site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 न्यायालय छोडेर पत्रकारिता
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


जिन्दगीको लामो यात्रामा थुप्रै उतारचढाव आउँछन् । कहिले रंगीन त कहिले रंगहीन । केही सपना पूरा हुन्छन्, केही अधुरै रहन्छन् । कहिले यात्रामा अघि भइन्छ, कहिले पुछारमा । समयसँगै उमेर घर्किंदै जान्छ । शक्तिसँगै जोश हराउँदै जान्छ । युगसँगै प्रविधि फेरिन्छ । प्रविधिसँग अभ्यस्त हुन समय लाग्छ । यो समयको चक्र हो । घुम्दै जान्छ । नयाँले पुरानोलाई विस्थापित गर्दै जान्छ । ८२ वर्षीय गोविन्द प्रधान त्यस्तै पात्र हुन्, जो समयसँगै किनारामा धकेलिँदै गए । समय र उमेरले उनलाई सक्रिय पत्रकारिताबाट पाखा लगायो । अहिले समाचार लेख्दैनन्, मात्रै पढ्छन् । उनै गोविन्दले हामीसँग आफ्नो विगत साटे—

० ० ०

Agni Group

०१७ सालमा राजनीतिक परिवर्तन भयो । राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरे । प्रजातन्त्र मासेर निर्दलीय पञ्चायती व्यवस्था शुरुआत भयो । त्यसको असर कर्मचारीतन्त्रमा पनि पर्‍यो । प्राजातान्त्रिक विचारधारा राख्ने कर्मचारीहरू रुचाइन छाडे । यसको प्रत्यक्ष प्रभाव गोविन्द प्रधानले पनि भोगे । ०१७ सालको राजनीतिक परिवर्तनले प्रधानन्यायाधीश बन्ने गोविन्दको सपना ध्वस्त बनाइदियो । अंकुरण हुँदै गरेको सपनाको घरमा आगो लाग्यो ।

“देशमा पुरानो पद्धतिबाटै न्यायप्रणाली चलिरहेको थियो । जननिर्वाचित बीपी कोइरालाको सरकारले न्यायप्रणालीलाई आधुनिकता दिन ग्य्राजुयटहरूलाई न्यायलयमा प्रवेश दिएको थियो,” गोविन्दले सम्झिए, “परीक्षा लियो । पास भयौं । तालिम दियो । हामी न्यायालयमा प्रवेश गर्‍यौं । मलाई प्रधानन्यायाधीश हुनु थियो । त्यसैले देबानी र फौजदारी दुबै मुद्दा आउने ललितपुर अदालत राजेको थिएँ । काठमाडौंमा देबानी र फौजदारी मुद्दा हेर्ने छुट्टाछुट्टै अदालत भएकाले मैले ललितपुर अदालत रोजेको थिएँ ।”

Global Ime bank

१८ महिना काम गरेपछि व्यवस्था परिवर्तन भयो । सँगसँगै एकदिन उनलाई पत्र आयो, “तपाईंको नियुक्ति सदर गर्न सकिएन ।” पत्रको आशय थियो– जागिर खोसियो ।

खाइरहेको जागिर गयो । दुःख त लाग्ने नै भयो । लाग्यो । तर, कताकता न्यायाधीशको अपजसे कामले भने उनलाई खुशी पनि दिन सकेको थिएन ।

“प्रधानन्यायाधीश हुने रहरको जोशमा काम शुरु गरे पनि मलाई बिस्तारै न्यायाधीशको कामले सन्तुष्टि दिन सकिरहेको थिएन,” उनी भन्छन्, “एउटा पक्षले हारे अर्कोले जित्ने । हार्नेले दोष न्यायाधीशलाई दिने । आफू निर्दोष हुँदाहुँदै अर्काको पक्ष लिएर हराइदियो भन्ने । इजलासमै एक जनाको खुशीसँगै अर्काको आँसु देख्नुपर्ने । मलाई त्यसले बिजाउँथ्यो ।”

त्यसैले पहिलो पटक इजलासमा बस्दा गोविन्दले भनेका थिए, “मलाई मिलापत्र हुने मुद्दा पारिदिनू है ।”

नभन्दै त्यस्तै पर्‍यो । मिलापत्र गराएर पठाए । त्यसैले जागिर खोसिए पनि उनले जागिर गुमाएकोमा त्यति धेरै आपत्ति जनाएनन् । हुन त राज्यले लिएको निर्णय थियो, आपत्ति भए पनि के नै हुन्थ्यो र !

० ० ०

राष्ट्रिय समाचार समिति (रासस)ले ०१९ सालमा जागिरका लागि दरखास्त आह्वान गर्‍यो । उपसम्पादकमा आवेदन दिएका गोविन्द पास भए । अंग्रेजी डेस्कमा थिए । समाचार संलकन पनि गर्थे । डेस्कमा पनि बस्थे । राजा महेन्द्र आफूले शुरु गरेको व्यवस्था जनताअनुकूल रहेको खबर बाहिरी दुनियाँसम्म पुर्‍याउन चाहन्थे । त्यसैले विदेश भ्रमण बढाएका थिए । महेन्द्रको विदेश भ्रमणमा अक्सर गोविन्द नै जान्थे ।

“म राजाको विदेश भ्रमणमा जाने पहिलो नेपाली पत्रकार हुँ,” गोविन्द दाबी गर्छन्, “एकपटक भएपछि सजिलो हुन्छ भनेर प्रायः राससले मलाई नै पठाउन थाल्यो । यो दुर्लभ अवसर मैले पाएँ । महेन्द्र राजा हुन्जेल मैले यो अवसर पाइरहें । उहाँको मृत्यु भएपछि भने यो क्रम बिस्तारै टुट्दै गयो ।”

एकपटक दशैंका बेला बेलायत भ्रमण पर्‍यो । राजा महेन्द्र रानीसहितको भ्रमणमा थिए । साल कति थियो, त्यो गोविन्दलाई सम्झना छैन । तर, त्यो भ्रमणको एउटा दृश्य भने भुल्न सकेका छैनन् ।

“राजालाई आलु मुछेर चिउरासँग खान खुब मन पर्दो रहेछ । रानी पनि सँगै हुनुहुन्थ्यो । हामी पनि सँगै थियौं । महेन्द्रले हामीलाई सँगै राखेर आलु चिउरासँग हातले मुछेर खानुभयो,” गोविन्द अर्को प्रसंग पनि सुनाउँछन्, “राजाको विदेश भ्रमणकै क्रममा एकपटक राजासँगै म फ्रान्स पुगेको थिएँ । राजपरिवारबाहेकका अन्य सदस्य पनि थियौं हामी । निस भन्ने ठाउँमा उहाँले हामीसँग बसेर ड्रिंक्स गर्नुभयो । बहालवाला राजाले हामीलाई ‘ड्रिंक्स गर्नुहुन्छ भने गर्नुस्’ भन्नुभयो । हामी पिउनेजतिले राजा महेन्द्रसँग बसेर पियौं ।”

महेन्द्र भन्नेबित्तिकै धेरैको मस्तिष्कमा बस्ने छवि पञ्चायतका सूत्रधार र कठोर राजाको हो । प्रजातन्त्रको घाँटी निमोठेर निर्दलीय शासन व्यवस्था शुरु गर्ने राजा कतिसम्म कठोर होलान् भन्ने आम मान्छेको बुझाइ थियो, छ । तर, गोविन्द भन्छन्, “राजा महेन्द्र जति कठोर भनेर सोचिन्छ, उहाँसँग संगत गर्दा त्यस्तो लाग्दैनथ्यो । व्यवस्था कठोर थियो तर उहाँ विदेश भ्रमणमा गएका बेला हामीसँग कहिल्यै पनि त्यस्तो कठोर व्यवहार गर्नुभएन ।”

काम सकिएपछि फर्किने बेलामा महेन्द्र उनको भ्रमण दलका सदस्यलाई भन्थे, “फर्किंदा कुन बाटो जान मन लाग्छ, त्यही बाटो जाँदा हुन्छ ।”

विदेश खासै नगएकालाई त्यो अवसर हुन्थ्यो । पहिलोपटक फ्रान्स जाँदा महेन्द्रले ‘आफैं बाटो रोज्नू’ भनेपछि गोविन्द जर्मनी, इटाली हुँदै नेपाल फर्किएका थिए ।

अहिलेको जस्तो इमेल, इन्टरनेटको जमाना थिएन । टेलिप्रिन्टरबाट समाचार पठाउँथे । फोटो भने हुँदैनथ्यो । उपसम्पादकबाट ‘रासस’ प्रवेश गरेका गोविन्द सम्पादक हुँदै महाप्रबन्धकसम्म भए ।

० ० ०

‘रासस’पछि उनी सारिए, ‘गोरखापत्र’ दैनिकमा । रासस ‘ग’ श्रेणीको रेटिङमा थियो । ‘गोरखापत्र’ ‘ख’ श्रेणीमा । त्यसैले प्रमोसन गर्नुपर्‍यो भने ‘रासस’बाट ‘गोरखापत्र’ पठाइन्थ्यो । चार–चार वर्षमा ‘एक्सचेन्ज’ गर्ने चलन पनि थियो । यद्यपि कसैलाई कारबाही गर्नुपर्‍यो भने पनि ‘रासस’, ‘गोरखापत्र’ र ‘द राइजिङ नेपाल’मध्ये कुनै एउटामा पठाउने चलन थियो ।

३०को दशकको शुरुमा उनी ‘गोरखापत्र’ पुगे । उनी जाँदा सरकारी सञ्चारमाध्यम घाटामा थियो । बिक्री र विज्ञापनबाट पैसा खासै धेरै आउँदैनथ्यो । कर्मचारीले समयमा तलबसमेत खान पाउँदैनथे ।

“सबैभन्दा धेरै खर्च कागजमा थियो । चीनबाट किन्दै आएको कागज मैले मेरै रिस्कमा बंगलादेशबाट ल्याउने निर्णय गरें । बोर्डले सहमति जनायो । सरकारले स्वीकृति दियो । कागज बंगलादेशबाट आउन शुरु भयो । खर्च कम भयो र बिक्री बढ्न थाल्यो,” उनी भन्छन्, “घाटामा गएको पत्रिका फाइदामा जान थाल्यो । मैले कर्मचारीलाई बोनस बाडें । मैले मेरो बखान गरेको होइन । तपाईं अरूसँग बुझ्न पनि सक्नुहुन्छ ।”

अहिलेको जस्तो तस्बिर खिच्न सहज थिएन । महँगो पथ्र्यो । त्यसैले राजाको मात्रै तस्बिर छाप्ने चलन थियो । एकदिन दरबारकै सचिवले भने, “तिमीहरू खालि सरकार (राजा)को मात्रै ब्लक (तस्बिर) छाप्छौ । यस्तो पनि अखबार हुन्छ ?”

“त्यसपछि हामीले दैनिक तीन–चार वटा तस्बिर छाप्न थाल्यौं,” गोविन्द आफ्नो उपलब्धिको कथा सुनाउँछन्, “त्यसपछि फोटो पत्रकारिता शुरु भयो गोरखापत्रमा ।”

० ० ०

हरेक संस्थामा पञ्चायत फाल्ने र बचाउने पक्षधर थिए । बचाउने पक्ष त शुरुदेखि नै खुलेकै थिए । बिस्तारै पञ्चायत फाल्नुपर्छ भन्नेहरू पनि खुलेरै बोल्न थालेका थिए । संगठित  भएपछि आवाज बलियो हुँदै गएको थियो । परिणाम— हरेक सरकारी कार्यालयमा विद्रोह हुन थालेको थियो ।

‘गोरखापत्र’मा पनि विद्रोहको प्रयास भयो । पञ्चायतविरोधीले झ्याल फोडेर बाहिरबाट भित्र आगोको पुल्ठो फ्याँके । बारुणयन्त्र तत्काल आयो । आगोले ठूलो रूप लिन पाएन । धन्न पूरै भवन बल्नबाट जोगियो ।

“त्यसबेलै पञ्चायतको विरोधमा रहेका कांग्रेस नेता बीपी कोइराला भूगोलपार्कमा आएर घटनाको जानकारी लिई फर्किनुभयो,” ‘गोरखापत्र’मा आगो लागेको घटना सम्झिँदै गोविन्द भन्छन्, “बीपी फर्किएको केही क्षणमै राजा वीरेन्द्र आएर निरीक्षण गरी फर्किनुभयो ।” त्यो बेला ‘गोरखापत्र’ सरकारको राजपत्रसरह थियो ।

महाप्रबन्धक भएर गएका गोविन्द ‘गोरखापत्र’मा अध्यक्ष पनि भए ।  

० ० ०

उपसम्पादक भएर ‘रासस’ प्रवेश गरेका गोविन्द त्यहाँको नेतृत्वमा बसे । अन्तर्राष्ट्रिय रिपोर्टिङमा गए । ‘गोरखापत्र’को पनि नेतृत्व गरे । घाटामा गएको ‘गोरखापत्र’लाई नाफामा पुर्‍याए । कर्मचारीलाई बोनस खुवाए । फोटो पत्रकारिता शुरु गरे । जता गयो, उतै सफलता ! उनमा केही दम्भ पनि पलायो । अर्काकोमा काम गर्नुभन्दा आफैं पत्रिका खोल्छु र चलाउँछु भन्ने महत्वाकांक्षा झांगियो ।

०३६ मा ‘नयाँ नेपाल’ दैनिक दर्ता गरे र प्रकाशन आरम्भ गरे । पत्रिका आफ्नै त भयो तर चलाउन सजिलो थिएन । पत्रिका बिक्री गरेर कमाइ हुँदैनथ्यो । उद्योगधन्दा थिएनन् विज्ञापन माग्न । चार पेजको पत्रिका चलाउन १५ जना थिए । श्रीमती शशी प्रधान पनि ‘नयाँ नेपाल’मै काम गर्थिन् । आफ्नै पत्रिका, आफ्नै मर्जी ! तर, सधैं घाटैघाटा । कति गर्ने घाटाको व्यापार ? त्यसैले १२ वर्षमा बन्द गरिदिए ‘नयाँ नेपाल’ ।

“लसमा छौं, प्यासनले मात्रै निकालेका हौं भन्यो, ट्याक्स कार्यालयले पत्याउँदै पत्याउँदैनथ्यो । लसमा जाने बिजनेस पनि कसैले गर्छ ? भन्थ्यो । बुझाउनै गाह्रो,” लत लागेको पत्रकारिताले जीवनको एक कालखण्डमा दिएको दुःख सुनाउँछन् गोविन्द ।

०४८ सालमा फेरि फर्किए उनी ‘रासस’ प्रमुखको जिम्मेवारीमा । दोस्रो चरणको ‘रासस’ बसाइपछि पुनः शुरु गरे अर्को पत्रिका– ‘अन्नपूर्ण पोस्ट’ । त्यही ‘अन्नपूर्ण पोस्ट’मा पछि बहुमत शेयर लिएर अरू आए । केही समय गोविन्द पनि त्यहीँ बसे । त्यहीँ छँदाका केही तीता प्रसंग छन् गोविन्दसँग ।

तत्कालीन राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा शाहको विवाह थियो, ०६१ माघ ९ गते । समाचार आयो । समाचार सम्पादकले, हेरे । ठीक थियो । सहायक सम्पादकले हस्ताक्षर गरे । तर, प्रुफमा पुगेपछि प्रेरणाका अगाडि स्व. अर्थात् स्वर्गीय थपिएछ । राजाकी छोरी, त्यो पनि विवाहका दिन ‘स्व.’ लेखिएपछि खैलाबैला भयो । गोविन्द भन्छन्, “शायद मलाई फसाउनका लागि त्यो भएको थियो । तर, मेरो विगत राम्रो भएकाले त्यसले मलाई असर गरेन ।”

ज्ञानेन्द्रसँगै जोडिएको प्रसंग पनि सुनाउँछन् उनी । अक्सर जतिसुकै ठूलो पोर्टफोलियो भएको व्यक्ति नै किन नहोस्, अन्तर्वार्तामा उनीहरूका अंगरक्षक कमैमात्र बस्छन् । अंगरक्षक सँगै बसेको अन्तर्वार्ता गोविन्दले कहिल्यै पनि लिएका थिएनन् । राजा ज्ञानेन्द्र अन्तर्वार्ता दिन तयार भए । तर, गोलीगठ्ठाले झकिझकाउ उनका अंगरक्षक ढोकाबाट चियाइरहन्थे । 

“अन्तर्वार्तामा उहाँका अंगरक्षक ढोकाबाट चियाइरहन्थे । मलाई त्यो देखेर डर लाग्थ्यो । म डिस्टर्ब भइरहें त्यो पूरै अन्तर्वार्ताभरि । राजाको सक्रिय शासन भएकाले पनि होला— हतियारले तर्साएको,” गोविन्द सुनाउँछन् ।

६–७ वर्ष भयो उनले ‘अन्नपूर्ण पोस्ट’ छोडेको । अहिले पत्रकारिताबाटा टाढा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २१, २०७६  ०६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC