‘सफ्ट भ्वाइस छ, तिमीले गाउन सक्छौ’ नेपाली संगीतका मुर्धन्य संगीतकार दीपक जङ्गमले प्रविणता प्रमाणपत्र तहमा संगीत सिकाउँदा सुनितालाई भन्थे । नारायण गोपालदेखि गुलाम अलीसम्मका गीतलाई आफ्नो संगीत दिएका दीपकले त्यति भन्नु सुनिताका लागि सगरमाथाको शिखर चुम्नु सरहको उपलब्धी थियो ।
तारिफ त उनले बालबयमा गाउँमा गीत गाउँदा पनि पाउँथिन् । तर त्यो तारिफ संगीत साधकको हुँदैन थियो । संगीत प्रेमीको मात्रै हुन्थ्यो । संगीतका साधकले दिएको उत्साह र संगीतप्रेमीले गरेको तारिफ फरक कुरा थियो । दीपकले क्याम्पसमा उत्साह भरेपछि सुनिता पुगिन् साधना कला केन्द्रमा साधना गर्न । त्यहाँ थिए, संगीतका साधक प्रकाश गुरुङ । सारङ्गीको धुनमा प्रकाश सुनितालाई संगीतको सुर र ताल सिकाउँथे । उनी प्रकाश सँगै गाउँथिन् । भन्थे, ‘तिम्रो स्वरमा छुट्टै मिठास् छ, सिक्न र गाउँन नछोड्नू ।”
मुर्धन्य श्रष्ठाहरुको तारिफले उत्साह दिन्थ्यो । संगीतमा साधना गर्ने प्रतिबद्धतालाई विचलित हुनबाट रोक्थ्यो । कहिले सितार त कहिले सारङ्गीका धुनमा सुनिता आफ्नो स्वर मिसाउँथिन् ।
घमेश दुलाल उनका साख्यै दाइ । उनको प्रभाव छँदै थियो । सानै देखि गाउँघर र विद्यालयमा गाउँथिन् । त्यसले पनि उनको स्वर माझिएको नै थियो ।
“दाइका गीत गाउँथे । कोर्ष अफ स्टडीमा अरुणा लामाका गीत थिए । ती गीत पनि गाउँथे,” सुनिता भन्छिन्, “जब एसएलसी पछि पद्यमकन्या क्याम्पसमा आएर संगीत लिएर पढ्न थालेँ । त्यहाँ सिकेँ मैले गीतसंगीत भनेको के हो ? सुर र ताल भनेको के हो ?”
कलेजमा शास्त्रीय संगीत र लोक संगीत दुबै सिकाइन्थ्यो । सायद गाउँघरका उकाली, ओराली भञ्ज्याङ अनि चौतारीहरुमा लोक भाकामै उनको दील बसेको थियो । त्यसैले लाग्थ्यो – लोक गीतको कक्षा नसकियोस् ।
लोक गीत दीपक जङ्गम, शास्त्रीय संगीत धनबहादुर गोपालीले पढाउँथे ।
टप्पा, झ्याउरे, मारुनी, कौडा, नेवारी, दशैं, तिहार र तिजका गीतको ज्ञान कmलेमै लिइन् । हरेक भेगिय गीत दीपक जङ्गमले सिकाए ।
गीत गाउनलाई रेडियो नेपालमा स्वर परीक्षा नै पास गर्नुपर्छ भन्ने बाध्यकारी अवस्था बाँकी थिएन । काठमाडौंमा छ्याप्छ्याप्ती खुलेका स्टुडियोमा गाउन सक्ने अवस्था थियो । तर पनि सुनितालाई आफूले आफैंलाई परीक्षण गर्नु थियो । स्वरको सुर र तालमा नाप्नु थियो । ०६० मा स्वर परीक्षा दिइन् । रेडियोमा उनले आफ्नै दाइको गीत ‘परदेशीको के भर हुन्छ र...’ सँगै आफ्नै गीत गाइन् । नतिजा उनकै पक्षमा आयो ।
त्यही वर्ष दोहोरी एल्बम (मायालुले झक्को दिइरहने) र तिजको गीत (चेलीको माइती घर) निकालेका थिइन् ।
० ० ०
लोक दोहोरी खुब चलेको समय थियो । टेपमा क्यासेट बजाउने समय थियो । लाखौं कपी क्यासेट बज्ने समय थियो । परिणामः संगीतमा युवा पुस्ताको आकर्षण थियो ।
कलेजमा पढ्दा होस् अथवा संगीत सिकाउने शिक्षालयमा युवायुवतीको ठूलो संख्या थियो । कलेजमा पढ्दाका साथीहरु सपना शिवाकोटी, सुशीला थापा, लीला श्रेष्ठ, रोजी श्रेष्ठ लगायत थुप्रैलाई सुनिताले आज पनि बिर्सिएकी छैनन् । तर कोही पारिवारिक वाध्यता त कोही व्यक्तिलगायत कारणले पछि हटे । तर सुनिता आज पनि गाउँदै नै छिन् । सुनिताले केहीसँग गाइन् पन् िसंगीतको सुरुआती करिअरमा ।
पद्यम कन्या कलेजमा संगीतमा स्नातकसम्म गरेकी सुनिता अर्को चार वर्ष साधना कला केन्द्रमा प्रकाश गुरुङलाई गुरु थापिन् । प्रकाश अक्सर अरुणा लामा, अरुण थापा, बच्चु कैलाश लगायतका गीत सुकाउँथे । “सफ्ट भोकल छ, तिम्रो फ्युचर राम्रो छ भन्थे,” प्रकाश ।
० ० ०
सुनिताले थुप्रै गीत गाइन्, विशेषगरि लोक गीतसंगीतलाई केन्द्रमा राखेर । लोक देखि दोहोरीसम्म । सांस्कृतिक देखि पर्व गीतसम्मका गीत । तर उनलाई बढी साथ दियो तिज गीतले । चिनाएन मात्रै, देश विदेश घुमायो ।
सुनिताले तिज गीत प्रतियोगितामा थुप्रैपटक निर्णायकको भूमिका निर्वाह गरिन् । तर पहिलोपटक ०६१ मा हेटौंडामा निर्वाह गरेको निर्णायकको भूमिका उनको मथिङ्गलबाट ओझेल परेको छैन । पहिलो पटक थियो । गाउन थालेको पनि भर्खरभर्खर थियो । आफैँमा पनि पूर्ण आत्मविश्वास थिएन । नजानेर अनफेयर निर्णय भयो भने ? मनमा शंका थियो । “मेरो उमेर सानै थियो । तर दिदी तथा आमाका उमेरकाहरुले गाएको गीतको जज गर्नुपर्दा भिन्न अनुभव थियो त्यो,” उनी भन्छिन् ।
तर हेटौंडासँगै विर्तामोड, पोखरा लगायत थुप्रै ठाउँमा आएका निर्णायकको अवसरले उनलाई अनुभव दिँदै गयो । पढाई र सिकाइले थप अब्बल बनाउँदै लग्यो । डर पनि भाग्दै गयो ।
० ० ०
करिब एक वर्ष अगाडि उनलाई एउटा फोन आयो । चाहना मिडियाको फोन थियो । खबर थियो निर्णाय (जज) बस्नु प¥यो । सहदेव कोइराला लगतयले भने, “राष्ट्रियस्तरको सांगीतिक रियालिटी शो हो । फ्रेन्चाइज जत्तिकै भब्य, सब्य र लोकप्रिय बनाउने हो ।”
जजको अफर लिएर आएको त्यो फोनले फगत अफर मात्रै बोकेर आएन अवसर र चुनौती पनि सँगै लिएर आएको थियो ।
सुनिताले सोधिन्, “अरु को को हुनुुहुन्छ ?”
“जयनन्द लामा र बिबी अनुरागी । अर्को एक जना कसलाई राख्ने फिक्स भइसकेको छैन ।”
जयनन्दकै गीत गाएर हुर्किएकी सुनिताको अर्को साइनो पनि छ जयनन्दसँग । सिन्धुपाल्चोकमा पनि घर नजिकै । भक्तपुर बाल्कोटमा पनि सँगै ।
उनले भनिन्, “उहाँहरुको लेवलको होइन । मेरो ठाउँमा अरुलाई खोज्नु होला ।”
“युवा पुस्ताबाट हामीले तपाईंलाई राख्ने निर्णय गरेका हौं ।” उनले डिसिजन दिइनन् । सकेसम्म फुत्तिकन खोजिरहेकी थिइन् ।
तर उनलाई आग्रह आइरह्यो ।
त्यसपछि सुनिताले सोधिन् गुरु दीपक जङ्गमलाई ।
दीपकले भने, “यो त तिमीले छोड्नै हुँदैन, गर्नुपर्छ । हरेक कुरा समयले सिकाउने हो, सिकेर आएको कोही हुँदैन, सिक्दै जाने हो ।” दिपकले हिम्मत दिए ।
शिव परियार । धिरज राई लगायत थुप्रैलाई सोधिन् । सबैले सुझाए, “छोड्नु हुन्न ।”
त्यसपछि चार महिना पछि सुनिताले ‘हुन्छ’ भनिन् ।
कारणः एक, अग्रजले दिएको सुझाव । दुई, देशभर लुकेर रहेका प्रतिभालाई एउटा राष्ट्रिय मञ्चमा ल्याएर उजागर गर्न पाइन्छ । हुन पनि त्यतस्तै भयो । १० वर्ष नपुगेका बच्चा देखि ७० वर्ष नागेका बृद्धसमेत आएर ‘शो’मा सुर र तालको कसीमा आफ्नो स्वरको परिक्षण गराए ।