भेनेजुएलामा सानैदेखि संकटको सामना गर्न सिकाइन्छ 

भेनेजुएलामा सानैदेखि संकटको सामना गर्न सिकाइन्छ 

एजेन्सी । मार्चको सुरुवातमा जब भेनेजुएलाको विद्युतीय ग्रिड पतन हुन पुगेपछि एक साता भन्दा बढी समय देशभर अन्धकार छायो । यसरी पहिले नै मुश्कीलले गुजारा गरिरहेका जनतालाई विजुली नहुनुले झन बढी समस्यामा पार्यो । यस्तोमा खाना र पानीसँगै स्वास्थ्य सेवाको अभाव, चरम महङ्गाइ, र बढ्दो अपराध त्यहाँका नागरिकहरुको दैनिकी बन्दै गइरहेको छ । भेनेजुएला सरकारले यस्तो संकट नकार्दै आइरहेपनि २०१८ फेब्रुअरीमा प्रकाशित एक अनुसन्धानमा देशका ८७ प्रतिशत जनता गरिबीमा बाँचिरहेको पाइएको हो ।

यसैबीच गत हप्ता पनि जारी अन्धकारमय वातावरणमा रोजा लरोरीको मनमा एउटै कुरा आइरह्यो– ‘आफूले सक्दो व्यवस्था गरेको थोरै खाना पनि विजुली नहुँदा अब केही समयमै खराब हुनेछ त्यसपछि के गर्ने ?’ यसरी अर्को देश भाग्ने उनको योजनामा धेरै ढिलाइ भइरहँदा उनलाई छोराछोरीको पढाइ छुट्ने डर छ । तर रोजा र उनको परिवारले यसअघि पनि देशको संकटजन्य अवस्थाको सामना गरिसकेका छन् । 

यसरी अन्धकारमय समयमा आफूलाई ऊर्जा र चाहाना विहिन महसुस गर्दैगर्दा रोजाले आफूलाई खाटमा पल्टिरहेको पाइन् । त्यसैबेला उनकी १० वर्षीया छोरी सोफियाले सोधिन्, ‘हामी आज के गर्दैछौँ ममी ? के हामी अब खेल्दैछौँ ? मलाई भोक लागिरहेको छ ।’ यसरी रोजाले भविष्यको चिन्ता गरिरहँदा उनकी छोरीले उनलाई पुनः वर्तमान अवस्थामा फर्किन बाध्य बनाइन् । ४९ वर्षीया रोजा भन्छिन्, ‘उसका लागि बत्ती बिना पनि जीवन चलिरहन्छ ।’ उनका अर्का छोरा निकोलस १५ वर्षका भए ।

यस्तोमा आफ्नी छोरीलाई उसको सुखद बाल्यकाल दिलाउनका लागि भएपनि रोजा खाटबाट उठिन् । देश जतिसुकै संकटमा डुबेलपनि आफ्ना बच्चाहरुका लागि जीउन नछाड्ने उनले आफैसँग दृढ संकल्प गरिन् । सोफीयाको सुखद बाल्यकाल भन्नाले उसलाई समयसमयमा घरमा पिज्जा बनाइदिनु , आइसक्रिम खुवाउनु, पैसा भएसम्म र उपलब्ध भएसम्मका पोषणयुक्त खानेकुरा दिनु हो । तर यसका साथै संकटको घडीमा आफ्नी छोरीलाई जीवनबारे महत्वपूर्ण पाठ सिकाउनु पनि उनको बाल्यकालको अभिन्न पक्ष रहेको रोजाले बताइन् । उनी भन्छिन्, ‘आफ्ना बालबालिकालाई उचित मूल्य मान्यता सिकाउन यही समय सबैभन्दा उपयुक्त छ ।’ 

यो घरमा जब हामीसँग केही हुन्छ, हामी अरुसँग पनि बाड्छौँ 

यसरी प्रत्येक दिन मुख्य भोजन सेवन गर्नु दुर्लभ बन्दै गएको देशमा साधारण वस्तु फेला पार्नु पनि ठूलो उपलब्धि र लक्जरी बनिसकेको छ । त्यसैकारण उनले आफूसँग भएका खानेकुरा लगायत सबै वस्तु आफूले सकेजति अरुसँग बाँड्ने गरेको बताइन् । उनी भन्छिन्, ‘कहिलेकाहिँ मसँग तीन किलो चिनी भयो भने म त्यसबाट केही मेरा छिमेकीहरुलाई पनि दिन्छु । यसरी अरुले पनि हामीलाई उनीहरुसँग भएका बेला मद्दत गर्ने गर्छन् । यसमार्फत कम्तिमा पनि मेरा छोराछोरीले यो कुरा थाहा पाइसकेका छन् कि हामीसँग केही (खान लगायत उपभोग्य वस्तु ) हुँदा हामी अरुसँग बाँड्छौँ र नभएका समयमा पनि कहिँ न कहिँबाट आउनेछ ।’ 

