैन । यसैले सरकार सहुलियतका विशेष आर्थिक कार्यक्रम घोषणा गर्ने मनःस्थितिमै नहुनसक्छ । 

परन्तु, कोरोनाभाइरसले जस्तै आर्थिक मन्दीले पनि सरकारलाई झुक्याउने लक्षण देखिइसकेको छ । मन्त्रीहरूले नेपालमा कोरोनाभाइरसको चालचुल छैन वा नेपाललाई कोरोनामुक्त देश घोषणा गरेर संसारलाई नेपाल भ्रमण गर्न निम्ता दिँदै गरेका बेला करिब दुई तिहाइ बहुमतको बलियो सरकारलाई हेपेर कोरोना नेपाल छि¥यो । बेलैमा रोकथामको प्रयत्न गर भन्नेहरूलाई सत्तोसराप गरेर बस्ने सरकारी अधिकारीहरू हतारमा बिउँझिए । ‘समुद्रको छाल गनेर पनि ‘माल’ कमाउने बानी परेका’ भारदारहरूले त्यसैमा मौका छोपे । महँगोमा कमसल माल किन्ने ठेक्का दिने । दुर्भाग्य, नेपाली जनतालाई बहादुरीको बखान सुनाउन नपाउँदै पोल खुल्यो । धरौटी जफत गरेर ठेक्का तोड्नु पर्‍यो । यस्तो संकटका बेलामा त्यस्तो ‘बदमासी’ गर्नेहरूलाई राज्यले पक्कै पाता फर्काउला भन्ने जनताले ठानेका थिए होलान् तर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कुखुराको माउले चल्ला छोपेजस्तै’ अनियमितता र बदमासीको बचाउ गरिदिए । त्यसो त सरकारले गरेको कामको सराहना गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन पहिले नै यसको संकेत दिइसकेकी थिइन । अर्थात्, दण्डको अध्याय सायद समाप्त भयो ! 

Dabur Nepal

यस्तो परिस्थितिमा राष्ट्रपतिदेखि सांसदसम्मका सबैको पारिश्रमिकबाट २५ प्रतिशत कट्टा गर्ने सुझाव भारदारहरूलाई सायद ‘हजम’ हुनेछैन । यद्यपि, त्यतिमात्रले पनि जनतामा संकटका बेला जनप्रतिनिधिहरू साथमा छन् भन्ने सन्देश दिनेथियो । सरकारी ढुकुटी रित्तिने भयो भने भर्नका लागि जनतालाई निचोर्ने अनेकौँ उपाय छन् भारदारले नै त्याग किन गर्नू भन्ने तिनले ठानेको हुनुपर्छ । तर, शासकहरूले त्याग नगरी जनतालाई मात्र संकटको भारी बोकाउन खोजियो भने विद्रोह हुनसक्छ । अर्कातिर, शासकहरूले त्याग गरेको देखे भने जनता पनि सकस सहन राजी हुनेछन् । पारिश्रमिकमात्र हैन अरू सुविधा र तडकभडक पनि त्यागे जनताले सराहना गर्नेछन् । पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरूलगायतले देखाउनैका लागि अगाडि र पछाडि सुरक्षाकर्मीको लस्कर तैनाथ गर्ने चलन पनि कोरोनाकै नाममा त्यागे हुन्थ्यो । घरेलु कामदार बनाइएका सुरक्षाकर्मीहरूलाई मुक्ति दिए तिनले पनि गुन मान्थे । 

ब्रह्मा र देव, दानव तथा मनुष्यको पूराकथाको एउटा प्रसंग – ब्रह्मासँग आफ्नो कर्तव्यका बारेमा सोध्न पुगेका देवता, दानव र मानिसहरूलाई उनले एउटै अक्षरमात्र भनेछन् – ‘द’ । देवताहरूले अर्थ लगाए रे – हामी धेरै विलासी भयौँ । यसैले पितामहले देवतालाई इन्द्रीय दमन गर्न भनेका हुन् । दानवहरूले पनि आफ्नै सन्दर्भमा अथ्र्याए – हामी दानवहरू धेरै क्रूर छौँ । हामीलाई दया गर्नू भन्ने निर्देश पितामहले दिएका हुन् । मानिसहरू उनीहरू धेरै लोभी भएकाले ब्रह्माले पक्कै दान गर भनेको हुनुपर्छ भन्ने बुझे रे ! अहिलेका शासकहरू जनतारूपी जनार्दनको निर्देश पनि द नै हुनेछ । तर, यिनका हकमा माथिका तीनैवटा द अर्थान् दमन, दया र दान आवश्यक देखिन्छ । बेलैमा बुझे हुन्थ्यो ।        
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro