अर्को विवेकानन्दको खोजी

अर्को विवेकानन्दको खोजी

काठमाडौं । जनकपुरको सांस्कृतिकताको चर्चा हुँदा आज पनि वैदेही सीता, राम र राजा जनकको नामसँगै उच्चारित भएर आउँछ । जनकपुर क्षेत्रमा बसोबास गर्ने जुनसुकै समुदायका मानिस हुन्, तिनले गर्वकासाथ आफू जनकपुरबासी भएको बताउँदै आएका हुन् । 

तिनै आदिशक्ति सीता माताको भूमि हो जनकपुर । जसलाई सीता माताको क्रिडाभूमि पनि भनिन्छ । साक्षात आदिशक्तिको क्रिडाभूमि मात्रै नभएर तिनको प्रादूर्भाव भूमि पनि भएकोले जनकपुर आज पनि सीता माताकै स्थलकारूपमा सर्वत्र परिचित छ । यो धार्मिक र सांस्कृतिक परिचय आजदेखिको होइन्, हजारौँ वर्षदेखि नै भएको संस्कृतिका ज्ञाताहरूको भनाइ छ । 

एक समय जनकपुरमा सीता र रामको मात्रै भव्य पुजन हुने प्रचलन थियो । त्यसैले जनकपुरमा अन्य कुनै देवी देवताको पुजन परम्परा कमै मात्रै रहेको मानिन्छ । 

जनकपुरबासी प्रशिद्ध साहित्यकार डा. राजेन्द्र विमलका अनुसार कुनै समय जनकपुरमा साक्षात आदिशक्ति सीता माताको पुजन बाहेक अरुको पुजन परम्परालाई जनस्तरबाट मान्यता मिलेको थिएन । राजा जनकको कूलदेवीकारुपमा राम मन्दिरमा अवस्थित राजदेवीको पुजन बाहेक अन्य देवी वा देवताको पुजा प्रचलित थिएन ।

तर अहिले जनकपुरमा नवरात्रका बेला विभिन्न देवी मन्दिरहरूमा पण्डाल लगाएर नौ दिनसम्म पुजा अर्चना गर्ने प्रचलन बिगत दुई दशकदेखि बढ्दै गएको छ । जसलाई प्रायः जनकपुरबासी आफ्नो कूल परम्परा अनुरुप नभएको मान्छन् ।

जनकपुरमा करिब चार दशकदेखि क्रियाशील वरिष्ठ अधिवक्ता विनोदकुमार शर्माका अनुसार २०४७ साल भन्दा अघि यस किसिमको नवरात्रमा देवी पुजा गर्ने चलन थिएन । नवरात्रमा देवी मन्दिरहरूमा सामान्य पुजाआजा भए पनि पण्डाल खडा गरेर पुजालाई व्यावसायीकरण गरिएको थिएन ।  

यसरी हेर्दा जनकपुरमा नवरात्रका बखत राजदेवीमा विशेष पुजाआजा हुने गरे पनि अन्यत्र खासै भव्यता नहुने बुझ्न सकिन्छ । 

चर्चित साहित्यकार तथा संस्कृतिकर्मी डा. राजेन्द्र विमल भन्छन्, “परापूर्वकालमा राजा जनकले कूलदेवीकारूपमा राजदेवीको पूजा गर्न थाले पछि देवी पूजनको परम्परालाई आम मानिसले स्वीकृति दिएको मान्यता छ । तथापि, अन्य देवी पुजनमा त्यो स्वीकृति थिएन । यो एतिहासिक तथ्य मानिन्छ ।”

अहिले आएर देवी पूजाका नाममा विकृति फैलिएको उनको भनाई छ । खासगरी पण्डालको व्यावसायीकरण, देवी भजनका नाममा अनेक गीत, अश्लील भोजपुरी गीतहरूको वर्चस्व र लाखौँको चन्दा प्रचलनले जनकपुरको सांस्कृतिक रौनक व्यवसायमा विलुप्त गएको छ ।

डा. विमलका अनुसार अहिले देवी पूजालाई पनि ग्ल्यामरस र व्यावसायिक बनाउँदै लगिएको छ । जनकपुरमा अस्तित्वमा नरहेका देवीहरूको प्रादूर्भाव निक्कै पछि गएर भएको मानिन्छ । यस्तैमा देवी चोकको देवी मन्दिर, क्याम्पस नजिकको पिडरियाथान, अरगज्जा पोखरी नजिकको सानो मन्दिर र गोपाल धर्मशाला नजिकको मन्दिरहरू धेरै पछि मात्रै विभिन्न कारणले अस्तित्वमा आएका हुन् । 

यस दृष्टिकोणबाट हेर्दा जनकपुरमा परापूर्वकालदेखि अस्तित्वमा रहेको देवी मन्दिर भनेको राम मन्दिर परिसरमा रहेको राजदेवी मन्दिर मात्रै हो । र यसैलाई युगौँदेखि पूजा गर्दै आएको जनकपुरका स्थानीयहरूको भनाई छ ।

वरिष्ठ अधिवक्ता शर्मा भन्छन्, “जनकपुरको राजदेवीलगायतका पीठहरूमा पुजाआजा गरेर दर्शन गर्ने तथा बली दिने पुरानै चलन हो । आजजस्तो पण्डाल व्यवसायीकरण त्यतिबेला थिएन । अहिले त पण्डाल व्यवसायका नाममा सांस्कृतिक विचलन मौलाएको छ, जनकपुरमा ! यसलाई विकृति फैलिएको भन्नसकिन्छ ।”

डा. विमलका अनुसार केही वर्ष अगाडिसम्म पनि दूर्गा पूजा जुनसुकै समूदायको व्यक्ति भए पनि आस्था एवम् निष्ठाकासाथ गर्दथे । जनकपुरको आफ्नै धार्मिक र सांस्कृतिक परम्परा, मूल्य मान्यता थियो । सांस्कृतिकरुपमा जनकपुरको उचाई सगरमाथाभन्दा कम थिएन । तर आज त्यो अनुभूत नहुने उनको भनाई छ । 

डा. राजेन्द्र विमल भन्छन्, “आज माइगे्रटेट पपुलेशनको बृद्धिले जनकपुरको सांस्कृतिक परम्परा, मूल्य मान्यता हराउँदै गएको छ । जस्तो, ‘गणपति बप्पा मोरया’ जनकपुरको चलन होइन । यो त भारतमा पनि महाराष्ट्रको चलन हो । तर जनकपुरमा यस्तो परम्परा सुरु गरेर सबैलाई सोच्न बाध्य बनाइदिएको छ !”

लगभग यस्तै अभिव्यक्ति वरिष्ठ अधिवक्ता विनोदकुमार शर्माको पनि रहेको छ । उनी पनि जनकपुरको पुरानो सांस्कृतिक परम्परा र अस्तित्व हराउँदै गएको बताउँछन् । उनका अनुसार पुरानो जनकपुर अहिले जनकपुरमा देखिँदैन । पुरानो जनकपुर त खोजेरै पनि पाइँदैन । 

यो विकृतिले जनकपुरको सांस्कृतिक मूल्य मान्यताको रक्षा गर्ने देखिँदैन । आज जनकपुरमा जुन संस्कृति देखिँदै आएको छ, त्यो आयातित संस्कृति भएको वरिष्ठ अधिवक्ता शर्माको तर्क छ । 

डा. राजेन्द्र विमल भन्छन्, “आज समाजमा अर्को विवेकानन्दको खाँचो छ । जसले धर्म, परम्परा, जीवन मूल्यको रक्षार्थ काम गर्नेछ । त्यो सोचले मात्रै जनकपुरको धर्म, परम्परा र संस्कृतिलाई पुनस्र्थापित गर्न सकिने छ ।”  

सामान्यतया हेर्ने हो भने मधेशमा दुर्गाको मूर्ति बनाएर पुजा गर्ने र पूजा सकिए पछि मूर्ति नदीमा लगेर सेलाउने प्रचलन रहँदै आएको हो । तर अहिले सानासाना मन्दिरमा पनि पण्डाल लगाएर मूर्तिको पूजा गर्ने प्रचलनले पैसाकै चलखेल हुने गरेको स्थानीयहरू बताउँछन् । 

विनोद शर्माका अनुसार भगवतीको मूर्ति पुजन गरिने चलन पहिले थिएन् । भगवतीको पिण्ड वा ढिस्कोको पुजा गर्ने चलन विद्यमान थियो । यस अर्थमा भगवतीको पुजन भनेको प्रकृत्तिको पुजन नै मानिन्छ । 
वरिष्ठ अभिवक्ता विनोद शर्मा भन्छन, “मैले देखेको जनकपुर आज छैन । वास्तवमा त्यसबेला थियो, सांस्कृतिक जनकपुर । माता सीताको जनकपुर । आज त्यो जनकपुर हराउँदै गएको छ । यो सबैले बुझ्नु पर्ने विषय भएको छ । 

राजेश खनाल

प्रतिकृया दिनुहोस
ad