फिलोल्फियास्थित बाल अस्पतालका प्रोफेसर डाक्टर केन गिन्सबर्ग भन्छन्, ‘भेनेजुएलामा एउटी आमाले बाध्यतापूर्वक आफ्ना बच्चालाई सिकाउनु परिरहेको पाठ धार्मिक उपदेश जस्तो हुँदैन । त्यहाँका बच्चालाई जब हामीसँग धेरै हुन्छ हामी अरुलाई दिन्छौँ र हामीलाई आवश्यक पर्दा पनि हामीले लाज नमानि अरुबाट लिनुपर्छ भन्ने सिकाइएको हुन्छ ।’ यसरी बालबालिकाहरुलाई दिन सिकाउँदा उनीहरुले आफ्नो सानो प्रयासले पनि अरुको जीवनमा ठूलो बदलाव ल्याउन सक्छ भन्ने थाहा पाउँछन् र  प्रत्येक मानिसले जीवनको कुनै न कुनै क्षणमा अरुबाट लिनैपर्ने हुन्छ भन्ने पनि सिक्ने गिन्सवर्ग बताउँछन् । उनका अनुसार यहि प्रवृत्तिले मानिसलाई अर्को मानिसतर्फ ‘मलाई एउटा सहयोगको हात चाहियो’ भन्न सहज बनाउनेछ । 

मानव सम्बन्धको शक्ति

जीवनको सुरुवातदेखि नै बालबालिका आफ्ना आमाबाबुसँग भावनात्मक रुपमा जोडिएका हुन्छन् , अमेरिकन एकेडेमी अफ पेडियाट्रिक कमिटिकी अध्यक्ष डाक्टर आर्थर लेभिनले व्याख्या गरे । उनका अनुसार बत्ती नहुँदा अभिभावकहरु आफ्ना परिवारका आवश्यकता पूरा गर्न नसकेकामा निराश हुने गरेपनि बालबालिकाहरु भने, त्यही समय आफ्ना बाबुआमासँग बिताउन पाएकामा नै सन्तुष्ट र खुसी भइरहेका हुन्छन् । ‘तर संकटको घडीमा अभिभावक ठूलो पीडामा हुँदा अवस्था नबुझेपनि यसको प्रत्यक्ष असर बालबालिकामा परिरहेकौ हुन्छ’ ,उनले भने ।

गिन्सबर्गका अनुसार सोफीयाले आफ्नी आमासँग आज खेल्दैछौँ भनि प्रश्न गर्नुको अर्थ उसले असाधारण अवस्थालाई सम्भव भएसम्म सामान्यमा बदल्ने प्रयास गर्नु हो । तर यसको मतलब फेरि अभिभावकले सधैँ सबै ठीक छ जस्तै व्यवहार गरिरहनुपर्छ भन्ने चाहिँ होइन । गिन्सवर्ग भन्छन्, ‘अभिभावकले केबल उनीहरुका सामु आफूले परिवारको सक्दो ख्याल राख्ने प्रयास गरिरहेको छु भन्ने आभास गराउनुपर्छ र हामी यसलाई पार गरेरै छाड्नेछौँ भन्ने व्यक्त गर्न सक्नुपर्छ ।’

जब अभिभावक दुःखी हुन्छन्, बालबालिका पनि दुःखी हुन्छन् तर उनीहरुलाई किन भनेर थाहा हुँदैन 

आर्थरका अनुसार आमा दुःखी भएको कुरा बालबालिकालाई नभनिकनै थाहा भइसकेको हुन्छ । उनी भन्छन्, ‘धेरै अभिभावक आफ्ना छोराछोरीका अगाडि उनीहरुलाई निराश पार्ने किसिमका कठिन विषयबारे कुरा गर्न नचाहेको बताउने गर्छन् । तर अभिभावक दुःखी भइरहँदा बालबालिका पनि त्यसै समय उदास भइसकेका हुन्छन् । यसमा एक मात्र भिन्नता भनेको उनीहरुलाई हामी किन निराश छौँ भन्ने थाहा हुँदैन ।’ यस्तोमा लेभिनले सबै बाबुआमालाई आफ्ना छोराछोरीसँग परिवारको स्थितिबारे उनीहरुको उमेर अनुसारको स्तरमा कुरा गर्न प्रोत्साहन गरेका छन् । बालबालिकोको प्रश्नको जटिलतालाई हेरेर अभिभावकले आफूले सक्दो जवाफ दिने गर्नुपर्ने लेभिनको भनाइ छ । किनकी यसबारे बालबालिकालाई आफैँ सोच्न छाडियो भने उनीहरुले वास्तविकता भन्दा भयानक अवस्था कल्पना गर्न सक्ने लेभिन बताउँछन् ।

यसरी जनसङ्ख्या गम्भीर कूपोषणको शिकार बन्दै जाँदा यता अस्पतालमा बिजुली नहुँदा मृत्युका घटना बढ्दै जानेछन् भने रोजा जस्ता हजारौँ आमाहरुले आफ्ना छोराछोरीलाई सखद बाल्यकाल प्रदान गर्न नियमित लडाईँ गरिरहनु पर्ने हुन्छ । आफूसँग अन्य कुनै विकल्प नभएको बताउँदै उनले भनिन्, ‘म मेरी छोरीलाई भनने गर्दछु । त्यो समयको कथा सुनाउँछु जसबेला कडा मिहिनेत गर्नुले हामीलाई राम्रो जािगर, पर्याप्त खाना र घर दिलाउन सक्थ्यो । यसरी म उसलाई सधैँ अब चाँडै सबै पहिलेको अवस्थामा फर्किन्छ भन्ने गर्दछु ।’ सीएनएनबाट 
 

प्रतिकृया दिनुहोस
ad