स्वागतका नाममा बालबालिकालार्इ यातना

बालबालिकालाई कसैको स्वागतमा उभिन कर लगाउनु उनीहरूको अपमान हो 

शासकहरूको सानका लागि साना नानीहरूलाई सास्ती दिने चलन नेपालमा पुरानै हो । तर, एक्काइसौं शताब्दीमा पनि मध्ययुगीन सामन्तका सोख र सनक पूरा गर्न चलाइएका यस्ता चलन संस्कृतिका रूपमा अपनाइनु भने आपत्तिजनक विडम्बना हो । पोखरामा आयोजित खेलकुद महोत्सवको उद्घाटनका क्रममा मंगलबार यही विकृति एकपटक फेरि दोहोरियो । आदिवासी पहिरनमा सजाइएका बालिकाहरू महोत्सव उद्घाटन गर्न पुगेका युवा तथा खेलकुद मन्त्रीको स्वागतमा नांगै खुट्ट उभिएका दृश्यले ती बालिकालाई कुनै राणा प्रधानमन्त्रीको स्वागतमा आजभन्दा एक शताब्दी पहिले उभ्याइएजस्तो भान हुन्थ्यो । राष्ट्रिय आवासीय तथा निजी विद्यालयहरूको संगठन नेपाल (एनप्याब्सन) नामक संस्थाको कास्की शाखाको उर्दीमा ती बालिका मंसिरको चिसोमा खाली खुट्टा उभ्याइएका रहेछन् । प्रमुख अतिथिका रूपमा बोलाइएका मन्त्री कार्यक्रममा डेढ घन्टा ढिलो आउँदा बालबालिकाले थप सास्ती भोग्नु परेछ । 

यो घटना अपवाद भने होइन । पटकपटक बालबालिकालाई अरू कसैको स्वार्थका लागि सास्ती दिने गरिएकैे हो । यसरी स्वागतका नाममा सास्ती कटाइएका बालबालिका लाम लागेकै बेला मुर्छासमेत परेका छन् । सरकारी र निजी दुवै क्षेत्रका विद्यालय सञ्चालकले शासकहरूलाई खुसी पार्न बालबालिकामाथि यस्तो अत्याचार गर्ने गर्छन् । यसरी स्वागतमा घन्टौं खाली खुट्टा वा लाममा लागेर पर्खनुपर्दा ती बालबालिकालाई पक्कै पनि रमाइलो लाग्दैन । त्यस्तो सास्ती उनीहरूले रोजेको वा रहर गरेको कारण पाएका पनि हैनन् । बालबालिकाको इच्छाविपरीत उनीहरूलाई अरू कसैको स्वार्थमा प्रयोग गर्नु बालश्रम शोषणको परिभाषाभित्र पर्छ । यस्तै शारीरिक र मानसिकरूपमा उनीहरूलाई कष्ट हुनेगरी प्रयोग गर्नु यातना पनि हो । यी दुवै अपराध नेपालको कानुनबमोजिक दण्डनीय हुन् ।  

बालबालिकाकाको श्रम शोषण गरेको र उनीहरूलाई यातनासमेत दिएकोमा एन प्याब्सन कास्कीले नियतवशः यस्तो गरेको हैन भने आयन्दा दोहोरिन नदिने प्रतिबद्धतासहित ती बालबालिकासँग क्षमा याचना गर्नुपर्छ । यसरी बालबालिकालाई सताएर स्वागत ग्रहण मन्त्रीलाई सबैभन्दा बढी लाज लाग्नुपर्ने हो । तर, लाज, डर र नैतिकता नेपालका नेताहरूको शब्दकोशमै भेटिँदैनन् र पो त ! कसैको स्वागतमा लाममा उभ्याउनु प्रकारान्तरले बालबालिकालाई वस्तु र स्वागत गरिने पात्रलाई ‘मालिक’ बनाउनुजस्तै हो । यसैले सरकारले सबैभन्दा पहिले ‘पञ्चकन्याको स्वागत’ जस्तो सामन्ती र लिङ्भेदी व्यवहारलगायतका यस्ता अभ्यास बन्द गर्न सबै विद्यालय र संघसंस्थालाई निर्देशन दिनुपर्छ । अब त शिक्षकहरूमा पनि बाल अधिकार हनन हुन दिन नहुने चेतना जाग्नुपर्ने हो । तर, शिक्षकहरू अझै बालबालिकालाई बेहोस हुन्जेल उठबस गराउँदै छन् । बालबालिकालाई कुनै समारोहमा सहभागी हुने कि नहुनेमात्र हैन हुँदा कुन भूमिकामा संलग्न हुने भन्ने विषय पनि रोज्ने छुट हुनुपर्छ । आफ्ना सन्तान यस्ता शोषणमा नपरुन् भन्ने चाहने हो भने अभिभावकले नै यसरी बालबालिका प्रयोग गर्ने विद्यालयहरूलाई चेतावनी दिनु आवश्यक छ । अन्यथा बालबालिकाको शोषण गरेर शासक रिझाएर स्वार्थ पूरा गर्ने एनप्याब्सन कास्कीको जस्तो विकृति झन् फैलनेछ । 
 

प्रतिकृया दिनुहोस