रत्ननगर (चितवन) । ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत्भार अन्त्य गर्न स्थानीय जनताको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
माडीमा आज विद्युत सवस्टेसनको उद्घाटन गर्दै मन्त्री शर्माले सरकार विद्युत्भार अन्त्यका लागि गम्भीर भएर लागिपरेको बताए । हाल चलिरहेकै विद्युतलाई व्यवस्थापन गरेर विद्युत्भार न्युनीकरण गरेको र देशव्यापीरुपमा चोरी नियन्त्रण अभियान सञ्चालन गरिएको उनको भनाइ थियो । “कर्मचारी व्यवस्थापन र चोरी नियन्त्रणलाई प्राथमिकतामा राखेका छौँ,” उनले भने ।
यस्तै शिक्षामन्त्री धनिराम पौडेलले सबै दल मिलेर अघि बढेमा विकास सम्भव हुने बताए । माडीमा यस वर्षदेखि विद्युत सञ्चालनमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जपारी रहेको माडीमा जमिनमुनिबाट विद्युत तार लगिएको छ । विद्युत नहुँदा यहाँका बासिन्दा टुकी र सोलारको भरमा थिए । रासस