site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली पत्रकारिताले विश्वसनीयता गुमाएकै हो ?
SkywellSkywell

अमेरिकाका तेस्रा राष्ट्रपति थोमस जेफरसनले भनेका छन्  "मलाई पत्रपत्रिकाबिनाको सरकार र सरकारबिनाको पत्रपत्रिकामध्ये एक छान्‍न परेमा म निसंकोच सरकारबिनाको पत्रपत्रिका रोज्छु ।" उनको यस भनाइबाट प्रष्ट हुन्छ पत्रकारिताको महत्त्‍व । अहिले यसको महत्त्व र दुरुपयोग दुवै बढ्‍दो छ । फलस्वरूप, पत्रकारिता र पत्रकारले समाजमा विश्‍वास गुमाउँदै गएको भन्दै टिप्पणी हुन थालेको छ । पत्रकारितालाई मागी खाने भाँडो बनाउँदा यसको ओज घटेको भन्ने आरोप लाग्‍न थालेका छन् । पत्रकारिता पेसाप्रतिको विश्‍वास घट्दै गएको भन्दै प्रचार भइरहेको छ । 

पत्रकारितालाई समाजको ऐना भन्‍ने गरिन्छ ।  अहिले त्यो ऐना चर्किएको छ । कारण, हामी आफैँले त्यसमा ढुंगा बर्साउँदै छौँ । पत्रकारिताको साख कसरी जोगाउने भन्‍ने चुनौती नेपालमा मात्र होइन विश्वकै टाउको दुखाइको विषय बनिरहेको छ । न्यु नाइट फाउन्डेसन एन्ड ग्यालप पोलले सन् २०१८ मा सार्वजनिक गरेको तथ्यांकमा पत्रकारिताप्रति जनविश्वास गुम्दै गएको निष्कर्ष निकालिएको छ । उक्त सर्वेक्षणले अमेरिकी मिडियाले दिने समाचार सामग्री पूर्वाग्रही हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । त्यस्तै सनसनी बनाउने नाममा गलत समाचार आउने गरेकोसमेत उक्त सर्वेक्षणको निष्कर्षमा उल्लेख छ ।

सूचना प्रविधिको विकाससँगै सबैभन्दा धेरै फस्टाएको व्यवसाय (पेसा) हो -  पत्रकारिता । यससँगै यो समय पत्रकारिताका लागि सम्भवत: धेरै 'बदनाम' भएको पेसा पनि हो । चाहे डोनाल्ड ट्रम्पले भन्‍ने 'फेक न्यूज' को प्रसंग होस् वा नेपालमै भएका विभिन्‍न घटनाक्रम । अहिले कसैलाई पत्रकार भनेर परिचय दिनुपर्‍यो भने नाक खुम्च्याउनु पर्ने स्थति छ । प्राय : अहिले आफूले काम गर्ने सञ्‍चार माध्यमको नाम भनेर नसक्‍दै प्रतिप्रश्‍न आउँछ- कुन पार्टीको, को नेताको, कुन व्यापारीको, कुन एनजीओ/आईएनजीको अथवा केका लागि खोलेको हो आदि ।  

KFC Island Ad
NIC Asia

राज्यको चौथो अंग भनिएको पत्रकारिता यसरी बदनाम हुनुमा हामी आफैँ पनि जिम्मेवार छौँ । कारण- हामीले पत्रकारिताका मापदण्डलाई पछ्याउन र पालना गर्न सकेनौ । पत्रकार आचारसंहितलाई 'अचार' बनायौं । बिनायोग्यता पत्रकार बन्‍ने बाटो खोल्यौँ । कतै जागिर नपाएपछि पत्रकार बन्यौ । कसैको सेखी झार्न, कसैलाई बदनाम गराउन हाम्रो पत्रकारितालाई अस्त्र बनायौँ ।

पत्रकारिता कति सस्तो बनायौं भने यसका परिभाषाको रुप नै फेरियो । यसलाई 'साइड जब' को रुपमा अघि बढायौँ । शिक्षक पत्रकार, नेता पत्रकार, व्यापारी पत्रकार, ठेकेदार पत्रकार, कार्यकर्ता पत्रकार आदि । जसले गर्दा 'पत्रुकार', 'चाटुकार', झोले पत्रकार... आदिको संज्ञा दिन थालियो । हुन त विगतमा पनि 'पीत पत्रकारिता' को अभ्यास  नभएको होइन । तर, त्यो समयको पीत 'पत्रकारिता' र अहिलेको 'पत्रुकारिता'का उद्देश्य र यसले तय गर्ने गन्तव्य बिल्कुल फरक छन् । सन् १८९० को दशकमा जोसेफ पुलित्‍जरको पत्रिका 'द न्यु योर्क वर्ल्ड'  र विलियम र्‍याडोल्फ हर्स्टको पत्रिका 'न्यु योर्क जर्नल' बीच चलेको पत्रिकाको वितरणको प्रतिस्पर्धाको फलस्वरुप पीत पत्रकारिताको विकास भएको थियो । उनीहरुले पत्रिकाको बिक्री बढाउने उद्देश्यले सजिलै ध्यान आकृष्ट गर्ने खालमा समाचारका शीर्षक राख्‍नेलगायतका अभ्यास गरेका थिए । तर, अहिले जानाजान कसैमाथि प्रहार गर्ने किसिमले विकास भइरहेको पत्रकारिताले समाजलाई कता डोर्‍याउँछ भन्‍ने चिन्ता बढ्‍न थालेको छ । 

Royal Enfield Island Ad

नेपालमा पनि विभिन्‍न कारण पछिल्लो समय पत्रकारिता र पत्रकारमाथि प्रश्‍न उठ्‍ने गरेका छन् । जस्तो :

इटरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारलाई दुर्व्यवहार गरेको र पत्रकारलाई नै नाक भाँच्‍नका लागि एक करोड छुट्याएको खबरले निकै चर्चा पायो । यस घटनामा मेयर चौधरीले गल्ती भएको भन्दै आफूले बोलेका शब्द फिर्ता लिने भन्दै विज्ञप्ति जारी गरे । पत्रकार र जनप्रतिनिधिकाबीच वाक्युद्ध चल्यो । जनप्रतिनिधको पक्षमा जनमत देखियो र पत्रकारलाई दोषी करार गर्ने काम गरियो । मेयर चौधरीको महिलाप्रतिको अभिव्यक्ति प्रकरणले चौधरी नै दोषी रहेछन्  भन्दै पहिले पत्रकारलार्इ सराप्नेहरू चुक्चुकाएका पनि देखिन्थ्यो ।

उक्त घटना सेलाउन नपाउँदै २६ जेठमा उदयपुरको त्रियुगा नगरपालिकाले नगरपालिकाका 'सकारात्मक समाचारमात्र सम्प्रेषण गर्ने'  नगरपालिकामा सक्रिय ३० पत्रकारलाई ल्यापटप वितरण गरियो । यस घटनाको पनि जनस्तरबाट चर्को विरोध र आलोचना भए । हुन त पत्रकारलाई यसरी सामग्री तथा नगद हस्तान्तरण गरेको यो पहिलो घटना भने होइन । यसअघि पनि विभिन्‍न भ्रमण, कार्यक्रम र सहयोगका नाममा पत्रकारलाई नगद तथा जिन्सी सामग्री हस्तान्तरण गर्ने गरिएको छ । 

दुई करोडभन्दा बढी ठगी र तीन महिलालाई बलात्कार गरेको आरोपमा १५ चैतमा तुलसीपुर उपमहानगरपालिका-११ उरहरी बलेगनार घर भई हाल घोराही उपमहानगरपालिका १५ मा बस्‍ने ४० वर्षीय जलजला खबर डटकमका पत्रकार महेश भनिने भुवन धिताललाई दाङ प्रहरीले पक्राउ गर्‍यो । उनले दिएको बयानकै आधारमा अर्का पत्रकार सागर भनिने कुलराज ओली पक्राउ परे । 

नेपाल पत्रकार महासंघ कञ्‍चनपुर शाखाले ०७५ मंसिरमा स्थानीय तह र पत्रकारको माछा-पानीको सम्बन्ध हुने भन्दै ५० हजार माग्‍न पत्र पठाएको घटना पनि निकै आलोचित भएको थियो ।

यसअघि ०७४ अषाढ २८ गते इमेज टेलिभिजनका ‘सिनियर सब न्युज इडिटर’ रहेका सुरज आचार्यले समाचारको विषयमा व्यवसायीसँग पैसा मागेको भिडियो डीसी नेपाल डटकमले सार्वजनिक गरेको थियो । नेपाल पत्रकार महासंघका तत्कालीन केन्द्रीय सदस्यसमेत रहेका  आचार्यले आफ्नो पेसागत, व्यक्तिगत र दलीय झुकाव समेतको परिचय दिएर आफूलाई सम्पादकले नै दबाब दिएको बताउँदै पैसाको बार्गेनिङ गरिरहेको भिडियो सार्वजनिक भएको थियो । उक्त प्रकरणमा नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष तथा अहिले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टकोसमेत नाम मुछिएको थियो । 

माथि उल्लेखित प्रतिनिधि र सञ्‍चार माध्यममा आएका केही घटनाक्रम र तिनले समाजमा पारेको असरका कारण बेलाबेला पत्रकारितामाथि प्रश्‍न उठ्‍ने गरेको छ । यस्ता घटनार हुनुमा पत्रकारको परिभाषा नै स्पष्ट नभएको सञ्‍चारविज्ञहरुले बताएका छन् । प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता  २०७३ अनुसार ‘पत्रकार भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आबद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवाददाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यंग्यचित्रकार, रेखाचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादकजस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ’ भन्‍ने उल्लेख छ । पत्रकार को हुने र यसको योग्ताका मानक के हुने भन्‍ने स्पष्ट हुनुपर्नेमा जोड दिन थालिएको छ । 

सरकारले अहिले ल्याएको मिडिया काउन्सिल विधेयक पनि पत्रकारलाई आधार तहबाट सच्याउने र पत्रकारितालाई जरादेखि नै स्वच्छ र स्वस्थ बनाउनेभन्दा पनि आफूविरुद्ध बोल्‍नेको घाँटी न्याक्‍ने नियत राखेर  ल्याइएकोले यसको विरोध भइरहेको छ । सरकारले अहिले पनि मिडिया काउन्सिल विधेयक फिर्ता लिएको छैन । यसले भोलिका दिन पत्रकार तथा सञ्‍चारमाध्यमलाई तर्साउने काम गर्नेछ भने सञ्‍चारमाध्यमले जनउत्तरदायी भएर काम गर्ने सक्नेछैनन् । जसका कारण पत्रकारिताप्रतिको विश्वास थप स्खलित हुनेछ । 

'सरकारले विधेयकको पक्षमा वातावरण बनाउन विश्वसनीयता गुम्यो भन्‍ने भ्रम फैलाउँदैछ'

युवराज घिमिरे- सम्पादक, देशसञ्चार डटकम
पत्रकारितामा स्खलन भन्‍ने कुरा केही रुपमा यथार्थमा पनि छ र कहिलेकाहीँ सरकारमा र शक्तिमा भएका व्यक्तिले आफू प्रतिकूल अथवा आफ्नो बारेमा नकारात्मक हुँदा उनीहरुले विश्वास गुमेको रूपमा प्रस्तुत गर्ने गर्छन् । अधिकांश मुलुकमा सत्ता जहिले पनि स्वतन्त्रताविरोधी हुन्छ । स्वतन्त्रता राजनीतिमा आफ्नो छवि उकास्न र प्रतिपक्षमा हुँदाखेरी चाहिन्छ । जब उनीहरु सत्तामा जान्छन्, त्यतिखेर स्वतन्त्रता उनीहरुका लागि तीतो बन्न जान्छ । संसारका सबै ठाउँमा मिडियाले पाउने स्वतन्त्रताको बारेमा चाहे अमेरिकाको संविधान लेखन प्रक्रियाको बारेमा होस् अथवा भारतमा वा नेपालमा होस्, संविधान लेखनका बेला स्वतन्त्रता वाञ्छनीय हुन्छ कि हुँदैन भन्‍ने सधैँ बहसमा आएको छ ।  

सत्ता र शक्तिको प्रयोगमा कुनैरूपमा स्वतन्त्रतालाई अंकुश लगाउने, त्यसको दुरुपयोगबाट मुक्त हुन चेतना दिने हुन्छ । त्यसो हुँदा सबै किसिमका आशंका हुँदाहुँदै पनि सरकारले मिडियाको स्वतन्त्रतामा अंकुश लगाउनु हुँदैन भन्‍ने मान्यताबाट नै प्रजातान्त्रिक मुलुकहरुका संविधान बन्‍ने गर्छन् । स्वतन्त्रतामा अंकुश लगाउँदा स्वतन्त्र न्यायापालिकाले त्यसको संरक्षण गर्छ भन्‍ने मान्यता हो । मिडियाले कसैको मानहानी गर्‍यो भने प्रचलित कानुनबाटै उनीहरुलाई कारबाही गर्न सकिन्छ । बेलायत, अमेरिका, युरोपतिर त गलत आरोप लगाए अथवा मानहानी गरेबापत धनीधनी सञ्‍चार माध्यमहरू कारबाहीमा परेका छन् । कति त बन्दसमेत भएका छन् । 

यता त के छ भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा विशेष गरेर सबै किसिमका अधिकार केन्द्रीकृत गर्ने प्रवृत्ति बढेको छ जुन प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक नेताका लक्षण होइनन् । त्यसपछि मिडिया काउन्सिल गठन गर्ने । जसलाई आफ्नो खल्तीको संस्था बनाउने र त्यसलाई लगाएर अनि मिडियालाई मानहानि लगाउने । हाम्रोमा के गर्न खोजिँदै छ भने सत्तारुढ पार्टी र सरकारको तजबिजी अधिकार र व्यवस्थापनमा चल्‍ने एउटा संयन्त्रको परिकल्पना गरियो । त्यसको लागि वातावरण बनाउन नेपाली पत्रकारिता छाडा भयो भन्‍ने खालको सन्देश प्रवाह गर्न सरकार लागिरहेको छ । 

अहिले नेपालको मिडियामा पीत पत्रकारिता छ, ब्ल्याकमेल पत्रकारिता छ । नभएको होइन । तर, सबभन्दा ठूलो समस्या त के भयो भने पत्रकार को भन्‍ने हामीले निर्धारण गरेका छैनौ । त्यो 'डिफाइन' गर्न आवश्यक छ । मानहानिका कानुनहरू र त्यसको न्याय दिने प्रक्रिया र संयन्त्र तोक्न आवश्यक छ । त्यो सरकारको तजबिजबाट होइन, मिडिया काउन्सिलजस्तोबाट होइन । जस्तो मानहानि विधेयक, अथवा प्रेस काउन्सिललाई कति अधिकार दिने, काउन्सिलले दिएको निर्णयबाट चित्त बुझेन भने पीडित व्यक्ति कहाँ जाने ? यी कुरा नभर्इकन मिडिया काउन्सिल आफैँले कुनै मिडियाले कसैको मानहानि गर्‍यो भन्‍ने अनि सम्पादक तथा रिपोर्टरलाई १० लाख जरीवाना गर्ने । यो चाहिँ एकदम आपत्तिजनक नियत भएको देखिन्छ । त्यसलाई पुष्टि गर्न मिडियाको चरित्रमा, स्तरमा र विश्वसनीयतामा स्खलन भएको प्रचार सत्ताले गरिरहेको छ । 

मैले भन्‍न खोजेको के हो भने मिडिया हिजोभन्दा आज नराम्रो छैन । हिजो राजाको शासनकालमा यही कुरालाई ठीक गर्छु भनेर ओलीलगायतले आन्दोलन गर्‍या हो नि त । अहिले सत्तामा आएपछि सञ्‍चार माध्यमले राष्ट्रपतिलाई, प्रधानमन्त्रीलाई किन 'तिमी' भन्छ भनेर प्रश्‍न गर्ने ? अहिले अपमान भएको भनेर यो विधेयक ल्याउने र मिडियाको चरित्र र विश्‍वसनीयता गुमेको भ्रम छर्ने ? यो राम्रो होइन । 

'पत्रकारलाई कानुन लाग्दैन भन्‍ने भ्रमबाट मुक्त हुन आवश्यक'

जवाफदेही  पत्रकारिताको धर्म हो । प्रविधिले गर्दा केही पूर्वसावधानी अपनाउन आवश्यक छ । तर, प्रविधिको विकासले पत्रकारिता क्षेत्र बिगार्‍यो भन्‍ने विषयले मिडिया काउन्सिल ल्याउन आवश्यक छैन । साइबर ऐन ल्याइयो । त्यो ऐन ल्याएर निसाना कसलाई बनाइयो भन्दा पत्रकारलाई । पहिले त पत्रकारलाई 'साइबर ल' लाग्दैन भन्या'थ्यो नि त । दलसँग आबद्ध कार्यकर्ताले पत्रकारिता गर्ने अनि व्यवसायिक पत्रकारलाई निसाना बनाउने अहिलेको सरकारको प्रयास हो । 

जनताको विश्वसनीयताबिना पत्रकारिता पत्रकारिता रहन सक्दैन । त्यसको छवि, हैसियत र सम्मान राख्नका लागि विश्वसनीयता आवश्यक छ । त्यसको लागि सम्पादकदेखि रिपोर्टरले बुझ्नुपर्ने कुरा के हो भने हामी नागरिकभन्दा माथि कहिले पनि हुन सक्दैनौ । तर, हामीकहाँ के छ भने पत्रकार भनेपछि सर्वेसर्वा ठान्‍ने प्रवृत्ति छ । यस्तो मानसिकताबाट मुक्त हुनुपर्छ । पत्रकार भएपछि कुनै पनि कानुन लाग्दैन भन्‍ने भ्रम पनि छ । गलत गर्दा नागरिकसरह लाग्ने कुनै पनि कानुन हामीमाथि लाग्नसक्छ । यो पेसालाई ब्ल्याकमेल गर्ने, कसैको चरित्र हत्या गर्ने, पार्टीकारिता गर्ने कुरामा प्रयोग गर्नु भएन । यस विषयमा 'सेल्फ रेगुलेटिभ मेकानिज्म' हुनुपर्छ । यसमा सम्पादकदेखि रिपोर्टरसम्म सचेत हुनुपर्छ । 'सेल्फ सेन्सरसिप' आवश्यक छ ।

दण्डको भय वा त्रास तथा आज्ञाकारी बन्दा प्राप्त हुने प्रतिफलको आडमा पत्रकारिता नियमन हुनसक्तैन 

रामकृष्ण रेग्मी , प्राध्यापक, आमसञ्‍चार तथा पत्रकारिता 

पत्रकारिताप्रतिको जनविश्वास किन गुम्दैछ ?

सूचना प्रवाहमा नेपालमा आमसञ्‍चार माध्यमले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण छ । प्रजातन्त्रले अपेक्षा गर्ने योगदान दिने दिशामा आमसञ्‍चार माध्यम सचेत र क्रियाशील छन् । तर आमसञ्‍चार माध्यममा रहेको जनविश्वास पहिलेको तुलनामा क्रमशः स्खलित हुँदैछ । यसका पछाडि माध्यममा प्रकाशित, प्रसारित, पोस्ट गरिएका सामग्रीमा सत्य, तथ्यको कमी र माध्यमले अपनाउने दृष्टिकोण तथा प्रदर्शन गर्ने राजनीतिक वा व्यापारिक झुकाव मूलतः उत्तरदायी छन् । समाचार दिन पहिलो हुने सोखमा वा सनसनीपूर्ण सूचना प्रवाह गर्ने होडबाजीमा माध्यमले पत्रकारिताका नियमअनुसार पालना गर्नुपर्ने आधारलाई किनारामा छोडेको अनुभव हुन्छ । माध्यम गृहहरूले पत्रकारिताको मूल्य, मान्यता र मर्मलाई सुदृढरूपमा अभ्यासमा उतार्न नसक्दा यस्तो परिस्थिति उत्पन्न भएको हो । सूचना प्रविधिको सहज उपलब्धतालाई माध्यमले पत्रकारिताको दृष्टिकोणले प्रयोग गर्न नसक्दा र सूचना, सन्देश, विचार, व्यापार, विज्ञापन, मनोरञ्‍जनलाई ती विधाका अन्तर्यअनुरूप प्रयोग गर्न नसक्दा पनि अप्ठेरो सिर्जना भएको हो ।
 
माध्यमका प्रयोगकर्ता किन माध्यमलाई विश्वास गर्न सक्तैनन् ? 

प्रजातन्त्रमा आमसञ्‍चार माध्यमले प्रवाह गरेको सूचना, विश्लेषण, वर्णन, व्याख्या आदिलाई सबैले उच्च प्राथमिकतामा राख्ने, सम्मान गर्ने र तिनका आधारमा नीति निर्माण, निर्णय  कार्यान्वयन र जनमत सिर्जना गर्ने दिशामा ठोस कार्य हुन्छ नै । नेपाली आमसञ्‍चार माध्यमले पनि समय समयमा यस्तो प्रभाव सिर्जना गरेकै हो । तर, वर्तमान समयमा त्यो स्थिति छैन । सम्पादकीय स्वतन्त्रता, निष्पक्षता र तटस्थतामा कमी आउँदा त्यसको प्रथम अनुभव माध्यम प्रयोगकर्ताले समय समयमा गरेका छन् । खासखास घटना, नीति विश्लेषण, सरकारको समर्थन विरोध तथा दल विशेषका लागि वकालत गर्ने वा प्रचारप्रसार गर्ने सन्दर्भमा केही माध्यमले सुबाटोमा लागिरहन नसक्दा र त्यसका नकारात्मक असर झाङ्गिन जाँदा आम विश्वासमा ह्रास आएको हो । माध्यमले नै पक्ष लिन थालेपछि, अनावश्यक रूपमा कसैको वकालत गर्न थालेपछि र समाचारको नाममा विचार र दृष्टिकोण प्रचार प्रसार हुनथालेपछि जनताले माध्यममाथि कसरी भर गर्ने ? 

विश्वास सिर्जना कसरी गर्ने ? 

आमसञ्‍चार माध्यमले पत्रकारिताका आधारस्तम्भलाई खल्बलिन नदिन, विचलित हुन नदिन र भ्रममा रुमलिन नदिन प्रत्येक दिन, प्रत्येक सूचना प्रवाहमा हेक्का राखेमा गुमेको विश्वास सिर्जना हुनेमा म विश्वस्त छु । समाजमा सूचना प्रवाहका लागि आमसञ्‍चार माध्यमभन्दा अर्को भरपर्दो विकल्प छैन नै, नागरिकलाई सही अर्थमा सुसूचित तुल्याउने अर्को औजार देखिन्न । आमसञ्‍चार माध्यम वास्तवमा त्यस्तो संस्था हो जो सबैको साझा हुन्छ । यसका पाना, श्रव्यदृश्य प्रसारण वा पोस्टमा समाज नै बोलिरहेको हुन्छ । बोल्न नसक्नेहरुले पनि आफ्नो आवाज त्यहाँ घन्केको सुन्न पाउँछन् । समाजमा सीमान्तकृत, वञ्‍चित, अपहेलित, उपेक्षितको पनि माध्यममा विनाभेदभाव उपस्थिति हुन्छ, ती प्रति सम्मान जगाउने सन्देश पनि त्यहीँ हुन्छ । आमसञ्‍चार माध्यम वास्तवमा नै समाजको लागि एउटा खुला चौतारी हो, सशक्त मञ्‍च हो । यही सोचलाई साकार पार्नतिर लाग्दा क्रमशः विश्वास फर्कन्छ । हो, यसका लागि सञ्‍चार माध्यमले आफूभित्र पुनर्जागरण ल्याउनुपर्छ हर प्रकाशनमा, हर प्रसारणमा, हर पोस्टमा । राजनीतिक अस्थिरता वा बृहत् बजारले यसमा समस्या ल्याउन सक्छन् तर उपयुक्त राजनीतिक संचार गर्ने प्रवृत्ति र स्वस्थ प्रतिस्पर्धा गर्न प्रतिबद्ध भएमा ती जोखिम त्यसै वाष्पीकरण भएर जान्छन् । यसका लागि पत्रकारिता गर्न माध्यम गृहहरु कृतसंकल्प हुनुपर्‍यो, पत्रकारितालाई कसैलाई रिझाउन, वा उक्साउन वा उचाल्न वा खसाल्नतिर प्रयोग गर्ने प्रवृत्ति वा पत्रकारिताबाट मात्र मुनाफा वा व्यापार मात्र गर्ने सोच हटाउनु पर्‍यो ।
  
पत्रकारितालाई नियमन कसले गर्ने ? 

स्वतन्त्रताका नाममा पत्रकारिता अराजकतातिर लाग्ला भनेर यसलाई पत्रकारहरुकै माझबाट नियमन गर्ने, प्रेस काउन्सिलका प्रावधानलाई सक्रिय पार्ने, आत्मसंयम अभ्यास गर्ने र पत्रकारका संस्थाबाट स्वीकृत आचारसंहिता पालना गर्ने प्रवृत्ति विश्वभर चलेको छ । दण्डले वा भय र त्रासले वा आज्ञाकारी भएमा प्राप्त हुने प्रतिफलको आडमा पत्रकारिताको नियमन हुन सक्तैन । 

आमसञ्‍चार माध्यमको बाटो कस्तो छ, अभ्यास कसरी भइरहेको छ, कतै बाटो बिराइएको पो छ कि भनेर समय-समयमा अभ्यासीहरुले समयसापेक्ष खुला समीक्षा भने निरन्तर गर्नु नै पर्छ । यसो गर्दा कसै गरी पानी धमिलो हुन गएको रहेछ भने संग्लिने मौका मिल्छ, गल्ती पनि सुध्रिन्छ । यससम्बन्धमा खुला बहसका लागि ढोका कहिल्यै बन्द गर्न हुन्न । आजकल त सहनियमनमा विज्ञहरुले जोड दिन थालेको देखिन्छ जसको अर्थ हो सरोकारवाला सबै मिलेर पत्रकारिताको मर्मको जगेर्ना हुने र समय समयमा देखिने अराजकता रोकिने स्थिति पैदा हुनसक्छ ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २२, २०७६  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro