site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ग्रह एउटै– व्यवहार किन फरक ?
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


पिङ्की गुरुङलाई यही वर्ष हो भन्ने यकिन त छैन । तर नीलहिरा समाजमा काम गर्न जान थालेको छ वर्षजति भएको थियो । उनलाई क्रस ड्रेस गर्न र लालीपाउडर लगाउन मन लाग्थ्यो । हिम्मत भने आउँदैनथ्यो । एकैचोटि ‘म तेस्रोलिङ्गी हुँ’ भन्दा परिवारले गाली गर्ला, गाली नगरे पनि तनावमा पर्ला भन्ने डर थियो । विस्तारै उनले नीलहिरा समाजले समलिङ्गी, तेस्रोलिङ्गीबारे तयार पारेका ब्रोसर र उनीहरुबारे प्रकाशित समाचारहरु कोठामा राख्न थालिन् । सबैले पढून् भनेर टेबलमा सबैको आँखा पर्नेगरी राखिदिन्थिन् । 

त्यो बेला नेपाल टेलिभिजन खुब लोकप्रिय थियो । साँझ खाना खाएर पूरै परिवार बसेर सँगै टेलिभिजन हेर्ने संस्कृति जस्तै थियो । पिङ्कीको घरमा पनि त्यो चलन थियो । त्यो समय आरति चटौतको कार्यक्रम ‘सघर्ष’ खुब रुचाइएको थियो । सबै बसेर टेलिभिजन हेरिरहेका थिए । ‘सङ्घर्ष’मा उनले समलिङ्गी, तेस्रोलिङ्गीबारे भन्न थालिन् । रिपोर्ट बज्न थाल्यो । रिपोर्टमा अधिकांशको अनुहार ‘ब्लर’ गरिएको थियो । अनुहार ब्लर गरिएका समलिङ्गी, तेस्रोलिङ्गीहरु आफ्नो समस्याबारे बोल्न थाले । कोही घर परिवारको अपहेलनाबारे बोल्दै थिए त कोही समाज तथा राज्यले हेर्ने दृष्टिकोणका कथा कहिरहेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

ध्यानदृष्टिले सुनिरहेकी पिङ्कीकी बहिनीले एक्कासि भनिन्, “ओई यो तँ होइनस् ?” उनले पिङ्कीलाई त्यो प्रश्न गर्दा परिवारका सबै सदस्य सँगै थिए । पिङ्कीको नाम त्यो बेला सञ्जीव थियो । उनले ‘म होइन’ भनेर जिद्धी गरिन् । तर बहिनीले मात्रै होइन, परिवारका सबैले उनै हुन् भन्ने निष्कर्ष निकाले । 

तीन वर्षअगाडि पोखरामा घरपरिवारले साथ दिने तेस्रोलिङ्गीका आफन्तसँग अन्तरक्रिया कार्यक्रम थियो । कार्यक्रम सहजीकरण गरिरहेका थिए, कलाकार सन्तोष पन्तले । त्यो कार्यक्रममा गुरुङकी बहिनीले भनिन्, “अघिल्लो दिन आफ्नै दाइ टेलिभिजनबाट तेस्रोलिङ्गी भएको थाहा पाएपछि म भोलिपल्ट वसन्तपुर दरबारबारमा आफ्नो ब्वाइफ्रेन्ड बोलाएर उसको छातीमा टाउको राखेर आधा घण्टासम्म रोएँ ।” कारण, त्यो समय आफन्तहरु उनलाई घृणा गर्थे, उनको भविष्यलाई लिएर चिन्ता गर्थे । अहिले उनलाई लिएर उनका आफन्त नै गर्व गर्छन् । मेरी छोरी÷दिदी नीलहिरा समाजकी अध्यक्ष हुन् भनेर मख्ख पर्छन् ।

Global Ime bank

१३ वर्ष बितिसक्दा पनि त्यो घटना पिङ्कीलाई बहिनीले भनेकी रहिनछिन् । सन्तोष पन्तले विगत खोतल्दा उनी भावुक भइन् र आँखाभरि आँसु पारेर विगत सम्झिइन् । यो घटना सुनाउँदा आज पनि पिङ्की भावुक हुन्छिन् । 

“एकैपटक म तेस्रोलिङ्गी महिला हुँ भनेर भन्न सकिनँ । र, चाहिनँ पनि । एकैपटक भन्दा परिवारलाई स्वीकार्न गाह्रो हुन्छ भनेर विस्तारै खुल्दै जाने मेरो योजना थियो,” उनी भन्छिन् । उनी महिलाकै पहिरनमा हिँड्छिन् । नीलहिरा समाजकी अध्यक्ष छिन् । तत्कालीन नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य तथा दलित–अल्पसङ्ख्यक विभाग प्रमुख समेत भइन् । ०७४ को निर्वाचनमा नयाँ शक्ति पार्टीले उनलाई समानुपातिकतर्फ छैटौं नम्बरमा सिफारिस गर्‍यो । तर पर्याप्त भोट आएन । परिणामः उनी सांसद् हुन पाइनन् । 

० ० ०

त्यो कार्यक्रम प्रशारण भएको क्षण आरतिलाई पनि सम्झना छ । करिब दुई दशकअगाडिको कुरा, त्यो बेला समलिङ्गी, तेस्रोलिङ्गीलाई मान्छे नै होइनन् जस्तै व्यवहार गरिन्थ्यो । त्यो समय समलिङ्गी, तेस्रोलिङ्गीलाई रत्नपार्क र ठमेलमा रातिको समयमा यौन पेशा गर्ने व्यक्ति तथा समुदायका रुपमा मात्रै बुझिन्थ्यो । यही हो उनीहरुको विशेषता अथवा यसभन्दा पर पनि उनीहरुको जीवन छ, किन यौन धन्दामा उनीहरु लागेका छन् ? भन्ने प्रश्नको जवाफ खोज्न थालिन् । दिउँसो पुरुष भए राति महिला र दिउँसो महिला भए राति पुरुष कसरी हुन्छन् र यसरी एउटै व्यक्तिले दुइटा जीवन कसरी बाँच्छन् ? रहर हो या बाध्यता ? प्रश्नले चिमोटिरह्यो । आरतिलाई लाग्यो– उनीहरू पनि त मान्छे नै हुन् । उनीहरू पनि बुवाआमाले जन्माएका सन्तान हुन् । उनीहरूले पनि अधिकार पाउनुपर्छ ।

उनले निर्णय गरिन्– समलिङ्गी, तेस्रोलिङ्गी अन्य महिला र पुरुषसमान हुन् भनेर स्थापित गर्नु मेरो पनि दायित्व हो । त्यसैले यिनलाई मेरो कार्यक्रम ‘सङ्घर्ष’मा ल्याउने सङ्घर्ष गर्छु । 

आरति राति–राति ठमेल पुगिन्, जहाँ तेस्रोलिङ्गी महिला यौन व्यवसायका लागि ग्राहक कुरेर बस्थे । उनीहरूलाई भेटेर आफ्नो उद्देश्य सुनाइन् । सुरुमा त उनीहरू हच्किए । मानून् पनि कसरी ! उनीहरुले सञ्चारमाध्यम कहिल्यै ‘फेस’ गरेका थिएनन् । घरमा समेत नखुलेका उनीहरूलाई समाजले छोइछिटो गर्नेवाला थियो ।

अधिकार प्राप्तिका लागि सरोकारवालाई घच्घच्याउने भनेपछि समलिङ्गी, तेस्रोलिङ्गी तयार भए । आरतिले तेस्रोलिङ्गीको दुइटा जिन्दगी टेलिभिजनमा देखाइदिइन् । आफ्नो परिवारले देख्ने रूप र साँझ आफ्नो चाहनाअनुसार कसरी महिला वा पुरुषको पहिरनमा परिवर्तन हुन्छन्, एउटै व्यक्ति पुरुष हुँदा र महिला भएर ठमेलमा ग्राहकसँग कसरी ‘डिल’ गर्छन्, आरतिले देखाइदिइन् । नेपालमा टेलिभिजनको इतिहासमा विस्तृत रुपमा तेस्रोलिङ्गी देखिएको त्यो पहिलोपटक थियो ।

दुई वर्षअगाडि भारतको ट्रान्जिटमा बसिरहेका बेला एउटी महिला तेस्रोलिङ्गीले उनलाई भेटेर भनिन्, “हजुर आरति म्याम हैन ? म तपाईंको कार्यक्रमपछि खुलेकी थिएँ । अहिले तेस्रोलिङ्गी अधिकारकर्मीका रूपमा काम गरिरहेकी छु ।” 

० ० ०

जुन समय मनिषा ढकाल नीलहीरा समाजमा आबद्ध भइन्, त्यो समय समलिङ्गी, तेस्रोलिङ्गीलाई मान्छे नै हैनन् झैं व्यवहार गरिन्थ्यो । समलिङ्गी, तेस्रोलिङ्गी हुनुलाई पूर्वजन्मको पापको परिणाम भनिन्थ्यो । तर वास्तविकता फरक रहेको मनिषा बताउँछिन् । “१८ औं शताब्दीमा जर्मनीमा आधुनिक चिकित्सा विज्ञान आयो, त्यसले समलिङ्गी हुनुलाई रोग मान्यो । समलिङ्गी हुनुलाई रोगका रुपमा परिभाषित गर्‍यो । कट्टरपन्थी इसाई धर्मको प्रभावमा समलिङ्गी हुनु भनेको पाप हो भने लेखियो । कुनै तथ्य र प्रमाणविना नै समलिङ्गी हुनुलाई रोग र पाप हो भनेर लेखियो । त्यसअघि समलिङ्गी, तेस्रोलिङ्गीलाई सामान्य रुपमा लिइन्थ्यो,” उनी भन्छिन् । 

समलिङ्गी, तेस्रोलिङ्गीलाई वेदपुराणमा पनि तृतीय प्रकृतिको भनेर लेखिएको छ । रामायणमा किन्नर भनेर लेखिएको छ । वेदपुराणमा व्रिहन्नला र शिखण्डीको उदाहरण छ । सुग्रिवसँग रामले मित्रता गरेको र त्यो मित्रताको सम्बन्धलाई सामाजिक तथा धार्मिक रुपमा मान्यता दिइएको छ ।

“महाभारतकालको किन्नर राज्यको दस्तावेज पाइन्छ । किन्नर राज्य नेपाल, भुटान, तिब्बतसम्म हिमाली भेगमा फैलिएको पाइन्छ । त्यो किन्नर भन्ने राज्य अहिले पनि छ । त्यो किन्नर राज्यको राजधानी अहिले पनि भारतमा छ,” मनिषा भन्छिन्, “त्यो समय छोरा जन्मिएर महिलाको रुपमा हुर्किने र छोरी जन्मिएर पुरुषको रुपमा हुर्किए पनि विभेद हुँदैन थियो । किन्नर राज्य कौरब र पाण्डवको लडाइँमा हारेर गएको इतिहास छ । त्यसको अवशेष अहिले पनि पाइन्छ । झाँक्री विद्या अहिले पनि छ । उनीहरुले लगाउने जामा, माला, गहना तथा भेषभुषा किन्नर राज्यकै अवशेषका रुपमा छन् ।”

देउडा नाच किन्नर संस्कारकै अवशेषका रुपमा रहेको उनको भनाइ छ । देउडा नाचमा पुरुषहरु महिलाको सामान्य पहिरनमा आउँछन् । गाईजात्रा परम्परा पनि त्यही बेलादेखिको हो, जो अहिलेसम्म कायम छ । मारुनी र कौडा नाच पनि त्यसकै अवशेषका रुपमा रहेको उनको भनाइ छ ।

“सयौं वर्षदेखि स्वीकार्दै आएको कुरालाई जर्मनीले रोगका रुपमा परिभाषित गरिदियो । जर्मनीको साम्राज्य र युरोपको साम्राज्य विश्वभरि फैलिँदै गयो । उनीहरुकै प्रभावमा समलिङ्गी, तेस्रोलिङ्गीलाई गैरकानुनी मान्न थालियो । १८औं शताब्दीमा ब्रिटेनले भारतमाथि कब्जा गर्यो,” उनी भन्छिन्, “१८औं शताब्दीको अन्तिममा उसले भारतमा पहिलो कानुन ल्यायो । इस्ट इन्डिया कम्पनीले ल्याएको त्यो कानुनले पहिलोपटक स्वतन्त्र रुपमा विचरण गरिरहेका समलिङ्गी, तेस्रोलिङ्गीलाई अपराधीकरण ग¥यो । समलिङ्गी, तेस्रोलिङ्गीलाई संविधानमै अपराधी भनेर लेख्ने पहिलो देश भारत बन्यो ।” 

मनिषा समलिङ्गी, तेस्रोलिङ्गीको इतिहाससँगै पौराणिक कुरा पनि जोड्छिन् । राजा राम र उनको बनबास जाँदाको पौराणिक कथा सुनाउँछिन् । “राम बनबास जाँदा उनीसँगै उनलाई फर्काउन गएका अयोध्याबासीलाई रामले नदीमा पुगेपछि तिमीहरु सबै नरनारीहरु जाओ । म १४ वर्ष बनबास बसेर आउँछु भनेर गए । १४ वर्षपछि फर्केर आउँदा पनि त्यो नदीको किनारमा केही व्यक्ति त्यहीँ थिए,” उनी भन्छिन्, “रामले त्यो देखेर उनीहरुलाई सोध्नुभयो तिमीहरुको किन यहीँ बसेको ? १४ वर्षदेखि त्यही नदीको किनारमा रामलाई कुरेर बसेका व्यक्तिहरुले भनेछन्, प्रभु हजुरले नर र नारीलाई सम्बोधन गरेर तिमीहरु जाओ, म १४ वर्षमा आउँछु भन्नुभयो । तर हामीजस्ता किन्नर–किन्नरीलाई सम्बोधन गर्नुभएन, त्यसैले यहीँ बसेको भनेको अहिले पनि पढ्न पाइन्छ ।”

मनिषाले ऐतिहासिक र पौराणिक कालखण्डको समलिङ्गी, तेस्रोलिङ्गीसँगै खुसीको कुरा पनि सुनाइन्, त्यो पनि तिथिमितिसहित । “विश्व स्वास्थ्य सङ्गठनले सन् १९९० मे १७ मा समलिङ्गी, तेस्रोलिङ्गी हुनु कुनै रोग होइन भन्यो । समलिङ्गी, तेस्रोलिङ्गी पनि महिला पुरुषसरह समान हो भनेर घोषणा गर्‍यो,” उनको मुहारमा खुसीको चमक देखियो ।

० ० ०

सन् २००१ मा समलिङ्गी पुरुष सुनीलबाबु पन्तले नेपालमा पनि समलिङ्गी, तेस्रोलिङ्गीलाई सङ्गठित गर्दै नीलहिरा समाज खोले । त्यो बेला समलिङ्गी, तेस्रोलिङ्गीको अधिकारका लागि संस्था खोल्ने भनेर जिल्ला प्रशासन कार्यालय जाँदा दर्ता गर्न नमानेपछि उनले एचआईभी रोकथाम तथा नियन्त्रणका लागि भनेर नीलहिरा समाज दर्ता गराएको पिङ्की सुनाउँछिन् । त्यसरी सुरु भएको संस्था अहिले मुलुकभरका करिब चार दर्जनभन्दा धेरै सहरमा विस्तार भइसकेको छ । करिब पाँच लाख समलिङ्गी, तेस्रोलिङ्गीलाई सेवा प्रदान गर्दै आएको छ । काठमाडौंमा रहेका नीलहिरा समाजका कर्मचारी अधिकार प्राप्तिका लागि सरोकारवाला पक्षलाई खबरदारी गरिरहेका छन् । 

० ० ०

पिङ्की अधिकारका लागि सिंहदरबार पुगेर मन्त्रालयमा जति कड्किन्छिन्, त्यति नै उनको मन कोमल पनि छ । त्यसैले उनलाई देशभरका समलिङ्गी, तेस्रोलिङ्गीले मायाले भन्छन्, ‘ममी’ । अधिकार प्राप्तिको लडाइँसँगै छुटेको साङ्गीतिक भोकको कथा पनि साटिन् उनले बाह्रखरीसँग । 

उनलाई गीतसङ्गीत खुब मनपथ्र्यो । सङ्गीतको धुनले उनलाई लठ्याउँथ्यो । कहिलेदेखि सङ्गीतको सुरले उनलाई छोयो थाहा छैन । तर जहिलेदेखि सङ्गीतको झङ्कारले उनलाई झङ्कृत गर्न थाल्यो, त्यो समयदेखिको सम्झनाको लहर सुनाइन् उनले । सुरुमा सञ्जीव नाम भएकी पिङ्की ९/१० वर्षको उमेरदेखि गीत गाउँथिन् । फरक प्रतिभा पनि थियो उनमा, त्यो हो– मेल र फिमेल दुवै भोकलमा गीत गाउँथिन् । सेन्टिमेन्टल गीत उनलाई असाध्यै मन पथ्र्यो । भक्तराज आचार्य, नारायण गोपाल, दीप श्रेष्ठ, अरुण थापा, अरुणा लामा, दीपक खरेल, तारादेवी मन पर्छन् । हिन्दीमा मोहम्मद रफी, कुमार सानुका गीतले पनि उनको मन खिचेका थिए । सिद्धिगणेश स्कुलमा पढ्थिन् । साथीहरु तेरो स्वर राम्रो छ, गीत गा भन्थे । उनी गाउँथिन् । 

एक जना शिक्षक थिए, खुब गीत गाउनुपर्ने उनलाई । नारायण गोपालको ‘यो सम्झिने मन छ... दिनहुँजस्तै गाउँथे । ती शिक्षक पनि फेमिनाइन नेचरका थिए । “अरुले उहाँलाई त्यस्तै खालको शब्द प्रयोग गर्थे, मलाई साह्रै नराम्रो लाग्थ्यो,” उनले सम्झिइन् । 

पुस–माघको महिना थियो । टोलमा केटीको स्वरमा गीत गाउँदै हिँड्दै थिइन् । त्यही टोलको बलिष्ट एउटा केटाले पाखुराले पिङ्कीको चिउँडोमा च्यापेर झुण्डाइदियो । “त्यो बेला त्यो केटाले मलाई किन त्यसो गर्‍यो मैले थाहै पाइनँ । पछि थाहा पाएँ, हामीजस्तो मान्छेलाई घृणा गर्दा रहेछन्, त्यही भएर उसले मलाई त्यस्तो गरेको रहेछ,” पिङ्कीले बाल्यकालीन घटना सुनाइन् । 

हुर्किंदै गइन् । अरुले पनि जिस्काउन थाले । आफैंलाई पनि लाज लाग्न थाल्यो । त्यसपछि पिङ्कीले केटीको स्वरमा गीत गाउनै छाडिन् । केटाको स्वरमा मात्रै गाउन थालिन् । 

एसएलसीपछि पिङ्की पुगिन्, रत्नराज्यलक्ष्मी क्याम्पस । त्यहाँ पढ्न पाइन्थ्यो– सङ्गीत । पढाउँथे– दीपक जङ्गम र वेनी रावलले । त्यहाँ राग, लोकगीत र त्यसको इतिहास, ताल र बिट पढाउँथे । पिङ्कीले भोकल सिकिन् । दीपक जङ्गम स्वर राम्रो छ भन्थे । उनी मख्ख पर्थिन् । उनी सङ्गीतको कक्षा लिन्थिन् र फर्किहाल्थिन् । अरु विषय उनले कहिल्यै पनि लिइनन् । 

उनलाई गीत गाउन खुब रहर लाग्थ्यो । तर अवसरको ढोका कहिल्यै खुलेन । कारण केटा भए पनि हाउभाउ केटीको जस्तो थियो । त्यही नै अवसर र सङ्घर्षको बाधक थियो । एकै शब्दमा अभिषाप थियो । गाउन शब्द, सङ्गीत र एरेन्जका लागि अरुलाई भेट्नुपथ्र्यो । त्यसका लागि लामै सहकार्य गर्नुपथ्र्यो । त्योभन्दा पनि गाउनका लागि स्टुडियो जानुपथ्र्यो । कसरी जानु आँट नै आउँदैनथ्यो । गाउन त उनी केटा र केटी दुवैको भोकलमा गाउन सक्थिन् । तर कुनमा गाउनु ? त्यो पनि उनलाई कन्फ्युज हुन्थ्यो ।

त्यहीबेला उनी नीलहिरा समाजमा आबद्ध भइन् । आफूजस्तै समलिङ्गी, तेस्रोलिङ्गीको अधिकारका लागि काम सुरु गरिन् । त्यसपछि गीतसङ्गीतको पाटो नै छुट्यो । “सायद अधिकारको बाटो नहिँडेको भए कुनै न कुनै दिन म गायनमा आउँथे होला, तर अधिकार प्राप्तिको बाटोमा लागेपछि त्यो बाटो नै छोडियो,” उनले भनिन् । 

बाटो मोडियो । अधिकारकर्मी भइन् । काँडैकाँडाको बाटो हुँदै आज उनी निर्धक्क बोल्न सक्ने भइन् । सिंहदरबारका मन्त्रालय पुगेर मन्त्रीका टेबुल ठोक्न सक्ने भइन् । बिस्तारै थोरबहुत अधिकार पनि प्राप्त भए । भन्छिन्, “अधिकार प्राप्त भइरहेका पनि छन् ।” तर पनि उनले आफ्नो साङ्गीतिक मोह भुल्न सकेकी छैनन् । 

कुमार सानुका गीतका क्यासेटको ठूलो चाङ थियो । उनलाई लाग्छ, कुमार सानु र मोहम्मद रफीका कुनै क्यासेट उनको घरमा छुटेका छैनन् । घरमा टेप थियो । त्यसमा क्यासेट प्ले गर्थिन् । सँगै गाउँथिन् । “ठूलो साउन्डमा क्यासेट बजाएर सँगसँगै गाउन मलाई खुब मजा लाग्थ्यो,” उनी भन्छिन् ,“टोलका मानिसले तेरो स्वर कति राम्रो भनेर तारिफ त गर्थे, तर सधैं चर्को स्वरमा क्यासेट बजाएपछि डिस्टर्व हुँदोरहेछ । घरमै आएर कम्प्लेन गर्थे ।” 

गीत गाउने इच्छा अपूरो नै रह्यो । त्यसैले उनी अचेल साथीहरुको जमघटमा गीत गाएर आफ्नो रहर मेटाउने प्रयास गर्छिन् । सामाजिक सञ्जाल उनका लागि ‘एक्सपोजर’ बनेको छ । 

० ० ०

चलचित्र ‘कान्छी’मा छ जना कलाकार मुख्य भूमिकामा छन् । दयाहाङ राई, अशान्त शर्मा, कामेश्वर चौरासिया, स्वेता खड्का, अनु शाह र भूमिका श्रेष्ठ । ती भूमिका तिनै हुन् जसले दीपक रौनियारको चलचित्र ‘हाइवे’मा पनि अभिनयको मौका थिइन् । भलै, उनले त्यहाँ लामो भूमिका पाइनन् । तर त्यसको भोक भूमिकाले ‘कान्छी’मा मेटाइन् । र, भूमिका तिनै व्यक्ति हुन्, जो तेस्रोलिङ्गी अधिकारकर्मीका रुपमा सक्रिय छिन् । 

उनीसँग पनि आफ्नै कारुणिक कथा छन् । फरक लैङ्गिक पहिचान भएकै कारण स्कुलबाट निस्किनुपरेको पीडा छ । फरक बानि–व्यवहारकै कारण समाजले दुत्कारेको दारुण कथा छ । 

आमाले छोराको रुपमा जन्म दिइन् । नाम थियो कैलाश । बाल्यकालदेखि नै उनी आमाको लालीपाउडर लगाउँथिन् । आमालाई काममा सघाउँथिन् । उमेर बढ्दै गयो । पढ्न जान थालिन् । विद्यालयमा उनलाई केटीको बेन्चमा गएर बस्न मन लाग्थ्यो । त्यसै गर्थिन् । तर त्यो उनको व्यवहार न उनका साथीहरुलाई मन पर्‍यो, न त शिक्षकलाई नै । साथीहरुले ‘छक्का’, ‘हिँजडा’ भनेर जिस्काउन थाले । शिक्षकले भने, “भोलिदेखि केटीको जस्तो हाउभाउ देखाउने हैन, देखाउने भए नआए हुन्छ ।” 

दिनदिनकै टोकसो उनले सहन सकिनन् । अन्ततः उनले विद्यालय नै छोडिन् । उनले आफ्नो बानि–व्यवहार परिवर्तन गर्न हजार प्रयास गरिन् । तर सकिनन् । र, भइन् तेस्रोलिङ्गी अधिकारकर्मी । 

आफूजस्तै साथीहरुको अधिकारका लागि उनी सक्रिय भइन् । अधिकारसँगै उनी राजनीतिर पनि लागिन् । नेपाली काङ्ग्रेसमा सक्रिय उनी काङ्ग्रेस महाधिवेशन प्रतिनिधिसम्म भइन् । राजनीतिक दलमा आबद्ध नभएसम्म आफ्नो अधिकार सुरक्षित गर्न कठिन हुने महसुस गरेर उनी राजनीतिमा लागेकी थिइन् । “समलिङ्गी, तेस्रोलिङ्गीको अधिकारको मुद्दा दलहरुले हाम्रो आफ्नै हो भनेर जबसम्म अपनत्व गर्दैनन्, त्यो समयसम्म हाम्रो अधिकार महिला पुरुषसरह प्राप्त हुँदैन,” उनले भनिन्, “राजनीतिक दलभित्रै रहेर हाम्रा मुद्दाबारे बुझाउनु मैले आफ्नो कर्तव्य ठानेको छु ।” 

अहिले पनि उनलाई चलचित्रका लागि अफर नआएका हैनन् । तर ठूला र भरोसायोग्य ब्यानरबाट आएनन् । त्यसैले त्यस्ता ब्यानरमा भूमिकाले पनि भरोसा गरिनन् । भन्छिन्, “राम्रो अवसर आए छोड्दिनँ । तर आयो भन्दैमा आँखा चिम्लिन्नँ ।” 

० ० ०

२०७२ सालको नेपालको संविधानमा पहिलोपटक समलिङ्गी, तेस्रोलिङ्गीको अधिकार समोवश गरियो । धारा १२, १८ र ४२ ले समलिङ्गी, तेस्रोलिङ्गीलाई सम्बोधन गर्‍यो । समलिङ्गी, तेस्रोलिङ्गीले दीपावली गरे । 

संविधानको धारा १२, वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकताः यो संविधानबमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमाबुवाको नामबाट लैङ्गिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ । 

धारा १८, (२) सामान्य कानुनको प्रयोगमा उत्पत्तिः धर्म, वर्ण, जातजाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र वैचारिक अवस्था यस्तै वा अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।

(३) राज्यले नागरिकहरुका बीच उत्पत्तिः धर्म, वर्ण, जातजाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र वैचारिक अवस्था यस्तै वा अन्य कुनै आधारमा भेदभाव गरिने छैन । तर समाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदीबासी, जनजाति मधेसी, थारु, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसङ्ख्यक सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका जेष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्तिको... संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुनवमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन । 

अधिवक्ता सुजन पन्त समलिङ्गी, तेस्रोलिङ्गीलाई संवैधानिक अधिकार दिने दक्षिण अफ्रिका पहिलो देश भएको बताउँछन् । यो समुदायका अधिकार संविधानमै लेख्ने देशहरुको अन्तरराष्ट्रिय सूचीमा नेपाल पनि परेको छ । “दक्षिण अफ्रिकाले सन् १९९६ मा संविधानमा यौनिक अल्पसङ्ख्यकको अधिकार लेखेको हो भने फिजीले सन् १९९७ मा संविधानमा यो समुदायको अधिकार लेखे पनि सन् २००९ मा फिजीको संविधान खारेज भएको छ,” अधिवक्ता पन्त भन्छन्, “इक्वेडरले सन् १९९८ मा, स्विडेनले सन् २००३ मा, स्विजरल्यान्डले सन् २००० मा, पोर्चुगलले सन् २००४ मा, आइसल्यान्डले सन् २००७ मा, कोसोभोले २००८ मा र बोलिभियाले सन् २००९ मा संविधान संसोधन गरेर यो समुदायको अधिकार लेखेका छन् ।” संविधानले नै सम्बोधन गरेकाले अब समलिङ्गी, तेस्रोलिङ्गीलाई राज्यले नजरअन्दाज गर्न नसक्ने उनी बताउँछन् । “समाजले स्वीकार गर्न समय लगाउला, तर संविधानले नै समलिङ्गी, तेस्रोलिङ्गीलाई चिनिसकेको अवस्थामा अब राज्यले अस्वीकार गर्न सक्दैन ।” 

समलिङ्गी, तेस्रोलिङ्गी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले अहिले जोडदार रुपमा राखेको माग समलिङ्गी विवाहको अधिकार हो । सर्वोच्च अदालतले दुई व्यक्ति सँगै बस्न पाउने फैसला पहिला नै गरिसकेको छ । यद्यपि, सोहीअनुसारको कानुन नबनेका कारण उनीहरु अन्योलमा रहेको तर ढिलो–चाँडो कानुन बनाएर अगाडि बढ्नुको विकल्प नरहेको अधिवक्ता पन्तको तर्क छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC