site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शून्य समयमा सांसदको प्रश्न– सरकार ! बजार भाउ अकासियो, रोक्ने योजना के छ ?

काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले मूल्य वृद्धिदेखि ‘प्यान कार्ड’ लागू गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा सांसद विमला परियारले दशैं नजिकिँदै जाँदा मूल्यवृद्धि भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । यसरी मूल्यवृद्धि हुँदा कम आय भएकाहरु मारमा परेको भन्दै उनले भनिन्, “महँगी नियन्त्रण गर्ने सरकारको योजना के छ ? ”

त्यस्तै अर्की सांसद मायादेवी न्यौपानेले चाडबाड नजिकिँदै जाँदा दूधको मूल्यवृद्धि हुन थालेको भन्दै बजार अनुगमन गर्न माग गरिन् । उनले दूधमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि भएको भन्दै मूल्यवृद्धिको विरोध गर्दै बढेको मूल्य फिर्ता लिन पनि माग  गरिन् । उनले गरिबहरुका लागि निर्वाचनमा मत माग्न गएजस्तै जनताको घरघरमा गएर विशेष कार्ड बाँड्न पनि सरकारको ध्यानाकर्षण गराइन् । “निम्न आय भएकाहरुका लागि सुपथ मूल्य पसल राखियोस् । बजार अनुगमन गरियोस् । गरिबका लागि विशेष कार्ड घरघर गएर वितरण गरियोस् ,” उनले भनिन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्का सांसद भरत शाहले भारी बोक्ने, खच्चरवाला र श्रमिकलाई प्यान कार्डको व्यवस्था गरिएकोमा आपत्ति जनाए । प्यान कार्ड लिएपछि प्रत्येक वर्ष कर कार्यालयमा रिपोर्ट बुझाउनुपर्ने र नबुझाए ३ हजार जरिवाना हुने भन्दै ती समुदायलाई प्यान कार्ड अनिवार्य नगर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद मिनाक्षी झाले महिलामाथि कहिले एसिड प्रहार, कहिले बलात्कारपछि हत्या, कहिले बलात्कारका घटना भएको भन्दै पछिल्ला घटनाबारे गृहमन्त्रीसँग जवाफ माग गरिन् । “दुई तिहाईको सरकार के हेरेर बसेको छ ? गृहमन्त्रीसँग जवाफ माग गर्दछु,” उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १५:२०
प्रतिक्रिया दिनुहोस्