सरस्वतीले नेपाली खेलकुदलाई दिएको उपहार !

सरस्वतीले नेपाली खेलकुदलाई दिएको उपहार !

काठमाडौं । वि.सं. २०६४ सालमा गणतान्त्रिक खेलकुद प्रतियोगिता हुँदै थियो । एक हप्तामात्र बाँकी थियो । तर सुदूरपश्चिमको भलिबल टोली बनिसकेको थिएन । प्रशिक्षक विष्णु चौधरी खेलाडीको खोजीमा भौतारिइरहेका थिए । त्यहिबेला उनको नजर आफ्नै टोलकी सरस्वती चौधरीमा पर्यो । कलिलो उमेरमै अग्लो कदकी सरस्वतीलाई देखेपछि विष्णुले प्रस्ताब राखे, ‘बहिनी तिमी भलिबल खेल्न थाल ।’

धनगढी प्रगतीटोलकी सरस्वतीलाई ११ वर्षको उमेरमा छिमेकी दाई/प्रशिक्षकको यस्तो प्रस्ताबले सुरुमा झस्कायो । त्यसपछि उनको चञ्चले मन विस्तारै उत्साहित हुन थाल्यो । घरमा आमा–बुवासँग सल्लाह गरिन् । आमा वेल्सीदेवी र बुवा शुक्रराजले सुन्नेवित्तिकै छोरीलाई भलिबल खेल्न हौस्याए । नेपाली महिला भलिबलकी वर्तमान सुपरस्टार सरस्वती त्यो बेलासम्म भलिबलसँग पूर्ण रुपले अपरिचित थिइन् । कहिल्यै खेल्ने मौका पाएकी थिइनन् । चासो पनि उत्तिसारो थिएन । 

तर विष्णुले सरस्वतीमा कदजस्तै करियरको पनि उचाई हासिल गर्ने सम्भावना देखेर प्रस्ताब गरेका थिए । जावलाखेलमा सम्पन्न गणतान्त्रिक भलिबल प्रतियोगिताबाट उनले पहिलो पटक सुदूर पश्चिमको जर्सी लगाएर कोर्टमा आगमन जनाइन् । जुन यस्तो सनसनीपूर्ण भयो कि, त्यसपछि अहिलेसम्म सरस्वतीले पछि फर्केर हेर्नु परेको छैन । जावलाखेलमा उनको उचाईबाट प्रभावित भएर पोखराको फिस्टेल एकेडेमीले सरस्वतीलाई छात्रवृत्तिसहित अनुबन्ध गर्यो । विष्णुको कल्पनाबाट सुरु भएको सरस्वतीको करियरलाई फिस्टेलले सार्थकता प्रदान गर्यो । 

एक साताको प्रशिक्षणका भरमा गणतान्त्रिक भलिबल खेल्न आएकी सरस्वती त्यो बेलासम्म प्रतिभाको हिसाबले अत्यन्तै कोरा थिइन् । उनीसँग थियो त, केवल उचाई । त्यसकै भरमा उनले फिस्टेलबाट भलिबल र शिक्षासँगै अगाडि बढाउन पूर्ण छात्रवृत्तिको प्रस्ताव पाइन् । अन्य खेलका धेरै समय बेन्चमा विताए पनि पश्चिमाञ्चलविरुद्धको खेलमा उनी कोर्ट उत्रिएकी थिइन् । जसले सरस्वतीको करियरलाई नयाँ मोड दियो । फिस्टेलबाट आएको प्रस्ताबलाई उनले तत्काल स्वीकार गरिनन् । तर फिस्टेलका प्रशिक्षक बलराम क्षेत्रीले सरस्वतीका अभिभावकलाई नै भेटेर मनाए । तैपनि सरस्वती तयार भइनन् । 

‘गुरुले भलिबलको स्टार बनाउने सपना देखाएपछिमात्र पोखरा यात्रा तय भयो । पढाइसँगै भलिबल सिकाउने बताएपछि परिवार त सहमत भयो, तर कहिल्यै घर वाहिर नबसेकी मलाई भने निक्कै गाह्रो लागिरहेको थियो,’ सरस्वतीले सुरुआती दिन सम्झीइन् ।  

क्षेत्रीको प्रशिक्षण, प्रिन्सिपल चिनु रानाभाट र गुरुहरुको मायाले सरस्वतीलाई भलिबलमा निखार्दै लग्यो । स्कुलले अपेक्षाअनुसार उनले आफूलाई प्रत्येक नयाँ दिन फरक रुपमा प्रस्तुत गर्दै गइन् । एकपछि अर्को प्रतियोगितामा फिस्टेलबाट उत्कृष्ट प्रदर्शन गर्दै गइन् ।  सिपोरा गुरुङ, सन्जु पुर्जा, देबी खाँड लगायतका सिनियर खेलाडी पनि फिस्टेलमै थिए । “पहिले त प्रशिक्षणमा दिदीहरुको खेल देखेर दंग पर्थे । कसरी खेल्दा रहेछन् जस्तो लाग्थ्यो । पछि विस्तारै सिक्दै गएँ, खेल सुधार्दैै गए । पछि त हरेक प्रतियोगितामा राम्रो गर्न थाल्यौं’ सरस्वतीले बताइन् । 

झण्डै ३० भन्दा बढि प्रतियोगिता फिस्टेलबाट खेलेकी सरस्वती पाँच वर्षको पोखरा यात्रा टुंग्याउँदै विभागीय क्लब एपीएफमा आबद्ध भइन् । सरस्वती भन्छिन्, ‘सायद फिस्टेल नगएको भए आज एक भलिबल खेलाडी हुँ भनेर गर्व गर्ने अवस्था आउँदैनथ्यो होला । सरस्वती भनेर सबैले चिन्नुहुन्छ । भलिबल खेलाडीभन्दा बेग्लै सान लाग्छ ।’ खेलाडी उत्पादनको उर्भर भूमी मानिएको सुदूर पश्चिमले धेरै स्टार खेलाडी जन्माइसकेको छ । 

ओलम्पीयन दीपक बिष्ट, कान्छी ओलम्पीयन गौरीका सिंह, भलिबलका पूर्व कप्तान भरत शाह र राष्ट्रिय क्रिकेट टोलीमा पनि महत्वपूर्ण हिस्सा सुदूर पश्चिमका खेलाडीले ओगटेका छन् । एक पछि अर्को क्षमतावान खेलाडी दिएर सुदूर पश्चिमले समग्र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । भलिबलकी स्टार सरस्वती सुदूर पश्चिमले नेपाली खेलकुदलाई दिएको नयाँ उपहार हुन् । 

एपीएफको जागिर 
फिस्टेलको यात्राले मजबुत बन्दै गरेकी सरस्वतीलाई थप निखार्ने काम गर्यो, सशस्त्र प्रहरी बलको एपीएफ क्लबले । फिस्टेलबाट खेल्दै गर्दा ज्ञानेन्द्र बिष्ट र कपिलकिशोर श्रेष्ठको नजरमा परेकी उनी २०७० सालमा एपीएफमा आबद्ध भइन् । सुरुआती दुई वर्ष करार र बिगत ३ वर्षदेखि स्थायी जागिरे भएकी सरस्वती एपीएफकी महत्वपूर्ण सदस्य बनेकी छन् । मोफसलका हरेक प्रतियोगितामा सरस्वती प्रेरित एपीएफले एकछत्र राज गर्ने गरेको छ । गतवर्ष एपीएफ ११ मध्ये १० प्रतियोगितामा च्याम्पियन बन्दा सरस्वती प्रत्येक प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भएकी थिइन् । 
यो वर्ष ८ प्रतियोगितामा ८ पटक टिम च्याम्पियन हुँदा सरस्वतीले त्यतिकै पटक उत्कृष्ट खेलाडीको अवार्ड पाएकी छन् । मिडल ब्लकरदेखि सुरु भएको सरस्वतीको यात्रा अहिले ओपन स्पाइकमा छ । ‘सुरुमा ब्लकर खेले । त्यसपछि क्विक, कहिले ब्याक अहिले त ओपन स्पाइकर खेल्छु । तर मलाई क्वीक एकदमै मनपर्छ,’ सरस्वतीले भनिन् । 

राष्ट्रिय टोलीमा डेब्यू
नेपालमै आयोजना गरिएको प्रथम दक्षिण एशियाली आमन्त्रण महिला भलिबल प्रतियोगिताबाट २०७१ सालमा डेब्यु गरेकी सरस्वतीले १२औं दक्षिण एशियाली खेलकुद, सेन्ट्रल जोन भलिबल र केरलामा भएकोबीच भलिबल गरी ४ मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । ‘एक दशक भलिबलमा बिताए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका धेरै नपाउँदा नराम्रो लाग्छ । बाहिर गयो भने केही नयाँ सिक्न पाइन्थ्यो जस्तो लाग्छ,’ सरस्वतीले भनिन् ।  

जापानको एक महिला प्रशिक्षण 
सशस्त्रका पूर्व प्रहरी महानिरीक्षक दूर्जकुमार राई र जापानी प्रशिक्षक सुन्जियाना गीताको सहयोगमा सरस्वतीले २०७३ सालमा जापानमा एक महिना प्रशिक्षणको अवसर पाएकी थिइन् । त्यो एक महिने अभ्यासले पनि धेरै टेक्नीकहरु सिक्न सहज भएको उनले बताइन् । ‘एक महिनाको प्रशिक्षणमा रिसिभ गर्ने टेक्निकहरु सिके । उनीहरु टेक्निकल रुपमा निकै माथि छन्,’ उनले अनुभव सुनाइन् । 

अर्वाडले भरिएको कोठा, पाँच स्कुटर 
२०७० सालमा उत्कृष्ट प्रदर्शनपछि नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डअन्तर्गत लोकप्रिय खेलाडीको विधामा विजेता बनेकी सरस्वती हरेकजस्तो प्रतियोगितामा उत्कृष्ट खेलाडीबाट पुरस्कृत हुदै आएकी छन् । उत्कृष्ट खेलाडीको पुरस्कार स्वरुप पाएका पदकले उनको कोठा खचाखच छ भने पाँच वटा स्कुटर र एउटा मोटरसाइकल पनि पाइसकेकी छिन् । दुई वटा स्कुटर र मोटरसाइकल बेचिसकिन् । बाँकी दूई स्कुटर घरपरिवारका सदस्यलाई दिइन् । एउटा आफैले चलाइरहेकी छन् । 

भविष्यको चिन्ता 
शंकरदेब क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत सरस्वतीलाई भविष्यको चिन्ता लाग्न थालेको छ । भलिबलले राष्ट्रिय खेलको मान्यता पाएपछि मोफसलमा बढेका प्रतियोगिताले आर्थिक रुपमा राहत भए पनि घाइते हुने सम्भावनाका कारण खेलाडी मारमा छन् । सकेसम्म भलिबलमा रमाउने योजना बनाएकी सरस्वती ‘खेलाडीलाई केही व्यवस्था छैन् खेल जीवनपछि के गर्ने’ भन्ने चिन्ताबाट ग्रसित हुन थालेकी छिन् । 

‘पढाइलाई प्राथमिकताकासाथ अगाढी बढाइरहेको छु । तर प्रतियोगिताको समय पढ्न पाइँदैन,” सरस्वतीले गुनासो गरिन् ।  

कतिपय खेलाडीले घाइते भएकै कारण खेल जीवनलाई बिदा गरिसके । ‘चोटकै कारण खेल त्याग्ने दिनमा कोही खेलाडी नपुगेको भए हुन्थ्यो जस्तो लाग्छ,’ सरस्वतीले भनिन्, ‘अहिले एकपछि अर्को प्रतियोगिता भइरहेका छन् । आराम गर्न पाइदैन । चोट लाग्ने सम्भावना धेरै छ । यसरी खेलाडी र खेलको स्तर बढ्दैन । सम्बन्धीत निकायले सोच्नुपर्छ,’ सरस्वतीले भनिन् । 

तस्बिरः सौरभ रानाभाट

प्रतिकृया दिनुहोस
ad