site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 प्रचण्डको अभिव्यक्तिपछिका चार ‘साइड इफेक्ट’
Ghorahi CementGhorahi Cement

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली र आफूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तरङ्ग उत्पन्न भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन भारत प्रस्थान गर्नै लाग्दा प्रचण्डले ‘फायर’ खोलेको भन्दै पूर्वएमाले पंक्ति सशंकित र तरंगित बनेको हो ।

गत सोमबार विराटनगरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एकीकरणका बेला दुई दलबीच सहमति भएको बताएका थिए । तर, बुधबार प्राइम टेलिभिजनले लिएको एकघण्टा लामो अन्तर्वार्तामा आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएको भन्दै बहस नै त्यसमा केन्द्रित गरेपछि नेकपाभित्र झागिँदै गएको अन्तरविरोध अब सतहमै आएको हो ।

तर, आलोपालो सहमतिको खुलासा प्रचण्डले यसअघि पनि गरेका थिए । संयोग के परेको छ भने पहिलोपटक उनले भारत भ्रमणका बेला त्यहाँका पत्रकारसँग सहमतिको खुलासा गरेका थिए । यसपटक अर्का अध्यक्ष ओली भारत भ्रमणमा जाने तयारीमा रहेकै बेलामा उनीसँग भएको सहमतिका बारेमा खुलासा गरेका छन् ।
गत २१ भदौमा भारत भ्रमणमा गएका बेला त्यहाँको अनलाइन द प्रिन्ट डट इनकी पत्रकार ज्योति मलहोत्रासँग कुराकानी गर्दै प्रचण्डले पार्टी एकताको अघिल्लो दिन भएको पाँचबुँदे सहमतिको खुलासा गरेका थिए ।

Agni Group

अहिले प्रधानमन्त्रीको भारत भ्रमणको सम्मुखमा दुई पार्टीबीच भएको गोप्य सहमति छताछुल्ल पार्नुको गम्भीर अर्थ लाग्ने एक केन्द्रीय सदस्य बताउँछन् ।

“नेपालको राजनीतिमा पटकपटक हस्तक्षेप गर्दै आएको भारतलाई प्रचण्डको अन्तर्वार्ताले झनै बल पुर्‍याउँछ । नेकपाको आन्तरिक एकता खल्बलिएको सन्देश दिन्छ,” ती नेताको दाबी छ ।

Global Ime bank

‘पूर्वएमाले एकतृत हुने मौका’

यसबीचमा प्रचण्डले पूर्वएमालेको बीचमा काफी खेल्ने मौका पाएको ती एक केन्द्रीय सदस्य बताउँछन् । तीन महिनामा सक्ने भनिएको पार्टी एकता लम्बिएर वर्षदिन पुग्यो । यद्यपि केन्द्रीय सदस्यहरूको कार्यविभाजन र पोलिटब्युरो गठन टुंगिएको छैन । केन्द्रीय निकाय र विभाग पनि अपूरै छन् ।

एकवर्षको अवधिमा पूर्वएमालेको चिरामा बसेर दूरी बढाउन प्रचण्डले भूमिका खेलेको र उनको पछिल्लो गतिविधिले चिरा टाल्ने ती नेताको निष्कर्ष छ । अहिले पूर्वएमालेभित्र माधव नेपाल समूह र केपी ओलीबीच देखिनेगरी चिरा छ । वामदेव गौतम र झलनाथ खनाल समूह पनि सन्तुष्ट छैनन् । भीम रावल त सरकारको प्रतिपक्षी नै बनेका छन् ।

“प्रचण्डको गतिविधिले केपी ओली समूह र माधव नेपाल समूहलाई नजिक ल्याउन बल पु¥याएको छ, पूर्वएमालेभित्र एकता कायम हुन्छ,” उनको भनाइ छ ।

‘सरकारको कामकारबाहीमा असर’

पूर्वएमाले पंक्ति एकतृत भएपछि पूर्वमाओवादी पंक्ति पनि एकट्ठा हुने छ । पूर्वमाओवादी केन्द्रमा अहिले देखिनेगरी तीन गुट छ– प्रचण्ड, नारायणकाजी श्रेष्ठ  र रामबहादुर थापा बादल गुट । ती बीच पनि अघोषित एकता हुनेछ । त्यसले सरकारको कामकारबाहीमा असर पुर्‍याउने ती केन्द्रीय सदस्यको विश्लेषण छ ।

त्यसो त बुधबारको अन्तर्वार्तामा प्रचण्डले बारबार सुशासन, विकास र भ्रष्टाचार अन्त्यको कुरा उठाएका छन् । सुशासन कायम गराउन नसकेको भन्दै प्रतिपक्षीले सरकारको आलोचना गरिरहेको छ । पार्टीभित्र पनि विरोधको आवाज बाक्लिएको छ ।

यही स्वर ठूलो बनाएर प्रचण्डले केपी ओलीलाई सत्ताबाट बहिगर्मन गराउन चाहन्छन् ।  “दुई अध्यक्षबीच खटपट भएपछि पार्टी निर्णयमा असर पु¥याउँछ, त्यसले सरकारकै सेवा–प्रवाहमा असर पुग्छ,” ती केन्द्रीय सदस्य बताउँछन् ।

‘अस्थिरतालाई निम्तो’ 

प्रचण्ड र केपी ओलीबीच सहमति भएको आज होइन । लागु हुने भोलिबाट पनि होइन । सहमति पालना गर्दा पनि केपी ओली सरकारको आयु अझै १५ महिना बाँकी छ । बजेट आएकै दिन र प्रधानमन्त्री भारत जाने अघिल्लो दिन आलोपालो नेतृत्वको कुरा उठाउनु गम्भीर भएको भन्दै पूर्वएमाले पंक्तिले प्रचण्डलाई ‘अस्थिर’ हुन थालेको आंशका गरेका छन् । “नेताहरूको बीचमा सहमति भएको हामीले पनि सुनेका हौँ । समान अवधि सरकार सञ्चालन गर्ने सहमति भएको भए अझै १५ महिना बाँकी छ, आजै किन बहस चलाउनुपर्‍यो ? फेरि केपी ओलीले सहमति मान्दिनँ त कतै भन्नु भएको छैन । प्रचण्डजस्तो नेताले अस्थिरतालाई बल पुग्नेगरी बोल्नु भएन,” ती नेता भन्छन् ।

त्यो ‘गोप्य’ पाँचबुँदे जसले केपी ओलीलाई सत्ता छाड्न बाध्य पार्दैछ !

पछिल्लो समय संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच एकता भएको छ । संविधानसँग असन्तुष्ट रहेका पक्षहरू एकट्ठा हुँदै आन्दोलनको तयारी गरिरहेका छन् भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्रीले लोकतान्त्रिक प्रक्रिया खल्बल्याएको भन्दै सडक संघर्षको चेतावनी दिएको छ ।

“यस्तो अवस्थामा पार्टीको आन्तरिक एकतालाई खल्बल्याउनेगरी अभिव्यक्ति दिनु पार्टी एकतालाई अप्ठ्यारोमा पार्नु र बाह्य (विदेशी) हस्तक्षेपलाई खुलेआम निम्तो दिनु हो,” अर्का केन्द्रीय सदस्य थप्छन् ।

‘पार्टी एकतामा विलम्ब’

प्रचण्डको सहमतिको खुलासाले पार्टी एकतालाई संकटमा पार्ने नेकपाका नेताहरूको विश्लेषण छ । पार्टी एकता भएको एकवर्षको अवधिमा नेकपाले प्रदेश, जिल्ला तह र जनसंगठनको नेतृत्व बाँडफाँट गरेको छ । जिल्ला कमिटीले पूर्णता पाएका छैनन् । जनसंगठनको हालत पनि त्यस्तै छ । तर, प्रचण्डको पछिल्लो अभिव्यक्तिले एकताको थाती रहेका कामलाई पर धकेल्ने र आन्तरिक एकता विथोल्ने ती नेताको बुझाइ छ ।

यसमा केन्द्रीय सदस्य विष्णु रिजाल सहमत छन् । उनी भन्छन्, “दुई अध्यक्ष र अरू नेताबीच पनि अनौपचारिक, औपचारिक जे सहमति भएका छन्, ती सहमति आफूसँगै राख्ने र एकताको कामलाई निष्कर्षमा पुर्‍याउन जोड दिनुपर्छ । आजको आवश्यकता यही हो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC