अधुरै रह्यो आमासँग बोल्ने सृष्टिको चाहना

 अधुरै रह्यो आमासँग बोल्ने सृष्टिको चाहना

काठमाडौं । सोमबारको चिसो बिहान, एकाएक मित्रपार्क चोकमा आगो दन्कियो । सवारी साधनमा ढुङ्गा हानिए । आ–आफ्ना गन्तव्यमा हिँडिरहेकाहरू बिथोलिए ।

शान्त सडक एकाएक रणभूमिमा बदलियो । घटना के हो ? धेरै अन्योलमै थिए । आन्दोलनमा थिए, पशुपति क्याम्पसका विद्यार्थी ।

कुनैबेला पशुपति क्याम्पस र आन्दोलनका पर्याय जस्तै थिए । तर, पछिल्लो समय शान्त थिए, पशुपति क्याम्पस आसपासका सडक । आन्दोलन र सवारीको आतङ्क मत्थर भएकाले बटुवा र बाटो दुवैले दुःख पाएका थिएनन् ।

सोमबार केही वर्षअघिको दृश्य ब्युँतिएको थियो ।

पशुपति क्याम्पसका विद्यार्थीहरू घाइते बाघजस्तै बनेका थिए । उता, प्रहरी हस्याङफस्याङ्ग गर्दै थिए । सडक युद्ध क्षेत्रजस्तै बनेको थियो ।

गौशालादेखि चाबहिल चोकसम्म प्रहरीले सुरक्षा बढाएको थियो । सयौं प्रहरीको घेराबन्दीमा थियो, पशुपति क्याम्पस । आन्दोलनकारीलाई क्याम्पसभित्रै सीमित गर्ने भगिरथ प्रयत्नमा थियो प्रहरी । यता टेक्सस कलेजको गेटै छेउमा बा४ख ७१०१ नम्बरको यात्रुवाहक बस दन्किरहेको थियो । साक्षी बसिरहेको बा३ख ४४३३ नम्बरको यात्रुबाहक बसको हालत त झन् खराब थियो, क्षतिग्रस्त ।

विद्यार्थी भीडन्तको मुडमा थिए, प्रहरीको आक्रोश  पनि  कम  थिएन । वरिपरिको वातावरण त्राहिमाम् देखिन्थ्यो ।

० ० ०

मित्रपार्क चोक आउने बाटो प्रहरीले गौरीघाट ओरालोमै छेकेपछि जयवागेश्वरीतिर मोडिएँ । मुख्य सडकमा आइपुग्दा देखिएको दृश्य हो यो । मानिसहरू के भइरहेको हो, किन गाडी जल्यो ? आश्चर्य मिश्रित भावमा हेरिरहेका थिए । केहीबेरमा दमकल आइपुग्यो । आगो नियन्त्रणमा आयो । 

पशुपति क्याम्पसमा बीबीएस चौंथो वर्षमा अध्ययनरत छात्रा सृष्टि पन्तलाई सुकेधारामा बसले ठक्कर दिएपछि आक्रोसित विद्यार्थीहरूले बसमा आगजनी गरेका रहेछन् । घटना हुँदा सुकेधारामा रहेको कोठाबाट निस्किएर बस कुर्दै रहिछन् पन्त ।

यात्रु चढाउने प्रतिस्पर्धामा बत्तिएका चालकले सावधानी नअपनाउँदा बसले ट्रयाक छाड्यो । क्याम्पस आउनका लागि बस कुर्दै गरेकी पन्तलाई ठक्कर दियो । उनी गम्भीर घाइते भइन् । लापरबाहीपूर्वक ओभरटेक गर्ने बसहरूले यसअघि त्यस क्षेत्रमा कयौं यात्रुलाई त्यसरी ठक्कर दिएका छन् । त्यसमध्ये कयौं अकालमै मृत्युको मुखमा धकेलिए । कति अङ्गभङ्गको अवस्थामा छन् ।

यसपल्ट गोरखा पालुङटारकी पन्त सिकार भइन् ।

बसको ठक्करबाट घाइते उनलाई सँगै बस कुरिरहेका साथीहरू र बाटोमा हिँडिरहेकाहरूले तत्कालै ओम अस्पताल पुर्‍याए । 

अस्पतामा पुर्‍याउँदा साथी अस्मिता गिरि पनि सँगै थिइन् । त्यतिबेलासम्म सृष्टिको ढुकढुकी बाँकी थियो । जीवनको याचना गरिरहेकी थिइन् ।

करिब साढे ५ बजे घटना भयो । त्यसको करिब १५ मिनेटमै ओम अस्पताल पुर्‍याइयो । अस्पतालले तत्कालै भर्ना गर्न मानेको भए कथा अर्कै हुँदो हो । “अहँ मानेन,” एक प्रत्यक्षदर्शी सुनाउँछन् ।

जीवन मरणको दोसाँधमा रहेकी उनलाई अस्पतालका कर्मचारीले  आफन्त र पैसा आएपछि उपचार गर्ने भनिरहे । उनले जीवनका लागि आखिरी सङ्घर्ष गरिरहिन् । सृष्टिको अवस्था बिग्रँदै गयो । 

सृष्टि सख्त घाइते भए पनि होस् भने गुमेको थिएन । अस्पताल पुगेपछि उनले आमालाई फोन लगाइदिन भनिन् । साथी अस्मिताले मोबाइलको पासवर्ड मागिन् । बसको ठक्करबाट गम्भीर घाइते उनले सही पासवर्ड बताउन सकिनन् । अस्मिताले तत्कालै सीम झिकेर आफ्नो मोबाइलमा हालिन् । सृष्टिको माइजूलाई घटनाबारे जानकारी गराइदिइन् । आईसीयूमा राखेर उनको उपचार पनि सुरु भयो । तर, केहीबेरमै उनको प्राण पखेरू उड्यो ।

आमासँग कुरा गर्ने उनको चाहना अधुरै रह्यो । पढ्न भनेर हिँडेकी सृष्टिले ओम अस्पतालकै आईसीयूमा करिब साढे ७ बजे अन्तिम श्वास लिइन् । 

उनको परिवार शोकमा डुबेको छ । उनीसँगै अध्ययन गर्ने साथीहरू घटना थाहा पाएपछि अस्पताल पुगे । तर, उनीहरूले आफ्नी साथी सृष्टिसँग अन्तिम भेट गर्न पाएनन् । २२ वर्षकी सृष्टिको केही महिनाअघि मात्र विवाह भएको थियो । पति रोजगारीका लागि विदेशमा छन् । 

० ० ०

घटना गराउने चालक प्रहरी नियन्त्रणमा छन् । तर, यस्ता दुर्घटना नियन्त्रणमा छैनन् । चालक जिम्मेवार छैनन् । बस अनियन्त्रित बत्ताउँछन् । यसपल्ट सृष्टि सिकार भइन् । थाहा छैन अर्कोपल्ट को बन्नुपर्ने हो ?

यसको समाधान के ? सरकार, सरोकारवाला कोही त सोच !
 

 

जगन्‍नाथ दुलाल

प्रतिकृया दिनुहोस
ad