site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाली चलचित्रमा विदेशी कलाकार रहर कि बाध्यता ?
Sarbottam CementSarbottam Cement

दुई वर्षअघि रोज राणाले एउटा चलचित्रको घोषणा गरे– ‘मेरो पैसा खोइ ?’ घोषणाले नै यसले खुब चर्चा कमायो । कारण थियो, भारतीय निर्देशक विवेक शर्माको संलग्नता । भारतीय बक्स अफिसमा राम्रो व्यापार गरेको चलचित्र ‘भूतनाथ’ विवेक शर्माले निर्देशन गरेका थिए । बलिउड सुपर स्टार साहरुख खान, आमिर खानजस्ता कलाकारसँग काम गरेका विवेकले नै ‘मेरो पैसा खोइ ?’ को कथा, पटकथा तथा संवाद लेखेको र निर्देशन पनि उनैले गेर्न रोजले जानकारी दिएका थिए ।  

चलचित्रको सुटिङ पनि सुरु भयो । विवेकले निर्देशन पनि सुरु गरे, तर अचानक खबर आयो– सुिटङ स्पटबाटै विवेक शर्मा भागे । भारतबाट कलाकार आएर नेपाली चलचित्रमा अभिनय गर्नु नयाँ नभए पनि निर्देशनकै जिम्मेवारी लिएको घटना भने नयाँ थियो । भलै, त्यो मिसन पूरा भएन । 

नेपाली चलचित्र निर्देशन गर्न भारतीय निर्देशक यता नआए पनि कलाकार भने कहिलेकाहीँ आइरहेका छन् । यो क्रम पछिल्लो समय घटेको गएको देखिन्छ । नेपाली चलचित्रको इतिहास पल्टाउने हो भने, थुप्रै भारतीय कलाकारले यता आएर अभिनय गरेका छन् । तुलसी घिमिरे, गोपाल भुटानी, तृप्ति नाडकर, उत्तम प्रधान, निरुता सिंह भारतबाट नेपाल आएर यहाँको चलचित्रमा सङ्घर्ष गर्दै स्थापित भएका नाम हुन् । नेपाली चलचित्रमा अभिनय गर्न अन्य थुप्रै कलाकार आएका छन्, जसले नेपाली चलचित्रमा काम गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र ‘माइतीघर’मा भारतीय अभिनेत्री माला सिन्हाले अभिनय गरेकी थिइन् । २०२३ सालमा प्रदर्शन भएको उक्त चलचित्रमा अभिनय गर्दा माला बलिउडमा लोकप्रिय भइसकेकी थिइन् । तर मालाको अभिनय अन्य नेपाली चलचित्रमा देख्न पाइएन । उनले चलचित्र ‘चिनो’ र ‘भाउजु’मा काम गर्ने बताइएको थियो, तर त्यसो हुन सकेन । ती दुवै चलचित्रमा उनलाई देख्न पाइएन ।  

तुलसी घिमिरेको पहिलो चलचित्र ‘बाँसुरी’की नायिका रजनी शर्मा भारतीय नागरिक हुन् । हिन्दी र बङ्गाली चलचित्रमा अभिनय गरिसकेकी उनले ‘मसाल’ मा पनि अभिनय गरिन् ।  

Global Ime bank

तुलसीको ‘दुई थोपा आँसु’की नायिका अनुराधा सावन्त, ‘अन्याय’ की मीरा माधुरी पनि बलिउडबाट नेपाली चलचित्रमा आएका नायिका हुन् । अनुराधा र मीरा दुवैले नेपाली चलचित्रमा आउँदा हिन्दी चलचित्रमा अभिनय गरिसकेका थिए । 

तृप्ति नाडकर पनि हिन्दी र मराठी चलचित्रमा अभिनय गरिसकेपछि नेपाली रजतपटमा भित्रिएकी नायिका हुन् । ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’, ‘कोसेली’ र ‘लाहुरे’मा मुख्य भूमिकामा अभिनय गरेकी उनले नेपाली दर्शकामाझ राम्रै प्रभाव जमाउन सकिन् । तर उनी पनि एकाएक यो क्षेत्रबाट हराइन् ।

दुई दशक चलचित्र जगत्बाट टाढिएकी उनी ‘आमाको काख’बाट पुनः नेपाली चलपचित्रमा फर्केकी छन् । यो चलचित्रमा नायिका नभई चरित्र अभिनेत्रीका रूपमा देखापरेकी छन् । बलिउडबाट नेपाल आएर सबैभन्दा धेरै चलचित्रमा अभिनय गर्ने उनै तृप्ति हुन् । 

नेपाली चलचित्रमा अभिनय गर्ने नेपालीभाषी भारतीय नायिकाको सङ्ख्या निकै ठूलो छ । सुस्मिता केसी, रुष्मा राई, रञ्जु लामिछाने नेपाली भाषीभारतीय नायिका हुन् । यही पङ्क्तिमा पर्छिन् डली थापा पनि । उनी निर्देशक बीएस थापाकी छोरी हुन् । निर्देशक तुलसी घिमिरेकी श्रीमती भारती गजमेर पनि नेपालीभाषी हुन् । उनले ‘कोसेली’लगायत केही चलचित्रमा नायिकाका रूपमा अभिनय गरिन् । 

भारतीयमूलकै अर्की एक नायिका हुन्, सोनिया मल्ल । उनले चलचित्र ‘पाकेटमार’, ‘जन्म–जन्म’मा अभिनय गरेकी छन् । अर्की नायिका श्वेता गौतम पनि भारतीय नागरिक नै हुन् । 

तुलसी घिमिरेले ‘दक्षिणा’मा नायिकाका रुपमा नयाँ अनुहारलाई अवसर दिए । अवसर पाएकी थिइन्, निरुता सिंहले । पछि उनै निरुता नेपाली ठूलो पर्दाकी पहिलो रोजाइकी नायिका बन्न सफल भइन् । 

श्वेता तिवारी, मोनिका वेदी र प्रिती झिँगयानीले पनि नेपाली चलचित्रमा काम गर्दा हिन्दी चलचित्रमा अभिनय गरिसकेका थिए । 

मोनिकालाई ‘परिचय’, र प्रितीलाई ‘हाम्रो मिलन कहिले हुन्छ’मा भित्राइएको थियो । अघिल्लो वर्ष रिलिज भएको चलचित्र ‘पासवर्ड’मा सन्नी लियोनीलाई महङ्गो पारिश्रमिक दिएर आइटम डान्स गर्न लगाइएको थियो । उक्त चलचित्रको प्रिमियरमा सन्नी नेपाल आएकी थिइन् । 

नेपालमा स्वदेशी तथा विदेशीको संयुक्त लगानीमा बनेका चलचित्रमा पनि थुप्रै बलिउड कलाकारले काम गरेका छन् । यस्तैमध्येको एक चलचित्र ‘हामी एक हौं’मा हिन्दी चलचित्रकी अभिनेत्री सल्मा आगाले अभिनय गरेकी थिइन् भने  ‘पञ्चवटी’मा दीप्ति नवल थिइन् । 

भारतबाट नेपाल आएर आजीवन नेपाली भूमिलाई नै कर्मथलो बनाउने चलचित्रकर्मी हुन्, गोपाल भुटानी । ‘मनको बाँध’बाट नेपाली चलचित्रको यात्रा सुरु गरेका उनले द्वन्द्व निर्देशकको रुपमा दर्जनौं चलचित्रमा काम गरेका थिए । उनले आफ्नो अन्तिम इच्छा नेपालको अङ्गीकृत नागरिकता लिने बताउँदै आएका थिए । तर नेपाली नागरिकता नपाउँदै उनको निधन भयो । 

तुलसी घिमिरेजस्तै निर्देशक शम्भु प्रधान पनि दार्जीलिङबाट नेपाली चलचित्र क्षेत्रमा आएका हुन् । शम्भुले ‘स्वर्ग’, ‘सम्झना’, ‘बेहुली’, ‘सक्कली नक्कली’लगायत डेढ दर्जन चलचित्र निर्देशन गरे । 

पछिल्लो समय नेपाली चलचित्रमा बलिउड मात्रै होइन,  हलिउडका कलाकार पनि निर्माताहरुले भित्राउन थालेका छन् । एक वर्षअघि क्यूएफएक्स चेनले विदेशी बजारका लागि भनेर एउटा नेपाली चलचित्र बनायो । नाम थियो– ‘दि म्यान फ्रम काठमाडौं’ । चलचित्रमा थिए नेपालीदेखि बलिउड र हलिउसम्मका कलाकार । 

चलचित्रमा बलिउडबाट गुल्सन ग्रोवर, हमिद शेख, आलिया शाह मात्रै थिएनन् हलिउडका जोसे पनि थिए । 

नेपाली कथानक चलचित्र ‘काठमाडौं’ मा पनि बलिउड कलाकारको अभिनय देख्न पाइन्छ । यो चलचित्रमा अमेरिकी कलाकार रिया मर्फी थिइन् । उनले अनस्क्रिन आकाश अधिकारीसँग जोडी बाँधेकी थिइन् । मर्फी अमेरिकी वेब सिरिजकी कलाकार हुन् । 

चलचित्र ‘स्वीकार’मा अमेरिकी नागरिक कार्ला बत्रकी प्रमुख भूमिकामा थिइन् । यो चलचित्रलाई रविराज अर्यालले निर्देशन गरेका थिए । 

‘काठमाडौं’, ‘दि म्यान फ्रम काठमाडौं’ र ‘स्वीकार’ले विदेशी कलाकार चलचित्रमा रहेको भन्दै यसैलाई प्रचारको मुख्य आधार बनायो । विदेशी बजारमा पुग्ने भनेर प्रचार गरिए पनि निर्माण पक्षले दाबी गरे जस्तो चलचित्रले अन्य मुलुकमा स्थान बनाउन सकेन । 

निर्देशक आकाश अधिकारी विदेशी कलाकारलाई नेपाली चलचित्रमा ल्याएर अभिनय गराउनुलाई नै ठूलो उपलब्धि ठान्न नहुने धारणा राख्छन् । कथाले माग गरेको अवस्थामा बाहेक विदेशी कलाकारलाई नेपाली चलचित्रमा समावेश गर्नुको अर्थ उनी देख्दैनन् । आकाश भन्छन्, “मेरो चलचित्र काठमाडौंमा अमेरिकाकी युवतीसँग लभ परेको कथा भएकाले नेपाली कलाकारलाई अङ्ग्रेजीमा बोल्न लगाएर खैरो कपाल राखिदिँदा विश्वासिलो हुँदैन भनेर मात्रै अमेरिकी कलाकार लिएको हुँ ।” 

विदेशी कलाकारलाई खेलाउँदा पनि त्यो पाच्य हुनु पर्ने उनको भनाइ छ । कथामा विदेशी कलाकार नै माग भएको बाहेक तिनलाई तँछामछाड गरेर समावेश गर्नु बेकार भएको उनी बताउँछन् । 

बलिउड वा हलिउडका कलाकारलाई खेलाउँदैमा नेपाली चलचित्रको व्यापार नबढ्ने अधिकारीको भनाइ छ । “विदेशी कलाकार खेलाएका चलचित्रको व्यापार पनि हामीले देखेकै छौं । विदेशी कलाकारलाई अभिनय गराउँदैमा दर्शक हलसम्म जान्छन् भन्नु भ्रम मात्रै हो,” उनले भने, “कथामा सुहाएन भने त्यसको औचित्य हुँदैन ।”

पुराना अभिनेता तथा निर्देशक विश्व बस्नेत तत्कालीन समयमा धेरै नेपाली कलाकार नहुनु र भारतीय कलाकार अनुभवी हुन्छन् भन्ने बुझाइले बलिउडका कलाकार ल्याउने गरेको बताउँछन् । “हिन्दी चलचित्रका अनुभवी र नाम चलेका कलाकारलाई अभिनय गराउँदा चलचित्रको भ्याल्यु बढ्छ भन्ने पनि मेकरको सोच हुन्थ्यो,” बस्नेत भन्छन्, “नेपालमा त्यो बेला धेरै कलाकार पनि थिएनन् । अभिनयमा विविधता चाहिएमा पनि इन्डियाबाट कलाकार ल्याउने चलन थियो ।” 

नेपाली चलचित्रले हिन्दीले जति धेरै पारिश्रमिक उपलब्ध गराउन नसके पनि निर्देशकहरुको चिनजान र सम्बन्धका आधारमा बलिउडका कलाकार नेपाली चलचित्रमा अभिनय गर्न राजी हुने गरेको उनी बताउँछन् । हिन्दी चलचित्रका अभिनेता तथा अभिनेत्रीलाई यता ल्याएर खेलाउँदैमा चलचित्र राम्रो हन्छ भन्नुचाहिँ बुझाइको कमी भएको उनको धारणा छ । कथा, निर्देशक र समग्र चलचित्र युनिट राम्रो भएका चलचित्रले मात्रै सफलता पाएको उनको अनुभव छ । 

भारतबाट नेपाल आएर चलचित्र निर्माण तथा निर्देशन गरेका तुलसी घिमिरे, शम्भु प्रधानलगायत निर्देशकले आफ्ना चलचित्रमा धेरै भारतीय नायक–नायिकालाई अभिनय गराएका छन् । तर सबैले उत्तिकै सफलता पाएका छैनन् । भारतीय कलाकारले अभिनय गरेका कतिपय चलचित्र त ‘फ्लप’समेत भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC