site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसद बन्न वामदेव गौतमका १४ प्रयास ! झलनाथ, माधव नेपालदेखि रामवीरसम्म 
Sarbottam CementSarbottam Cement


काठमाडौं । प्रकरण–१ : तत्कालीन नेकपा एमालेका प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उमेदवार बनेका सबैजसो स्थायी कमिटी सदस्यले चुनाव जिते, सिवाय उपाध्यक्ष वामदेव गौतम ।

०७० को निर्वाचनमा बर्दिया–१ र प्युठान–१ बाट चुनाव जितेका गौतमले प्युठान आफ्नो निर्वाचन क्षेत्र कायम गरे र बर्दिया छाडे ।

तर, ०७४ को निर्वाचनमा बर्दिया–१ नै फर्किनु वामदेवका लागि अनुकूल बनेन । नेपाली कांग्रेसका उमेदवार सञ्जय गौतमसँग ७५३ मतले पराजित भए ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन परिणाममा आफू धुलाम्य भए पनि उनको सांसद बन्ने इच्छा पराजित भएन । काठमाडौं फर्र्किएलगत्तै पार्टीभित्र ‘सांसद बन्ने खेल’ शुरू गरे ।

त्यसका लागि उनको अस्त्र थियो– राष्ट्रपति निर्वाचन ।

Global Ime bank

उनले पहिलो अस्त्र फाले, तत्कालीन एमाले वरिष्ठ नेता झलनाथ खनाललाई ।

चुनाव हारेको एक साता नबित्दै खनाल निवास डल्लुमै पुगेर वामदेवले प्रस्ताव राखे, “म तपाईंलाई राष्ट्रपति बन्न सघाउँछु । मलाई तपाईंको निर्वाचन क्षेत्र छाडिदिनुपर्‍यो ।”

झलनाथ खनाल राष्ट्रपतिका आकांक्षी छँदै थिए । राष्ट्रपतिमा सघाउने कुरा मनासिवै लागे पनि उनले भने, “तपाईं मध्यपश्चिमको मान्छे, इलाममा चुनाव उठ्न कत्तिको सहज हुन्छ, त्यहाँका मतदाताको मनोदशा के कस्तो हुन्छ ?”

यसैको जवाफ हुनुपर्छ– राष्ट्रपतिको उमेदवार प्रस्ताव गर्ने बेलामा स्थायी कमिटीको बैठकमा वामदेव मौन बसे । विद्या भण्डारी दोहोरिइन् ।

प्रकरण–२ : झलनाथको कुराबाट रुष्ट बनेका वामदेवले राष्ट्रपतिको प्रस्ताव माधव नेपाललाई पनि नगरेका होइनन् ।

“राष्ट्रपतिमा म तपाईंलाई सघाउँछु । मलाई काठमाडौँ–२ छाडिदिनुपर्‍यो,” उनले आग्रह गरेका थिए ।

तर, नेता नेपालले आफूले चाहेको भए अघिल्लै पटक राष्ट्रपति बन्ने, उमेर र नेतृत्व क्षमता रहेकाले आफू अझै एक दशक सक्रिय राजनीति गर्ने बताएपछि वामदेवको दोस्रो प्रयास पनि विफल भयो । 

प्रकरण–३ :  प्रतिनिधिसभामा निर्वाचित सांसदको शपथ ग्रहण भएको थिएन । तत्कालीन एमालेका तर्फबाट चुनाव जितेका सांसद नवराज सिलवाल विवादमा परे । कार्य सम्पादन मूल्याङ्कन (कासमू) कीर्ते गरेको अभियोगमा उनी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । र, उनको सांसद पद निलम्बनमा पर्ने खतरा थियो ।

त्यही मौका वामदेवले छोपे । अदालतबाट आदेश गराएरै भए पनि ललितपुर–१ खाली गर्ने र त्यहाँबाट सांसद उठ्ने खेलोमा उनी लागे ।

त्यो प्रयास पनि सफल हुन सकेन । सिलवालको खोजीलाई प्रहरीले सक्रियता देखाउन सकेन । सिलवालले शपथ ग्रहण गरेपछि ललितपुर–१ को सांसद बन्ने वामदेवको चाहनामा पनि ग्रहण लाग्यो ।

प्रकरण–४ : शुरूका तीन ठाउँको प्रयास तुहिएपछि उनले आँखा गाडे– बर्दिया–२ मा ।

माओवादी केन्द्रका तर्फबाट निर्वाचित सांसद सन्तकुमार चौधरीलाई राजीनामा दिन लगाएर त्यहाँबाट उमेदवार बन्ने उनको मनशाय थियो । त्यसका लागि उनले प्रचण्डको सहायता पनि लिए ।

पार्टी एकता भएको थिएन । माओवादी केन्द्रभित्र चर्को आलोचना भयो । बर्दिया–१ मा थारू समुदायकै मतले चुनाव हार्ने, थारू बहुल क्षेत्रमै गएर चुनाव उठ्दा परिणाम पनि नपर्ने र प्रतिनिधिसभामा थारूको उपस्थिति पनि घट्ने ‘रिडिङ’ भएपछि बर्दिया–२ बाट पनि वामदेवले आँखा हटाउनुपर्‍यो ।

प्रकरण–५ : बर्दिया–२ ले वामदेवको प्रस्ताव ठाडै अस्वीकार गरेपछि वामदेव माओवादी केन्द्रको अर्को प्रभाव क्षेत्रको खोजीमा लागे र आँखा पुग्यो– पूर्वी रूकुम । पुष्पकमल दाहाल प्रचण्डले कमला रोक्कालाई बोलाएर भने पनि ।

तर, रोक्का आफू पाँच वर्षको लागि निर्वाचित भएको र वामदेवका लागि आफूले राजीनामा नदिने स्पष्ट अडान लिएपछि त्यो बाटो पनि बन्द भयो ।

प्रकरण–६ : माआवादी केन्द्र र अध्यक्ष प्रचण्डबाट केही पार नलाग्ने देखेपछि वामदेवले एमालेबाटै निर्वाचित प्रतिनिधिसभाका उमेदवारको खोजी गरे र ठम्म्याए– तिलक महत ।

नवलपुर–२ का सांसद महतले वामदेवका लागि सांसद पद त्याग्न नसक्ने स्पष्ट शब्दमा भने ।  बडा दुःखले चुनाव जितेका हुन् उनले । अतः वामदेवको प्रस्तावमा सहमत हुन सकेनन् उनी ।

प्रकरण–७ : राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया चल्दै थियो । उमेदवार छनोटमा दलहरू व्यस्त थिए ।

दैलेख–१ का सांसद रवीन्द्रराज शर्मालगायत दुईचारजना नेताहरू वामदेवको घरमा पुगेर भने, “हामीले त चुनाव जित्यौँ, तपाईंले हार्नुभो, संघीय संसद तपाईंबिना अपूरो भयो ।”

०४६–४७ सालतिर वामदेवले नै आफूलाई पार्टी सचिव बनाएकाले त्यसो भनेको थिए उनले ।

एक घन्टा बस्दा कुनै वास्ता नगरेका र बोल्नसमेत आवश्यक नठानेका वामदेव त्यो सुनेपछि हर्षविभोर भए ।

र, त्यही कुरालाई साउनको सचिवालय बैठकमा समेत भने, “रवीन्द्र त मेरो घरमै आउनुभो, मलाई जसरी पनि सांसद बन्नुपर्छ भन्नुभो ।”

प्रकरण–८ :  ६ क्षेत्रमा आँखा लगाउँदा पनि कसैले पनि राजीनामा दिने नबताए पनि वामदेको सांसद बन्ने इच्छा मरेको थिएन ।

गोपाल बम मुगु, राजबहादुर बुढा दैलेख, नवराज राउत सुर्खेतलगायत सिनियर मान्छेलाई पन्छाएर ०७० मा राप्रपाबाट पार्टी प्रवेश गरेर चुनाव जितेका धनबहादुर बुढालाई पर्यटन राज्यमन्त्री प्रस्ताव गरेका थिए, वामदेवले ।

छोराको व्यावसायिक साझेदार आफैँले पार्टी प्रवेश गराएको नाताले बुढालाई राजीनामा दिन लगाउने र आफू त्यहाँबाट चुनाव लड्ने खेलमा लागे ।

भदौ ७–१२ जिल्ला घुम्ने, १५ गते राजीनामा दिने र असोज २२ गते उपनिर्वाचन गरेर संसद् भवन छिर्ने वामदेवको योजना त्यतिबेला तुषारापात भयो, जब जिल्लाका दुई नगरपालिका ठूलो भेरी र त्रिपुरासुन्दरीका मतदाताले राजीनामा नगर्न सुझाए । साथै ‘पार्टीले लिखित कारणसहित निर्णय गरेमा राजीनामा बुझाउनू, नत्र व्यक्तिका लागि सांसद पद नछाड्नू’ भनेर निर्णय नै गर्‍यो, जिल्ला कमिटीले ।

बुढाको ‘ग्रिन सिग्नल’ पाउनेबित्तिकै गौतमले आफ्ना पूर्व पीएसओ अवदेशकुमार विष्टलाई जिल्ला प्रहरी प्रमुख (डीएसपी) का रूपमा खटाइसकेका थिए । बुढा जिल्ला गएका बेला विष्टले वामदेवको आज्ञा मुताविक सुरक्षा प्रवन्धसमेत मिलाए ।

शुरूमा फागुनपछि राजीनामा दिने बताएका बुढाले गत शनिबार प्रचण्ड, विष्णु पौडेल, वामदेव गौतमसँगको छलफलमा ‘चुनाव जितिँदैन भनेर साथीहरूले रिपोर्टिङ गरेकाले राजीनामा नदिने निष्कर्षमा आफू पुगेको’ बताएपछि डोल्पाको च्याप्टर क्लोज भयो ।

प्रकरण–९ : कुनै सांसदले पनि राजीनामा दिने र वामदेवका लागि निर्वाचन क्षेत्र खाली गर्ने छाँट नदेखाएपछि ‘पुरानो गुन’ तिर्नका लागि विष्णु पौडेलले चासो देखाए र उनले

धनकुटाका राजेन्द्र राईलाई भेटे । पूर्वएमाले, स्थानीय निर्वाचनमा ‘प्रतिस्पर्धी निमिट्यान्न बनाउने’ जिल्लाका रूपमा चिनिएको धनकुटा गौतमका लागि सहज बन्ने उनको अपेक्षा थियो ।

त्यहाँ पनि केही सीप चलेन ।

“पार्टी र देशले आवश्यक ठान्यो भने सोचुँला । अहिले वामदेवका लागि राजीनामा दिन्न,” राईले प्रष्ट शब्दमा भनेपछि पौडेल फर्किए ।

प्रकरण–१० : धनकुटाबाट हच्किएका पौडेलले बाँके–३ का नन्दलाल रोकायालाई भेटे । ७० वर्षमाथि उमेर पुगेका पाका रोकायालाई पौडेलले परिपक्व जवाफ दिए, “मलाई जनताले पाँच वर्षका लागि चुनाव जिताएका हुन् । बीचमै राजीनामा दिएर जनताको मतको अवमूल्यन गर्दिनँ ।”

त्यसबीचमा त्यहाँ पार्टीका विभिन्न नेताको धारणा सार्वजनिक भयो । अधिकांश धारणा वामदेवको विपक्षमा थियो ।

ती सबै धारणा सुनिसकेपछि र वामदेवको देश दौडाहा देखेपछि उनले अहिले भन्न थालेका छन्, “पार्टीले भने पनि राजीनामा दिन्नँ ।”

प्रकरण–११ : धनकुटा र बाँके–३ दुवैतिर असफलता चाखेका पौडेल थाकेनन् । उनी बैतडीतिर उक्लिए र त्यहाँका सांसद दामोदर भण्डारीलाई मनाउने प्रयत्न गरे ।

आफू अर्थमन्त्री हुँदाका बखतका राज्यमन्त्री र पार्टीको महासचिवले नै आग्रह गरेपछि अटेर नगर्लान् भन्ने उनको बुझाइ थियो ।

परिणाम त्यहाँ पनि सोचेजस्तो भएन । वामदेव बैतडी जान नपाउने भए ।

प्रकरण–१२ : त्यसपछि वामदेव गौतमलगायत केही नेताको प्रयास कञ्चनपुर–३ बाट झिनो मत (२५६) ले जितेका दीपकप्रकाश भट्टलाई राजदूत दिने शर्तमा मनाउने कोसिस समेत भयो ।

तर, निर्मला पन्त हत्या प्रकरणले सरकारको छवि धूमिल भएको बेलामा गौतमको आगमन प्रत्युत्पादक हुने ठहरियो । र, त्यो प्रसंग शुरू नहुँदै समाप्त भयो ।

प्रकरण–१३ : कतै सफलता हात नलागेपछि जुनसुकै हालतमा सांसद बनिछाड्ने लक्ष्य लिएका गौतम अन्ततः अघिल्लो पटक निर्वाचन जितेको र आफ्नो जन्मजिल्ला प्युठान जाने निष्कर्ष निकाले । वाम गठबन्धनकै सहयोगमा चुनाव जितेकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई राजीनामा दिन लगाउने र त्यहाँबाट निर्वाचन लड्ने उनको ध्येय थियो । 

त्यसका लागि मोहनविक्रम सिंहसँगसमेत पौडेललाई राष्ट्रियसभामा लैजाने गरी कुराकानी चलाएका थिए ।

तर, उनको प्रस्ताव राष्ट्रिय जनमोर्चाले ठाडै अस्वीकार गर्‍यो । र, विज्ञप्ति निकालेरै प्रतिवाद गर्‍यो ।

प्रकरण– १४ : सम्भव भएजतिका निर्वाचन क्षेत्रमा आँखा लगाउन भ्याएका गौतमले अन्ततः काठमाडौँ–७ का रामवीर मानन्धरलाई मनाउन सफल भएका छन् ।

पञ्चायतताका जोगमेहर श्रेष्ठको पार्टीको पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका मानन्धर क्लस्टर (मानन्धरहरू) को भोट पाएर निर्वाचित भएका हुन् ।

०४९ र ०५४ को स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६को वडाध्यक्ष निर्वाचित भएका मानन्धर ०७० र ०७४ मा दुई पटक चुनाव जिते ।

०७० मा तत्कालीन एनेकपा माओवादी नेतृ हिसिला यमिको अलोकप्रियताको लाभ मानन्धरले नै उठाए । ०७४ को निर्वाचनमा वाम गठबन्धन उनको जितको मुख्य कारण बन्यो ।

तथापि स्थानीय निर्वाचनमा आफ्नै वडामा गैरनेवार भएकाले आफ्नै पार्टीका वडाध्यक्षका उमेदवार हराउन लागिपरेको आरोप ने क पाभित्र छँदैछ ।

काठमाडौं–७ मा नेवार समुदायको भोट निर्णायक मानिन्छ । 

काठमाडौं महानगरपालिकाको १६, १७, १८ र २५ वडा काठमाडौं–७ मा पर्ने र ती सबै नेवार बहुल क्षेत्र हुन् ।

त्यस्तै तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा नागार्जुन नगरपालिकाको १, २ र ३ मा मात्रै बाहुन क्षेत्रीको बाहुल्यता छ ।

गत स्थानीय तहमा प्राप्त मतलाई आधार मान्ने हो भने ने क पासँग १७ हजार २८६ मत थियो । त्यस्तै कांग्रेस र राप्रपासँग गरी १४ हजार ७४६ मत छ । 

प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमाले उमेदवार मानन्धरले १८ हजार १०२ मत पाएका थिए भने नेपाली कांग्रेसले सघाएका राप्रपाका उमेदवार तत्कालीन बहालवाला मन्त्री विक्रमबहादुर थापाले १० हजार ७६ मत पाएका थिए । सोही क्षेत्रबाट चुनाव लडेकी विवेकशील साझाकी उमेदवार अनुपा श्रेष्ठले ५ हजार ३७६ मत ल्याएकी थिइन् ।

प्रदेशसभाका दुवै सिटमा पनि बामकै वर्चश्व रह्यो । प्रदेश १ मा वसन्त मानन्धरले ८ हजार ८०० मत ल्याएर जिते भने प्रदेश २ मा प्रकाश श्रेष्ठले ५ हजार ३०२ मत ल्याएर जित हासिल गरे ।

वर्चश्वको हिसाबले उक्त क्षेत्र शुरूदेखि नै बामकै पक्षमा रहेको छ । ०४८ मा साहना प्रधानले उक्त क्षेत्रबाट चुनाव जितिन् भने ०५१ मा राजेन्द्र श्रेष्ठ निर्वाचित भए ।

०५६ मा मालेबाट उठेका राजेन्द्र श्रेष्ठले भोट काट्दा पनि एमालेका मंगलसिद्धि मानन्धर निर्वाचित भए । ०६४ मा तत्कालीन माओवादी नेतृ हिसिला यमी निर्वाचित भइन् भने ०७० र ०७४ को परिणाम रामवीरको पोल्टामा पर्‍यो ।

प्युठान र बाँके शुरूमै सुझाइएको थियो
बर्दियामा निरन्तर अलोकप्रिय बन्दै गएपछि र विकासको नाममा ‘ब’ उच्चारण गर्न छाडेपछि प्युठानका नेता एवम् तत्कालीन प्रचार विभाग उप–प्रमुख सूर्य थापालगायत केही नेताले उनलाई प्युठानबाटै लड्न नसुझाएका होइनन् ।

प्युठान जिल्ला कमिटीले उनलाई सर्वसम्मत सिफारिस गरेको थियो । तर, स्थानीय तहको निर्वाचनदेखि नै जनमोर्चासँग गठबन्धन गरेर एमालेका कतिपय आकांक्षी पाखा लगाएको आरोप लाग्दै आएको थियो । त्यहाँ सहज नदेखेर प्युठान जनमोर्चालाई बुझाएर आफू बर्दिया फर्किएको आरोप उनीमाथि लाग्ने गरेको छ ।

प्युठानबाट राजमोकी नेतृ दुर्गा पौडेलले चुनाव लड्ने भएपछि सूर्य थापालगायत मध्यपश्चिमका केही नेताले बाँके–३ बाट चुनाव लड्न सुझाएका थिए । बर्दिया–१ सँगै सीमा गाँसिएको बाँकेमा लड्दा सहज हुने र परीक्षण हुन बाँकी उमेदवार भएकाले चुनाव जित्न सहज आकलन गरिएको थियो ।

तर, गौतमको आफ्नै निर्वाचनमा लड्ने ढिपी नै हारको मुख्य कारण बनेको टिप्पणी पार्टीभित्रै भइरहेको छ ।

रामवीरले जवाफ के दिन्छन्  ?
संविधानतः तीन परिस्थितिमा मात्रै प्रतिनिधिसभा सदस्यको पद रिक्त हुन्छ । पहिलो, मृत्यु भएमा । दोस्रो, मानसिक सन्तुलन गुमाएमा । तेस्रो, राजीनामा दिएमा ।

रामवीरले राजीनामा बुझाएपछि सांसद पद रिक्त त हुन्छ । मतदातालाई राजीनामा दिनुको कारण के देखाउने ?

“उहाँमाथि वामदेवका लागि पद बेचेको आरोप आउन सक्छ, त्यतिबेला पार्टी के भनेर जवाफदेही बन्छ ?,” ने क पाकै नेताको आरोप छ ।

अहिले केपी ओली नेतृत्वको सरकारको ग्राफ ओह्रालो लागेको छ । मुलुकको १६५ वटै निर्वाचन क्षेत्र वामदेवका लागिमात्र होइन, ने क पाकै लागि अनुकूल छैन । सरकार जनताप्रति जवाफदेही हुन नसकेको आरोप लागेको र सरकारको निर्णय एकपछि अर्को गरी आलोचित बनिरहेका बेला निर्वाचित जनप्रतिनिधि एकजना व्यक्तिलाई सांसद बनाउन खाली गरिनु पार्टीकै लागि घातक हुन सक्ने टिप्पणी ने क पाकै नेताहरूको छ ।

‘जनादेशले पाँच वर्ष चुप लाग्न भनेको छ’
संघीय संसद्का लागि नभई नहुने पात्र होइनन् वामदेव गौतम । तीन पटक उपप्रधान तथा गृहमन्त्री सम्हालिसकेका गौतमको कार्यकालमा सम्झन लायक कुनै पनि काम भएका छैनन् भन्दा हुन्छ ।

बरु परी थापा नेतृत्वको तत्कालीन संसदीय समितिले उनीमाथि पदीय दुरुपयोगको गम्भीर आरोप लगाएको थियो ।

बर्दियाबासी जनताले पाँच वर्षका लागि संसद्को ढोका बन्द गरिदिएपछि सांसद बन्न जस्केला खोज्दै हिँड्नु लोकतन्त्रमाथिकै प्रहार भएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

‘दुई महिनाका लागि भए पनि प्रधानमन्त्री’
वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्ने त्यति कसरत गरेनन्, जति उनले प्रतिनिधिसभा सदस्य बन्न गरे । यसको एउटै अभिष्ट प्रधानमन्त्री पद भएको ने क पाका केन्द्रीय सदस्य बताउँछन् ।

“पार्टी अध्यक्ष प्रचण्डको साथ लिएर उहाँ प्रधानमन्त्री बन्ने ध्याउन्नमा हुनुहुन्छ । उहाँलाई पार्टी पद्धति, लोकतान्त्रिक विधि, प्रक्रिया कुनै कुराको मतलब छैन,” ती सदस्य भन्छन् ।
त्यसका लागि प्रचण्ड अनुकूल बनेका छन् । यसमा माधव नेपालको पनि खासै विमती छैन ।

“एउटाले राजीनामा दिएर अर्को बन्छ भने यसमा उहाँको कुनै टिप्पणी छैन, असहमति पनि छैन,” नेपाल निकट एक नेता बताउँछन् ।

तर, पार्टीका प्रभावशाली नेता ईश्वर पोखरेलले खुलेरै विरोध गरिसकेका छन् । “पार्टी अध्यक्ष केपी शर्मा ओलीको पनि रामवीरको राजीनामा प्रकरणका कुनै भूमिका छैन,” ने क पाका एक केन्द्रीय सदस्य भन्छन्, “विष्णु पौडेल र प्रचण्डले राष्ट्रिय सभा सदस्य बनाएर मन्त्री बनाउने र पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन पाएपछि रामवीर आफैँ प्रतिवद्धतापत्र लेख्न हौसिएका हुन् ।”

प्रचण्डको काँध, विष्णु पौडेलको भरथेग
वामदेवले कसैलाई गुन लगाएका छन् भने ने क पाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई ।

“युद्धकालमा कार्यकर्ता पठाएर होस् या शान्तिप्रक्रियामा अवतरण गराएर, वामदेवले प्रचण्डलाई ठूलो गुन लगाएका छन्,” ने क पाका एक स्थायी कमिटी सदस्य भन्छन्, “विष्णु पौडेललाई संगठन विभाग प्रमुखदेखि महासचिव बनाउनसम्म गौतमकै भूमिका छ । त्यसकै गुन तिर्न विष्णु पौडेल ज्यान फालेर लाग्नुभएको छ ।”

“त्यसबाहेक विष्णु पौडेलको अर्को पनि अभिष्ट छ– पाँच नम्बर प्रदेश । पछिल्लो समय शंकर पोखरेलदेखि घनश्याम भुसालसम्म उनको पक्षमा छैनन् । झलनाथदेखि ईश्वर पोखरेलसम्म विपक्षमा छन् । वामदेवलाई हातमा लिन पाए पूर्वमालेका नेताहरू आफ्नो पक्षमा पार्न सकिने दाउ उनको हुन सक्छ,” उनी थप्छन् ।

त्यसबाहेक दुई वर्षपछि हुने एकताको महाधिवेशनको पूर्वाभ्यासका रूपमा पनि रामवीरको राजीनामा र वामदेवको सांसद बन्ने कसरतलाई लिइनुपर्ने ने क पा नेताहरूको बुझाइ छ ।

माधव नेपालको नजीर
ने क पामा चुनाव हारेको व्यक्ति सांसद बन्ने, बन्न लालायित हुने वामदेव एक्लापात्र भने होइनन् । माधव नेपालले शुरू गरेका हुन्, यो (बे)थिति ।

मन्त्रिपरिषद् मनोनित भएका सुशीलचन्द्र अमात्यलाई फिर्ता बोलाएर नेता नेपाल ०६४ सालको संविधानसभा सदस्य बनेर ०६६ सालमा प्रधानमन्त्रीसमेत बने ।

तर, वामदेव हिँड्न खोजेको बाटो अलिक फरक छ । त्यतिबेला नेपाल निर्वाचित सांसदलाई फिर्ता बोलाएर संसद् भवन छिरेका होइनन् । 

“नेपालकै बाटोमा हिँड्न खोज्दा वामदेव उठ्नै नसक्नेगरी थला बस्न सक्छन् । राजनीतिको बाटो टुंगिनसक्छ । बेलैमा सोच्दा राम्रो,” स्थायी कमिटीका एक सदस्य सुझाउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC