site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘वासुदेव’को कथा

काठमाडौं । “वि.सं।२०३७ सालमा चलचित्र ‘वासुदेव’का कुमारहरू व्यापारमार्फत कालोधन कमाउँथे । अहिलेका कुमारहरू धन कमाउन राजनीति गर्छन्,” चलचित्र वासुदेवमा कुमारको चरित्रमा अभिनय गरेका नीर शाह चलचित्र समीक्षक समाज (फिक्सन) ले आइतबारबाट पुनः सुरु गरेको ‘सन्डे सिनेमा’माभन्दै थिए, “अहिले पनि समाजमा यस्ता चरित्र छैनन् भन्ने लाग्दैन ।” यसो भनिरहँदा उनको अनुहार गम्भीर देखिन्थ्यो । रङ्गकर्मको ३२ वर्ष अगाडिको कुरा गर्दा उनको अनुहारमा त्यो समयको समाजमा देखिएको विकृति र विसंगति अहिले पनि ज्युँका त्युँ रहेकोमा चिन्ता छरपष्ट देखिन्थ्यो ।

शाहसँगै थिएचलचित्र ‘वासुदेव’ का नायक वासुदेव (हरिहर शर्मा) पनि । शर्माको अनुहारमा पनि चमक थिएन । बरु थियो शाहमा जस्तै समाजप्रतिको चिन्ता र चासो । “समाजको यथार्थ चित्रण भएकैले यो चलचित्र आज पनि हामी सँगै बसेर हेरिहरहेका छौं । यो चलचित्र लगाउने बेलामा पनि थुप्र्रै कुमारहरूले हमीलाई दुःख दिएका थिए,” शर्मा भन्दै थिए, “कुन दृश्य हटाउने भन्दा पनि सके उनीहरू चलचित्र नै चलाउन नदिने पक्षमा थिए ।”

शाहले अगाडि थपे, “त्यो समय हल्का विषयमा चलचित्र बन्दै आएका थिए । समाजको यथार्थ चित्रण गर्ने त्यो पनि नेपाली विषयमा चलचित्र बनेकै थिएनन् । हामीलेयही चलचित्रमार्फत नै हो सुरुआत गरेको । त्यसैले समाजका कुमारहरू‘वासुदेव’ प्रति सकारात्मक थिएनन् ।”
०३७ सालमा उपन्यास ‘कट्टेल सरकार चोटपटक’ बजारमा आयो । आएकै वर्ष नीर शाहले पढे । कथा उनको आँखामै बिलायो । उनलाई यसमा चलचित्र बनाउनुपर्छ भन्ने लाग्यो । लेखक डा. ध्रुवचन्द्र गौतमसँग उनले अनुमति मागे । गौतमले पनि स्वीकृति दिए । शाहले चलचित्र निर्माण सुरु गरे ।

Dabur Nepal
NIC Asia

शाहले यसैबाट निर्देशनमा डेब्यु गरे । “मलाई त्यो समय खासै निर्देशनबारे ज्ञान थिएन । रहर गरेर दृश्य जोडजाड गरेर बनाएँ,,” शाह इमानदारिता प्रस्तुत गर्दै भन्दै गए, “मलाई यो चलचित्र अहिले हेर्दा धेरै कुरा बिग्रिएको जस्तो लाग्छ । तर, त्यो बेला मलाई प्रविधिले पनि साथ नदिएको हो । सूचना विभागले र स्टकमा धोका दियो ।”

उनले सम्झिए, “१६ मिलिमिटरमा खिचिएको यो पहिलो चलचित्र हो । १६ मिलिमिटरको चलचित्रलाई ३५ मिलिमिटर बनाउनुपर्ने त्यसैले भिजुअलमा क्वालिटी नेदेखिनु स्वाभाविक हो ।”

त्यसैले त उनी अहिले यसको रिमेक गर्ने तयारीमा छन् । पटकथा तयार पनि छ । तर निर्माताले उनलाई धोका दियो । निर्माता भेटिनेबित्तिकै शाह वासुदेव निर्माणको तयारीमा लाग्नेछन् ।

यता, लेखक गौतमलाई भने आफ्नो उपन्यास भन्दा पनि चलचित्र बढी मन परेको रहेछ । सन्डे सिनेमामा उपस्थित भएका उनी सुनाउँदै थिए, “पुस्तक भन्दा चलचित्र धेरै सशक्त माध्यम हो । उहाँ (नीर शाह) ले यति राम्रो चलचित्र बनाइदिनु भयो कि मैले कल्पना पनि गरेको थिइनँ ।” यसको पटकथा पनि गौतम स्वयम्ले लेखेका थिए । हास्य व्यंग्यको पाटोतर्फको पटकथा भने हरिवंश आचार्यले लेखेका थिए ।
गौतमलाई समाज बोल्न र सकारात्मक परिवर्तनको हैसियत राख्ने कृतिमा चलचित्र बन्नुपर्छ भन्ने लाग्छ । “मैले मेरो मात्रै होइन राम्रा कृतिमा चलचित्र बन्नु हुँदैन भने अलि बढी बोले जस्तो हुन्छ,” गौतमले भने, “पुस्तकभन्दा सशक्त माध्यम भएकाले ‘वासुदेव’ जस्ता उपन्यासमा चलचित्रहरू बन्नुपर्छ ।”
चलचित्र पत्रकारहरू माझ बसेर ‘वासुदेव’ हेरिरहेका हरिहर शर्माले पनि चलचित्र नहेरेको ३२ वर्ष नै भएछ । चलचित्र पत्रकार यज्ञशले उनलाई सोधे,‘३२ वर्ष पछि हेर्दा तपाइँलाई यो चलचित्र कस्तो लाग्यो ?’

उल्टै उनले प्रतिप्रश्न गरे, ‘हाम्रा कुरा त आइरहेका हुन्छन् । आज भन्नुस् तपाईंहरूलाई चाहिँ कस्तो लाग्यो ?

ठूलै समूहमा रहेका पत्रकारहरूले भने– आज पनि उत्तिकै जिवन्त लाग्यो । प्रविधिमा भन्दा खासै फरक लाग्दैनन् आजका चलचित्र पनि ।

“तपाईंहरूलाई कत्तिको थाहा छ, यहि चलचित्र हो नेपालीपन बोकेको पहिलो नेपाली चलचित्र । यहाँभन्दा अगाडि बनेका चलचित्र भारतीयहरूले नै लखेका हुन्थे । कुनै न कुनै रूपमा भारतीय जोडिएका हुन्थे । देबु सेनहहरूले नेपाली चलचित्रको कथा लेख्थे,” निर शाहले भने ।

शाहलाई सही थाप्दै शर्माले निरन्तरता दिए, “यो चलचित्रलाई माइलस्टोन भनियो । अभिनयका हिसाबले यसलाई मानक भन्ने समीक्षा भयो । निर्देशकीय हिसाबले अब्बल भनियो । विषयका हिसाबले कहिल्यै पुरानो नहुने नेपाली समाजको जीवित कथा थियो । त्यही कारण हो यसलाई अहिले पनि हामी यसलाई आफ्नै कथा जस्तो लाग्ने । समाज रहुञ्जेल समाजमा ‘वासुदेव’ का वासुदेव र कुमारहरू रहिरहन्छन् । त्यसैले हो यो जिवन्त भएको ।”

चलचित्र प्रदर्शनपछिको डिस्कसनपछि भएको छलफलमा चलचित्रका डाइलगबारे पनि जिज्ञासा उठे । मदनकृष्ण श्रेष्ठले चलचित्रमा ‘९ सय रुपैयाँमा दिँदा मैले यो बाइक नदिएको लौन बेच्नु पर्यो । ग्राहक खोज्नुपर्यो’ भन्ने डाइलग बोलेका थिए ।

“त्यो बेला ९ सय भनेको ठूलो रकम हो । मैले त्यही समय २ हजारमा मेरो गाडी बेचेको छु,” निर्देशक शाहले भने, “त्यसैले ९ सयमा बाइक आउँथ्यो ।”

कुरा पारिश्रमिकको पनि उठ्यो । प्रश्न शर्मासँग सोधियो । तीन दशक अगाडि पारिश्रमिक कति लिनुभएको थियो ? “ढाँट्नुपर्ने कारण छैन,” नीर शाहतर्फ इंगित गर्दै उनले भने, “शाहजीले मलाई ५ हजार पारिश्रमिक दिनु भएको थियो । त्यो समय पारिश्रमिक राम्रो थियो अहिलेभन्दा ।”

चलचित्र १५ लाखमा बनेको रहेछ । साढे तीन लाख रुपैयाँ शाहसँगै थियो । उनले साथीसँग साढे तीन लाख हाल्न लगाए । सात लाख जम्मा भयो । तर, त्यतिले चलचित्र निर्माण हुने अवस्था थिएन । उनले सम्झिए व्यापारी विनोद चौधरीलाई । ‘वासुदेव’ पुस्तक चौधरीलाई पढ्न भनेर दिए । उनले पनि लगानी गर्न तयार रहेको बताए । चलचित्रमा सात लाख रुपैयाँ उनले लगानी गरे । १४ लाखमा चलचित्र निर्माण भयो ।

“चलचित्र निर्माण भएपछि भने चौधरीले भने खासै मन पराए जस्तो गरेनन्,” शर्माले अनुमान लगाए, “सायद उनले उपन्यास पूरै पढेका थिएनन् ।”
शर्मा चलचित्रमा आदर्श चरित्र हुन्छन् । वासुदेव सर आदर्शको प्रतिमूर्ति हुन्छ । उनको शिर सधैं उचो हुन्छ । आफ्नै व्यापारी साथी कुमारको लोभलालचबाट उनी सधैं टाढै रहन्छन् । तर कुमारले उनको नैतिकतामाथि पलपलमा प्रहार गरिरहन्छ । उनको नैतिकता डगाएर आफ्नो विजनेसको हिस्सा बनाउन चाहन्छ । तर सतीसाल जस्तै वासुदेवको नैतिकता झन् बलियो हुँदै गएको देखेर चुर भएको कुमार वासुदेवकै घरमा पुगेर उसकी छोरी र श्रीमतीको इज्जत लुट्न खोज्छ । कुमारको व्यवहारले सीमा नाघेपछि वासुदेव कुमारको घर पुगेर उसको घाँटी थिचेर मारिदिन्छ र भन्छ– तँजस्ता मान्छेको आवश्यकता यो देशलाई छैन ।

कुमारको हत्या गरेर निस्किएको वासुदेव हृदयघात भएर मर्छ । शर्मा भन्छन्, “हामीले चलचित्रमार्फत आदर्श समाजको परिकल्पना गरे पनि अझै कुमारहरूकै बोलाबाला छ यो समाजमा ।”

यता चलचित्रको अन्त्यको प्रसंग शाहले यसरी सुनाए, “हामीसँग चलचित्र इन्डको प्रशस्तै विकल्प थिए । वासुदेवलाई जिवितै छाड्ने कि नछाड्ने भन्ने विषयमा बहस नै गरेका थियौं । तर, उसलाई जिवित छाड्दा नैतिकवान र आदर्श व्यक्ति माथि लाग्ने हत्याराको आरोप, कानुनी झमेलाको कुरा थियो । त्यसैले हामीले वासुदेवको पनि अन्त्य गरेका हौं ।”

सँगै रहेका शर्माले भने, “बासुदेवमा प्रत्यक सिनसँगै उसमाथि तनाव थपिँदै जान्छ । रक्सी र चुरोट खाने लत बढ्दै जान्छ । आखिर तनाव मुख्य कारण त हो हृदयघातको । तनाव लिने, रक्सी, चुरोट पिउने व्यक्तिलाई त्यसरी मरेको देखाउँदा अस्वाभाविक जस्तो लाग्दैन भनेर पनि वासुदेवको अन्त्य गरिएको हो ।”

अझै पनि समाजका वासुदेव सरहरू थुप्रै छन् । जो नैतिकताका नाममा अभावको जिन्दगी बिताइरहेका छन् । “शैक्षिक योग्यताका हिसावले सम्पन्न जिन्दगी बिताउने अधिकार राख्ने विश्वविद्यालयका प्रोफेसरहरू अभावको जिन्दगी जिउँदै कुमारजस्ता स्मग्लरहरूको दुर्बचन र हेपाइ सहेर बाँचिरहनु परेको छ,” अन्तिममा शाहले भने ।

शर्माले थपे, “आर्दशवान मान्छेहरू दुःख पाइरहेका र नैतिकहिन व्यक्तिले सुख पाइरको देखिन्छ । तर त्यस्ता आचरणहिन पतीत व्यक्तिहरू कति सुखी र खुसी छन् त्यो भने विश्लेषणको पाटो हो ।”

उनले पत्रकाहरूलाई हँसाए, “तपाईंहरूमध्ये पनि कति कुमारहरू हुनुहुन्छ होला, जो गाडी फेरी फेरी चढ्ने अनि कति ९ सयको मोटरसाइकल पनि चढ्न नसक्ने आदर्शवान पत्रकार पनि हुनुहुन्छ होला नि ।”

नीर शाह चलचित्र वासुदेवलाई कहिल्यै बिर्सिदैनन् किन भने यो चलचित्रसँग उनको छोरासँगको वियोगको यथार्थ कथा गाँसिएको छ । वासुदेवका लागि महाकवी लक्ष्मीप्रसाद देवकोटाको यात्री कविता गीतका रूपमा रेकर्ड गर्न रविन शर्मालाई लिएर इन्डिया पुगेका थिए । उनले यात्री रेकर्ड गरे । उनको चित्त पनि बुझ्यो तर त्यही दिन छोरो परलोक भएको समाचार शाहले सुन्नुपर्यो । उनले भारी मनले भने,‘मैले यो गीत रेकर्ड गरेकै दिन छोरो गुमाएको छु । त्यसैले पनि म यो गीत र चलचित्रलाई कहिल्यै पनि बिर्सिन सक्तिनँ ।’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro