
काठमाडौं । प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालसँग १–१ को बराबरी खेलेपछि भुटानका मुख्य प्रशिक्षक पेमा पेमाले आफ्नो टिमले नेपाललाई दबाबमा राखेर खेलेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा भुटानले अग्रता लिएपनि अन्तिम मिनेटमा नेपालबाट गोल व्यहोर्दा बराबरीमा रोकिएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपाली टिमविरुद्ध भुटानले पहिले अग्रता बनाएको र बराबरी खेलेको यो पहिलो पटक हो ।
खेलपछि प्रतिक्रिया दिँदै भुटानी प्रशिक्षक पेमाले नेपाली टिमको प्रदर्शन पहिलेभन्दा खस्केको अनुभव गरेको बताए ।
“नयाँ कोच आएका छन् । खेलाडीहरू पनि नयाँ छन् । मैले सुनेअनुसार नेपालका धेरै खेलाडीहरू अस्ट्रेलिया गएका छन् । नेपालको टिम युवा छ । प्रशिक्षकसँग तालमेल बनाउन केही समय लाग्ला । पहिले हामी खेल्दा नेपालसँग सँधै हाथ्यौं,” भुटानी प्रशिक्षक पेमा पेमाले भने ।
“इतिहासमा पहिलो पटक नेपालसँग बराबरी खेलेका छौं । निकै खुसी लागेको छ । नेपाली टिमको प्रदर्शन हेर्दा अलि खस्केको जस्तो लाथ्यो । भुटानको खेल केही सुधारिएको हो । आज हामीले नेपाललाई पूरा डोमिनेट गर्यो । बल पोसेसन, अट्याक सबैमा राम्रो गर्यौ । नेपालसँग बराबरी गरेको इतिहास बनाएका छौँ । शिर ठाडो पारेर स्वदेश फर्किनेछौँ ।”
भुटानसँग बराबरी खेलेको नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । चैत १७ गते हुने फाइनलमा नेपालले उपाधिका लागि लाओससँग खेल्ने छ ।