
काठमाडौं । एएफसी यू–२३ कप एसियन छनोट खेल्ने नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा ८९ खेलाडी परेका छन् ।
बिहीबार राष्ट्रिय यू–२३ टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाएका हुन् ।
मुख्य प्रशिक्षक न्यौपानेसँगै सहायक प्रशिक्षकमा शीर्ष डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेडका प्रशिक्षक सचिन्द्र धिमाल छन् ।
प्रतियोगितामा नेपाल समूह ‘के’ मा छ । समूहमा नेपालसँगै ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् ।
एएफसीका अनुसार, नेपालले छनोटअन्तर्गत सेप्टेम्बर ३ मा ताजकिस्तान, सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ । नेपालले चार वर्षअघि सन् २०२१ को नोभेम्बरमा ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।