
विर्तामोड । झापाको चारपानेमा हुने सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् ।
आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवं झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार चैत २१ गते हुने म्याराथनमा खेलाडीहरूको हौसला बढाउनका लागि मानन्धर र लामा आउने भएका हुन् ।
मानन्धरले सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा भएको २२औँ ओलम्पिकमा पहिलोपटक नेपालको प्रतिनिधित्व गरेका थिए । उनी लगातार चारपटकसम्म ओलम्पिकमा सहभागी हुने एक मात्र नेपाली खेलाडी हुन् ।
यस्तै, लामा साविक मेची अञ्चलको पहिलो धावक हुन् । उनले २०३१ सालमा राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा मेचीको प्रतिनिधित्व गरेका थिए । नेपालमा भएको ५० वर्षमाथिको म्याराथनमा उनी प्रथम भएका थिए ।
नेपालकै सबैभन्दा ठुलो सहकारी संस्था सहारा नेपाल साकोसले २८औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको हो । म्याराथन झापा जिल्ला खेलकुद विकास समितिको समन्वयनमा हुन लागेको हो ।
म्याराथन झापाको चारपानेस्थित संस्थाको मुल कार्यालयबाट भई चारपानेचोक, प्रभुचोक, सांगवेदस्कुल, ओमचोक, कुशलचोक, अर्जुनधाराधाम, वरपीपलचोक, मिलडाँडा, प्रगतिटोल, भाङबार, तामाङचोक, रातेखाल, बिरिङ खोलाको कज्वे, पानीकल, लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।
म्याराथन महिला–पुरुष गरी दुई विधामा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दोस्रोलाई ३१ हजार र तेस्रो हुनेलाई २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।
यस्तै, म्याराथनमा चौथोदेखि १०औँ हुनेसम्मका धावकहरूलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् ।