
काठमाडौं । पछिल्लो साता नेपालमा कोरोना संक्रमितको संख्या बढेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार पछिल्ला पाँच दिन (चैत ९ गतेयता)मा १०५ संक्रमित थपिएका छन् ।
०७९ मंसिरमा शून्यमा झरेको संक्रमितको संख्या पछिल्ला चार महिनायता न्यून थियो । चैत १३ गते एकैदिन ६९ संक्रमित भेटिए । योसँगै संक्रमण फेरि फैलने हो कि भन्ने त्रास बढेको छ ।
भारतबाट भित्रिनेमा धेरै संक्रमण, एक्सबीबी.१.१६ हुन सक्ने अनुमान
सोमबार (हिजो) भेटिएका ६९ मध्ये ४४ जना सीमानाकामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण पुष्टि भएका व्यक्ति हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा धेरै कञ्चनपुरको गड्डाचौकी र त्रिनगर नाकामा भारतबाट भित्रिने नागरिकमा संक्रमण पुष्टि भएको छ । यसबाहेक प्रयोगशालामा पीसीआर परीक्षण गरिएका मध्ये वाग्मती प्रदेशमा २५ जनामा संक्रमण पुष्टि भएको थियो ।
भारतमा गएको जनवरी दोस्रो सातादेखि एक्सबीबी.१.१६ नामक नयाँ सब–भेरियन्ट देखिन सुरु भएको थियो । यो ओमिक्रोनको सब–भेरियन्ट रहेको विज्ञले बताउँदै आएका छन् ।
भारतका तेलंगाना, महाराष्ट्र, कर्नाटकलगायत राज्यमा फैलिएको यो संक्रमणबाट मंगलबारसम्म ६१० जना संक्रमित भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
नेपालमा कुन भेरियन्टका कारण संक्रमण बढ्न थालेको भन्नेबारे परीक्षण गरिएको छैन । यद्यपि, संक्रमितको संख्या बढ्न थालेपछि जिनोम सिक्वेन्सिङमार्फत भेरियन्ट पहिचान गर्ने प्रक्रिया अघि बढाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । त्यसका लागि देशभरका सातै प्रदेशबाट संक्रमण पुष्टि भएका नमुना संकलन कार्य भइरहेको प्रयोगशालाले जनाएको छ ।
फेरि संक्रमण फैलने संकेत हो ?
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्ला केही दिनयता कामज्वरो आउने, आँखा दुख्ने, जिउ दुख्नेलगायत समस्या लिएर आउने बिरामीको संख्या बढेको छ । यस्ता बिरामीमध्ये केहीमा कोरोना र केहीमा फ्लु देखिने गरेको अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
एक्सबीबी.१.१६ नै देखिएको खण्डमा पनि पहिलो र दोस्रो लहरमा जस्तो संक्रमण फैलने सम्भावना कम रहेको डा. पुनको भनाइ छ । भारतमा यसबाट सिकिस्त हुने र अस्पताल भर्ना हुनेको संख्या अत्यन्तै न्यून छ । सतर्कता भने अपनाउनुपर्नेमा डा. पुन जोड दिन्छन् ।
‘बुस्टर डोज’ लगाऔँ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन आग्रह गर्दै आएको छ ।
स्वास्थ्य सेवा विभागले पछिल्लोपटक बुस्टर र दोस्रो बुस्टरका लागि तीस लाख डोज फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत ल्याइएको सो खोप अहिले प्रदेशस्तरबाट वितरण भइरहेको छ । विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम आवश्यकता र खपत हेरेर थप खोप ल्याइने बताउँछन् ।
नेपालमा अहिले दिइरहेको फाइजर बाइभ्यालेन्ट खोपले ओमिक्रोनका सब–भेरियन्टहरूविरुद्ध पनि काम गर्ने अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले पुष्टि गरिसकेको छ । फाइजर बुस्टर डोजले ओमिक्रोनका सब भेरियन्टहरूबाट सिकिस्त गराउने जोखिम कम गराउने देखिएको छ ।
कहिले लगाउने पहिलो र दोस्रो बुस्टर ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले पहिलो र दोस्रो दुवै डोज खोप दिँदै छ । मन्त्रालयका अनुसार कोरोना संक्रमण भएका व्यक्तिहरूले संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लगाउन मिल्छ ।
यस्तै, दुई डोज खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन मिल्छ । पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो अर्थात् थप बुस्टर डोज खोप लगाउन मिल्ने मन्त्रालयले जनाएको छ ।