काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गरी स्वदेश फर्केका छन् । आज थाई एयरवेजको जहाजबाट प्रधानमन्त्रीसहितको टोली स्वदेश फर्किएको हो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै ठूलो संख्यामा नेकपाका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सञ्चारकमीी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलको अति विशिष्ट कक्षमा भेला भएका सञ्चारकर्मीलाई प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिएनन् । उनको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्ने ओलीले यतिमात्रै भने– मेरो स्वास्थ्य अवस्था हेर्दै थाहा भइहाल्यो होला नि !
उनी अघिल्लो शनिबार फलोअप उपचारका लागि सिंगापुर गएका हुन् । उनको स्वास्थ्य अवस्थाका बारेमा सरकारी तहबाट कुनै औपचारिक जानकारी अहिलेसम्म गराइएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले भने बाह्रखरीसँगको कुराकानीमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक अवस्थामा रहेको बताएका थिए । उनको भनाइ थियो, ‘‘उहाँको नियमित परीक्षण हो ।”
प्रधानमन्त्री लामो समयदेखि मृगौलाको बिरामी हुन् । कामको धपेडीको कारण देखाउँदै उनका निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरेपछि उनी त्यसतर्फ गएका थिए ।
प्रधानमन्त्री राति १–२ बजेसम्म विभिन्न काममा व्यस्त हुने र बिहान पनि सबेरै उठ्ने भएकोले धपेडीका कारण उनलाई समस्या पर्न सक्ने चिकित्सक टोलीले यसअघि सुझाव दिएको थियो ।
सिंगापुर जानुभन्दा एक साताअघि उनको छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । रगत, दिसापिसाब, पेटको अल्ट्रासाउण्ड, बायोप्सीलगायतका परीक्षण सो अवसरमा गरिएको बताइएको थियो ।