site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तरुण दल अध्यक्ष र महासचिवबीच वाकयुद्ध, महासचिवले गरे अध्यक्षको निर्णय खारेज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको कार्यकाल सकिँदै गर्दा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच ‘वाकयुद्ध’ चलेको छ । मातृ पार्टी कांग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियानलाई लिएर सुरु भएको मनमुटाव एकअर्काविरुद्ध चेतावनीपूर्ण भाषामा प्रयोगसम्म पुगेको छ ।
जागरण अभियानको प्रारम्भकै दिन मंगलबार महासचिव शाहीले संगठनको कारवाहीमा परेका सिन्धुपाल्चोकका तत्कालीन उपाध्यक्ष सगुन श्रेष्ठको कारवाही फुकुवा र सप्तरीमा आफूनिकटलाई अध्यक्षको जिम्मेवारी दिएपछि अध्यक्ष बस्नेत आक्रोशित भएका छन् । 
महासचिव शाही मनोमानी ढंगले समानान्तर रुपमा चल्न थालेको भन्दै अध्यक्ष बस्नेतले बुधबार दिउँसो विज्ञप्ति जारी गरेर पदीय जिम्मेवारीका बारेमा उनलाई सचेत गराएका थिए ।  
उनले शाहीलाई विज्ञप्तिमार्फत् भनेका छन्, ‘पदीय जिम्मेवारीको परिधिमा रहन र संगठनको हित विपरीत अशिष्ट व्यवहार र क्रियाकलाप नगर्न सचेत गराइन्छ ।’ अध्यक्ष बस्नेतले शाहीले पदीय दुरुपयोग गरेको ठहर गर्दै उनले गरेका निर्णयहरु पनि अस्वीकृत गरेका छन् । 
अध्यक्ष बस्नेतले वक्तव्य जारी गरेको झण्डै तीन घण्टापछि महासचिव शाहीले पनि विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञप्तिमार्फत् बस्नेतले एकलौटी रुपमा गरेका सम्पूर्ण निर्णयहरु बुधबारबाट खारेज गरिएको दाबी गरेका छन् । 
“नेपाल तरुण दलका केन्द्रीय अध्यक्षले एकलौटी विधान विपरीत गरेका सम्पूर्ण निर्णयहरु आजैका मितिदेखि खारेज गरिएको छ,” महासचिव शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “साथै तरुण अध्यक्षको हवाला दिएर अबदेखि कुनै पनि अवैधानिक निर्णय अधिकार नभएको समेत प्रष्ट पार्न चाहन्छौं ।”
कार्यकाल सकिन दुई महिना पाँच दिन बाँकी रहेका तरुण दलका अध्यक्ष बस्नेत कांग्रेस सभापति शेरबहादुर देउवानिकट र महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १५:४७
प्रतिक्रिया दिनुहोस्